छ दैत्यहरूकै जगजगी, छ सधैं आक्रान्त जिन्दगी।
खोजिरहेछ स्वप्न शहर, कठै! भ्रमको प्रान्त जिन्दगी ।
जमरा, टिका, आशिषहरूले छेक्लान कति प्रहारहरू?
अमूर्त आस्थामा बाँचिरहेछन् यी भयक्रान्त जिन्दगी।
थोपा थोपा हिजो सँगालेका खुसीका रक्तिम पोकाहरू
फुकाइ खोज्छ वंश-नयनमा बिहानी विभ्रान्त जिन्दगी ।
उत्सवको रक्तिम मौलो विरुद्ध नर-संहारक औंलाहरू
को संहारक को हो पालक, के बुझोस् श्रान्त जिन्दगी?
अँध्यारै हिंड्ने किसानी पाईला, अँध्यारै नभै फर्कन्नन्
फूल तिनका, वास्ना अरूलाई, अरुकै उत्क्रान्त जिन्दगी।
ढुंगाको चोट माटोले छोपी जो बाँड्दै छ दशैंको खुसी
उसैले बोक्यो प्रेम-पात्र उसैको होस् सम्भ्रान्त जिन्दगी ।