कथाकार प्रभात किरणको सुइखुरे नामक कथा सङ्ग्रह २०७६ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र कथाकार प्रभातद्वारा लेखिएका फेसबुक र प्याकुलीको साडी, ढुङ्ग्यान जाति र प्रदेश विभाजन, देवर, आधा श्रीमान् ः प्याकुलीको कचहरी, लैनो मुसो र ठुल्दिदीको नन्द, खुट्टा धोएको पानी र महिला अधिकर्मी लगायत विभिन्न शीर्षकका ६२ वटा कथाहरु समावेश छन् । यस सङ्ग्रहभित्र राखिएका कथाहरु प्रायः जसो छोटा छोटा छन् । यस सङ्ग्रहभित्र राखिएको फेसबुक र प्याकुलीको साडी शीर्षकको पहिलो कथामा प्याकुली तयार हुन त परै जाओस् अझै फेसबुकमै झुण्डिएको देखेर सुइखुरेको रिसको पारो बढेर आउँछ भनिएको छ । आन्दोलनले दिएको सुइखुरेको घर शीर्षकको कथामा आन्दोलनमा कहिले पनि तोडफोडमा उत्रेन सुइखुरे । शान्तिपूर्ण आन्दोलनको वकालत गर्ने ऊ यसपालीको आन्दोलनमा एउटा ठूलो जेब्रा झोला पनि सँगै लिएर हिँड्न थाल्यो भनिएको छ । आन्दोलनमा हुलदङ्गा गरेर लुटपाट मच्चाउन झोला पनि बोकेर हिँड्न थालेछ भनेर विपक्षीले आरोप नलगाएका पनि होइनन् । आरोपको उसलाई भने वास्ता थिएन भनिएको छ । प्रवासी सुइखुरेले उत्तर नजानेको प्रश्न शीर्षकको कथामा सुइखुरे समुद्रपार गएपछि पनि गाउँ जाने परम्परा टुटेको छैन । गाउँलेहरुसँगको सवाफ जवाफको प्रसङ्ग टुटेको छैन तर केवल पातलिएको भने छ भनिएको छ ।
सिलौटे बाबाको गाँजा व्यापार शीर्षकको कथाभित्र आजभन्दा बिस वर्षअघिको पशुपति परिसरको परिदृश्य थियो यो । ऊ बेला काठमाडौंको नाम चलेको क्याम्पसको विज्ञान विषयको विद्यार्थी सिलबहादुर राउत । निधार चौडा भएको साथै पढ्नमा साह्रै तेज । सिलबहादुरलाई बोलाउने नाम थियो सिलौटे कथाकारले भनेका छन् । फलमासु । ह्याकुलो कि हाडखोर शीर्षकको कथामा सिरफेलेले बाँधेकोा राँगाको दुई सिङको बिचमा बन्चरो एकै हातले धसायो । रिँगटा लागेजस्तो गरी लरबराउँदै राँगो गल्र्याम्म ढल्यो । कसैले छाला छेके । कसैले साँप्रा छेके । अनि सुरु भयो भागबन्दी लेखिएको छ ।
सुइखुरे कथासङ्ग्रहको धरातल मूलतः राष्ट्रिय, राष्ट्रियता र देशप्रेममा अडिएको छ । यसमा सङ्कलित कथाहरुले सोझै वा घुमाउरो जुनसुकै किसिमबाट भए पनि देशप्रतिको अनुरागलाई सम्बोधन गरेका छन् । कथाकारले नेपालको समकालीन राजनीति र तिनमा मौलाइरहेको विकृतिप्रति गहिरो चिन्ता प्रकट गरेका छन्् । राजनीति गर्नेहरु मध्ये कतिपयमा इमानदारिता भए पनि आम सर्वसाधारणले नेपाली राजनीतिबाट सन्तुष्टि पाउन नसकेको धारणा राखेका छन् । साहित्यिक क्षेत्रमा प्रभात किरण भनिए पनि कथाकारको वास्तविक नाम पर्वाखर पौडेल हो । उनले नेपालबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसमा नितान्त लघुकथाकै आयतन लेखिएका कथाहरुको सङ्ख्या चाहिँ अठ्ठाइस रहेको छ । सुइखुरे पूर्वीय क्षेत्रतिर सर्वसाधारणले सम्बोधन गर्ने चराको नाम हो । यसले आफू बाँचेको परिवेशलाई मात्र नभई सम्भावित परिघटनाहरुलाई समेत सङ्केत गर्छ भन्ने विश्वास गरिन्छ ।
प्रेमलाई कतिपयले हार्दिक समर्पणका रुपमा लिने गर्छन् भने कतिपयले स्वार्थसिद्धिको बहानाका रुपमा । प्रभात किरणले लेखेका कथाहरुमध्ये अधिकतम कथाहरु प्रेमकै सेरोफेरोसंग गाँसिएका छन् । यस सङ्ग्रहभित्रका कथाहरुले केही निश्चित स्थानहरुको मात्र प्रतिनिधित्व गरेको हुनाले ती कथाहरुले व्यापकता लिन सकेको देखिन्छ । भाषिक सरलता र विषयवस्तुको सही प्रस्तुतिले भने कथाहरुलाई अब्बल बनाएको छ । मध्यम वर्गका नेपाली नारीहरुको पीडालाई कथाहरुले उचित किसिमले पाठकहरु समक्ष ल्याएका छन् । उनले कथाका अतिरिक्त गीत र गजलप्रतिको अनुरागलाई अझै धनीभूत तुल्याउदै आएका छन् । उनका गीतहरुले समाजमा निकै प्रशंसा पनि पाएको देखिन्छ । समाज रुपान्तरणका लागि निरन्तर लेखिरहने स्रष्टा प्रभात किरणका साहित्यिक अभिव्यक्तिहरुबाट सिङ्गो राष्ट्र अथवा आम पाठक र श्रोताहरु लाभान्वित हुने विश्वास गरिन्छ ।
वर्तमान समयमा कथा लेखनमा अत्याधुनिक सोच र नवीनशैली प्रस्तुत हुने गरेका छन् । यस दृष्टिले हेर्दा प्रभात किरणद्वारा लेखिएका कथाहरु अध्ययन गर्दा शीर्षक, संरचना, विषयवस्तु र प्रस्तुतिमा पनि त्यसको आभाससम्म पाइँदैन । कुनै कथाको खाका बनाइसकेपछि शब्दमा नउतारुञ्जेलसम्म कथाकारलाई एकप्रकारको छटपटी भइरहन्छ । विशेष गरी तिनका पात्रहरुले उनका आँखावरिपरि ओहोर–दोहोर गरेर र अनेक उतार–चढावबाट परिस्थितिहरु गुज्रिएर मनलाई पीडादायी बनाइदिन्छन् । कथाकारले नारी पात्रमा मात्रै सहनशीलता हुँदैन । सहन सक्ने क्षमता पुरुष पात्रमा पनि त्यत्तिकै हुन्छ । कविता, गीत र कथामा कलम चलाउने डेनमार्क निवासी प्रतिभावान् स्रष्टाको यस सङ्ग्रहमा खासगरी राष्ट्रियताबोधी अभिव्यक्ति र डायस्पोरिक नेपाली समाजका कथाहरु राखिएका छन् । डायस्पोरिक साहित्यकार प्रभात किरणको यो कथासङ्ग्रह पहिलो कृति भए पनि पढ्नयोग्य नै छ । सुइखुरेको फ्रेसहाउस शीर्षकको कथामा सुइखुरेले फ्रेसहाउसमा गरेको साझेदारीको चर्चा परिचर्चाले समाज मजाले नै ततायो भनिएको छ ।
कथाकार डायस्पोरामा रहेर नेपाली साहित्य सिर्जनामा अथक रुपमा लागिरहने एउटा साधक हुन् । गीत, गजल, कविता आदि साहित्यका सबै विधामा निरन्तरता दिइरहने उनको अझ बढी लगााव कथामा देखिएको छ । जुनसुकै क्षेत्रका चारित्रिक सन्दर्भहरुले पनि कथामा प्रवेश पाउने गरेका छन् । युगीन समाजको प्रतिबिम्ब मात्र नभई मानवीय संवेदना र रुचिसँग गाँसिएका फरक फरक विषय पनि कथाका आधार बन्ने गरेका छन् ।
कथाकार प्रभात किरणका कथाहरुले पाठकको संवेदनालाई जुरमुराइदिएको पाइन्छ । कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ । जीवनका प्रत्येक पल कथावस्तु हुन् भने समाजका प्रत्येक घटना कथा हुन् । कथाकार प्रभातद्वारा लेखिएका कथाहरुमा आफ्नै विशेषताहरु छन् । प्रभातको सम्पूर्ण कथाकारितालाई अध्ययन गर्दा उनी प्रखर सामाजिक र समकालीन चेतना भएका अनि विविधतापूर्ण विषयहरुमा कलम चलाउन सक्ने एक कथाकार हुन् । उनको यस कथासङ्ग्रहले नेपाली साहित्यको इतिहासमा एउटा प्रभावकारी छाप छाड्न सक्नेछ । उनको कथालेखन अगाडि बढ्दै जाओस् । आउंदा दिनमा अरु कथाहरु जन्मन सकोस् भन्ने चाहान्छु । मेरो हार्दिक शुभेच्छा ।
प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, वेलायत ।
संस्करणः पहिलो २०७६, असार
मूल्यः रु.२५०।–