14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘ओ !’ सम्बोधन

हास्यव्यङ्ग्य काशीनाथ मिश्रित September 13, 2021, 3:54 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

‘ओ सर ! नमस्कार !!’ मैले आजकल यसरी नमस्कार खान थालेको छु । ‘सर’को अगाडि ‘ओ’ शब्द जोडेर सम्बोधन गर्दा ध्यानाकर्षण हुन्छ भनेर होला । ध्यानाकर्षण गर्न यस्तै कुनै अक्षर, पद वा पदावली जोड्नु आजकलको नौलो चलन भने होइन । यो आधुनिक चलन हो भनेँ भने तपाईँले मलाई मूर्ख भन्ठान्नुहोला । यो त आदिम कालदेखि चल्दै आएको र अझै पनि सुधार हुन नसकेको नेपाली समस्या हो । तपाईँलाई के लाग्छ कुन्नि मलाई भने यो सिमा समस्याभन्दा पनि जटिल र सुकुम्बासी समस्याभन्दा पनि खराब समस्या लागिरहेछ । थुप्रा थुप्रा समस्याहरू समाधान भए । ठुल्ठुला परिवर्तनहरू भए तर यो सम्बोधन गर्दा फुर्का गाँस्नेरुढीवादी चलन भने गोरुका घाँटीमा किर्नो झुन्डिए झैँ झुन्डिएको झुन्डियै छ । वाक्क दिक्क लागेर आउँछ मलाई त । होइन ! यतिका परिवर्तन गरेका छौँ भन्ने बुज्रुकहरूले यति सानो फिस्टे कुरालाई किन हटाउन नसकेका हुन् कुन्नि ! छक्क पर्छु बा !!
हुन त मान्छे लोभी जात हो । आफूलाई सम्बोधित हुन कसलाई पो रहर नलाग्ला र ! अरुले तपाईँ भनोस् नभनोस् आफै मपाइँ त मान्छे मात्रको विशेषता हो । यो लोभ चाँडै मर्ने देखिन्न । सबै कुराले छलाङ मार्न सक्ने तर सम्बोधनले भने सक्दैनसक्ने किन होला? आफ्नै खप्परमा हिर्काउँछु एक पटक । यी मान्छेहरूले ओ भन्ने गरेकामा मलाई उदेक लाग्न थालेको छ आजकल । राणातन्त्र गयो । राजतन्त्र हट्यो । प्रजातन्त्र, लोकतन्त्र, भोकतन्त्र सबै सुलुलुलु बग्दै गए । अझै नभएर रणतन्त्र पनि गएर गणतन्त्रको जमाना आइसक्यो तर जे जे तन्त्र गए आए पनि यो सम्बोधनको सुलसुले भने हट्दैहटेन । अरु पुराना मूल्य मान्यता, धर्म, संस्कार, संस्कृति सबै परिवर्तन गर्न हुने यै पाजी सम्बोधनलाई चाहिँ पछ्याइरहनुपर्ने हँ । पुरातनपन्थी नबन्न भनेर होइन र यत्रो सङ्घर्ष र बलिदान गरेर अहिलेको युग निम्त्याएको ! त्यसो हो भने राजाकै पालाको जस्तो स्वस्ती र सम्बोधन गर्नुपर्ने प्रथा कायम राखेर हामीले आफैमाथि मजाक उडाइरहेका छौँ किन?
स्वस्तिश्री गिरिराजचक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद... ... बाफ रे ! उन्पचास शब्दको फुर्को गाँसेर राजालाई सम्बोधन गरिन्थ्यो । त्यो युग गयो भनेर मख्ख पर्नु पनि व्यर्थ लाग्न थाल्यो । आजकलका उपमहाराजहरूलाई त झन् कस्ता कस्ता विशेषण गाँस्नुपर्छ कुरै छोडौँ ।राजाको छोरो राजा बन्ने परम्परा फ्याँक्दैमा राजतन्त्र गयो भन्नु हामी जस्ता मुर्खहरूलाई महामुर्ख बनाउनुबाहेक केही होइन । जनताको छोरो राजा बन्ने तन्त्र कसरी गणतन्त्र?ढलीमली, शैली र आनीबानी राजाको गर्ने दुहाइ जनताको दिने बडो गजबको तन्त्र पो हो गणतन्त्र ! के बेफ्वाँकको कुरा गर्छ यो भन्नुहोला तपाईँ । मैले धेरै ठाउँमा देखेको भोगेको र सुनेको भएर म यो सम्बोधनप्रति आकरषित भएको हुँ । जाबो एउटा अक्षरको ओ सम्बोधनप्रति पनि किन आकर्षित भयो होला यो भन्ने लाग्न सक्छ । कुरा अक्षर र शब्दको मात्र होइन प्रवृत्तिको भएर पो म तानिएको हुँ बुझ्नु भो !
बुझे बुझ्नोस् नबुझे नबुझ्नोस् देश उँभो नलागेको भने यहीऔपचारिक सम्बोधनले नै हो भन्ने ठोकुवा गर्छु मैले । म उपस्थित भएका दुईचारओटा कार्यक्रमहरूमा मैले यस्तै देखेको छु । सम्बोधन हुनुपर्ने र गर्नुपर्ने वर्ग कुन हो? नजानेका होइनन् । यहाँ कसले पो दिनको अठार घन्टा काम गरेर पनि हातमुख जोर्न नसक्नेलाई सम्बोधन गरेको छ र? दसैँका बेला बैँकमा पैसा साट्न र बसको टिकट काट्न त सोर्स चाहिन्छ अरुको के कुरा गर्नु ! पहुँच नहुनेको सम्बोधन कसले गरेको छ मलाई बताइदिनुहोस् त । बताउन सक्नुहुन्न भने अब लाग्नोस् सभा समारोहतिर !।
विद्यालयको वार्षिकोत्सव होस् कि सहकारीको साधारण सभा । गैरसरकारी संस्थाको अधिवेसन होस् या सरकारी संस्थाको भेला । पार्टीको महाधिवेसन होस् वा राजनैतिक दलको चुनावी सभा । औपचारिक कार्यक्रमको लम्बाइ पाँच घन्टाभन्दा कमको हुँदैन । त्यस अघिको दिक्दार लाग्दो पर्खाइको त कुरै नगरौँ । प्रमुख अतिथि नआई कार्यक्रम सुरु हुने कुरो भएन । प्रमुख अतिथिले कति ठाउँमा प्रमुख आतिथ्यता दिएका हुन्छन् सबैलाई थाहा हुँदैन । प्रमुख अतिथिको विशेषता नै सबभन्दा ढीलो आउने र सबभन्दा छिटो जाने हुन्छ ।अन्य गण्यमान्य अतिथिगणहरू पनि टन्नै हुन्छन् । यति सम्म कि कुनै संस्थाको मृत्यु भएपछि पनि सोही संस्थाको अध्यक्ष भनेर उसलाई कार्यक्रममा आतिथ्यता चाहिन्छ । अझै कुनै व्यक्तित्व त बहुमुखी व्यक्तित्व पनि हुन्छन् । अमुक पार्टीको अध्यक्ष, पालिकाको अध्यक्ष,विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र आमा समूह वा बाबु समूहको समेत अध्यक्ष पनि एउटै व्यक्ति परिदियो भने त चारचोटि अतिथिको आसन ग्रहण गर्ने सौभाग्य प्राप्त हुन्छ । फेरि नेपाली समय ग्रिन विचको समयभन्दा पो पौने छ घन्टा छिटो छ र यस्ता कार्यक्रमहरूमा मात्र हैन हरेक काममा डेढ दुई घन्टा ढीलो छ भन्ने सबैलाई थाहा नै छ । सम्भवतः नेपाली संस्कृति, नेपाली कला र नेपालको सगरमाथा अनि लुम्बिनीले जत्तिकै पहिचान कायम गरेको छ नेपाली समयले पनि । ‘आ, नेपाली समय त हो नि ! भन्ने मन्त्र सबैको मुखबाट सुन्दा नेपाल त स्वर्गै हो जस्तो लाग्छ । त्यसैले आफ्ना कैयौ महत्त्वपूर्ण काम थाति राखेर आएका मान्छेहरू कार्यक्रम नथाल्दै हिँड्न थालिसकेका हुन्छन् ।
लौ कार्यक्रम सुरु भैहालेछ रे ! बोलाइएको अतिथि कारणवश ढीलो उपस्थित भयो भने प्रमुख अतिथि विदा भैसकेपछि पनि आसन ग्रहण गराइन्छ । यी त सामान्यै कुरा भए । भाषणबाजी सुरु भएपछि पो रमाइलो हुन्छ । समयको पाबन्दीले गर्दा मैले धेरै समय लिन्न भन्दै माइकको ठेट्नो समाएको वक्ताले हत्तपत्त ठेट्नो छोड्दैन । उद्घोषकले छोटो मन्तव्यका लागि भन्दै बोलाएको हुन्छ तर कति छोटो हो कुनै सीमा हुँदैन । यहाँनेर आएर पो उदेक लाग्न थाल्छ । सनातन वैदिक कालदेखि चल्दै आएको सम्बोधन सुरु हुन्छ सभापतिबाट । उनको पद, योगदान आदिलाई जोडेर अगाडि कति शब्दको विशेषण लगाउने हो त्यसको पनि कुनै सीमा हुँदैन । लगत्तै पालो आउँछ प्रमुख अतिथिको ! प्रमुख अतिथि भनेपछि त्यहाँ उपस्थित हुनेमध्ये सबैभन्दा वरिष्ठ हुन्छ भनेर सिधासादा जनताले त बुझ्छन् भने तपाईँले नबुझ्ने कुरै भएन । अब उनलाई सम्बोधन गर्दा अगाडि कति शब्दको बेलिविस्तार लाग्ने हो? सकेसम्म र क्षमताले भ्याएसम्मका फुर्का गाँसेर; विशेषता जोडेर उनलाई सम्बोधन हुन्छ । त्यसपछि विशेष अतिथिको पालो, उस्तै फुर्काफुर्की ! अन्य अतिथि गणहरू सबैलाई नाम र पदलेसम्म त सम्बोधन गर्नै परिहाल्यो । फेरि अतिथिको आसनमा बोलाइएका महानुभावहरूलाई सम्बोधन गरिएन भने म जत्तिकालाई पनि यसले सम्बोधन नगर्ने ! भन्ने भान पर्न सक्छ र अपमान भएको ठानिन्छ । कतिपय अतिथि त बिचमै उठेर हि.डिदिएको पनि मैले देखेको छु । अनि वक्ताले मुन्टो घुमाई घुमाई कतिखेर दायाँ त कतिखेर बायाँ हेर्दै फलानो संस्थाको अध्यक्ष फलानोज्यू ! ढिस्कानो पार्टीको प्रतिनिधि ढिस्कानोज्यू !! भन्दै एक एक अतिथिको सम्बोधन गर्छ । उसको संस्था मरिसकेको चारपाँच वर्ष भएको भए पनि अध्यक्षका हैसियतले आसन ग्रहण गरेको व्यक्तिलाई छोड्न मिल्ने कुरै भएन । मन्तव्य दिने तीन चौथाइ समय सम्बोधनले नै खाइदिन्छ । अनि पुर्ववक्ता मित्रले भनेको कुरा म दोहोर्याउन चाहन्न भन्दै पूर्ववक्ताकै मन्तव्यको सारांश ओकल्न थाल्छ । आफूले भन्नुपर्ने कुरा के हो सुरु नहुँदै उद्घोषकले कोट्याउने बेला भैसक्छ । अनि अन्त्यमा दुई हजारभन्दा बढी शब्दको पुराण सुनाइसकेको भए पनि ‘मेरा दुईचार शब्द यहीँ अन्त्य गर्न चाहन्छु ।‘ भन्दै माइकको ठेट्नो छोड्छ ।
कतिपय नेपाली प्रचलनहरू अनौठा अनौठाका छन् । मृत्युपर्यन्त सम्मान तथा पुरस्कार दिने प्रचलन जस्तै अनुपस्थितिमा पनि सम्बोधन गर्ने गजबको प्रचलन पनि संस्कारकै रूपमा विकसित भैरहेको छ । म सामेल भएका धेरैजसो कार्यक्रमहरूमा विदा भएर गैसकेका प्रमुख अतिथिलाई पटक पटक सम्बोधन गरेको पाएको छु । ‘विदा भएर गैसकेका प्रमुख अतिथि फलानाज्यू !’ यो कति जरुरी हो तपाईँले नै भन्नोस् । प्रमुख अतिथिको समय कम हुने भएकाले चाँडै भाषण गरेर विदा हुनुलाई अनौठो मान्नु नपर्ला तर उनी गईसकेपछि पनि बाँकी सबै वक्ताले उनलाई सम्बोधन गर्नै पर्ने हो र? यसो हो भने त यो राजतन्त्र भन्दा अझै विकसित अराजतन्त्र भएन र ! श्रोता तथा दर्शकदीर्घामा बसेका सामान्य मानिसहरूको सम्बोधन कसैले गरेकै हुँदैन । उनीहरूलाई त जबरजस्ती सुनाउन बोलाइएको हुन्छ । पुछारे काइलो भिडको पछिल्तिर रुझ्दै उभिएको हुन्छ । उसलाई सम्बोधन गरिएको हुँदैन । आरुखर्के बिर्खे फाटेको चप्पल लगाएर भाषण सुनिरहेको छ । त्यसको सम्बोधन कोही गर्दैन । हाम्रा लागि पनि केही बोलिन्छ कि भनेर कान ठाडो पारेका मान्छेहरू हजारौँ छन् । अँहँ, उनीहरूको निम्ति त्यहाँ कुनै कुरा गरिँदैन । त्यसैले होला जनतालाई टिकाइराख्न आजकल हास्य कलाकार वा गायकलाई निम्त्याएर कार्यक्रमलाई मनोरञ्जक बनाउनुपर्ने बाध्यता छ । नत्र आफू सम्बोधित नहुने जाबो कार्यक्रममा को बसिरहन्छ र !!
झनक्क रिस उठ्ने कुरा त अर्को पो छ । नेपाली भाषा, सभ्यता र मौलिक संस्कृतिलाई लत्याएर अङ्ग्रेजी पढाउन र सभ्य बनाउन भनेर खोलिएका बोडिङ स्कुलका प्रफेक्ट इङ्लिस बोल्ने विद्यार्थीले गरेको सम्बोधन सुन्दा पो आन्द्रैदेखि झोँक चल्न थाल्छ । सुगा रटाइ गरिएको अङ्ग्रेजी भाषणको सुरुमा सम्बोधन हुन्छ ‘रेस्पेक्टेड् चेयरम्यान, चिफ गेस्ट ... ... प्रिन्सिपल, भाइस प्रिन्सिपल, टिचिङ एन्ड ननटिचिङ स्टाफ ... ... अनि नेपालीमा जस्तै थुप्रै थुप्रै नामहरू ।‘ बाबुलाई ड्याडी भन्न, आमालाई मम्मी भन्न र पश्चिमी संस्कृतिको अनुकरण गर्न सिकाउने हाईहाई अङ्ग्रेजीले सम्बोधन चाहिँ किन नसिकाएको? उतातिर त लेडिज एन्ड जेन्टिलमेन भनेपछि पुग्दैन र? अरु सबै कुरा उताका सिक्न हुने सम्बोधन भने हाम्रै सिक्नुपर्ने ! किन? सम्बोधन त साउदी, कतार, मलेसिया जानुपर्ने युवाहरूको हुनुपर्ने हो । उनीहरूलाई अरबी वा मले भाषा सिकाउने विद्यालय खुलेका भए पो !बिचराहरू अङ्ग्रेजी पढेको खोस्टो लिएर कोरियन र जापानि भाषा सिक्न बाध्य छन् ।
‘ओ सर !’ भनेर मेरो लागि गरिएको सम्बोधन कति हार्दिक छ ! आत्मीयताले गरियो भने ओए सर भने पनि केही छैन ।‘उपस्थित भद्र महिला तथा सज्जनवृन्द !’ यत्ति सम्बोधन गरेर आफ्नो कुरा राखे भैहाल्छ नि । फेरि आधुनिक उपमहाराजहरूलाई चाकडि नपुग्न सक्छ । निगाहा नबक्सन सक्छ । कार्यक्रमको उद्देश्य नै पूरा नहुने पो हो कि ! आखिर यही झुत्रे सम्बोधनकै कारण दुई घन्टामा सकिने कार्यक्रमलाई पाँच घन्टा लागेको पत्तो हामीले पाएका छैनौँ । टेबुल ठोकी ठोकी घोक्रो सुकाई सुकाई जति भाषण छाँटे पनि काम नगरेपछि देश उँभो लाग्दैन ।सम्बोधन कसलाई कसरी गर्ने हो? त्यो बुझेर गर्न सके तीन सय तेत्तिसवटा शब्दद्वारा सभापतिलाई र सात सय सतहत्तरवटा शब्दद्वारा सभा छोडिसकेका प्रमुख अतिथिलाईसम्बोधन गरिरहनु पर्दैन । नेपाललाई सिङ्गापुर बनाइदिन्छौँ भनेर गफ गर्नुभन्दा नेपाल नै बनाइदिए हुन्थ्यो भन्ने विचार राखेको छ क्या तल्लारे माइलाले ।

कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।