तिमी भन्छौ- घरमा बसेर दिक्क लागिसक्यो।
छोरीलाई अनलाईन क्लास गराउनु छ
त्यसैले मोबाइलमा वाट्सएप इन्सटल गरिदिएको छु
स्कूलबाट दिएको पाठ पढ़ाउनु छ
कथाको सार सुनाउनु छ
गणित र भूगोल बुझाउनु छ
कविता कण्ठस्थ गराउनु छ,
तिमी भन्छौ-
लकडाउनमा काम नभएर दिक्क लागिसक्यो।
भीडियो मै पढेंर सकेकी हुन् छोरीले कथाहरू
अर्थ सबैको खोलिदिनै छ,
जूम र गुगल-मिटबाट संगीत सिख्दैछे छोरी
नेटवर्क लो हुँदा पनि
उसलाई लिङ्क गराइदिनु छ
तिमी भन्छौ-
लकडाउनमा काम नभएर दिक्क लागिसक्यो।
झार-जंगलले छोपिसकेको घुरेन-बारीले
पोल खोलिरहेछ जाँगरको -
नउखेलिएका झार-पातहरूले
छोपिसकेका फूलका गमलाहरूले
घर-अगाड़ि नमिलाइएका र
कटिङ नगरिएका फूलहरूले
खील्ली उड़ाइरहेछ बिहान-बेलुकी
तिमी भन्छौ-
लकडाउनमा काम नभएर दिक्क लागिसक्यो।
आमा हुँदा
सधैं लहलह हुन्थे बारीभरि
रायो, सिँबी, मूला, मटर, फूलकोपी र बन्दकोपीहरू
अहिले पुराना भइसकेका, मक्कीसकेका थाङ्ग्राहरू
आश बोकेर उभिरहेका छन्
त्यैले फुर्सद खोजिरहेछु म
लकडाउनमा
तिमी भन्छौ- सुतेर पनि दिक्क लागिसक्यो।
पूर्व सिक्किम, भारत