15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बहुमुखी प्रतिभाका धनी मुक्ति प्रसाद उपाध्याय : व्यक्तित्व र कृतित्व

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व October 3, 2021, 2:50 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

नेपाली भाषा, साहित्य तथा सांस्कृतिक क्षेत्रमा धेरै वर्षदेखि निरन्तर कार्य गर्दै उल्लेखनीय योगदान पुर्याउन सफल भएका बहुमुखी प्रतिभाका धनी एक विशिष्ट व्यक्तित्वका रुपमा परिचित सिलगढी निवासी श्री मुक्ति प्रसाद उपाध्याय भारतीय नेपाली समाजकै एक गौरव पुरुष हुन् भन्दा अतिशयोक्ति नहोला। उनको जन्म असमको राजधानी गुवाहाटीको उत्तर सरणीया भन्ने स्थानमा फागुन 27 गते वि.स. 2008 (सन् 1951)-मा भएको थियो। पछि शैक्षिक प्रमाणपत्रमा उनको जन्म तिथि पहिलो जनवरी 1955 अङ्कित गरिएको हो। उनका पिताको नाम स्वर्गीय टीकाराम उपाध्याय बराल अनि माताको नाम स्वर्गीय पद्मादेवि उपाध्याय बराल हो। परिवारमा उनी भन्दा 22 वर्ष ठुली एउटी दिदी थिइन् अनि 19 वर्ष ठुला एकजना दाज्यु थिए। गुवाहाटीमा बाल्यकालदेखि उनको प्रारम्भिक शिक्षा असमिया भाषा माध्यमबाट शुरु भयो र छैटौं श्रेणी उतीर्ण गरेपश्चात् उनी सातौँ श्रेणीदेखि डनबस्को स्कुलमा अंग्रेजी माध्यममा अध्ययन गर्न थाले। पढ्नमा उनी निकै तेज थिए। सन् 1971 मा उनी त्यहाँबाट माध्यमिक स्तरको परिक्षा (एच.एस.एल.सी.) उतीर्ण भए। त्यसपछि सन् 1972 मा आर्य विद्यापीठ कलेज, गुवाहाटीबाट विज्ञान विषयहरू लिएर आई.एस्सी. गरे अनि सन् 1974 मा प्राग्ज्योतिष कलेजबाट बी.एस्सी. उतिर्ण भए।
त्यसपछि उनले पल्टन बजार, गुवाहाटीको गोर्खा एम.ई. स्कुल र उजान बजारको रात्री उच्च विद्यालयमा गणित शिक्षकका रुपमा काम गर्न थाले। शिक्षण पेशामा लागेको लगभग तीन वर्षपछि सन् 1977 मा उनको बिहे माझगाउँ, बिहाली (असम) निवासी स्व. गहिनचन्द्र घिमिरेकी जेठी छोरी दिप्ती घिमिरेसित भएको थियो। त्यसबेला उनी माता-पिता, दाज्यु-भाउजुका साथ संयुक्त परिवारमा रहेका थिए।
विद्यार्थी जीवनदेखि नै गायन र अभिनयमा उनको विशेष रूचि रहेको थियो। कतिपय परिस्थितिवश उनले सङ्गीत तथा गायनमा औपचारिक तालिम लिन सकेनन्। तर पनि उनको लगन र प्रयत्नले आफ्नो प्रतिभाको विकाशमा टेवा पुर्याउन कुनै कसर छोडेनन्। त्यसबेला उनी आफुले सुनेका र मनपरेका हिन्दी, नेपाली. असमिया गीतहरू सांस्कृतिक-सांगीतिक कार्यक्रमहरूमा गाउने गर्थे। पछि गुवाहाटी रेडियो स्टेशनमा गायनको अडिसन पास गरेर उनको स्वरमा केही गीतहरू रिकर्ड पनि भएका थिए। आफ्नो गायन तथा सुरलाई नियन्त्रण गर्न उनी केही वाद्यवादन हार्मोनियम, गीटार अनि माउथ अर्गन पनि बजाउन सक्छन्। उनले गुवाहाटी रेडियो स्टेशनमा केही वर्ष अस्थायी उद्घोषक र समाचार वाचकका रुपमा पनि कार्य गरे। त्यही बेलादेखि उनले आफ्ना विद्यार्थीहरूलाई लिएर रेडियोमा बाल कार्यक्रमहरू प्रस्तुत गर्ने अवसर पाएका थिए। त्यसैबेला उनी सांस्कृतिक क्षेत्रमा निकै सक्रिय हुँदै रंगमञ्चमा अन्य लेखकहरूका नाटक तथा एकाङ्कीहरूमा पनि मुख्य अभिनेता सहित विभिन्न पात्रहरूका चरित्र अभिनयमा आफ्नो विशेष भूमिका निभाउन थालेका थिए। गुवाहाटीमा छँदा उनले सन् 1971 मा जिल्ला पुस्तकालयमा मञ्चित प्रेमसिंह सुवेदीको नाटक ‘भातृ रेखा’ मा अभिनेताको भूमिका खेलेका थिए। सन् 1972 मा प्रागज्योतिष कलेजमा मञ्चित असमिया नाटक ‘दुई भाई’ मा मुख्य अभिनेताको भूमिकामा थिए भने सन् 1973 मा जिल्ला पुस्तकालयमा मञ्चित अविनाश श्रेष्ठको दुईटा नाटक ‘यहाँ जिन्दगी यस्तै छ’ अनि ‘पर्खाल भत्किने छ’ मा मुख्य अभिनेताको भूमिका रहेको थियो। सन् 1976 मा असम गोर्खा सम्मेलनको अधिवेशन न्यु फिल्ड, गुवाहाटीमा मञ्चित प्रेमसिंह सुवेदीको नाटक ‘सुनको ठुन्को’ र ओमप्रकाश सुवेदीको नाटक ‘नेप्टे चेप्टे एण्ड घोप्टे प्रोडक्सन’मा मुख्य अभिनेताको भूमिकामा आफ्नो विशिष्ट अभिनय कलाको प्रदर्शन गरेका थिए। यसरी गायन र अभिनय कलामा निकै अघि बढिरहेको समय अचानक पारिवारिक तथा अन्य कतिपय प्रतिकुल परिस्थितिवश सन् 1979 मा गोर्खा स्कुल, गुवाहाटीको स्थायी जागिर छोड़ेर उनी नेपालको झापा जिल्लाको एउटा उच्च विद्यालयमा अस्थायी रुपमा गणितको शिक्षकको रुपमा काम गर्न पुगे। तर त्यहाँ दुई-अढाई वर्ष जागिरमा रहेर पनि स्थायी भएर बस्न रुचाएनन्। अन्तत: सन् 1981 को 2 नोभेम्बरदेखि उनी सिलगढ़ीस्थित कृष्णमाया मेमोरियल हाई स्कुलमा गणित शिक्षकको नियुक्ति पाएर स्थायी रुपमा काम गर्न थाले अनि लगभग 34 वर्षको दीर्घ सेवापछि 31 दिसम्बर 2014 मा त्यहाँबाट अवकाश ग्रहण गरे।
गुवाहाटी छँदा छैटौं श्रेणीमा पढ्दादेखि नै उनले अग्रज साहित्यकारहरू लील बहादुर छेत्री, प्रेमसिंह सुवेदी, लोकनाथ उपाध्याय, दुर्गा मिश्र, गोपाल नेवार, नरबहादुर शाही आदिका सम्पर्कमा आउने अवसर पाएका थिए अनि उनीहरूबाटै साहित्यमा केही गर्ने प्रेरणा मिल्यो। पछि कलेज पढ्दा साथीहरू अविनाश श्रेष्ठ, गोपाल बहादुर नेपाली आदिका सङ्गतले साहित्यमा कलम चलाउने प्रयास गर्न लागे। सन् 1971 मा उनले प्रथमपल्ट आफ्नो एउटा कविता ‘आखिर दिमाग मेरै न हो’ गुवाहाटीमा सम्पन्न एउटा कवि गोष्ठीमा वाचन गर्ने अवसर पाएका थिए। त्यपछि उनको पहिलो कथा ‘ज्योती बिनाको प्रकाश’ सन् 1974 मा आकाशवाणी, गुवाहाटीबाट प्रसारित भएको थियो। उनको पहिलो प्रकाशित निबन्ध ‘गरिब देशको महँगो कोशेली’ सिलगढीबाट प्रकाशित ‘हिमालचुलि दैनिक’ मा 2 दिसम्बर 1982 मा प्रकाशित भएको थियो।
सिलगढीमा स्थायी रुपल्रे शिक्षण पेशामा लागे पश्चात् प्रथमत: केही वर्ष उनी आफ्नो शैक्षिक योग्यतालाई अझै अघि बढाउने उदेश्यले अध्ययनतर्फ लागे। यसरी सन् 1985 मा स्वअध्यनद्वारा उत्तर बङ्ग विश्वविध्यालयबाट नेपाली सम्मान लिएर बी.ए. उतिर्ण गरे अनि सन् 1986 मा रामकृष्ण बी.टी. कलेज, दार्जीलिङबाट बी.एड. गरे। त्यपछि सन् 1990 मा एम.ए. (नेपाली) उतिर्ण भए। यसका साथै त्यस अवधिमा सिलगढ़ीमा प्रत्येक वर्ष गरिने भानु जयन्ती तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा पनि सन् 1982 देखि नै उनको विशेष भूमिका रहेको हुन्थ्यो। त्यसै क्रममा भानु जयन्तीमा उनले प्रारम्भिक गीत, रामायाण पाठ आदिको प्रस्तुतिसहित भानुभक्त आचार्यका रामायाण र फुटकर कविताहरूलाई लिएर खुबै प्रभावशाली ढङ्गले केही रुपकहरू पनि प्रस्तुत गरेका थिए। तिनै रुपकहरूलाई पछि सन् 1998 मा ‘भानुको भावना हाम्रो सम्झना” नामको एउटा क्यासेट उनकै निर्देशन, वाचन र सङ्गीतमा म्युजिक नेपालबाट रेकर्ड गरिएको थियो। उनका अन्य गीति एल्बमहरूमध्ये सन् 2004 मा निकालिएको ‘अर्चना’ मा उनको सङ्गीत निर्देशन, गीत लेखन तथा गायन रहेको थियो भने सन् 2006 मा निकालिएको ‘मन कता कता’ मा उनको सङ्गीत निर्देशन र गीत लेखन रहेकों थियो। सन् 2005 मा उनको लेखनमा एउटा भजन सङ्ग्रहको क्यासेट ‘प्रभु वन्दना’ पनि रिकर्ड भएर आएको थियो। सन् 2007 मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म शतवार्षिकी उत्सव मनाउँदा सम्पूर्ण ‘मुनामदन’ गीति-काव्यमाथि सङ्गीत भरेर उनकै निर्देशनमा मञ्चमा प्रस्तुत गर्ने कार्य पनि भएको थियो। त्यही वर्ष उनले एउटा देश भक्ति गीति एल्बम ‘उत्सर्ग जन्मभूमिलाई’ आफ्नै सङ्गीत, लेखन एवं गायनमा रिकर्ड गराएका थिए। यसबाहेक ‘मुहार’ नामको एल्बममा एउटा गीतमा उनको सङ्गीत र लेखन अनि ‘अरुणा स्मृति’ नामको एल्बममा दुईवटा गीतमा उनको सङ्गीत र लेखन रहेको छ।
सिलगढी आए पश्चात् उनले नाटक लेखन, मञ्चन, निर्देशन र अभिनय क्षेत्रमा पनि निकै कार्य गरे। देवकोटा सङ्घको आयोजनामा सन् 1988 मा मित्र सम्मेलनी हल, सिलगढीमा मञ्चित रवि पुनद्वारा निर्देशित ‘कसम’ नाटकमा उनी प्राविधिक निर्देशक रहेका थिए भने सन् 1990 मा सोही हलमा मञ्चित तिलक शर्माको नाटक ‘तेस्रो अदालत’ मा खलनायकको भूमिका निभाएका थिए। सन् 1992 मा उनको आफ्नै लेखन र निर्देशनमा एकाङ्की नाटक ‘बुलाकी’ भारतीय गण नाट्य सङ्घको स्वर्ण जयन्ती उत्सवमा दीनबन्धु मञ्च, सिलगढीमा मञ्चित भएको थियो। यसमा उनी दोस्रो श्रेष्ठ नाटककारको रुपमा पुरष्कृत भएका थिए। यसरी नै सन् 1994 मा उनको अर्को एकाङ्की ‘पैसा अनि पैसा’ सिलगढीको एउटा उत्सवमा मञ्चन गरिएको थियो अनि यसमा पनि उनी श्रेष्ठ नाटककारको रुपमा पुरष्कृत भएका थिए। सन् 1995 मा पश्चिम बङ्गाल सरकारी ड्राइभर सङ्घको रजत जयन्तिको उपलक्ष्यमा गणेश छेत्रीको एकाङ्की ‘बजट’ मा उनको मुख्य भूमिका रहेको थियो। सन् 1997 मा उनको आफ्नै लेखन र निर्देशनमा नाटक ‘ममता’ मित्र सम्मेलनी हल, सिलगढ़ीमा मञ्चित गरियो। यसरी नै उनको एकाङ्की ‘रहर’ दीनबन्धु मञ्च, सिलगढीमा सन् 1998 र सन् 2000 मा मञ्चन भएका थिए भने यही एकाङ्की सन् 2002 मा सालुगढ़ाको खुल्ला मञ्चमा र सन् 2010 मा अरुणा लामा गायन प्रतियोगिताको कार्यक्रममा समाज सेवा समिति भवन, शास्त्रीनगरमा प्रस्तुत गरिएको थियो। सन् 2006 मा उनको लेखन र निर्देशनमा एकाङ्की ‘दुई पागल’ भानु जयन्ती उपलक्ष्यमा कृष्णमाया मेमोरियल नेपाली हाई स्कूल, सिलगढ़ीमा मञ्चित गरियो। यसरी नाटकमा उनको निकै ख्याति बढ्दै गयो। सन् 2014 मा उनको अर्को नाटक ‘कुन दिशातिर’ गोर्खा एकता समाज मुम्बईको वार्षिक कार्यक्रममा कालिदास हल, मुलुन्द, मुम्बईमा अनि दुर्गापूजाको उपलक्ष्यमा निकासी, असममा मञ्चित गरिएको थियो। सन् 2016 मा उनले हरिप्रसाद गोर्खा राईको कथा ‘गोर्खाको मोडेल’ लाई एकाङ्की नाटकमा रुपान्तरण गरे अनि सोही वर्ष गुवाहाटीमा मनाइएको हरिप्रासाद गोर्खा राईको जन्म शतवार्षिकी उत्सवमा यसको मञ्चन गरिएको थियो। यसमा उनको मुख्य अभिनेताको भूमिका रहेको थियो।
यसपछि विस्तारै उनी रङ्गमञ्चदेखि टेलीफिल्म, चलचित्र अर्थात् फिल्मी जगततिर पनि चरित्र अभिनयका साथसाथै पटकथा संवाद लेखकका रुपमा परिचित हुँदै गए। उनले नेपाली, हिन्दी, बङ्गला, राजवंशी, शादरी आदि भाषाका लगभग 30-31 वटा चलचित्रहरूमा काम गरेका छन्। वर्तमानमा तीमध्ये केही चलचित्रहरूको शुटिङ करोना महामारी र अन्य कतिपय कारणवश अधुरो रहेको छ।
उनले काम गरेका चलचित्रहरूका क्रमिक विवरण निम्न प्रकार छन् —
1) भूल, (नेपाली) चरित्र अभिनेता, सिलगढी, 1993.
2) उद्धार, नेपाली टेलिफिल्म (दिल्ली दूरदर्शन), चरित्र अभिनेता, 1994
3) पिया कर गावँ, (साद्री), मुख्य चरित्र अभिनेता, मुम्बाइ, 1995.
4) पश्चाताप (नेपाली श्रृङ्खला), चरित्र अभिनेता.कलकत्ता, 1996.
5) खरको छानो, मुख्य चरित्र अभिनेता, काठमाडौ, 1998.
6) माझी दाई, मुख्य चरित्र अभिनेता तथा पटकथा-सम्वाद लेखन, काठमाडौ, 2000.
7) हाम्रो जिन्दगी, कथा लेखन तथा अभिनय, काठमाडौ, 2000.
8) कसलाई आफ्नो भनुँ, (नेपाली श्रृङ्खला), शुरूको 25 श्रृङ्खलामा सम्वाद लेखन, टी.भी.
लाइभ, दिल्ली, 2002.
9) आमाको काख, सम्वाद लेखन, काठमाडौ, 2006.
10) म कसरी भनुँ, मुख्य चरित्र अभिनेता तथा पटकथा लेखन, मणिपुर, 2006.
11) मावेर आँचल, (राजवंशी), मुख्य चरित्र अभिनेता, सिलगढी, 2007.
12) प्रेमेर माला, (राजवंशी), पटकथा-सम्वाद लेखन, सिलगढी, 2007.
13) प्रेम पथ, मुख्य चरित्र अभिनेता तथा पटकथा-सम्वाद लेखन, काठमाडौ, 2007.
14) घर परिवार, (साद्री), मुख्य चरित्र अभिनेता, सिलगढी, 2008.
15) एउटै भूल, पटकथा-सम्वाद लेखन, काठमाडौ, 2008.
16) नागपास,(राजवंशी), मुख्य चरित्र अभिनेता, कलकत्ता, 2008.
17) कालोभारी, पटकथा-सम्वाद लेखन, गान्तोक, सिक्किम, 2009. कथाकार – शङ्करदेव
ढकाल, (सुटिङ भएन) ।
18) डढेलो, पटकथा-सम्वाद लेखन, सिक्किम, 2009. (सुटिङ भएन)
19) के साइनोले बोलाउँ, (नेपाली),मुख्य चरित्र अभिनेता, सिक्किम, 2010.
20) किन मायामा, पटकथा-सम्वाद लेखन, सिक्किम तथा काठमाडौ, 2010.
21) चिना, पटकथा-सम्वाद लेखन, खर्साङ, 2010. कथाकार – ग्याल्पो लामा । (सुटिङ
भएन)
22) अधिकार, पटकथा-सम्वाद लेखन, सिक्किम, 2012.
23) सैँया (बङ्ग्ला), मुख्य चरित्र अभिनेता, सिलगढी,2014.
24) माइ टियर्स, (हिन्दी), मुख्य चरित्र अभिनेता, सिलगढी, 2014.
25) सानु लामाका तीनवटा कथा (स्वास्नी मान्छे, संयोग, कमला) लाई टेलिश्रृङ्खलाका
लागि पटकथा-सम्वाद लेखन, दुरदर्शन, सिक्किम,2015.
26) जीवन काँडा कि फूल, पटकथा-सम्वाद लेखन, काठमाडौ, 2016.
27) परिणाम, मुख्य चरित्र अभिनेता, काठमाडौ, 2016. छायाङ्कन हुन बाँकी छ
28) हाम्रा कोपिला, (बाल चलचित्र, पटकथा सम्वाद लेखन) , दुरदर्शन, सिक्किम 2018.
29) रैथाने, (रण काफ्लेको उपन्यासमा आधारित चलचित्र, असम, पटकथा सम्वाद लेखन)
2019.
30) अन्तिम सुन्तला (अमेरिका निवासी किशन उपाध्यायको जीवनीमा आधारित, पटकथा
सम्वाद लेखन) 2020
31) म सँग जाउँ (निर्देशक विनोद विष्टको कथामा पटकथा सम्वाद लेख्दै।)
सिलगढीको कृष्णमाया मेमोरियल हाई स्कुलमा अध्यापन गर्न थालेपछि उनले विद्यार्थीहरुका सर्वाङ्गीण विकाशमाथि केन्द्रित गरी सांस्कृतिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा धेरै कार्यहरू गरे। स्कुले ठिटा-ठिटीहरूलाई लिएर गीत, सङ्गीत, नृत्य, नाटक आदि सिकाउने र त्यसलाई मञ्चन गराउने कार्यहरू सम्पन्न गरे। आकाशवाणी खरसाङमा बाल कार्यक्रमहरूको प्रस्तुति तथा सञ्चालन गराए। विशेष रुपले बाल साहित्य तथा विज्ञान साहित्यमा उनले निकै कलम चलाएका छन्। उनले नाटक, एकाङ्की, कथा, कविता, उपन्यास, संस्मरण, नियात्रा, लेख-निबन्ध, समीक्षा आदि विधामा निरन्तर कलम चलाइरहे। यसरी अहिलेसम्म उनका लगभग 15-16 वटा कृतिहरू प्रकाशित भइसकेका छन्।
विशेष सिलगढी स्थित पुष्पा प्रकाशनका पक्षमा एक साहित्य अनुरागी सज्जन श्री एस,डी.राईले उनलाई बाल कथा लेखन जस्तो महत्वपूर्ण दायित्व सुम्पिएर बाल साहित्य क्षेत्रमा कार्य गर्ने अवसर प्रदान गरेका थिए। यस अन्तर्गत सन् 1997-98 तिर विद्यार्थीहरूका निम्ति आफ्ना रचनाहरूका सङ्कलन ‘साहित्य सौरभ’ (शिशु भाग) र अन्य विभिन्न स्तरका कथाहरू चयन गरी ‘कथा सौरभ’ (भाग 1 देखि 6 सम्म) उनको सम्पादनमा प्रकाशित भएका थिए। यसरी उनी बाल साहित्यकारको रुपमा पनि परिचित हुँदै गए। सन् 2002 को 14 – 17 मईमा नेशनल बुक ट्रस्ट अफ ईन्डियाको आयोजनामा गान्तोक, सिक्किममा भएको बाल साहित्यमाथि गरिएको चार दिने कार्यशालामा उनलाई पनि निमन्त्रणा गरिएको थियो। त्यसपछि 6 जुलाई सन् 2008 मा सिक्किम अकादमीको छैंटौ वार्षिक उत्सवको उपलक्ष्यमा बाल साहित्यमाथि एउटा संगोष्ठी नेपाली साहित्य परिषद भवन, गान्तोकमा राखिएको थियो जसमा उनले ‘नेपाली बाल साहित्य, वर्तमान स्थिति, चुनौती र यसका समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। यस अघि सन् 2007 मा आधुनिक भारतको निर्माणमा नेपाली भाषीहरूको योगदान अन्तर्गत सिक्किम अकादमीले दिएको विषय ‘कविका रुपमा अगमसिंह गिरी’ बारे लेखिएको कार्यपत्र प्रस्तुत गरेका थिए। सन् 2009 मा पनि संस्कृति र धरोहर विभाग, सिक्किम सरकार र चेनेल एस प्रडक्सनको आयोजनामा गान्तोकमा राखिएको संगोष्ठीमा उनले ‘समाजमा नाटकको प्रभाव’ विषयमा कार्यपत्र बुझाएका थिए। यसरी नै कलकत्ता, कालेबुङ, तेजपुर (असम) आदि स्थानमा भएका विभिन्न संगोष्ठी तथा सेमिनारहरूमा उनले विविध विषयका कार्यपत्रहरू प्रस्तुत गरेका थिए। उनले विशेष बाल साहित्य लेखनमा आफ्नो रुची बढ़ाउँदै लगे अनि विज्ञान आख्यान (Science fiction)-लाई पनि आफ्नो लेखनमा समावेश गरे।
भारतीय नेपाली साहित्यमा विज्ञान आख्यान विधामा कलम चलाउने लेखकहरूको ठुलो अभाव रहेको छ। विज्ञानका विविध विषयहरूमा आधारित लेख-निबन्धहरू यदाकदा पढ्न पाइएता पनि विज्ञान आख्यान (Science Fiction), जस्तै विज्ञान कथा, विज्ञान उपन्यास, विज्ञान नाटक आदि उपविधा (Sub-genre)-मा कलम चलाउने साहित्यकारहरूको खडेरी परिरहेको जस्तो अवस्था छ। अपवाद स्वरूप दुई चार लेखकहरूले मात्र यस विधामा कलम चलाउने प्रयत्न गरेको देख्न सकिन्छ। तीमध्ये अग्रणी मुक्ति प्रसाद उपाध्याय हुन्। उनका विज्ञानमाथि आधारित केही अख्यानात्मक कृतिहरू उपन्यास, बाल उपन्यास, नाटक, एकाङ्की आदि प्रकाशित भएका छन्। सन् 1998 मा प्रकाशित उनको ‘अनन्त यात्रा’ (नाटक सङ्कलन)-भित्र परेका ‘अनन्त यात्रा’ (रेडियो नाटक), ‘ममता’ पूर्णाङ्की नाटक र ‘बुलाकी’ एकाङ्की नाटक विज्ञान आख्यानमा आधारित सृजनात्मक रचनाहरू हुन्। सन् 2006 मा निर्माण प्रकाशन, नाम्ची, सिक्किमबाट प्रकाशित उनको पुस्तक ‘हिमाली’ विज्ञानमाथि आधारित बाल उपन्यास हो। यसै गरी सन् 2011 मा प्रकाशित उनको ‘मालती’ बाल उपन्यास विज्ञानमाथि आधारित उत्कृष्ट कृति मानिएको छ। यस उपन्यासलाई असमिया र अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिएको छ अनि हिन्दी र बोडो भाषामा अनुवाद कार्य भइरहेको छ भन्ने जानकारी पाइएको छ। यसलाई उत्तर बङ्गाल विश्वविद्यालय अन्तर्गत नेपाली सम्मान पाठ्यक्रममा पनि समावेश गरिएको छ। सन् 2015 मा प्रकाशित ‘रहर’ उनको बाल एकाङ्की हो। सन् 2019 मा उनका दुई वटा पुस्तक कृति प्रकाशनमा आयो एउटा ‘महिमा’ नाटक र अर्को ‘कान्छी’ विज्ञान उपन्यास। यसरी उनी साहित्य क्षेत्रमा बाल साहित्य, विज्ञान साहित्य, कथा, लेख-निबन्ध, उपन्यास, नाटक, एकाङ्की, नियात्रा आदि विधामा कलम चलाउँदै सांस्कृतिक क्षेत्रमा पनि गीत, सङ्गीत तथा चलचित्रमा चरित्र अभिनय, पटकथा संवाद लेखन जस्ता बहु आयामिक प्रतिभा सम्पन्न व्यक्तित्वका रुपमा चिनिए।
उनका अहिलेसम्म प्रकाशित कृतिहरु यस प्रकार रहेका छन् :-
1) साहित्य सौरभ (भाग 1) -1997 पुष्पा प्रकाशन, सिलगढी
2) अनन्त यात्रा (नाटक सङ्कलन) -1998 “ “ “
3) हिमाली (विज्ञान उपन्यास) -2006 निर्माण प्रकाशन, सिक्किम
4) अन्तर्प्रेरणा (नाटक) –2008 सुमेरु प्रकाशन, सिलगढी
5) मालती (बाल विज्ञान उपन्यास) -2011 नेपाली साहित्य प्रचार समिति, सिलगढी र अभि जमात स्मृति ट्रस्ट, कुबेत (साहित्य अकादेमी बाल साहित्य पुरस्कार प्राप्त – 2015)
6) घर (नाटक) -2014 निर्माण प्रकाशन, नाम्ची, सिक्किम
7) झ्याउरे पार्टीले गर्नु गर्यो (समालोचनात्मक लेख सङ्कलन) – 2014, नई प्रकाशन, सुकना, सिलगढी
8) भारतेली नेपाली बाल साहित्य – 2015, ने.सा.प्र.स.. सिलगढी
9) रहर (बाल एकाङ्की) – 2015 प्रकाशक: अरूण बराल र ने.सा.प्र.स.. सिलगढी
10) आमा छोरा (बाल कथा) – 2016,एन.बी.टी.आई. नयाँ दिल्ली
11) धनबहादुरको सोंच (बाल कथा) – 2016,एन.बी.टी.आई. नयाँ दिल्ली
12) यस्तै उस्तै मनका विचारहरू (लेख सङ्कलन) – 2018, पुष्पा प्रकाशन, सिलगढी
13) गोर्खाको मोडेल (एकाङ्की सङ्ग्रह) – 2018, नई (इन्डिया) प्रकाशन, दुर्गागढ़ी, सिलगढी
14) महिमा (नाटक) – 2019, प्रकाशक: नई (इन्डिया) प्रकाशन, दुर्गागढ़ी, सिलगढी
15) कान्छी (विज्ञान उपन्यास) – 2019, राइसन्स पब्लिशिङ हाउस, दिल्ली
यसबाहेक उनले अनुवाद साहित्य क्षेत्रमा पनि निकै काम गरेका छन्। विभिन्न अनुवाद कार्यशालाहरूमा सहभागी हुँदै सामुहिक तथा व्यक्तिगत रुपमा पनि अनुवाद साहित्यको विकास गर्ने कार्यमा उनको ठुलो योगदान रहेको छ। उनी पश्चिम बङ्गाल प्राइमरी बोर्ड द्वारा प्रकाशन गरिने कक्षा एकदेखि पाँचौंसम्मका गणित र विज्ञान पुस्तकहरू सन् 1994 देखि 2010 सम्म अनुवाद तथा लेखन कार्यमा संलग्न रहेका थिए। उनले शिवकुमार राईको कथा सङ्ग्रह ‘खहरे’ (वर्षार झरना), भारतीय नेपाली कविता, जोशमणी परम्परा र साहित्य आदि नेपालीबाट बङ्गला भाषामा सामुहिक रुपमा अनुवाद कार्य गरेका छन्। साहित्य अकादमी, कोलकाताको आयोजनामा पूर्वीय भारतीय भाषाका कथाहरू अनुवाद गर्ने क्रममा उनले आफ्नो भागमा परेका तीन वटा मैथिली कथा नेपालीमा अनुवाद गरेका थिए। साउथ फिल्ड कलेज, दार्जीलिङमा सन् 2019 को 9 देखि 15 सेप्टेम्बरसम्म भएको काजी नजरुल इस्लामको कविता सङ्ग्रह ‘अग्निवीणा’ को अनुवाद कार्यशालामा पनि सहभागी रहेका थिए भने एन.बी.टी, नयाँ दिल्ली र गुवाहाटी विश्वविद्यालयको संयुक्त आयोजनामा एन.बी.टीद्वारा प्रकाशित हिन्दी र अङ्ग्रेजी बालकथाहरूको फरवरी 2020 मा गुवाहाटीमा भएको अनुवाद कार्यशालामा सहभागी हुँदै उनले पाँच वटा हिन्दी बालकथाहरू नेपालीमा अनुवाद गरेका थिए। आफ्नो मातृभाषा बाहेक उनी असमिया, बङ्गला, अंग्रेजी, हिन्दी आदि भाषामा पनि लेख्न, पढ़्न र बोल्न सक्छन् अनि अरुले बोलेका राजवंशी, भोजपुरी, मैथिली, उड़िया, राजस्थानी, पञ्जाबी, साद्री आदि भाषाहरू बुझ्न सक्छन्। साहित्य अकादमी, कलकत्ताको अनुबन्धमा बङ्गला – नेपाली शब्दकोश निर्माणमा पनि सिलगढीका सुधीन्द्र नारायण घोष र कृष्ण प्रधानसित मिलेर उनले आफ्नो अमूल्य समय खर्चेका छन् जो वर्तमान प्रकाशोन्मुख रहेको छ। उनले अनुवाद गरेका विविध रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। यसबाहेक साहित्य अकादमी, कोलकाताको अनुबन्धमा तयार गरिएका उनका चार वटा अनुवाद कृतिहरू दुई वटा प्रकाशित अनि दुई वटा प्रकाशोन्मुख रहेका छन्।
1) मैथिली कथा सङ्ग्रह (मैथिलीबाट नेपालीमा) – 2015, साहित्य अकादेमी, कलकत्ता
2) मणिमहेश (नियात्रा) (बङ्गलाबाट नेपालीमा) – 2018, साहित्य अकादेमी, कलकत्ता
3) विषन्न वनानी (प्रेम प्रधानको नेपाली उपन्यास उदासीन रुखहरूको बङ्ग्ला अनुवाद, साहित्य अकादेमी, कलकत्ता, प्रेसमा)
4) सन्थाली लोक कथा सङ्ग्रह (सन्थालीबाट नेपालीमा) - साहित्य अकादमी, कलकत्ता प्रेसमा)
उनले ‘अक्षर अरकेस्ट्रा’ मनप्रसाद सुब्बाका नेपाली कविता पुस्तकको बङ्ग्ला अनुवाद पनि गरेका छन् जो अप्रकाशित रहेको छ अनि उनको अर्को पुस्तक ‘केही समीक्षा’ (समीक्षा सङ्ग्रह) प्रकाशनको निम्ति तयार छ। यसका अतिरिक्त उनका एउटा संस्मरण संग्रह, एउटा लेख सङ्कलन, एउटा कथा सङ्ग्रह, एउटा नाटक अनि दुई वटा नियात्रा जस्ता कृतिहरू प्रकाशोन्मुख रहेका छन्। ती हुन् –
1) बुच्के छपडी (संस्मरण सङ्कलन)
2) फेरि यस्तै उस्तै मनका विचारहरू (लेख सङ्कलन)
3) केही सत्य केही कथ्य (कथा सङ्कलन)
4) शरद पुर्णिमाको रम्य रमिता (नाटक)
5) पर्थ हुँदै सिडनी (नियात्रा)
6) स्वच्छ डोनाउको किनारतिर (नियात्रा) ।
विद्यार्थी जीवनदेखि नै उनले स्कुल म्यागेजिनको सम्पादन कार्यको अनुभव बटुल्ने अवसर पनि पाएका थिए। सिलगढी आएपश्चात् आधा दर्जनभन्दा बढी पत्र-पत्रिका तथा पुस्तकहरूको सम्पादन कार्य गरिसकेका छन्। उनले हास्यव्यंग्य कविताको क्षेत्रमा पनि ‘साउती’ पत्रिकाको प्रकाशन र विभिन्न स्थानमा हास्यव्यङ्ग्य कवि गोष्ठीहरू गरी हास्यव्यङ्ग्य कविताको विकासमा पनि विशेष अभियान चलाएर योगदान पुर्याई रहेका छन्। यसरी अहिलेसम्म उनीबाट निम्न लिखित पत्रिका तथा पुस्तक-पुस्तिकाहरूको सम्पादन कार्य भइसकेको छ।
1) द बस्कोनियन स्कुल पत्रिका -1971, डनबस्को स्कुल, गुवाहाटी
2) कथा सौरभ (बाल कथा सङ्ग्रह) सङ्कलन तथा सम्पादन भाग 1 देखि 6 सम्म, 1996-97, पुष्पा प्रकाशन, सिलगढी
3) आजको साहित्य (साहित्यिक पत्रिका), 2000, ने.सा.प्र.स. सिलगढी
4) सम्झाउनि बिर्साउनि (नगेन्द्र शर्माको निबन्ध सङ्कलन) – 2004, निर्माण प्रकाशन, नाम्ची, सिक्किम
5) साउती (हास्य व्यङ्ग्य कविता सङ्कलन), 2005 देखि 2018 सम्म तेह्रौं अङ्क
6) चौरासीका नगेन्द्र (नगेन्द्रबारे लेख सङ्ग्रह), 2015, ने.सा.प्र.स. सिलगढी
7) उत्तर-दक्षिण पूर्व-पश्चिम नगेन्द्रका निबन्ध, 2016,
8) हाम्रो बेलायत यात्रा , सन् 2019, अ.ने.सा.स. सिलगढी
वर्तमान उनका दुई वटा कृति ‘यात्रै यात्रामा’ (उपन्यास) र ‘म पनि बेलायत पुगेँ ‘(यात्रा संस्मरण) लेख्दै गरेको अधुरो अवस्थामा रहेको छ।
भारत, नेपाल, भूटानका महत्वपूर्ण स्थानहरूको भ्रमणसहित उनले तीनपल्ट विदेश भ्रमण पनि गरिसकेका छन्। उनको पहिलो विदेश भ्रमण थियो सन् 2016 को सेप्टेम्बर महिनामा भिएना (अस्ट्रिया,युरोप)। त्यहाँ विशेष उनको फुपू सासुकी छोरीको बिहेको उपलक्ष्यमा एक महिनाको बसाइ भएको थियो। त्यस अवधिमा उनले रोम (इटली), सल्जवर्ग (अस्ट्रिया), म्युनिक (जर्मन) र प्राग (चेक रिपब्लिक)-को पनि भ्रमण गरेका थिए। त्यस सम्बन्धित उनले एउटा यात्रा संस्मरण ‘स्वच्छ डोनाउको किनारतिर’ लेखिसकेका छन् जो प्रकाशोन्मुख रहेको छ। दोस्रो विदेश भ्रमण – अस्ट्रेलियाको पर्थ र सिड़नी शहर थियो। 9 र 10 सेप्टेम्बर 2017 मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पर्थमा भएको पाँचौँ साहित्य सम्मेलनमा आजीवन सदस्य र प्रतिनिधिका रूपमा उनी सहभागी हुन पुगेका थिए। पर्थबाट अ.ने.सा.स. सिडनी चेप्टरको साहित्यक भेटघाटमा पनि सहभागी बने। उनी जम्मा 14 दिनको बसाइपछि सिडनीबाट 20 सेप्टेम्बर साँझ सिङ्गापुर हुँदै भारत फर्केका थिए। यस सम्बन्धित उनको अर्को यात्रा संस्मरण ‘पर्थ हुदैँ सिडनी’ प्रेसमा रहेको छ। उनको तेस्रो विदेश भ्रमण – यू.के. को लण्डन लगायत स्कटल्याण्ड र वेल्स भ्रमण थियो। यसपल्ट सन् 2019 को 3 र 4 मा लण्डनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छैटौँ साहित्य सम्मेलनमा आजीवन सदस्य र प्रतिनिधिका रूपमा सहभागी हुन पुगेका थिए। त्यसबेला उनी त्यहाँ 26 दिन रहेका थिए।
साहित्य लेखन सम्बन्धित एउटा प्रश्नको उत्तरमा उनी भन्छन् – ‘भाषा, साहित्य र संस्कृति बलियो भएको जाति नै संसारमा चिनिन्छ। पैसा आए पनि नआए पनि सेवा भावनाले साहित्य लेख्ने र पुस्तक छाप्ने नै जीवनको उदेश्य बनेको छ। भारतमा नेपाली लेखकहरूले प्रकाशक पाउने होइनन्। जे जस्तै भए नि अक्षर छोडेरै जाने।।‘ उनी एक मृदु भाषी, सरल र सहज प्रकृतिका मानिस हुन्। साहित्य र संस्कृतिका सङ्गम, बहुआयामिक प्रतिभा सम्पन्न व्यक्तित्व, उनी हाम्रो समाजकै एक धरोहर हुन्।
यसरी साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा उनले पुर्याएको अवदानको कदर गर्दै अनेकौं सङ्घ-संस्थाहरूबाट उनी सम्मानित तथा पुरस्कृत पनि भएका छन्। त्यसै क्रममा धेरै वर्षअघि नै 15 अगस्त 1985 मा सिलगढी सिटि जेसिसले आयोजना गरेको देशभक्ति गीत प्रतियोगितामा उनी प्रथम पुरस्कारले सम्मानित भएका थिए। सन् 1998 मा सिलगढीको शास्त्रीनगर नागरिक समितिद्वारा पनि उनलाई नागरिक सम्मान दिइएको थियो। त्यही वर्ष उनलाई बाल नाटक ‘रहर’-का निम्ति एन.बी.टी.आइ. सिलगढीद्वारा पनि सम्मानित गरियो। सन् 2004 मा लालिमा फिल्म्स प्रा. लि. काठमाडौंद्वारा चलचित्र ‘माझी दाई’-को पटकथा सम्वाद लेखन र अभिनयका निम्ति सम्मानित भए अनि सन् 2008 मा उत्तरबङ्ग नाट्य जगतद्वारा नाटककारको रुपमा पुरस्कृत एवं सम्मानित भए। सन् 2010 मा उनी अभिजमान स्मृति ट्रस्ट, कुवैतद्वारा समालोचनाका लागि स्पन्दन पुरस्कारले सम्मानित भएका थिए। सन् 2009 मा उनी विद्या भारती, सिक्किमद्वारा आयोजित शिक्षक तालिम कार्यक्रममा सम्मानित भए। यसरी नै सिलगढीका मञ्जु अणु इन्टरप्राइज, मध्यमार्ग पत्रिका, सुनाखरी जन कल्याण समाज, गोर्खा साइनो परिवारद्वारा आयोजित गोर्खा सांस्कृतिक मेला, बाल आवाज, कालेबुङ, सूचना तथा सांस्कृतिक विभाग, दार्जीलिङ, शिक्षक दिवस उद्यापन कमिटि, सिलगढी, डा. गुनु घर्ति किङ्ग इन्टरनेशनल फाउन्डेसन, गीतकार सङ्घ, इटहरी (नेपाल), चिल्ड्रेन्स लिटरेचर फाउन्डेसन, काठमाण्डौ, मिलाप फाउन्डेसन, काठमाण्डौ, बानेश्वर सर्जक समाज, काठमाण्डौ, गोर्खा जन पुस्तकालय, खरसाङ, असम नेपाली साहित्य सभा,गुवाहाटी आदि विभिन्न सङ्घ-संस्थाहरूबाट विशेष अवसरहरूमा उनी सम्मानित भएका छन्। सन् 2011 मा अञ्जली फिल्म्स एण्ड टेलिभिजन इन्टरप्राइज, रानीपुल, सिक्किमद्वारा चलचित्र ‘म कसरी भनुँ’’ मा सम्वाद लेखन र अभिनयका लागि सम्मान अनि चेनल एस प्रडक्सन, गान्तोकद्वारा चलचित्र ‘किन माया’ को पटकथा-सम्वाद लेखनका लागि सम्मान प्राप्त गरे। त्यसपछि उनले अ ग्रुप अफ कन्टेम्पोररी आर्टिस्ट एण्ड इन्टेलेक्चुअल्स, नयाँ दिल्लीद्वारा अवन्तिका राजीव गान्धी एडुकेसन एक्सिलेन्स एवार्ड 2012-13 प्राप्त गरे। सन् 2013 मा असम नेपाली नाट्य सम्मेलन, बटियामारीद्वारा हरिभक्त कटुवाल स्मृति सम्मान र सन् मा 2014 मा भानु जयन्ती उपलक्ष्यमा मितेरी नेपाल, काठमाण्डौँद्वारा हरिभक्त कटुवाल स्मृति मितेरी प्रतिभा सम्मान प्राप्त गरे। त्यही वर्ष अर्नोवा, दिल्लीद्वारा ‘साउति’ हास्यव्यङ्ग्य पत्रिकाको निम्ति उनलाई सम्मानित गरियो। सन् 2015 मा बाल विज्ञान उपन्यास ‘मालती’-का निम्ति उनलाई साहित्य अकादमी, दिल्लीबाट बाल साहित्य पुरस्कारले सम्मानित गरियो। उनी नेपाल बङ्गलादेश फ्रेन्डसिप सेरेमनी इन्टरनेशनल एवार्ड 2017 द्वारा पनि पुरष्कृत भए। सन् 2017 मा नै भारतेली नेपाली बाल साहित्य पुस्तकका निम्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार प्राप्त गरे। यही वर्ष जीवन काँड़ा कि फूल चलचित्रको पटकथा सम्वाद लेखकका रुपमा विष्ट ब्रदर्स फिल्म्स् प्रा.लि. काठमाड़ौँ, नेपालद्वारा सम्मानित भए अनि नेपाली भाषीहरूको राष्ट्रिय सङ्गठन हाम्रो स्वाभिमानको पतञ्जली योगपीठ, हरिद्वारमा आयोजित चौथो अन्तर्राष्ट्रिय सम्मेलन 2017 को उपलक्षमा योगॠषि बाबा रामदेव तथा आचार्य बालकृष्णज्युका बाहुलीबाट हाम्रो गौरव पुरस्कारले सम्मानित भए। यसैगरी भारतीय साहित्य प्रतिष्ठान, तेजपुरले पनि 19 नोभेम्बर 2017 मा खानामुख, असममा आयोजन गरेको काव्य उत्सव र सम्मान कार्यक्रममा श्रेष्ठ कवि सम्मान प्रदान गर्यो।
यसरी उनी नेपाली भाषा, साहित्य र संस्कृतिका निम्ति निरन्तर लगनशीलतासहित कार्य गर्दै विभिन्न सङ्घ-संस्था अनि आफु बाँचेको परिवेश र समाजसित पनि अक्षुण्ण रुपले संलग्न रहँदै आएका छन्। विद्यार्थी जीवनमा सन् 1966 देखि 1970 सम्म उनी गुवाहाटी छात्र सङ्घको सदस्य रहेका थिए भने सन् 1971 देखि 1975 सम्म कोषाध्यक्षको रुपमा काम गरेका थिए अनि असम गोर्खा सम्मेलनको गुवाहाटीको महा अधिवेशन – 1976 मा संयुक्त सांस्कृतिक सचिव रहेका थिए। सन् 1982 देखि वर्तमानसम्म प्रसार भारती, खरसाङमा वार्ताकार, फिचर तथा रेडियो नाटक लेखक एवं वाचकका रुपमा कार्य गर्दै आएका छन्। उनले सन् 2008 देखि 2011 सम्म पश्चिम बङ्गाल सरकारको लोक तथा आदिवासी संस्कृति शाखाको सदस्यको रुपमा पनि कार्य गरेका थिए। यसबाहेक उनी गोर्खा जन पुस्तकालय, खरसाङद्वारा सञ्चालित साहित्यिक पुरस्कारको निम्ति गठित नन्द-हरि-नगेन्द्र पुरस्कार चयन समितिका सदस्य अनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य पनि रहेका छन्। वर्तमान उनी आफ्नो अवकाश प्राप्त जीवन साहित्य-संस्कृति र समाजको सेवामा नै आफुलाई समर्पण गर्दै सपरिवार निज निवास्थान शास्त्रीनगर, सिलगढीमा व्यतित गरिरहेका छन्। यस्ता एकनिष्ठ लगनशील एवं बहुआयामिक प्रतिभा सम्पन्न व्यक्तित्व हाम्रो समाजमा विरलै पाइन्छ। उनको कला र कलम निरन्तर अघि बढ्दै जावोस्, हाम्रो यही शुभकामना छ।

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।