15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'बोकासाहित्यकार' मुखाँ कुभिण़्डो !

हास्यव्यङ्ग्य कृष्ण प्रधान October 17, 2021, 3:18 am
कृष्ण प्रधान
कृष्ण प्रधान

बोका मुखाँ कुभिण्डो अँट्दैन भन्या सुन्या मात्रै । तर कुनै पनि बोका मुखाँ चाइने कुभिण्डो अँट्या वा कसैले खाद्याँ सत्ते होला लु आजसम्म मैले देख्या छैन । कुन हरिलट्ठकले चाइँजो बोका मुखाँ कुभिण्डो अटाउँने वा खाँदने मूर्ख प्रयास गरे होलान् भन्ने प्रश्नले पनि बेला-बखत मलाई अलस-तलस पार्छ । कुन उपद्र्याहालाई के भनेर बोकाको मुखाँ कुभिण्डो अटाउँनु वा खादनु मन लाग्यो होला भन्ने एक राश प्रश्नले पनि मलाई अत्तलाउने गर्छ ।
भुराभुरी छँदा पनि हामीले बोकाको मुखाँ कुभिण्डो खादने कुरो सोच्दै सोंचेनौं । बरू भाँड़ाकुटी खेल्दाहुँदी बुवाको भूमिका वहन गर्दाको समयमा बुवा र मुवाले कटुवा सरसर्ती चुसेका देख्दा हामीले पनि फर्सी, इस्कुस वा बुकी फूलका सुकिसकेका पातहरू धूला पारी स्कूलको खातामा बेह्रेर तान्नुसम्म तान्थ्यौं । एक दुइ सर्को तानेपछि सर्केर प्राण परिन्थ्यो । सर्किँदा अब ता यस्तो खान्नँ भनी ठुटो मिल्काए पनि भोलि ता फेरि नतानी भाँड़ाकुटी खेल्दा बाबुको भूमिकाको महत्व नै रहँदैन थियो ।
उपद्रोकै कुरा गर्नु हो भने, तल्लो घर, माथ्लो घरको बारीबाट काँक्रा, भोगटे चोरेर ल्याई खोर्सानीसित साँधेर खान्थ्यौं । भोगटे वालछ्याल हुँदा सोही भोगटेको फुटबल खेल्ने गर्दथ्यौं । तर हामीले कुनै पशु, जन्तु जनावरमाथि कुनै अत्याचार कहिल्यै गरेनौं । धेरभन्दा धेर झिङ्गा मार्दै कमिलाको ताँतीमा फ्याँकिदिन्थ्यौं । कमिलाले मरेको झिङ्गा मुखमा च्यापेर कुदैको देख्दा सुठी नै मज्जा उपभोग गर्थ्यौं । हाम्रो घरमा बोका नभएको होइन । साह्रै बदमाश र अटेरी त्यो । बाँधेर राखिन्थ्यो । कतै फुत्किनु पायो कि त्यो बोको सोझा सिङ उजाएर हान्नु आउँथ्यो । हाम्रो भागाभाग हुन्थ्यो । फेरि बोका यति धेर गन्हाउने त्यसको छेउमा कोही पर्नै नमान्ने । सोझै हान्न आउने, ह्वास्सै गन्हाउने बोकाको मुखाँ किन के भनेर कुभिण्डो खाँदने ?
कुरो गहिरो छ । हाम्रा बाजे-बराज्यूको पालामा कसैले न कसैले बोकाको मुखाँ कुभिण्डो अट्छ अटँदैन भनी जाँच गरेकै हुनुपर्छ । टुप्पोको आधासम्म बोकाको मुखाँ कुभिण्डो सायद अटँयो पनि होला । तर त्यसको फेदतिरको ठूलो भाग ता अटँने कुरै आएन । अगुल्टोले हानेको कुकुर बिजली देख्दा तर्सिन्छ भन्छ । बोकाका पुर्वजहरूलाई हाम्रा पूर्वजहरूले साँच्चै मुखमा कुभिण्डो खादने प्रयास गरेकै हुन् भने ता अचेलका बोकाहरू कुभिण्डो देख्दै दस डाँड़ा काट्नु पर्ने हो । बोकालाई मैले धेरैपल्ट कुभिण्डो देखाएँ कतै तर्सैर भाग्छ कि भनेर । के भाग्थ्यो अचेलका राउडिज बोकाहरू । कुभिण्डोलाई वास्तै नगरी सोझै सिङ उधाएर हान्न आउँदा बोकाको डरले होइन बोका गन्हाएर मै बरू सुइँकुच्चा ठोक्नु परेको कुरा किन ढाँटु ?
बोका कस्तो गन्हाउँछ...सोबारे थाहा नहुने विरलाकोटि पाइएलान् । एकदिन एकजना जुवाड़ेले गाउँमा एउटा बोकालाई खोरभित्र हालेर घोषणा गरेछन् , यो खोरभित्रको बोकासित जुन मानिस दस मिनटसम्म ढुक्कैले बस्न सक्छन् तिनलाई पुरस्कार वापत् एक हजार दिइनेछ ।
गाउँका भुराभुरी-बूढ़ाबूढ़ी एक हजार रुपियाँ पुरस्कार जित्नलाई एकेक जना पालैपिलो बोका भएको खोरभित्र पसे । दुइ तीन सेकेण्डभन्दा धेर बोकासित कोही बस्न सकेनन् । बोका गन्हाएकोले कोही वाक् वाक् गर्दै, कोही उल्टी खोरदेखि बाहिर निस्के ।
अन्त्यमा एकजना सिङ्साबा खोरभित्र पसे । पसेका पसेकै भए । पाँच मिनट बित्यो । सात मिनट । आठ मिनट । नौ मिनट । सिङ्साबा भित्रै छन् । दस मिनट भयो । सिङसाबा निस्कँदैनन् । बोका गन्हाएकोले सिङसाबा बेहोश भए भनी सबैले लख काढ़छन् । एकक्षण पछि बोका नाक खुम्च्याउँदै... कराउँदै बाहिर निस्कन्छ ।
यसबाट अनुमान लाउनोस् बोका कड़ा कि सिङसाबा ?
साँच्चै भनुँ भने, बोकाको मुखमा मुखाँ कुभिण़्डो अँटेको मैले आजसम्म नदेखे पनि चाइऩे साहित्यकार मुखाँ चाइजो कुभिण्डो कसैले खादेको चाहिँ यो आँखाले छतछती देखेको छु । सबै साहित्यकारको मुखाँ कुभिण्डो होइन तर बोकासाहित्यकार मुखाँमात्र चाइने कुभिण्डो अटी नअटी खाद्याँको देख्या छु ।
साहित्यमा बामे सरेदेखि उसो मैले साहित्यकारहरूलाई महान् साहित्यकार, अग्रज साहित्यकार, विद्वान साहित्यकार, अब्बल साहित्यकार, जण्डा साहित्यकार, पोख्त साहित्यकार, धुरन्धर साहित्यकार आदि आदि विशेषणको पगरी गुँथाइएको देखेको छु, सुनेको छु ।
साहित्यकार भन्नु नै विद्वान जनावर हो । उनीसित गुहू र गोबरमा भिन्नता छुट्याउऩे बेजोड़ गुण हुन्छ । सेतोलाई सेतो अऩि कालोलाई कालो भन्न सक्ने हिम्मत र आँट पनि हुन्छ । कसैको लोलोपोतो वा होहोरीमा पटक्कै लाग्दैनन् यी महान् साहित्यकारहरू । तर हिजोआज महान् साहित्यकार, अग्रज साहित्यकार, विद्वान साहित्यकार, अब्बल साहित्यकार, जण्डा साहित्यकार, पोख्त साहित्यकार, धुरन्धर साहित्यकार बाहेक पनि बोकासाहित्यकार साहित्यको बजारमा देखिन थालेको छ । बोका भनेको लट्ठक अर्थमा नलिनुहोला । चतुर, चङ्खे, आफ्नो दुनो सोझ्याउनमा तत्पर रहने साहित्यकार बोकासाहित्यकार श्रेणीमा पर्छन् । जसलाई झोलेसाहित्यकार, पुच्छरे, धूपौरेसाहित्यकारको पगरी गुँथाउँदा पनि ठ्याक्कै टुटा पर्दैन ।
बोकासाहित्यकार चोरबाटो हिँड़ेरै राजधानी छिचोल्नु चाहन्छन् । बोकासाहित्यकार छिट्टै प्रसिद्घिको काँधमा बुइँ चढ़्न चाहन्छन् । यति चाँढ़ै प्रसिद्धिको डसनामा मनग्गे पाराले उफ्रिनुको निम्ति उनले एकजना सिङसाँढ़े साहित्यकारलाई गुरु थाप्छन् । बस्...दस औँली मात्रै किन दस पावै घिउमा ग्वाम्मै । रुप न राप झ्यारझिम्...सिप न साप झ्यारझिम् भनेजस्तै यस्ता बोकासाहित्यकार खासमा भित्र खोक्रो हुन्छ । तर सिङसाँढ़े साहित्यकारको जादूको लौरो तिनको शीरमा एकपल्ट पनि स्पर्श भए बोकासाहित्यकार आफूलाई स्वर्ग पुगेजस्तै अभिमानले गजक्क र मसक्क हुन्छन् । सिङसाँढ़े साहित्यकारले एकजना सद्दे साहित्यकारलाई लबीको बपतिस्मा गरी बोकासाहित्यकारमा परिणत गरी निम्न शर्तहरू पालन गर्नुपर्ने विषयमा मुखमा कुभिण्डो खाँदिदिन्छ । ती शर्तहरू हुन् -
(क) कतै केही आफूखुशी बोल्न पाइँदैन ।
(ख) पुरस्कार चयन गर्दाको समयमा मुखमा कुभिण्डो खाँदेर अन्य निर्णायकमण्डलीका साथी सदस्यसित तर्क गर्दा गुरुजीबाट जसको नाउँ सिफारिश गर्ने आदेश भएको छ...त्यसबाहेक यमराजै चयन गरिए पनि घाँटीस्मै कुभिण्डो खाँदेर बस्नुपर्नेछ ।
(ग) गूरुको बदनाम वा दुर्नाम कतै भइरहेको छ भने मुखबाट कुनै हालतमा पनि कुभिण्डो निकाल्न पाइने छैन । चूपो लागि बस्दा नै जित हुन्छ ।
(घ) बोकासाहित्यकारको बप्तिसमा लिएपछि गुरुको यात्राकालमा उऩको हवाई टिकट काटिदने, झोला बोकिदिने, प्रकाशकहरू खोजिदिने जिम्मेवारी लिनुपर्छ ।
(ङ) बोकासाहित्यकारले गुरुको अङ्गरक्षक मात्रै होइन बबर्ची, वेटर, धोबी आदिको भूमिका वहन गर्नुपर्छ ।
(च) कथङ्कल कुनै कमी देखिए वा गुरुका विरोधीहरूसित साँठगाँठ गरिएको सुइँको पाए आजीवन बोकासाहित्यकारले पाउनुपर्ने सुख, सुविधा, सहुलियतबाट वञ्चित गरिइनेछ ।

उपरोक्त शर्तहरू पालन गर्ने बोकासाहित्यकारको परिचय -
(क) मृत्युञ्जय लबरपाँड़े - मृत्युञ्जय लबरपाँड़े होनहार साहित्यकार हुन् । यिनी बोकासाहित्यकारमा परिणत भएपछि गुरुले यिनको मुखाँ कुभिण्डो खाँदिदिपछि बोल्ने कुरै आएन । एकदमै गम्भीर देखिन्छन् । मुखाँ कुभिण्डो खाँदिएको हुनाले यिनी नबोली गर्नुपर्ने काम फत्ते पार्छन् । यी बोकासाहित्यकारलाई बकलाटो पनि भनिएको सुनिएको छ । बकुलो बग्दै गरेको पानीमा चूपोलागि उभिरहन्छ । तिनको छेउमा माछा पर्ने बित्तिकै माछा चुच्चाले समाती क्वाप्ल्वाक्कै पारी फेरि आफू हल न चल भइबस्छ । न त्यहाँ पानीको तरङ्ग देखिन्छ । यी मृत्युञ्जय लबरपाँड़े पनि बकुला स्टाइलमै आफ्नो काम फत्ते पार्छ । तर तिनको यो रणनीति कसैले थाहा पाउँदैनन् । यस्तो बोकासाहित्यकारलाई मैले बकलाटो नाम दिएको छु । अहिले यिनै मृत्युञ्जय लबरपाँड़ेको साहित्यको बजारमा जै-जै छ । यिनका मुखाँ कुभिण्डो खाँदिएको झण्डै दस-पन्ध्र वर्ष नाँघिसक्यो ।

(ख) स्यालराज घर्तीमगर - यिनी हुन् मार्कामारा बोकासाहित्यकार । यिनको मुखाँ कुभिण़्डो खाँदिएको धेर भएको छैन । तर यिनले कुभिण्डो मुखाँ खाँदेदेखि यता साहित्यको बजारमा मुलूक मारिसकेका छन् । यिनकै जै-जै छ ; थै-थै छ । .यिनका मुखाँ कुभिण्डो खाँदने कुभिण्डोलवाललाई यी स्यालराज घर्तीमगर बोकासाहित्यकारले आफ्नो कुलदेवताभन्दा पनि आगर मान्छन् । नजानिँदो पाराले कुभिण्डोवाललाई बाह्र -बत्तीसका प्रशंसा, फूल-अछेती चढ़ाएर साहित्यको बजारमा घो़ड़ा चढ़्न सक्षम देखिन्छन् । घर्तीमगर सरलाई मैले बङ्ला भाषामा प्रयोग गरिने उखान "धोरी माछ नछुई जोल" अर्थात् पानी नछोई नै माछा समात्छु विशेषणको पगरी गुँथाइदिएको छु । बोकासाहित्यकार घर्तीमगरलाई सबै कुराको नालीबेली थाहा हुन्छ । हर हालतमा आफ्नो काम बनाइरहेको हुन्छ...तर अरुको ता के कुरा आफ्नै स्वास्नीलाई समेत एक शब्द भन्दैनन् । गुरुजीले पनि यिनको कमजोरीको फायदा उठाएर यी स्यालराज घर्तीमगरलाई गर्नुसम्म प्रयोग गरेर आफू मैँ हुँ भइरहका छन् । गुरुजीको अभिनन्दन ग्रन्थ छपाउने, उनलाई सम्मान अभिनन्दन गरिने, पुरस्कारको लाइन लगाइदिने ठेका यिनै स्यालराज घर्तीमगरले लिएको देखिन्छ । यी ठेकाबाहेक पनि गुरुजीको ख्याल राख्नु, उनको कुम्लो कोटेरो बोक्नमा .यिनलाई कुनै अऩ्य बोकासाहित्यकारले उछिन्न सकेको देखिँदैन ।

(ग) प्रणयकुमार निकृष्ट - ज्यू प्रणयकुमार निकृष्ट । यिनी हुन् जण्डा बोकासाहित्यकार । यिनको व्यक्तित्वमा पनि "डुबे डुबे जोल खाय" अर्थात् डुबी डुबी पानी खान्छु भन्ने बङ्ला उखान ठ्याक्कै फिट हुन्छ । प्रणयकुमार निकृष्ट साहित्य बजारमा सबैभन्दा अग्रज अऩि ज्येष्ठ बोकासाहित्यकार हुन् । मान्छे अति नै सरल । सबैलाई समान दृष्टिले हेर्ने यिनको सुबानी भए पनि यिनको पनि मुखाँ कुभिण़्डो खाँदिएदेखि उसो यिनी ठ्याम्मै नबोल्ने भएका देखिन्छ । कथङ्कल कुभिण्डो निकालेर बोल्यो कि ता गुरुजीले यिनको बजार सुकाइदिन्छन् । यी प्रणयकुमार निकृष्ट महोदयलाई अरुसित लुतो कनाइ वा सरोकार केही छैन । आफ्नो काम चैं जसरी पनि हुनुपर्छ र साहित्यको बजारमा मेरो जगजगी हुनुपर्छ भन्ने ध्याउन्नमा यिनी अहर्निश छटपटिरहेका हुन्छन् । पाएजत्ति सबै मै सोरुँ भन्ने यिनको उत्कट इच्छा देखिन्छ ।
प्रणयकुमार निकृष्ट बोकासाहित्यकारको चर्तीकला देख्दा यिनको गतिविधिमा लेखनाथ पौड्यालको निम्म कवितांश दुरुस्तै मिलेको देखिन्छ -
"मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म हाँसु मै नाचुँ अरु सब मरुन् दुर्बलहरू ।"
यिनको मुखाँ कुभिण्डो खाँदिएपछि यिनलाई गुरुजीले बिरालोले मूसालाई लितिपित पारेजस्तो लितिपिति पारेका कुरा बजारभरि हल्लै छ । चुइँ बोलिसक्नु छैन क्यारे ! बोल्नु पनि कसरी...मुखाँ झण्डै हाइब्रिड गरिएको कुभिण्डो जो खाँदिएको छ । यी लुइँतामे प्रणयकुमार निकृष्ट बोकासाहित्यकार गुरुजीले लितिपिति खेलाए पनि, पत्रु सम्झे पनि यिनी साहित्यिक बजारमा भएका जति सबै गमर्क्याउँने दाउमा छन् । यिनी आफ्नो प्राण जावोस् तर कुनै हालतमा मुखमा गतिलो पाराले खाँदिएको कुभिण्डो नझरोस् वा अरुले नखोसोस् भन्ने ईश्वरसित रात-दिन विन्ति बिसाउँछन् भन्ने कुरो यिनका पारिवारिक सुत्रबाट थाहा पाइएको छ ।

(घ) झ्याम्पुतली रणचण्डिके - यी हुन् हाम्रा होनहार बोकासाहित्यकार झ्याम्पुतली रणचण्ड़िके । गत केही वर्षदेखि यिनको मुखाँ त्य़स्तो गतिलो होइन ठिक-ठिकैको कुभिण्डो खाँदिएको छ । मुखाँभित्र सजिलैसितले खाँदन सकिने अनि सजिलैसित निकाल्न सकिने । यिनले यिनको मुखाँ खाँदिएको कुभिण्डो हत्त पत्त कसैलाई देखाउँदैन । साहित्यिक बजारको भीड़मा यिनको मुखमा कुभिण्डो देख्नुहुन्न । सिजन अनुसार नै यिनी मुखाँ कुभिण्डो खाँदछिन् । कथङ्कल यिनले अण्डा पार्ने हुँदा हुन् ता काग होइन चिल वा गिद्धको गुँड़मै गई अण्डा पारिवरी निष्फिक्री आफ्नै गुँड़मा आउँछिन् । यिनलाई सबैले दूध-भात भन्ने गर्दछन् । रामसित पनि ठिक हनुमानसित पनि ठिक । पर्दापछि बसेर आफ्नै समकालीन बाहेक पनि मैँ हुँ मैँ हुँ भन्ने साहित्यकारलाई थाहै नपाई थलो पार्नमा निपुण यी झ्याम्पुतलीको मुखाँ कुभिण्डो खाँदिनु थालेको भर्खरदेखि हो भन्ने थाहा लागेको छ । आफूलाई जहिले पनि म ता न्यूट्रल हुँ भनी फाइँफुट्टी लाइ हिँड़्ने उनको मुखाँ कुभिण्डो खाँदिन थाल्यो कि कसैले सुइँको पनि नपाई थर्ड गियर हान्ने यी बाला मुखाँ कुभिण़्डोकै भरमा साहित्यमा राँटो लाइरहेकी देखिन्छिन् ।

(ङ) निशापति कुमार छिनामछोङ - साहित्यमा रङरुट नै भए पनि निशापति कुमार छिनामछोङको मुखाँ कुभिण्डो खाँदिन थालेदेखि उसो यिनी परस्पर प्रशंसा सम्मेलनका अब्बल बोकासाहित्यकारको पगरी गुँथ्न सफल भएको देखिँदोछ । आरम्भमा कुभिण्डो मुखाँ खाँदिन्छ भन्ने अनुमान हुँदा कुभिण्डोदेखि टाढ़िए पनि कुभिण्डोको टेसिलो रस पाउँदै गएपछि अहिले यिनी साहित्य सिर्जनाभन्दा पनि कुभिण्डो मुखाँ खाँदिदिने कुभिण्डोवालको अन्धोभक्त भएको देखिन्छ । कुभिण्डोवाललाई यी निशापति कुमार छिनामछोङ देवतै ठानी उऩको फोटोको ताबीज बनाई लाउन थालेका छन् भन्ने सुनिन्छ । निशापति कुमार छिनामछोङका निमित्त यी कुभिण्डोवाल ज्य़ान दिन पनि प्रस्तुत देखिन्छ । कुभिण्डोले मात्तिनु मात्र होइन पात्तिएर अन्य साहित्यकारलाई यी बोकासाहित्यकारले नली खुट्टाको रौं जत्ति पनि ठान्न छोड़िसकेका छन् । कुभिण्डो लीला अपरम्पार छ । एकपल्ट कुभिण्डो मुखाँ खाँदिएपछि बोकासाहित्यकारको खुसामदी रगत छ्वाल्ल-छ्वाल्ल गरेर सञ्चालन हुन थाल्छ ।

(च) भाष्कर श्रेष्ठ - समकालीन साथीहरूका मुखाँ कुभिण्डोवालले कुभिण्डो खाँदेका देखेर यी भाष्कर श्रेष्ठले आफूलाई बोकासाहित्यकारको पङक्तिमा दर्ता गर्न कुभिण्डो आफै मुखाँ जबरजस्ती खाँदेका हुन् । कुभिण्डो आफैले आफ्नै मुखाँ खाँदेर बोकासाहित्यकारको पगरी गुँथ्ने यी भाष्कर श्रेष्ठ आफूलाई श्रेष्ठ बोकासाहित्यकार ठाऩ्न थालेका छन् । अहिलेसम्म एउटै कृति प्रकाशित गर्न नसके पनि घरमा चार दर्जनभन्दा धेर पाण्डुलिपि तयार भइसकेको र अहिले छाप्ने समय आएको छैन भनी हाँक लाउने यी भाष्कर श्रेष्ठलाई भाष्कर श्रेष्ठ होइन निकृष्ट बोकासाहित्यकार भन्नुमा नै टेस आउँछ ।

अहिले साहित्यको बजारभरि कुभिण्डै कुभिण्डोको भरमार छ । सबै आफ्नो मुखाँ कुभिण्डो खाँदन लाएर बोकासाहित्यकारको तकम भिर्न आतुरिएका देखिन्छन् । बोकासाहित्यकार भएपछि जसो-जसो बाहुन, उसो-उसो स्वाहा गर्नुपर्छ, कुभिण्डोवालले मादल जसरी बजाउँछन् त्यस्तै पाराले नाच्नु पनि पर्छ । मुखमा खाँदिएको कुभिण्डोको ठ्याम्मै अपमान गर्नु हुँदैन नत्र विशाल साहित्यको बजारबाट उठीवास लाउन बेर लाग्ने छैन ।

तर....कुभिण्डो मुखाँ कुभिण्डो खाँदन लाई माग्नु चाहिँ आफ्नो वाक-स्वतन्त्रताको घाँटी अँठ्याउनु हो । आफ्नो स्वाभिमानको बलात्कार गर्नु समान हो । आफ्नो मुखाँ कुभिण़्डो खाँदने वा खाँदि माग्ने बोकासाहित्यकारहरू पानीमरुवा साहित्यकार हुन् भन्ने मेरो दाबी छ । कुभिण्डो मुखाँ खाँदिमाग्ने बोकासाहित्यकार हुनु भनेको आफ्नो अर्धाङ्गिनीलाई एक रातको लागि कुभिण्डोवाललाई पैंचो दिएकै बराबरी हो ।
य़सकारण मुखाँ कुभिण्डो नपर्ने भद्र, शिष्ट, साहित्यकारहरू कुभिण्डो र कुभिण्डोवालदेखि टाढ़ै बसेको राम्रो । बरु अन्य साहित्यकारको मुखाँ कुभिण्डो खाँदेर सम्पूर्ण साहित्यकारलाई बोकासाहित्यकारमा परिणत गरी साहित्यको बजारमा धलीमली गर्ने कुभिण्डोवाललाई उल्टै बरु उनको मुखाँ कुभिण्डो खाँदने समय आएको छ ।

तर ढाँढ़े बिरालाको घिच्रामा चाइने घण्टी बाँधेर तिनका मुखाँ कुभिण्डो अँटी नअँटी खाँदने कसले ?

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।