18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषा शिक्षण सिकाइमा ई-लर्निङ प्रयोग

विचार वीरेन्द्रकुमार बुढा October 4, 2021, 4:51 am
वीरेन्द्रकुमार बुढा
वीरेन्द्रकुमार बुढा

१.विषयपरिचय
भाषा शिक्षण भाषिक सिपहरुको शिक्षण हो । भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा आधारभूत सिपहरुमा दक्षता प्राप्त गराई भाषाको बोध र अभिव्यक्ति कलामा निपुण बनाउनु नै भाषा शिक्षणको उद्देश्य हो । विद्यार्थीहरुमा अपेक्षित सिपहरुमा के कसरी प्रभावकारिता ल्याउन सकिन्छ भन्ने बारेमा भाषाका शिक्षकहरु निरन्तर सचेत हुन जरुरी हुन्छ । त्यसका निम्ति आजको डिजिटल युगमा भाषा शिक्षणमा ईलर्निङको प्रयोग अत्यावशक भइसकेको छ ।
इन्टरनेटका माध्यमबाट अध्ययन गर्न सकिने सिकाइ नै ई-लर्निङ हो । ई-लर्निङमार्फत आफूअनुकूल ठाउँमा इन्टरनेट पहुँचमा बसेर अध्ययन गर्न सकिन्छ । ई-लर्निङ, दूर शिक्षा वा अनलाइन लर्निङ सूचना तथा सञ्‍चार प्रविधिको प्रयोगबाट विषयवस्तुलाई विद्यार्थीमाझ प्रभावकारी रूपमा पुर्‍याउने र विद्यार्थीले छिटो सिक्‍न सक्ने विधि हो । ई–सिकाइमा ‘ई’ को अर्थ इलेक्ट्रोनिक वा विद्युतीय माध्यमबाट वा डिजिटल माध्यमबाट सिक्ने र सिकाउने विधि हो । ई–सिकाइ संरा अमेरिकाबाट सुरु भएको हो र सन् १९९८ पछि विश्वव्यापीरूपमा ई–सिकाइ प्रणाली फैलिएको पाइन्छ । ई-लर्निङ मूलतः कम्प्युटर अर्थात् नेटवर्कमा आधारित शिक्षण प्रक्रिया हो । यसमा सिकाइका उद्देश्य पूरा गर्नका लागि इन्टरनेट, इन्ट्रानेट, विभिन्न सफ्टवेयर, अडियो वा भिडियो रेकर्ड, टीभीका माध्यमबाट सामग्री उपलब्ध गराइन्छ । यो नेटवर्कमा आधारित, इन्टरनेट आधारित वा सीडी रोम आधारित हुन सक्छ । यसमा छापा, श्रव्य, श्रव्यदृश्य, श्रव्य–छापा, श्रव्य–दृश्य छापा, मल्टिमिडिया, वेब साइट, श्रव्य सभा, श्रव्यदृश्य सभा जस्ता विविध प्रकारका माध्यम प्रयोग गरी विभिन्न क्रियाकलाप गर्दै सिकारूले सिक्न पाउने व्यवस्था गरिएको हुन्छ । ई-लर्निङमा कम्प्युटरमा आधारित शिक्षण, इन्टरनेटमा आधारित शिक्षण वा वेबमा आधारित शिक्षण जुनसुकै तरिका पनि अबलम्बन गर्न सकिन्छ ।
यो सिकाइ विद्युतीय, अनलाइनमा आधारित र प्रविधि मैत्री सिकाइ हो । सूचना र सञ्चारका साधनहरु र त्यसको प्रयोग मार्फत शिक्षक र विद्यार्थी बीच अन्तरक्रिया गर्ने, खुला र लचकदार प्रक्रिया मार्फत इण्टरनेट, सिडीरोम, भिडियो कन्फरेन्सिङ, सफ्टवेयर लगायतका अन्य सञ्चारका माध्यमहरु प्रयोग गर्दे व्यवस्थित सिकाइ अनुभव सहित आवश्यक श्रोत साधन युक्त कक्षा कोठा भित्रको सिकाइ प्रक्रिया ई-लर्निङ हो । कक्षा कोठाको सिकाइमा इन्टरनेटको जडान गरी सिकाइलाई प्रविधि मैत्री, खुला र विश्वव्यापी बनाउने आधुनिक औजार हो । तसर्थ ‘लाइभ कक्षा’ वा रेकर्ड गरिएको श्रव्य दृष्य सामग्री मार्फत् विषयगत शिक्षकको अभाव भएका तथा सिकाइ पद्धितलाई अन्तराष्ट्रियकरण गर्न चाहने विद्यालयका सयौं विद्यार्थीले इन्टरनेटको माध्यमबाट आफ्नो कोठामा बसेर एकैपटक पढ्न पाउने आधुनिक सिकाइ प्रविधि ई-लर्निङ हो । अहिले ई-कलास, भर्चुअल क्लास, हरियो बोर्ड, टेक्नो बोर्ड, स्मार्ट बोर्ड, ई-पाटीलगायतका प्रविधिहरु भित्रिएका छन् । पहिले जस्तो कालोपाटीमा चकले घडी र गाई बनाएर सिकाउने चलन बदलिँदै गएको छ । अब गाई र घडीकै तस्बिर र भिडियोबाट पढाउन थालिएको छ ।
२. ई-लर्निङका प्रकार
ई-लर्निङलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । सिंक्रोनस (Synchronous) र असिंक्रोनस (Asynchronous) ।
सिंक्रोनस ई-लर्निङ भनेको त्यस्तो सिकाइ प्रक्रिया हो जसमा शिक्षक विद्यार्थी अलगअलग ठाउँबाट एकअर्कासँग संवाद गर्न सक्छन् । विद्यार्थीले आफूलाई लागेको जिज्ञासा तत्काल शिक्षकसँग सोधेर पूरा गर्न सक्छन् । यसबाट सम्बन्धित विषयमा विद्यार्थीलाई आइपरेको समस्या तत्कालै पूरा हुन्छ । त्यसकारण यसलाई रियल टाइम लर्निङ पनि भनिन्छ । यसमा विद्यार्थीलाई कुनै पनि अनलाइन उपकरणका माध्यमबाट पाठ्यसामग्री उपलब्ध गराइन्छ । श्रव्य अर्थात् श्रव्यदृश्य सभा, लाइभ च्याट तथा भर्चुअल क्लास आदि यसका उदाहरण हुन् । अहिले यो तरिका एकदमै लोकप्रिय बनेको छ ।
असिंक्रोनस ई-लर्निङ भनेको त्यस्तो सिकाइ प्रक्रिया हो जसमा शिक्षक विद्यार्थीबीच संवाद हुँदैन । यस प्रक्रियामा पाठ्यसामग्रीको पहिले नै उपलब्ध हुन्छ । जस्तैः वेब आधारित अध्ययनः जसमा विद्यार्थी अनलाइन कोर्स, ब्लग, वेबसाइट, भिडियो क्लास, ई-बुक्स आदिका माध्यमबाट शिक्षा प्राप्त गर्दछ । यसको राम्रो पक्ष भनेको जतिबेला विद्यार्थी आफू जे सिक्न चाहन्छ त्यति नै बेला पाठ्यसामग्री प्राप्त गर्न सक्छ । त्यसकारण धेरैजसो विद्यार्थी यस प्रविधिकै माध्यमबाट सिक्न रूचि राख्दछन् । ई-लर्निङमा सिकाइ कार्यकलापलाई अघि बढाउनका प्रयोग गरिने केही साधनहरु हुन्छन् । जस्तैः निर्देशन र मूल्याङ्कन सफ्टवयेर, अन्तर्क्रिया सहजीकरण र प्रवर्द्धनको साधन, विषयवस्तु अर्थात् कार्य निर्माणको साधन, भाषा प्रयोगशाला आदि ।
३.भाषा शिक्षण सिकाइमा ई-लर्निङको महत्त्व तथा औचित्य
ई-लर्निङको मुख्य उद्देश्य नै शिक्षणमा पहुँच र गुणस्तर अभिवृद्धि गर्नु हो । यसका अलावा शिक्षण प्रक्रिया र शिक्षक तालिम कार्यको कक्षा कोठामा प्रयोग गर्न, समावेशी, एकीकृत, सहकार्यात्मक, सिर्जनात्मक, समालोचनात्मक र समस्या समाधानमुखी शिक्षण अभ्यासको थालनी गर्ने, शिक्षकको विकल्पको रुपमा प्रयोग गर्ने र प्रविधि मैत्री सिकाइ प्रदान गर्ने ई-लर्निङका अन्य उद्देश्यहरु हुन् । समय सापेक्ष शिक्षा, प्रतिस्पर्धी जनशक्ति, शैक्षिक रुपान्तरण र व्यवहारिक सिकाइ सीपको विकास र विस्तारका लागि समेत भाषा सिकाइमा नवीन प्रविधि ई-लर्निङको प्रयोग अत्यावश्यक रहेको देखिन्छ । यसलाई बुँदागत रुपमा यसप्रकार प्रस्तुत गरिन्छः
क) ई-लर्निङले शिक्षण सिकाइ र पेशागत क्षमता विकासका लागि शिक्षक तथा विद्यार्थीले कार्यथलो छोडनुपर्ने अवस्था हुँदैन। आ–आफ्नो कार्यक्षेत्रमा बसेर नै इन्टरनेटको मद्दतले भर्चअुल क्लासरुममार्फत भाषा शिक्षण सिकाइ र पेशागत क्षमता विकासका कार्यक्रमहरू सहजरूपमा सञ्चालन र उपयोग गर्न पनि सकिन्छ ।
ख) आजको एक्काइसौँ शताब्दीमा प्रविधिविनाको जीवन परिकल्पनाभन्दा बाहिरको कुरा हो । विज्ञान र प्रविधिको विकाससँगै शिक्षा र भाषा शिक्षण क्षेत्रको विकास अगाडि बढिरहेको सुखद पक्ष छ । सूचना तथा सञ्चार प्रविधिको सार्थक उपयोगले समग्र शिक्षा प्रणालीलाई नै सकारात्मक एवं प्रगतिशील बाटोमा डोर्‌याउन सक्छ ।
ग) सिकारूलाई भाषा शिक्षण सिकाइ कार्यमा सक्रियतापूर्वक सहभागी गराउन, विश्वमा भए गरेका भाषासम्बन्धी नयाँनयाँ खोज एवं अनुसन्धानलाई इमेल, इन्टरनेट, फेसबुक, ट्विटर, इमो, भाइबर आदिको माध्यमले सहजै पहुँचभित्र पार्न, गुगल सर्च गरी शिक्षण विधि तथा प्रविधिका नवीनतम अभ्यासहरूलाई हामी सजिलै हेर्न, अध्ययन गर्न र भाषा शिक्षणमा प्रयोग गर्न र नयाँ नयाँ खोज अनुसन्धानबाट प्राप्त भएका उपलब्धिलाई कक्षा शिक्षणमा प्रयोग गर्न सहयोग पुर्‌याउने भएकाले पनि यो महत्त्वपूर्ण देखिन्छ ।
घ) भाषापाठ्यवस्तुको स्वाध्ययनका लागि सिक्ने र सिकाउने अनि पढ्ने र पढाउने प्रयोजनले पनि प्रविधिको अत्धाधिक उपयोग गर्न, ज्ञानको आदानप्रदान गर्न, अनुभव र अभ्यासहरू साटासाट गर्न, शिक्षण विधि प्रविधिको उपयोग गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग महत्त्वपूर्ण मानिन्छ । प्रविधिमैत्री भाषा शिक्षण सिकाइले समग्र शिक्षाको विकासमा उल्लेखनीय सहयोग पुर्‌याएको वर्तमान परिवेशमा ई–लाइब्रेरी, ई–बुक, ई–न्युज, ई–एजुकेसन, ई–मेथोडोलोजी आदिको भरपुर सदुपयोग गर्न सके भाषाशिक्षणका क्षेत्रमा अझ प्रगति गर्न सकिन्छ ।
ङ) दोहोरो संवादलाई भाषा कक्षा शिक्षणमा प्रयोग गर्न, शिक्षण कार्यलाई स्रोतपूर्ण बनाई अर्थपूर्ण शिक्षण सिकाइ कार्य गर्न, सिकारूमा खोजी गर्ने बानीको विकास गर्न, संसारमा भए गरेका राम्रा र सफल भाषाशिक्षण अभ्यासलाई कक्षा शिक्षणमा भित्र्याउन आधुनिक सूचना तथा प्रविधिले सहयोग गर्ने भएकाले ई-लर्निङले समग्र शिक्षा प्रणालीको समुचित विकास र विस्तारमा सहयोग पुर्‌याउन सकिने भएकाले भाषाशिक्षणका क्षेत्रमा यो महत्त्वपूर्ण देखिन्छ ।
च) भाषाशिक्षणमा आधुनिक प्रविधिहरू जस्तैः मल्टीमिडिया, अनलाइन करिकुलम, डिजिटल लाइब्रेरी, प्रोजेक्टर, युट्युब, ई–कन्फरेन्स आदिको प्रयोग गरी भाषा शिक्षणको स्तरमा अभिवृद्धि गर्न ई-लर्निङको प्रयोग भाषाशिक्षणमा महत्त्वपूर्ण मानिन्छ ।
४.भाषाशिक्षण सिकाइ प्रक्रियमा ई-लर्निङको प्रयोग/शिक्षण विधि
भाषाशिक्षण सिकाइ प्रक्रियामा ई-लर्निङको प्रयोगले शिक्षक र विद्यार्थीलाई प्रविधिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुन सक्दछ । सूचना र सञ्चार प्रविधिद्वारा सिकाइ, सूचना र सञ्चार प्रविधिसंग सिकाइ र सूचना र सञ्चार प्रविधिको बारेमा सिकाइ कक्षा कोठाको सिकाइमा ई-लर्निङका मुख्य तीनवटा सिद्धान्तहरु हुन् । प्रविधिले विश्वलाई एउटा सानो गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एक आपसमा जोड्ने सेतुको कार्य गर्दछ । प्रविधिको माध्यमबाट विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको समाचार तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ । जब भाषाशिक्षण प्रविधि मैत्री हुन्छ तब उत्पादन गरिएका विद्यार्थी विश्व बजारमा सहज रुपमा समायोजन हुन सक्दछन् । धूलोट, सिलोट, खरी वा हरिया पात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ । त्यसकारण एक्काइसौं शताब्दीले माग गरेको बिश्व बजारमा खपत हुने भाषा सिकाइ प्रदान गर्नका लागि भाषा शिक्षण सिकाइमा ई-लर्निङको प्रयोग निर्विकल्प बनिरहेको छ ।
मानिसको कुनै पनि क्रियाकलापको लागि भाषा पहिलो र अनिवार्य सर्त हो । एक अर्काका विचार भावनाहरू आदान प्रदान गर्ने माध्यम नै भाषा हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका सिप हुन् । उत्कृष्ठ र प्रभावकारी रूपले विचार आदान प्रदानका लागि यी चारवटै सिपको समान विकास हुनुपर्छ । सुनाइ र पढाइले व्यक्तिमा ज्ञान, सूचना लिनको लागि सहयोग पुग्छ भने बोलाइ र लेखाइले ज्ञान, विचार, भावना, अनुभव अन्यलाई बाँड्नको लागि सहयोग गर्छ । मानिसमा यी चारवटै सिपको समान विकास हुनु जरुरी छ । यी सिपको विकासका लागी आवश्यक सहयोगी सामग्री गुगल वा अन्य सर्च इन्जिनमा पाउन सकिन्छ । यीनको प्रयोगबाट सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप विकास हुन जान्छ । भाषा शिक्षण सिकाइ सामग्री चाहिएमा गुगलमा गएर चित्र, आवाज, एनिमेशन र अक्षर भएका विभिन्न प्रकारका भाषासम्बन्धी ई–पाठहरू प्रयोग गर्न सकिन्छ । ई-पुस्तकालयमा विद्यार्थीको सिकाइ स्तरका आधारमा विभाजन गरेर राखिएका भाषा साहित्यका पुस्तकको प्रयोग गरी भाषाशिक्षणमा पठन सिपको विकास गराउन सकिन्छ । टिम्स, जुम, गुगल क्लास, टिभी, रेडियो, युटुब तथा अन्य विद्युतीसामग्रीबाट भाषाशिक्षण कार्यकलाप अगाडि बढाउन सकिन्छ । ई-पुस्तकालयमा हजारौँको संख्यामा डिजिटल पुस्तक, अडियो पुस्तक, भिडियो तथा अभ्यास गर्ने सामग्रीहरू उपलव्ध हुन्छन् । यिनको प्रयोग गरी भाषा शिक्षण प्रभावकारी र उद्देश्यमूलक बनाउन सकिन्छ । साथै मोबाइल एपको प्रयोगबाट पनि सिकाइ कार्यकलाप अगाडि बढाउन सकिन्छ ।
१. यसमा शिक्षक र विद्यार्थी अलग अलग ठाउँमा बसेर विद्युती सामग्री टिम्स जुम, गुगल क्लास, टिभी, रेडियो , युटुब तथा यस्तै विद्युतीय सामग्रीको प्रयोग गरी कक्षा कार्यकलाप अगाडि बढाउँछन् ।
२.शिक्षकले कक्षा निर्माण गरी विद्यार्थीलाई त्यसमा जोडिन आग्रह गरी कक्षा कार्यकलाप अगाडि बढाइन्छ ।
३.शिक्षकले विद्युतीय सामग्रीबाट पाठ्यसामग्रीको जानकारी गराउँछन् र त्यसैमा आधारित रहेर छलफल तथा कक्षा कार्यकलाप सुचारु गरिन्छ ।
४.आवश्यक मात्रामा शिक्षकले विषयवस्तु वा पाठ्यसामग्रीको प्रदर्शन गरी व्याख्या विश्लेषण गरिसकेपछि विद्यार्थीबाट आएका समस्या समाधान गर्ने गरिन्छ ।
५. विद्यार्थीलाई भाषिक सीप विकासका लागि व्यक्तिगत वा सामूहिक कार्य गराई कक्षामा प्रस्तुत गर्न लगाइन्छ ।
६.विद्यार्थीले आवश्यक पाठ्यसामग्री गुगलमा सर्च गरेर प्राप्त गर्दछन् जसबाट विद्यार्थीमा पाठ्यसामग्रीको खोजी गर्ने बानीको विकास हुन्छ ।
७. ई-लर्निङ प्रक्रियामा विद्युतीय सामग्रीको मात्र उपयोग गरी शिक्षण कार्य अगाडि बढाइन्छ ।
८. आवश्यक मात्रामा कक्षाको बीचबीचमा वा अन्त्यमा शिक्षकले पृष्ठपोषण पनि दिने गर्दछन् ।
९. कक्षा कार्यकलापलाई व्यवस्थित गर्न विभिन्न साधन (Tool) को प्रयोग गर्न सकिन्छः जस्तैः निर्देशन र मूल्याङ्कन सफ्टवयेर (Monitoring and assessment software), अन्तर्क्रिया सहजीकरण र प्रवर्द्धनको साधन (Solutions to support and promote interaction), विषयवस्तु अर्थात् कार्य निर्माणको साधन (Tools for content creation), भाषा प्रयोगशाला (Language labs) आदि।
१०. भाषाशिक्षण विधिका रुपमा मोबाइल विधिको प्रयोग युटुब, फेसबुक, मेसेन्जर, विकिपिडिया, गुगल शब्दकोश र अनुवाद जस्ता एप्सको प्रयोग गरेर शिक्षण सिकाइ कार्यकलाप अगि बढाउन सकिन्छ ।

५. भाषिक मूल्याङ्कन प्रक्रिया
शिक्षकले पाठ्यसामग्रीको प्रस्तुतीकरण तथा व्याख्या विश्लेषण पछि विद्यार्थीले के कति भाषिक ज्ञान हासिल गरे ? अर्थात् भाषा शिक्षण सिकाइको उद्देश्य प्राप्त भए नभएको जाँच्न भाषिक मूल्याङ्कन आवश्यक पर्दछ । मूल्याङ्कन विना शैक्षिक कार्यक्रम अधुरो रहन्छ । ई-लर्निङमा पनि मूल्याङ्कन कार्य गर्नुपर्ने भएकाले यसको प्रयोग यसप्रकार गरिन्छः
१. विद्यार्थीलाई कुनै पाठ्यांशको जानकारी दिइसकेपछि विद्यार्थीको धारणा केकस्तो रह्यो मौखिक रुपमा सोधेर,
२. पाठ्यवस्तुबारे विद्यार्थीलाई आफ्ना धारणा राख्न लगाएर,
३. विद्यार्थीहरुलाई भाषिक सामग्रीमा आधारित रहेर टर्म पेपर तयार पारेर प्रस्तुतीकरण गर्न लगाएर,
४. विद्यार्थीहरुलाई कुनै भाषिक सामग्रीलाई स्लाइड बनाई कक्षामा प्रस्तुतीकरण गर्न लगाएर,
५. क्षेत्र कार्य, स्थानीय पुस्तकालय तथा प्रयोगशाला, सामाजिक सर्वेक्षण, पाठपठन तथा कक्षा अवलोकनबाट पनि मूल्याङ्कन गर्न सकिने
६. परियोजना कार्य, समूहकार्य, कक्षा कार्यलगायतका कार्य गर्न लगाएर
ई-लर्निङ अहिले एकदमै लोकप्रिय प्रक्रियाका रुपमा रहेको छ । यसको प्रयोग विश्वका अधिकांश शैक्षिक संस्थाहरुले यसको प्रयोग गर्दै आएका छन् र यसको प्रयोग अझ बढ्दो क्रममा रहेको देखिन्छ ।
६. निष्कर्ष
ई-लर्निङ कम्प्युटर अर्थात् नेटवर्कमा आधारित शिक्षण प्रक्रिया हो । यसमा सिकाइका उद्देश्य पूरा गर्नका लागि इन्टरनेट, इन्ट्रानेट, विभिन्न सफ्टवेयर, अडियो वा भिडियो रेकर्ड, टीभीका माध्यमबाट सामग्री उपलब्ध गराइन्छ । समय सापेक्ष शिक्षा, प्रतिस्पर्धी जनशक्ति, शैक्षिक रुपान्तरण र व्यवहारिक सिकाइ सीपको विकास र विस्तारका लागि भाषा सिकाइमा नवीन प्रविधि ई-लर्निङको प्रयोग अत्यावश्यक रहेको देखिन्छ । धूलोट, सिलोट, खरी वा हरिया पात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन । एक्काइसौं शताब्दीले माग गरेको बिश्व बजारमा खपत हुने भाषा सिकाइ प्रदान गर्नका लागि भाषा शिक्षण सिकाइमा ई-लर्निङको प्रयोग निर्विकल्प देखिन्छ । त्यसैले ई-लर्निङ अहिले एकदमै लोकप्रिय प्रक्रियाका रुपमा रहेको छ । यसको प्रयोग विश्वका अधिकांश शैक्षिक संस्थाहरुले यसको प्रयोग गर्दै आएका छन् र यसको प्रयोग अझ बढ्दो क्रममा रहेको देखिन्छ ।

सन्दर्भ सामग्री सूची
कार्की, टिकाराज (२०७६ चैत्र २०). सिकाइ लकडाउन र डिजिटल शैक्षिक सामग्री. समयखबर. https://www.samayakhabar.com/edu-health/158
खत्री, नरेश ( २०७७ वैशाख २५). अनलाइन शिक्षाबारे छलफल गरौँ. अनलाइन मजदुर. https://onlinemajdoor.com/?p=48809
पोखरेल, हरिप्रसाद (२०७६माघ २१). कक्षामा शिक्षण प्रविधि. गोरखापत्र अनलाइन. https://gorkhapatraonline.com/opinion/2020-02-04-8149
शिक्षा में सूचना एवं संचार तकनीकी http://www.mgahv.in/Pdf/Dist/gen/shiksha_004_13_04_16.pdf

Ali, Muhammad Mooneeb and Malik, Nazir Ahmad (2016). Viber as an Online Tool for Examining the Gramatical Knowledge of EFL Learners. SciInt. 28(3) 2509-2511. http://www.sci-int.com/pdf/636934287272382701.pdf.
Al-Maqtri, Mahmoud Ahmed Thabet (2014 July). How Effective is Elearning in Teaching English?: A Case Study. Journal of Education and Human Development, 3(2), 647-669. https://www.researchgate.net/publication/316158487_How_Effective_is_E-learning_in_Teaching_English_A_Case_Study
Al-obaydi, Liqaa Habeb and Ibrahim, Atyaf Hasan (2019). The Effect of Viber application on the Acquisition of Clipped Blended and Acronym words. The online journal of quality in Higher Education, 6(1) https://www.researchgate.net/publication/330183495_THE_EFFECT_OF_VIBER_APPLICATION_ON_THE_ACQUISITION_OF_CLIPPED_BLENDED_AND_ACRONYM_WORDS
Beckingham, Sue (2015 Dec. 13). Using You Tube in learning and teaching. Social Media Learning. https://socialmediaforlearning.com/2015/12/13/using-youtube-in-learning-and-teaching/

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।