14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

युवाको सपथ ग्रहण कार्यक्रम

हास्यव्यङ्ग्य विश्व विनोद September 13, 2021, 3:36 pm

देशमा युवाले परिवर्तन ल्याएको भनेर गाउँका वुवाले भनेको सुनेको थिएँ तर प्रधानमन्त्रि हाल सम्म कुनै युवा बनेको थाहा नै पाएको छैन यो देशमा । हुन त ६० बर्षे मानिस पनि युवा भनिने देश हो । यहाँ युवाको कुनै परिभाषालाई कसैले परिभाषित गर्छ भने त्यो परिभाषा व्यर्थ हुन सक्छ, अनर्थ हुन सक्छ ।
गाउँमा एक पार्टीको भातृ संगठनको भेला हुने भयो । सबै युवाहरु गाउँको चौतारीमा भेला भएका थिए । ६२ बर्षे लक्ष्मी प्रसाद हजुरबाबा पनि युवाको भेला हेर्न आई पुगे । राता, नीला, हरिया, पहेँला झण्डाका ध्वजापताकाले सजाईएको उक्त स्थलमा लक्ष्मिप्रसाद हजुरबाबा अगाडिको कुर्सीमा बिराजमान भएर सबै कुुरा सुन्दै थिए ।
त्यो भेला युवाहरुको नयाँ कार्यसमिति गठन गर्ने काममा लागेको थियो । सर्वसम्मत नेतृत्व चयनको लागि मन्चमा बस्ने ठूला बडा युवाले निर्देशन दिए । भिडको कोलाहललाई युवा पार्टीका अध्यक्षले हातको ट्याटु हल्लाउँदै थोरै भए पनि शान्त गराउँदै कानको कुण्डल मुसार्दै एकहात लामो कपालमा लामा नङ घुसार्दै बोले ः हेर ब्रोहरु हाम्रो महान गौरबशाली संगठनमा अहिले सहमतिमा कार्यसमिति गठन गरौं, आखिर यो वार्डको भेला हो ।
लक्ष्मी प्रसाद हजुरबाबाले बुरुक्क उफ्रिएर भने ः हेर राजा हो, यो भेलाले मलाई अध्यक्ष बनाउ, म युवाको यो भिडलाई सार्थक बनाउने छु ..... । ओहो , ६२ बर्षका लक्ष्मी प्रसाद हजुरबाबा अविवाहित भएर होला उनी आफूलाई युवा नै भन्ठान्थे । सबै युवाहरुमा उनको कुराले हाँसोको फोहरा उठ्यो । तर लक्ष्मी प्रसाद हजुरबाबा बिस्तारै मन्चमा गए अनि छातीमा भएको ट्याटु देखाए, हातमा कोरीएको ट्याटु देखाउँदै भने ः के ट्याटु चाहिने हो भने मेरो छातीमा नै दश बाह्रबटा ट्याटु छन्, कानमा कुण्डल लाउन पर्छ भने लगाउँला, म किन यो समुहको अध्यक्ष बन्न लायक छैन ..... ?
ति हजुरबाबालाई फकाएर भए पनि सल्लाहाकारमा राखेर भएपनि युवा दस्ताको समिति गठन भयो । ५० सदस्यको समिति गठन भयो । मन्चमा भएका बाहेका सबै समितिमा अटाए । सपथ ग्रहणको पालो आयो । हर्कबहादुरले सपथ ग्रहण खाईसकेपछि युवा दस्ताको जिल्लाको ठूला नेतालाई सोधे ः हैन, मान्छे पिट्ने, थर्काउने, हप्ते उठाउने, टेण्डर उठाउन, ठेकेदार बन्न पाईन्छ भनेर सपथ खुवाएको खै ...? म त यहि भनेर पो सपथ खाएको त... । युवा दस्ताका जिल्ला अध्यक्षले तिनलाई के उत्तर दिए थाहा भएन भिडको हल्लाले सुन्न सकिएन । सबै युवा मिलेर बजारमा युवा दस्ता भन्दै नारा लगाउँदै भट्टि पसल छिरे, केही कुखुरा र केही माछा तत्काल सहिद भए, करिब ३०० बटा बोत्तलका टाउका मुर्कुट्टा भए । एकै छिन् पछि तिनै युवा दस्ताका महान परिवर्तन सोच भएका युवाहरु सडकमा आए, तर यत्ति फरक थियो अघि उनीहरु नारा लाउँदै थिए, अहिले पेट बाउँदै छादिरहेका थिए । तारेमाम् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।