14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भाषिक विशिष्ट प्रयोग: जर्ज अर्वेलको ‘एनिमल फार्म’

कृति/समीक्षा प्रा.डा. भूपप्रसाद धमला September 13, 2021, 3:50 pm
प्रा.डा. भूपप्रसाद धमला
प्रा.डा. भूपप्रसाद धमला

सर्जकको सिर्जनशीलता साहित्य सिर्जनाको मूल आधार हो तर कुनै पनि सर्जक कोरा काल्पनिक संसारमा उडेर लेख्दैन बरू आफू बसेको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशमा उभिएर त्यहीँको जीवन भोगेरत्यसलाई शब्दमा उतार्छ। त्यस ठाउँको प्रकृति, जलवायु, प्राणी, वनस्पति, बसोबास,रहनसहन, जीवनशैली, विचारव्यवहार, राजनीति, खेतीपाती, बन्दव्यापार, व्यवसाय, सामाजिक रीतिरिवाज,चालचलन आदि नै साहित्य सिर्जनाका मुख्य विषयवस्तु हुन्। यस अर्थमा साहित्य भूमिसापेक्ष,समाज सापेक्षर संस्कृति सापेक्ष हुन्छ। सोहीअनुसार पाठकले साहित्यलाई हेर्छ र बुझ्छ ।
छुट्टाछुट्टै भूमिमा सिर्जना भए पनि साहित्यमा केही सार्वकालिक र विश्वजनीन विषयवस्तु पनि हुन्छन् ।जीवन र जगत्, जन्म र मृत्यु, संवेग र विवेक, सुख र दुःख, आनन्द र पीडा,न्याय र अन्यायलगायत केही विषयवस्तु हरेक समाज र संस्कृतिका मानिसबिच समान रुपमै विद्यमान हुन्छन् । यसैले यस्ता विषयवस्तुमा लेखिने साहित्यिक कृतिहरु संसारभरि उस्तै हुन्छन् ।यसर्थ पूर्वीय र पाश्चात्य साहित्य सिर्जनाको स्वरुप उस्तै र उद्देश्य उही हुन्छ। अतः पूर्वीय र पाश्चात्य साहित्यलाई हेर्ने दृष्टिकोण र विधिहरु फरक फरक हुन्छन् भन्ने कुरा सत्य होइन।
साहित्यलाई हेर्ने विभिन्न सिद्धान्तहरु प्रचलनमा छन् जसमध्ये बहुप्रचलित सिद्धान्तहरुमा नारीवाद, माक्र्सवाद, आधुनिकतावाद, मनोविश्लेषणवाद, उत्तरआधुनिकतावाद, संरचनावाद, उत्तरसंरचनावाद, विनिर्माणवाद,नवइतिहासवाद आदि पर्छन् । पाश्चात्य समालोचनाका सिद्धान्त मानिने यी सिद्धान्तहरुमध्ये धेरैजसो पूर्वीय समालोचनामा पनि प्रवेश गरिसकेका छन्। त्यसैले हिजोआज यस्ता सिद्धान्तको आलोकमा पूर्वीय साहित्यको समालोचना गर्ने चलन पनि चलिरहेको छ।यसै गरी हाल पश्चिममा बसोवास गर्ने पूर्वीय मूलका सिद्धान्तकारहरुले पूर्वीय दृष्टिकोणबाटपनि पाश्चात्य साहित्यको समालोचना गर्ने गर्छन् । यथार्थमा तीव्र भूमण्डलीकरणका कारण पूर्व र पश्चिम, उत्तर र दक्षिणको भेद पनि हराउँदै गएको छ। समग्र विश्व नै बहुभाषिक र बहुसांस्कृतिक हुँदै गएकोले साहित्य र समालोचना पनि बहुसांस्कृतिक हुन पुगेका छन्।
साहित्यलाई हेर्ने र विश्लेषण गर्ने यी विविध साहित्यिक सिद्धान्तहरुबाहेक साहित्यलाई भाषाको प्रयोग र यसले पार्ने प्रभावका हिसाबले पनि हेर्न र बुझ्न सकिन्छ। यस्तो विधिलाई भाषावैज्ञानिक समालोचनाको सिद्धान्त भनिन्छ। साहित्यमा प्रयोग गर्न सकिने भाषा वैज्ञानिक सिद्धान्त भनेको भाषाको प्रयोगमा ध्वनिर शब्द चयन, वाक्य गठन, अनुच्छेद सङ्गठनले अर्थमा पार्न सक्ने प्रभावको अध्ययन र मूल्याङ्कन गर्ने तरिका हो। यथार्थमा भाषाको प्रयोग केकस्तो रुपमा भएको छ भन्ने कुरा नहेरी कुनै पनि साहित्यको समालोचना अपूर्ण हुन्छ भन्न सकिन्छ। साहित्यलगायतका कुनै पनि पाठको समालोचनामा प्रयोग हुने यस्तो भाषा वैज्ञानिक सिद्धान्तलाई शैली विज्ञान भन्ने गरिएको छ। यसको मुख्य उद्देश्य पाठको शैली पक्षको विश्लेषण गर्नु हो।
शैली विज्ञानको आधारस्तम्भका रुपमा प्रसिद्ध आधुनिक भाषाशास्त्री फर्डिनाड डि ससुर (१९१३) लाई लिन सकिन्छ । उनका अनुसार विचार र शब्द कागजको एउटै पानाका दुई पाटा हुन् र दुवैको समान अस्तित्व हुन्छ। त्यसैले कागजको पानाको एक पाटो च्यात्न खोज्दा अर्को पाटो पनि स्वतः च्यातिन्छ किनभने तिनीहरुको सहअस्तित्व हुन्छ। भाषा प्रकट रुपमा देखिन्छ भने विचार अदृश्य हुन्छ।अदृश्य भए पनि विचार शब्दभित्र निहित हुन्छ जसले मानिसलाई कुनै न कुनै रुपमा प्रभाव पारिरहेकै हुन्छ। त्यसैले कुनै पनि पाठको अर्थ राम्रोसँग बुझ्न सतहमा देखिने भाषा र अन्तरघुलित विचारधारा दुवैलाई एकैसाथ हेर्नुपर्छ भनिएको हो। पछि बिसौँ शताब्दीको ३० को दशकतिर रोमन याकोब्सनजस्ता भाषा वैज्ञानिकहरुले पनि साहित्यको मुख्य पक्ष भनेको भाषाको विशेष प्रयोग हो भन्दै शैली विज्ञानलाई अझ बढी महङ्खव दिँदै आए। साहित्यिक वा अन्य कुनै पाठमा भाषाको प्रयोग सर्वोपरी महङ्खवको विषय हो किनभने भाषाले केही हदसम्म वास्तविकरभौतिक संसारको प्रतिनिधित्व गर्छ ।
शैली विज्ञानले मात्र साहित्य वा अन्य कुनै पाठको समग्र अर्थ खुट्याउन सकिँदो रहेनछ किनभने भाषाले जीवन र जगत्का समग्र पक्षको प्रतिनिधित्व गर्न सक्दैन बरू यसले प्रतिनिधित्व गर्ने संसार आंशिक र अपूर्ण हुन्छ। अर्थमा फरक पार्ने तङ्खव भाषा मात्र नभएर अरु तङ्खवहरु पनि हुन्छन् जसलाई उधिनेर ननिकालेसम्म पाठको पूर्ण अर्थ निस्कन सक्दैन । यस सन्दर्भमा पाश्चात्य भाषा वैज्ञानिक नर्मन फेअरक्लो (१९८९) ले भाषामा निहित शक्ति, प्रयोगकर्ताको कौशल एवम् बाह्य शक्तिको भूमिकाको आधारमा मात्र पाठको पूर्ण अर्थ बुझ्न सकिन्छ भन्ने सिद्धान्त प्रतिपादन गरे। यस सिद्धान्तलाईसुरूमा समालोचनात्मक भाषा विज्ञान र पछि समालोचनात्मक पाठविश्लेषण भन्ने नाम दिइएको छ।
भाषा प्रयोगकर्ताले त्यो संसारलाई आफ्नो दृष्टिविन्दुबाट हेरेर प्रस्तुत गर्छ जस्तो कि फोटोग्राफरले कुनै व्यक्ति वा वस्तुको आफ्नो दृष्टिविन्दुबाट तस्बिर खिच्ने काम गर्छ।जसरीविभिन्न दृष्टिविन्दुबाट खिचिएका तस्बिरहरु बेग्लाबेग्लै देखिन्छन् । त्यसै गरी भाषा प्रयोगकर्ताले पनि विभिन्न दृष्टिविन्दुबाट संसारलाई बेग्लाबेग्लै प्रस्तुत गर्छ। यसो गर्दा उसले आफ्नो इच्छा र स्वार्थअनुकूल पनि संसारलाई भिन्दै रुपमा प्रस्तुत गर्न सक्छ, कुनै विचार वा वाद प्रस्तुत गर्न सक्छ जुन धेरै मानिसलाई सत्य नै हो जस्तो लाग्छ।यसैलाई विचारधारा भनिएको हो। यो शक्तिशाली पनि हुन्छ। त्यति मात्र होइन, शक्तिशाली प्रयोगकर्ताले बिच बिचमा भाषा बद्लेर आफ्नो स्वार्थमा फरक अर्थ निस्कने पारिदिन सक्छ।फेरि शक्तिशाली व्यक्तिले भनेको कुरा आम समुदायले सहजै पत्याउने हुनाले त्यो सत्यको रुपमा स्थापित हुन्छ ।त्यसैले साहित्यिक कृतिको समालोचनात्मक विश्लेषणमा अन्य सवाल जस्तै भाषाको प्रयोग पनि धेरै महङ्खवपूर्ण हुन्छ। समालोचनात्मक पाठविश्लेषणको विधिले पाठमा केवल भाषाको संरचना मात्र हेर्दैन बरू भाषाका रुप र संरचनाभन्दा पर गैरभाषिक शक्तिले पनि अर्थ निर्माणमा भूमिका खेल्छ भन्ने कुरा गर्छ। त्यस्तो शक्ति पाठमा प्रयुक्त भाषामा घुलेर रहेको हुन्छ जसलाई विचारधारा भन्न सकिन्छ। भाषाका सबै खाले रुपहरुमा विचारधारा गुथिएको हुँदैन तर प्रयोगकर्ताले खास शब्द वा वाक्यमा विचारधारा अङ्कित गरेको हुन्छ जसमा बढी शक्ति हुन्छ।साधारण जनमानसले त्यसलाई सहजै पत्याउँछ र पछि लाग्छ।यही कुरा पाठभित्र कहीँ न कहीँ हुन्छ जसलाई चिह्नित गरेर मात्र पाठको अर्थ पूर्ण रुपमा निस्किन्छ।
भाषाले वास्तविक संसारको प्रतिनिधित्व मात्र गर्छ । त्यसैले यसको काम विचारप्रवाह मात्र गर्नु हो भन्ने मान्यताका विपरीत सन् १९३० को दशकमा अमेरिकी भाषाशास्त्री सपर र व्होर्फले भाषा विचारप्रवाहमा मात्र सीमित हुँदैन बरूविचारको नियन्त्रण गर्छ । त्यसैले भाषा प्रधान र विचार गौण हुन्छ भन्ने परिकल्पना गरेका थिए । लगभग त्यही मान्यतासँग मिल्दोजुल्दो तर्क सन् १९४९ मा प्रसिद्ध अङ्ग्रेजी साहित्यकार जर्ज अर्वेलले ‘नाइन्टिन एटिफोर’ शीर्षकको उपन्यासमा अगाडि ल्याए।त्यस उपन्यासको अन्त्यमा रहेको एउटा लेखमा उनी भन्छन्, ‘इङ्सोस नामको तानाशाही व्यवस्थामा बिग ब्रदर नामको तानाशाहले पुरानो खाले सबै भाषा खारेज गराई राज्यका सबै तहमा सबै मानिसलाई नयाँ खाले भाषा प्रयोग गर्न बाध्य पार्छ। उनका अनुसार उक्त नयाँ भाषामा मानिसको विचारलाई नियन्त्रण गर्ने शक्ति हुन्छ । त्यसैले भाषा परिवर्तन गर्दा मानिसहरुमा शासकअनुकूल विचारधाराको विकास हुन थाल्छ। यसरी नयाँ भाषा प्रयोगकै माध्यमबाट शासकले विचार नियन्त्रण गरेर शासन गर्छ। सन् १९८४ सम्म सारा विश्व नै तानाशाहीको युगमा प्रवेश गर्छ र सम्पूर्ण जनता इङ्सोसको कैदी हुन्छन् भन्ने परिकल्पना गरिएको थियो। विषयगत हिसाबले हेर्दा यो उपन्यास सर्वव्यापी खतरनाक राज्य शक्तिका विरूद्ध एउटा मानिसको अनवरत सङ्घर्षको कथा हो।यो यस्तो राज्य व्यवस्था हो जहाँ बिग ब्रदरले जीवनका सबै पक्षको नियन्त्रण गर्ने कोसिस गर्छ।यस्तो नियन्त्रण गर्ने भौतिक हतियारबाहेक नयाँ रुपको भाषा नै हो।
अर्वेलको यो परिकल्पनाअनुसार सन् १९८४ सम्म पनि यो व्यवस्था आएन । त्यसैले भाषाको असीमित शक्ति हुन्छ र त्यसैका माध्यमबाट शासकले शासन गर्छ भन्ने कुरा विवादरहित रहेन। भाषाको निरपेक्ष शक्तिसम्बन्धी उनको यो विचार विवादास्पद जस्तो देखिए पनि भाषाले विचारधाराको निर्माण गर्छ जसले केही न केही प्रभाव पार्छभन्ने मान्यता विकसित हुँदै गयो। भाषाले विचारको पूरै नियन्त्रण नगरे पनि त्यसले निर्माण गर्ने विचारधाराले मानिसको सोचाइलाई प्रभावित गर्छ भन्ने सिद्धान्तको आलोकमा अर्वेलको अर्को विश्वप्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ (२०४६) को भाषावैज्ञानिक विश्लेषण गर्न सकिन्छ।
सतहमा हेर्दा ‘एनिमल फार्म’ मानिसले जनावरमाथि गर्ने अन्यायअत्याचारको विरूद्धमा जनावरहरुले गरेको विद्रोहको कथा हो।बेलायतको जोन्स भनिने एक जना मालिकले सञ्चालन गरेको म्यानोर फार्ममा एकदिन जनावरहरु मालिकको लापरवाहीका कारणले भोकै पर्छन् । तसर्थ सबै एकजुट भएर मानव मालिकलाई फार्मबाट लखेट्छन् । त्यसपछि ओल्ड मेजर नामको सुँगुरको नेतृत्वमा सङ्गठित हुँदै म्यनोर फार्मको नाम बदलेर एनिमल फार्म राखिन्छ। केही समयसम्म जनावरहरुको बिचमा पूर्ण समझदारी हुन्छ। सबैजना अनुशासनमा बस्छन् । आआफ्नो क्षमताअनुसारको काम गर्छन् ।नियमित बैठकमा उपस्थित हुन्छन् । गीत गाउँछन् ।झन्डा उचाल्छन् ।खुसी छन्।झैझगडा, उछिनपाछिन, जाल, षड्यन्त्र केही छैन।एनिमल फार्म पूर्णरुपेण आदर्शमा चल्छ। यो स्वर्गतुल्य छ। सर्वसम्मतिमा एक सातबुँदे निर्देशिका तयार हुन्छ जुन यसप्रकार छः
१. दुईखुट्टे जति सबै शत्रु हुन्।
२. चारखुट्टे र पखेटा हुने जति सबै मित्र हुन्।
३. कुनै जनावरले पनि लुगा लगाउने छैनन् ।
४. कुनै पनि जनावरओछ्यानमा सुत्ने छैनन् ।
५. कुनै पनि जनावरले मादक पदार्थ पिउने छैनन्।
६. कुनै पनि जनावरले अर्को जनावर मार्ने छैनन्।
७. सबै जनावरहरु समान छन्।
केही समयपछि ओल्ड मेजरको जीवन अन्त्य हुन्छ ।स्नोबल र नेपोलियन नेता हुन्छन् जो एकआपसमा कहिल्यै मिल्दैनन्।स्नोबल बोल्न र भाषण गर्न सिपालु हुन्छ तर नेपोलियन गुपचुप सङ्गठन गर्न र गुटबन्दी गर्न खप्पीस हुन्छ। जनावरहरुको संसारमा पनि विचार र व्यवहारमा भ्रष्टाचार सुरू हुन्छ। ओल्ड मेजरको अनुयायी जस्तो देखिने स्नोबललाई नेपोलियनले षड्यन्त्रपूर्वक नेतृत्वबाट हटाउँछ।घोडा र कुकुरहरुको भूमिका म्यनोर फार्मदेखि एनिमल फार्मसम्म उस्तै नै रहन्छ तर सुँगुरहरुको सुविधा मानिसकै सरह हुन्छ।उनीहरुको अधिकार र सान अरु जनावरको भन्दा धेरै फरक हुन्छ। यसरी समानताको झ्याली पिटेर ल्याइएको स्वतन्त्रता फेरि असमानता, अन्याय, अत्याचार, भ्रष्टाचार आदिमा बद्लिन्छ।जनावरहरुको स्वर्गरुपी एनिमल फार्म फेरि नर्कतुल्य हुन पुग्छ।
अब आफूअनुकूल नयाँ नियम बनाउन नेपोलियनले ७ बुँदे नियम बदल्न थाल्छ । ‘कुनै पनि जनावर ओछ्यानमा सुत्ने छैनन्’ भनेकोमा ‘तन्ना ओछ्याइएको’ भन्ने वाक्याङ्श थपिन्छ । ‘कुनै पनि जनावरले मादक पदार्थ पिउने छैनन्’ भनेकोमा ‘अति धेरै’ भन्ने वाक्याङ्श थपिन्छ । ‘कुनै पनि जनावरले अर्को जनावर मार्ने छैनन्’भनेकोमा ‘बिनाकारण’ भन्ने वाक्याङ्श थपिन्छ र अन्त्यमा त ‘सबै जनावरहरु समान छन्’ भनेकोमा वाक्य नै फेरेर ‘सबै जनावरहरु समान छन् तर कुनै जनावर अरुभन्दा बढी समान छन्’ भानिन्छ।
यसअघि पनि धेरै समालोचकहरुले ‘एनिमल फार्म’लाई समकालीन रूसी राजनीतिमाथिको व्यङ्ग्य भनेका छन् तर यसमा प्रयोग भएको भाषाका हिसाबले कमै मात्र समालोचना बाहिर आएकोसन्दर्भमा यो सङ्क्षिप्त लेखले अर्वेलको एनिमल फार्ममाप्रयोग भएको भाषाका हिसाबले विवेचना गरेको छ। नेपोलियन पात्रले प्रयोग गरेको भाषाभित्र निश्चित विचारधारा छ जसको पछि अरु अनुयायीहरु आँखा चिम्लेर पछि लाग्छन् अनि त्यहीअनुसार राजनीति चल्छ । त्यहीअनुसार व्यवहार पनि चल्छ।भाषाको प्रयोगले कसरी राजनीति गरिन्छ र शक्तिशाली व्यक्तिले शक्तिहीनमाथिकसरी शासन गरिरहेको हुन्छ भन्ने कुरा यस उपन्यासले देखाएको छ।
(शब्दाङ्कुर वर्ष १९ अङ्क १२ पूर्णाङ्क २२८असोज २०७७ मा प्रकाशित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।