14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जीवन

कथा युवराज घलेभाइ October 3, 2021, 3:46 pm
युवराज घलेभाइ
युवराज घलेभाइ

अनि कहिलेकाहीँ म असाध्यै हाँसो हाँसिदिन्छु । एक्लो स्थितिमा शब्दहीन हाँसो बौलाहा हाँसो ठहरिन्छ । तर यो म सम्झिदिनँ आफ्नो नातागोताबाट पाएको कटु , चोट र मानसिक उत्पीडनबाट रुमलिएर उब्जेका हाँसो नै सम्झिन्छु म । अनि आज पनि म त्यसरी हाँसिरहेछु ।
दुइ-तीनपल्ट व्यथा र वेदनाको हाँसो हाँसेर म आफै आश्वस्त हुन्छु । दुइ-चार थोपा आँसु झारेर रुनुको सट्टा व्यथा र वेदनाकै वा शब्दहीन हाँसो-हाँसोको नै अनुरुप किन नहोस् हाँस्न प्रायः म अभ्यास भइसकेको छु । मन पनि पर्छ शब्दहीन हाँसो एक्लो-एक्लो स्थितिमा हाँसिरहन अब त मलाई । अनि फेरि त्यसरी नै म हाँसिरहेछु तर मेरो त्यस्तो हाँसो मेरा छेउ-छाउका सिष्टरहरुलाई भने पटक्कै मन पर्दैन । उनीहरुको अनुहारमा विरक्तिको भाव सधैं देखिन्छ । म त्यसरी शब्दहीन हाँसो हाँसेकोमा उनीहरूलाई ज्यादै बिझ्न लागेका छन् ।
- म आफ्नो रोगग्रस्त मुटु लिएर यो एसटीएनएम अस्पतालमा बाँचेको क्षणमा आफ्ना छेउ-छाउका सिष्टरहरुलाई म शब्दहीन हाँसो-हाँसेकामा जति नै बिझे पनि जति नै विरक्त बनाए पनि , म त्यस क्षणभरि नै हाँसिरहन्छु । किनकि हाँस्नु मलाई सुख लाग्छ तर हाँस्नु मलाई सुख लागे तापनि मेरा छेउ-छाउका सिष्टरहरुलाई नामज्जा लाग्दछ । म हाँस्दा , म आफूलाई जीवित-प्रतीत हुन्छ, नहाँस्दा उनीहरू झैं मुर्दा लाश सरह लाग्छ । उनीहरू झैं किन स्वयंलाई मुर्दा लाश झैं बनाउनु । म यहाँ , यसरी यो एसटीएनएम अस्पतालमा रोग उपचार गर्न बसेको मान्छे ? न कि मुर्दा लाश हुन आएको । न कि दु:ख बोक्न आएको ।
..... वास्तवमा मलाई अरुको दु:ख बोकेर टाउको किन दु:खाउनु ? जसरी अरु आफ्नो दु:खमा उकुसमुकुसिएर भए पनि नि:सन्देह जीवनलाई सुख मानेर बाँचिरहेका नै छन् । म मात्र किन अरुको दु:ख सम्झेर चिन्ता गर्नु ? चिन्तादेखि पर हुन खोजेर यसरी हाँसिरहनु कति आनन्ददाय भइरहेछ । हुन त जीवनमा हाँसो कतिदिन रहन सक्ला आफूलाई थाहा छैन। अरुको दु:खमा चिन्ता नगरिकन एक्लै हाँसिरहन कतै आफै सुखी भएको ठानिन्छ र ? बल्ल पाएको हाँसो कतै मलाई असहाय छोडन मन लाग्दैन , र त छेउ-छाउका सिष्टरहरु म त्यसरी हाँसेकोमा ज्यादै झर्को मान्दछिन् । उनीहरुलाई किन जलन हुन्छ म हाँसेकोमा ? आघात गर्न सिवाय अरु के छ यहाँ ? मेरो बाँच्नुसँग पनि उनीहरूलाई ज्यादै रीस उठेको हुनसक्छ । मलाई हाँस्न किन दिँदैनन् ? शायद उनीहरूले मलाई बौलाहा नै ठानेका छन् कि ? पटक्कै मन पर्दैन , मलाई कुनै हालतमा म बाँचेकोमा विरोध गर्नेलाई । जिन्दगीभरि रगतको आँसु बगाएर बल्ल-बल्ल यहाँ आएर हाँसेर बाँच्न सिकेकोमा पनि बाँचेकोमा खास अलग छैन । मानिसका जीवन कस्ता-कस्ता किसिमका हुन्छन् । यही एसटीएनएम अस्पतालमा आजसम्म राम्रोसँग हेर्न पाइरहेछु ।
____
ए , साँच्ची भुसुक्क बिर्सिएछु , अस्पतालमा बिमारी जस्तै भएर काइदासँग बस्नुपर्छ - भनी हिजो एउटी सिष्टरले भनेर गएकी थिई । यतिखेर मैले बिर्सिएछु । बाँच्नुलाई पनि कस्तो काइदा चाहिने भयो अब ? हामी जस्ता गरीब बिमारीलाई न अस्पताल , न समाज नै कुनै स्थान छ, काइदासँग बस्न । हाम्रो समाजले उपेक्षित गरेको त्यो पनि मान्छेलाई । हाँस उठ्छ, हाम्रो समाज सम्झंदा, समाज पूंजीपतिको लागि मात्र नभएर गरीब र निमुखाको लागि पनि त हो । के मैले हाम्रो यो समाजसँग स्वाभाविक जीवन लिएर बाँच्न खोजेको अनुभव गरेको छुइँन ? स्पष्ट भन्नु हो भने हाम्रो यो समाजले धेरै ठाउँमा के मलाई टुक्रा-टुक्रा पारेको छैन ? छोडिदिऊँ , यो समाजको कुरा । आज मलाई यसरी रोगग्रस्त मुटु लिएर बाँच्न विवश बनाएको कुरा मलाई मात्र थाहा छ । हाम्रो यो समाजको पोल खोलेर म लबस्तरा हुन चाहन्न बरु यसरी एक्लै शब्दहीन हाँसो हाँसेर भए पनि हिजोसम्म कुन ढंगमा बाँचिरहेको आफ्ना भोगाइहरुको शब्दहरु,बरु यो अस्पतालमा रोगग्रस्त मुटु लिएर बस्दै, रहँदै आफ्नो इच्छा अनुसार बुझ्न चाहन्छु । विचित्र लाग्छ,यसरी बाँचिरहेको आफ्नो भोगाइहरुको शब्द बुझ्न निरीह मान्छेको हाँसो र आँसु-व्यथा र उल्लासहरु मेरो आफ्नोपना जिउनको सन्दर्भदेखि अलग छ । बाँच्नुुको समस्या अलग-अलग भए पनि साना छैनन् ,आखिर मान्छे एउटै भए पनि ।
......................................... मेरो निम्ति त मान्छे सबै एउटै हो , यदि उसको जिउनुको सन्दर्भ अलग-अलग भए पनि हाँसो र आँसु व्यथा र उल्लासहरु , जब मान्छे एउटै छन् भने , विश्वास नगर्दा पनि विश्वास गर्न बाध्य हुन्छु । म मात्र यहाँ बाँच्न खोजेको छैन , बाँच्न सबै चाहन्छन् ,चाहेको पनि छ । फेरि आफ्नो यो हाँसो लिएर बाँच्न खोजेको जीवन मात्र जीवन आफ्नो होइन रहेछ ।
धेरैको जीवनसँग जीवन मिलाएर म यथावत् खस्केको मान्छे के यहाँ महत्त्वको हुनसक्छ । म बरु जति पनि हाँस्न सक्छु जीवनका कटुता बुझ्न त सक्छु । मलाई जीवन बुझ्न टाढा पनि जानु पर्दैन,यही (STNM HOSPITAL) अस्पतालमा काफी छ । जीवन सम्पूर्ण छ । भगवान र ईश्वरमा प्रगाढ श्रद्धा भएका मान्छे बाँच्नुको जीवन यहाँ खोज्दैछन् भने म पनि बाँच्नुको जीवन किन नखोज्नु ? खोजेर के बाँच्नुको जीवन पाइन्छ ? मेरो मस्तिष्कमा यो प्रश्न घुम्न थाल्छ ।
साँच्चै खोजेर कसैले बाँच्नुको जीवन पाएको छ ? सन्देह त यसैमा पनि त छ । खोजेर बाँच्नुको जीवन काहिँ पाएको छैन । बाँच्नुको जीवन स्वत: स्वयंसित छँदैछ । सारा दु:ख र कष्टमा पनि बाँच्नुको जीवन जीवित छ । होइन बाँच्नुको जीवनको आधारमा त मैले माया र सद्भावना पो खोजेको हुँ । वास्तवमा मैले यही खोजेको हूँँ कि ? म आफै बुझ्न सकेको छैन । यसरी यो प्रसंगमा म अबुझ भएर सम्बन्धित छु । त्यो पनि नि:सन्देह थाहा मलाई छैन । त्यस्तो शब्द स्पष्ट खुलेको पनि छैन । जान्दछु , व्यथा र पीडा लुकाएर शब्दहीन हाँसो हाँस्दैछु । हुनसक्छ , यो पनि बाच्नुको जीवन हो , शब्दहीन हाँसोमा यस्तै लाग्छ । यही सम्झिंदा मेरा पनि अपूर्ण सपनाहरू धेरै छन् । अनभिज्ञरुपमा नै लुकेर किन नबसेको होस् । दिनभरि,रातभरि शब्दहीन हाँसो-हाँस्दा मेरो पनि अपूर्ण सपनाहरू साकार हुँदो हो ता म किन शब्दहीन हाँसो हाँस्नु पर्नेथ्यो ? यो कसले बुझ्ने ? यसले,शायद मलाई बहकाउन सक्छ ,अल्मल्याउन सक्छ , भ्रममा राख्न सक्छ । वास्तविक के हो ? हाँस्नु पनि के बौलाहा ठहरिन्छ र ? हाँस्दा,कोही बौलाहा भइन्छ र ? मलाई लाग्दैन यस्तो ।
भनिदिनु मन यही लागेको छ,अरुलाई भनिदिंदा केे बुझ्लान् र अरुले म शब्दहीन हाँसो-हाँसेकोमा ? बाँच्नको सोखले मानिसलाई आज पनि खलबल-खलबल के पारेका छैनन् र ? यही हेरौं,यही अस्पतालभित्र हेरौं इन्जेक्सन र नाना प्रकारका ट्याबलेट छ यहाँ । बाँच्नुको सोखलाई कति चनाखो पारेको ? मलाई यस्ता सोखदेखि डर लाग्दछ,डर लागेपनि घृणा गर्दिनँ ,घृणा त उ ती गीता सिष्टर र आशा सिष्टरले समेतले गरेका छन् ।
बाँच्नुको सोखमा कत्रो ठूलो उपहास ? के यो ठूलो कुरो होइन ? त्यही उपहासको मुक्तिको लागि मानवीय पीडा म बोक्दैछु,आफ्नो अस्तित्वलाई कतै सजिलोसँग हिसाब लगाउन सक्छु भनेर । जिन्दगी बाँचेर मुक्ति पाइन्छ कि भन्ने अडकल गरेको छु । पछि के छ म भन्न सक्तिनँ । उही पुरानो हिसाबमा म हाँस्दैछु , शब्दहीन हाँसो बोकेर असाध्यै हाँस्न मनलाग्छ ।
यतिविघ्न,डरलाग्दो कुरो भइसकेर पनि के म नहाँस्नु त ? के ससानो कुरालाई ठूलो कुरामा म सोध्न त लागेको छैन ? सम्भव: यही होला ? घृणा किन गरिन्छ ? दु:ख-सुखको आदन-प्रदान प्रक्रिया नबुझी आफ्नो बाँच्नुको सुख मात्र सम्झी ? के यहाँ बिमारी भएर बस्नु घृणा र अभिशाप बन्नु मात्र हो त ?
मेरो पीडा एउटै हो,बौद्धिक चेतना कहीं अलग छैन । यसमा केही फरक छैन । त्यही घृणाले मलाई पोल्छ । एक्कासी युगप्रति अन्धा भएका मभित्रका मानिस दु:ख,तकलीफ र सामाजिक नियमबाट मुक्त नभई मर्न खोज्छ,के यही हो मानिसको धर्म मरेकालाई अझ मार्ने चाहना । मान्छेको धर्म त यो होइन,बिमारीप्रति घृणा गर्नु । बिमारी भयो भन्दैमा बाँच्नुको कुनै आधार हुन्न सम्झेर त गीता सिष्टर र आशा सिष्टरले जहिले पनि हामी बिमारीलाई घृणा गर्दथे । घृणित रोगीहरुप्रति पनि प्रेम हुन्छ,सौर्न्दर्य हुन्छ,जिउने चाह हुन्छ र हुन्छ जीवन ।
यधपि कुनै कारणवश बिमारी भयो भन्दैमा कसैलाई पनि हामीले दु:ख दिएका छैनौं,दु:ख त यथाशक्ति हामी आफैले भोगिरहेका छौं । भोग्नु,कष्ट होइन,जीवनसितको यो त घरेलु सम्झौता हो । मलाई यस्तै लाग्छ । दु:ख,रोगी,गरीबीको परिचय दिएर दु:खी,रोगी,गरीबीलाई घृणित र अभिशापित भन्न सकिंदैन । कारण सबै त एकदिन दु:खी,रोगी,गरीबीको परिचय दिएर यो अस्पतालमा वास बस्न आउनुपर्छ ।
शायद,यसबीच सिष्टर गीता र आशा पनि त कुनै दिन समयको चक्रमा परी बिमारी भई अस्पतालमा बस्लान् । उनीहरूले हामीलाई घृणा गरे झैं,उनीहरूलाई पनि कसैले घृणा गरिदिए भने त्यतिबेला उनीहरुको आत्मा के हाम्रो आत्मा झैं दु:खी नहोलान् ? सुखमा पनि एकसाथ हुनुको लागि त मान्छे जन्मेको हो । विश्वव्यापी मानवीय गुण श्रमलाई यसरी नै मान्छेले घृणा,अत्याचार गरिरहे भने के मान्छेको व्यक्तिगत सामाजिक सन्दर्भ धेरै दिनसम्म यहाँ बाँचिरहन सक्लान् ? यही कुरा सम्झिरहँदा मेरो सारा दुर्बल,मानसिकतामा आगो लाग्न थाल्छ । कतिलाई चाहिँ मानव प्रेमको अर्थ सम्झाएर पाप र घृणाको परिभाषा कति बुझाउनु मैले भनिहालें,यी सब कुरामा टाउको दु:खाएर म आफूलाई दु:खित हुन्न भने म मात्र किन दु:खित हुनु ?
मेरो बाँच्नुको आदान-प्रदान ठीकसँगले मिलेको छैन,यो कुँजे वर्तमान युगमा । ठीक छैन मेरो वर्तमान,कति दिनको सिकिस्त बिमारीबाट हिजो आज तंग्रिन लागिरहेछु । आजसम्म मेरो बिमारी हेर्न नातागोता घरबाट आएको छैन । खर्च गर्न मसित पैसा छैन,शेष भइसकेको छ । घर यो अस्पतालबाट टाढा छ । कसैले बुझ्ने होइन मेरो आफ्नो दु:ख । मानवीय संवेदनशीलदेखि पनि टाढा भइसकेको मेरो दु:ख ।
यसैमा न आत्मग्लानि छ,न पश्चाताप छ मलाई । तर
कस्तो चै मेरो मन रुँदो होला । मन रुँदो भएर पनि कसले देख्न सक्छ,देख्नुपर्छ आफैंले । मन नदु:खोस् भन्छु,स्वत: मन दुखिहाल्छ । कसले देख्न सक्छ । आफैंलाई थाहा छ । कोशिश गर्दैछु । आफ्नो मनको दु:खलाई बिर्सन,यसरी शब्दहीन हाँसो हाँसेर रातभरि आँखाबाट आँसु आउँछ । आँखाबाट झरेको आँसु पुछन पनि आफ्नै हातले पुछनुपर्छ । कुनै प्रकारको माया गर्ने आँटेको छुइनँ । जीउभरि रोग लागेपछि सबैले ठोक्कर लगाएर फाल्दोरहेछ । उसरी नै मलाई पनि ठोक्कर लगाएर,यस अस्पतालमा ल्याएर फ्याँकि दिएका छन् ।
कति किसिमले मानिसहरुबाट स्नेह पाउने आँट गरे,अहँ,यसको ठीक रुप निस्किन सकेन । यसतिर अब ता मैले चाख नै लिन छोडिदिएँ । जब मानिसले-मानिसलाई नै टुक्रा-टुक्रा पारी घृणा गर्दछ भने म पनि मान्छे नै भएको दृष्टिकोणले एकपल्ट सोध्दा मलाई मान्छेप्रति असहाय घृणा होइन,दया जागेर आउँछ । म कतै पनि लामो समयसम्म दयालु रहिरहन,अडिरहन सक्दिनँ । मान्छे भनेर हुँदैन रहेछ । आज मान्छे,मान्छे नभएर निर्लज्ज राक्षस भएका छन् । साँच्चै यो कुहेको वर्तमानमा राक्षस मात्र छन् । बाँच्ने जीवनको दाँजोमा मिलाएर हेर्दा मलाई यस्तै विश्वास लाग्छ । प्रभु यीशु ख्रीष्टलाई समेत त मान्छेले क्रूशमा झुण्डाएर मारे । भगवान बुद्धलाई बिष मिलाएर मारे । महात्मा गान्धीलाई गोली ठोकेर मारे । यस्ता उदाहरणहरु अनेकौं छन् । केहीबेर छैन,मलाई पनि मान्छेले घृणा गरेर मार्न सक्छन् । मान्छे जस्तै भएर बाँच्ने मेरो चाहना र आशालाई शायद,यो जूनीमा पूरा हुन नसक्लान् मलाई यस्तै लाग्न थालिसकेको छ । पुरानो सम्झना बल्झाएर सम्झेर कुहेको,सडेको वर्तमानमा बरु बोझ मात्र होला । जब मान्छे नै त पाउँदिन । यतिको उमेरमा म रोगग्रस्त मुटु लिएर बाँचेको म मान्छेलाई मान्छेले मद्दत दिएन भनेर किन चित्त दु:खाउनु । दु:खाउनु हुन्न । जब मान्छे नाटकीय ढंगमा लोभ र मोहमा परी आफ्नो जीवनलाई बोझ बनाई मान्छे तल झर्दै जाँदैछन् भने आफ्नो जीवनबारे सोचेर म आफैंलाई नियालिनु छैन । जब म भविष्यहीन छु भने ।
....... यहाँ केही पनि खेर जाँदैन संसार एउटा सत्यको भूमि हो भनिन्छ । तर मलाई यस्तो लाग्दैन,जब मेरो लागि यहाँ कोही हितचिन्तक नै छन भनेपछि,ती कुरामा कसरी विश्वास गर्नु ? वास्तवमा म जे सोचिरहेछु । शायद, त्यहीं नै चिन्तनशील सत्य हो कि ? जीवनको विषमता हटाई सत्यताको हिमायती पाउनु वा नपाउनु पनि शायद कर्ममाथि निर्भर छ । कर्म सम्पन्न भयो,फल सम्पन्न प्राय: हुन्छ । भनिएको छ,करम नैै जीवनका प्रत्येक आरोह र अवरोहको सिद्धान्त हो ।
** *** ***
हुनसक्छ,यसकै कमीले आज म विक्षुब्ध छु कि ? यो कसले जान्ने ? तर मलाई यति नै थाहा छ,न त कर्मसहित वर्तमान नै छ,न त उज्ज्वल भविष्य नै छ । म सिर्फ बौलाहा जस्तो भएर यी सब व्यक्तिगत कुराहरुलाई व्यर्थैै सोचेर किन निन्याउरो हुनु ? दु:ख जब बाँडेर,बाँडिदैन भने तबदेखि सोचेर म हाँस्दैछु-हाँस्दैछु । शायद,यसरी नै हाँस्दा-हाँस्दै भोलि आफू हाँसोको जगबाट पनि विशेष छोडिएर जानुपर्ला ? तब त्यसबेला कहाँ धर्म,कहाँ कर्म,कहाँ भाग्य,कहाँ सेवा,सबै त नि:स्सारता छ । शायद, यस्तै छ - शायद यस्तै होला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।