17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अयोग्यता

कथा हिमाल लिम्बु October 17, 2021, 4:18 am
हिमाल लिम्बु
हिमाल लिम्बु

जनता माध्यमिक विद्यालयको सप्ताहव्यापी वार्षिक खेलकुद कार्यक्रम (Annual Sports Meet)को पहिलो दिन थियो। विद्यार्थीहरूले विविध इभेन्टहरूमा भाग लिएर खेल्दै आ-आफ्नो खेलकौशल र दक्षता प्रदर्शन गर्दै थिए। शिक्षकहरू इभेन्ट व्यावस्थापन र सञ्चालन गर्नमा व्यस्त थिए। त्यो खेलकुद कार्यक्रमको संयोजक तथा विद्यालयका उप-प्रधानाध्यापक सुकबहादुर साँवा सर थिए। साँवा सर स्टाफ रुममा बसेर दोश्रो दिनको खेलकुद तालिका बनाउदै थिए। उनलाई अर्का एकजना सहकर्मीले सहयोग गर्दै थिए। बाहिर खेलहरू भइरहेका थिए तर अजय सरलाई चाँहि कुनै मतलब थिएन। उनी आफ्नै धुनमा मस्त थिए।
"इस्क्युज मि सर, कुमार सार्है लड्यो। रुदैछ।" एउटा विद्यार्थीले स्टाफ रुमको ढोकामा आएर सुनायो। त्यही कुरा तीन पटक दोर्याउदै भन्यो। छेवैका अजय सरले कुनै प्रतिक्रिया दिएनन्। साँवा सरले अजय सरलाई हेर्दै,"अजय सर, त्यो विद्यार्थीले के भन्दैछ; एकचोटी बुझ्नुस् न है।" भनेपछि गार्हो मान्दै अजय सर ढोका अगाडि उभिए। "के भो रे, फुच्चे?" अजय सरले सोधी नसक्दै त्यो विद्यार्थीले भन्यो,"सर, सर कुमारको घुँडामा चोट लाग्यो।" अरु दुईजनाले साथीहरूले कुमारको हातमा समाएर अजय सर सामुन्ने ल्याए। मसिनो स्वरमा आइया आइया भन्दै कुमार रुदै थियो।
"यत्रो ठुलो केटा भएर रुन्छस् तँ? चुपलाग्। सात कक्षामा पढ्ने विद्यार्थी बच्चा जस्तो रुन्छ बा।" अजय सरले घाइते विद्यार्थीलाई हप्काए। "पाइन्ट माथि सार्, हेर्छु, कतिको चोट लाग्यो।"
कुमारले दाहिने खुट्टाको पाइन्ट माथि सार्यो। अजय सरले हेरे जस्तो गरे। "ए, केही भको रैनछ। अलिकति पिल्सिएको मात्र रहेछ। किन खुट्टै भाँचिएको जस्तो गरेको?" कुमारले रुन्चे अनुहार पार्दै भन्यो,"घुँडा बेस्सरी दुख्दैछ सर।"
"एकछिन दुख्छ, जा रेस्ट गर्।" अजय सरले काम टार्न खोजे। दाहिने खुट्टा हलुका उचालेर खोच्याउदै कुमार हिड्यो। उसका साथीहरू पछि लागे र कुमारको हात समाएर आड दिए। अजय सर कुर्सीमा गएर बसे र टेबलमा टाउको ढल्काएर सुते।
लेख्ने काम सकेर साँवा सर खेलकुद निरीक्षणका लागि स्टाफ रुमबाट निस्के। बाहिर विद्यार्थीहरू हर्षोल्लासपूर्वक खेलहरू खेल्दै थिए। खेलमा भाग लिएका विद्यार्थीहरू आफ्नो कला कौशल देखाउदै थिए भने अन्य विद्यार्थीहरू खेल हेर्दै ताली र बोलीले उनीहरूको हौसला बढाउदै थिए। कर्तव्यपरायण शिक्षकहरू आ-आफ्नो जिम्मेवारी पुरा गर्दै थिए। वर्षमा एकपटक मात्र आयोजना हुने खेलकुद कार्यक्रममा नरमाउने कोही पनि थिएनन् सायद। पहिलो दिनको खेलकुद इभेन्टहरू सकिए पछि स्कुल छुट्टी भयो।

दोश्रो दिनको खेलकुद सुरु भयो। साँवा सर कक्षा आठका छात्राहरू बिचको भलिबल खेल हेर्दै थिए। कक्षा सातको विद्यार्थीले एउटा निवेदन ल्याएर उनलाई दियो। साँवा सरले निवेदन सरर पढे। हिजो घाइते भएको छात्र कुमारले पठाएको निवेदन रहेछ। त्यसमा विरामी बिदाको अनुरोध गरिएको थियो। साँवा सरले निवेदनलाई खेलकुद सप्ताहको फाइलमा राखे। उनी त्यहाँबाट सोझै स्टाफ रुमतिर गए। उनलाई लागेको थियो अजय सर त्यही होलान्। नभन्दै अजय सर त्यही बसिरहेका थिए। कुर्सीमा बस्दै साँवा सरले भने,"अजय सर, हिजो चोट लागेको विद्यार्थी आज स्कुल आउन सकेनछ।"
"बहाना चाहिएको थियो, इडियटलाई। त्यसैले आएन।" अजय सरले चासो नदेखाउने शैलीमा बोले।
"अजय सर यस्तो कुरामा सिरियस हुनुपर्छ। कुमार खेलकुदमा उत्कृष्ट विद्यार्थी हो। खेल्न नसक्दा कस्तो भैरहेको होला।"
"मलाई के सुनाउनु भको?मैले घाइते पारेको हो र? " अजय सर कड्किए। साँवा सरले संयमपूर्वक भने,"स्कुल आउन नसक्ने गरी चोट लागेको रैछ। हिजो तपाईले उसलाई बेटाडिन समेत लाइदिनु भएन।"
"म शिक्षक हो, साँवा सर। स्वास्थ्य स्वयंसेवक होइन।" अजय सरले झनै रिसाउदै भने। साँवा सरले एकछिन गम्भीर भएर सोचे। यस्ता अबुझ शिक्षितसँग विवाद गर्नुभन्दा उपेक्षा गर्नु नै उचित ठानेर चुप्प लागे। साँवा सरले कुनै जवाफ नफर्काए पछि अजय सरले हतार हतार बम्किदै भने,"बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि केको डर। मलाई यो स्कुलका केही बफादार भनाउदा मास्टरहरूले मिलेर कार्वाही गरे। यसको वाबजुद अब पनि मैले सेवा गर्नु ! म यहाँ सेवा गर्न आको होइन। जागिर खान आको हो। जसरी हुन्छ जागिर पचाउने। मलाई कस्ले के गर्छ, हेर्छु म पनि।"
अजय सर फतफताइरहदा अरु तीन जना सर र एक जना म्याडम पनि त्यही थिए। साँवा सर र अजय सर बिचको विवाद सुन्दै थिए। उनीहरूले अजय सरलाई नबोल्न आग्रह गर्दै रहे। तर अजय सरले उनीहरूको कुरा नसुनेर बोल्दै गए,"मेरो ग्रेड रोक्का गर्ने अनि मबाट अतिरिक्त सेवाको पनि आसा राख्ने। यो भन्दा हास्यस्पद के होला?" अजय सरले हल्का हाँस्दै भने।
"कसैलाई दिइने कार्वाहीको अर्थ यो होइन कि कोही अझ बढी कार्वाहीको भागिदार हुदै जाओस्। पुरस्कार र सजाय फेरि गल्ती नदोर्हिओस् भन्नका लागि हो, अजय सर। तपाईको प्रतिशोधको भावना आफैलाई प्रतिपादक नहोस्। यो कुरा बुझ्नु होला।" साँवा सरले तर्क अघि सारे।
"प्रतिपादक? मेरो लागि के प्रतिपादक, यो स्कुलका लागि प्रतिपादक हुनेछ। तपाईको लागि प्रतिपादक हुनेछ। हेर्दै जानुस्।" अजय सरको आवाजमा प्रतिशोधको भाव प्रष्ट देखिन्थ्यो।
"मलाई धम्की नदिनुस्। मैले तपाईको के बिगारेको छु र ! व्यक्तिगत आक्षेप नलगाउनुस्। सबै कुरा अफिसियल बडीले गरेको हो।"
"अफिसियल बडीहरूमध्येको एक बडी तपाई पनि हो, साँवा सर।" अजय सरले भने।
अर्को एकजना सरले भने,"अब चुप लाग्नुस् सरहरू यो विवाद गर्ने ठाउँ होइन, विद्यार्थीहरूको आस्थाको केन्द्र विद्याको मन्दिर हो। तपाईहरूको झगडाले विचरा विद्यार्थीहरूलाई जान अन्जानमा असर नपरोस्।"
ती सरले दुईजना बिचको कचिङ्गल रोक्न भनेपछि साँवा सर उठेर बाहिर गए। अजय सर मुर्मुरिदै त्यही बसि नै रहे।
**
"सरलाई मेरो एउटा गुनासो भन्नु थियो।" कक्षा नौमा पढ्ने एकजना छात्राले साँवा सरलाई भनिन्।
"ए, अनुरा, के होला तिम्रो गुनासो नानी?" साँवा सरले सोध्नु भयो।
"सर, यो परिक्षाको रिजल्टमा पक्षपात भयो।" अनुराले चित्त दुखाउदै भनिन्।
"पक्षपात भयो भनेर तिमी कसरी भन्न सक्छौ?" साँवा सरले अलिकति ठुलो स्वरमा सोध्नु भयो।
"सरले उल्टो सिकाउनु भएकाले यस्तो भको हो, सर।"
"कुन सरले उल्टो सिकाउनु भयो र कहिले?"
"अजय सरले अङ्ग्रेजीको परिक्षामा दस अङ्कको उत्तर उल्टो सिकाउनु भएछ, सर।" अनुराले आँट गरेर भनिन्।
अजय सरसँग प्रायजसो विद्यार्थीहरु डराउने गर्थे। विद्यार्थीलाई भौतिक कार्वाही गरेर नै तह लाउनु पर्छ। कुनै प्रश्न सोध्ने दुस्प्रयास विद्यार्थीले नगरोस् भन्ने विचारका अजय सर विद्यार्थीहरुका लागि गरम मिजासका थिए। अनुराको कुरा सुनेर साँवा सरले गम्भीरतापूर्वक सोध्नु भयो। "यो के कुरा भन्दैछौ, नानी? सरलाई त्यतिकै आरोप लाउन पाइदैन है।"
"यो आरोप होइन सर। अङ्ग्रेजीको परिक्षामा अजय सर म परेको रुममा गार्ड हुनुन्थ्यो। र वहाँले उल्टो उत्तर सिकाइदिनु भयो।"
"परिक्षामा उत्तर सोध्नु हुदैन भन्ने तिमलाई थाहा थिएन?" साँवा सरले रुखो किसिमले सोध्नु भयो।
"मैले सोधेको होइन। सरले आफैं प्रश्नपत्रमा उल्टो उत्तर टिक लाइदिनु भयो।"
"तिम्रो मतलब प्रश्नपत्रमा नै उत्तर लेखिदिनु भयो?"
"हो, सर। अङ्ग्रेजीको दसवटा वस्तुगत प्रश्नहरुको (MCQs)आन्सर टिक लाइदिनु भको रहेछ, मैले पछिमात्र थाहा पाएँ।"
"अजय सरले यस्तो गरेको हो भने यो सरासर गलत कार्य हो, अनुरा। तिमीले त्यतिबेलै भन्नुपर्थ्यो।"
"मैले सरलाई विश्वास गरेँ। सरले नै उल्टो सिकाउनु हुन्छ भन्ने लागेन।"
"सुन, नानी। परिक्षामा सिकाउने र लेख्ने, चिट चोराउने र चिट चोर्ने दुवैजना दोषी हुन्छन्। शिक्षक होस् वा निरीक्षक जस्ले परिक्षाको मर्यादाविपरित कार्य गर्छ उसले सजाय पाउनुपर्छ।"
"सर, यसमा मेरो के गल्ती छ र?" निन्याउरो अनुहार बनाउदै अनुराले सोधिन्।
"तिम्रो गल्ती के हो रिजल्टले नै देखाइसक्यो, तिम्रो गल्तीको सजाय मिलिसक्यो । अरु थप सजाय स्कुल प्रशासनले निर्णय गर्छ।"
अनुराका आँखाहरु रसाए। चुपचाप सुक्कसुक्क रुन थालिन्। साँवा सरले सम्झाउदै भने, "यो पश्चातापको आँसु पनि अर्को सजाय हो, नानी। तत्कालै यो कुरा कुनै सर म्यामलाई भनेको भए, आज रुनु पर्ने थिएन।"
"हो, सर, मैले पनि गल्ती गरेको हुँ। तर अजय सरको अझ ठुलो गल्ती हो।" अनुराले दृढ हुदै भनिन्।
"सही कुरा हो। वहाँले पनि यो अनुचित कार्यको उचित सजाय पाउनु हुनेछ। एउटा शिक्षक भएर अशैक्षिक काम गर्नेलाई कार्वाही हुनुपर्दछ। तिमी निश्चिन्त हुनु। तिम्रो त्यो अङ्ग्रेजीको प्रश्नप्रत्र यहाँ ल्याइदिनु। तिम्रो उत्तरपुस्तिकाको पनि हामी रिचेक गर्नेछौं। त्यसपछि यो केसको छानविन हुनेछ। बुझ्यौ, अनुरा? ल तिमी जान सक्छौ।"
"थ्यान्क यु सर।"
अजय सरले फेरि अर्को दुर्छ्याइँ गरेको कुराले साँवा सरलाई उदेक लाग्यो। विद्यालय प्रशासनसँगको उनको असन्तुष्टिले विद्यार्थीहरु प्रताडित हुनुपरेको देखेर रिस उठेर आयो। यो कुराको छिनोफानो गरि हाल्नुपर्ने सोचेर साँवा सर स्टाफ रुमबाट बाहिरिए। उनले यो कुरा विद्यालय प्रधानाध्यापक र प्रशासनमा पुर्याउनु पहिले अजय सरसँग भेटेर छलफल गर्ने विचार गरे।
"अजय सर, एउटी विद्यार्थीले तपाईसँग गुनासो गरेकी छिन्।"
"कस्तो गुनासो? कुन विद्यार्थीले गरेको?" अजय सरले कड्केर सोधे।
"मलाई पहिले सबै कुरा भन्न दिनुस् है सर। यो हामी दुईबिचको कुरा मात्र हो।मैले माथिल्लो निकायमा सुनाको छैन।" साँवा सरले समझदारी कायम गर्ने हेतुले भने।
"सुनाउदा केही फरक पर्दैन। यस्ता गुनासाहरु आउदै गर्छन्। केही हुनेवाला छैन।"
"कक्षा नौकी विद्यार्थी अनुरालाई परिक्षामा उल्टो सिकाइदिनु भयो रे । त्यहीभएर अनुराले अङ्ग्रेजीमा राम्रो ग्रेड पाइनन् रे । अनुराको कुरामा कुनै तुक छ त सर?"
"अरे यार, त्यो फुच्चीको यत्रो हिम्मत कसरी आयो? मलाई आरोप लाउने !"
"ती विद्यार्थीले कुरा नबुझेको पनि हुनसक्छ सर।"
"हत्तेरी, भलाइको जमाना छैन भनेको हो रैछ। त्यसले नबुझेको कुरा प्रष्ट भन्देको मात्र हो मैले । उल्टो सिकाउन मलाई कहाँ फुर्सद थियो र !"
"अनुरालाई बोलाएर एकपटक कुरा बुझ्नुस् ल सर। यस्ता कुराको ब्रेनवास समयमै गरेको राम्रो हुन्छ ।"
"सुन्नुस् साँवा सर, रिजल्ट आउट भईसक्यो । अब यस्ता कुरा गर्नु वेकार छ। कि अनुरालाई अङ्क थपेर अर्को रिजल्ट, पोजिसन बनाइदिने हो?" अजय सरले खिज्याउने भावमा सोधे।
"परिक्षामा त्यस्तै भको हो भने पुनर्विचार गर्नुपर्छ, अजय सर । व्यक्तिगत फाइदाका लागि अनुराले गुनासो गरेको होइन होला ।"
"सधैँ क्लास फस्ट हुन्थी यो पटक हुन सकिन त्यसैले अनगर्ल आरोप लाउन थाली । तपाई पनि कुनै विद्यार्थीको स्वार्थकालागि यसरी वकालत नगर्नुस् साँवा सर ।"
"मैले तपाईलाई अफ्ठ्यारो नहोस् भनेर पहिले तपाईसँग कुरा गरेको हुँ। विद्यार्थीको लागि वकालत गर्न किन जरुरत पर्छ र !"
"म त्यो केटीलाई अहिल्यै बोलाउछु। अनि कुरा बुझ्नुहोला। त्यसको गाला चड्काइनछु भने म अजय सर होइन; यस्तो नचाँहिदो कुरा गर्ने ।" रिसले चुर हुदै अजय सर अनुरालाई बोलाउन लागे ।
"अजय सर, भरसक विद्यार्थीलाई नकुट्नुस् है । अहिले समय बद्लेको छ।"
"तपाई चुप लाग्नुस् सर । यस्ता मुखाले विद्यार्थीलाई फुस्ल्याएर राख्ने मेरो बानी छैन। जेपर्ला म दुई चार झापड नहानी कहाँ छाड्छु र ।" अजय सर झनै आवेशमा आए।
"हैट, त्यस्तो नगर्नुस् है । भयरहित विद्यालय, बालमैत्री शिक्षा र सजायमुक्त बालबालिकाको अवधारणालाई सम्झिनु होला अजय सर ।" साँवा सरले सतर्क गराउदै भने ।
"साँवा सर मलाई नसम्झाउनुस्, मैले पनि एजुकेसनमा स्नातकोत्तर पास गरेको छु । लातका भूत बातले मान्दैनन् भन्ने उखान पनि बुझेको छु। तपाई जानुस्, म आफै यो केस ह्यान्डल गर्छु ।"
साँवा सरलाई पनि त्यहाँ बसिरहन उचित लागेन र त्यहाँबाट निस्के । अजय सरले आगोमा घिउ थप्ने काम नगर्नुहोला भन्ने कामना गर्दै अफिसतिर गए ।
रिसले रातोपिरो अजय सरलाई देख्नेबित्तिकै अनुरा नर्भस भईन् । अजय सरले सोध्नुअगाडि झापड हान्न हात माथि उठाए तर कुन्नि के सोचे र हात तल झारे । आँखाहरु कड्के पार्दै भने "साँवा सरलाई किन पोल लाईस् ? मैले तेरै लागि सिकाइदेको थिएँ तर आज मलाई दोष लाउदैछस् । भन, तँलाई मार्कस् बढी चाहियो?"
"हो ...होइ ..." अनुराले अक्मकाउदै केही भन्न मात्रै के लागेकी थिईन्। "चुप लाग्, तँ केही भन्नु पर्दैन मैले सब कुरा बुझिसकें । अब आइन्दा यस्तो कुरा गर्ने होइन । अजय सरले उत्तर सिकाइदिनु भको होइन, प्रश्न बुझाइदिनु भको मात्र हो भन्, कुरा बुझिस् अनुरा ?"
"बुँझे सर।" मसिनो स्वरमा थरथर काम्दै अनुराले टाउको हल्लाईन् ।
"फेरि यस्तो कुरा सुने भनेँ कडाभन्दा कडा सजाय पाउँछेस्। यहाँबाट गइहाल्, जा ... ।" अजय सरले चोरी औंला ठाडो पार्दै भने । अनुरा निन्याउरो मुहार पार्दै त्यहाँबाट गईन् ।
**
"यो स्कुल हो कि यातनागृह हो ? आज मलाई जवाफ चाहियो । त्यो अजय भन्ने टिचर को हो ? म कुरा गर्न चाहन्छु उसँग ।"
एकजना अभिभावक अफिस अगाडि आएर ठुलो स्वरमा गुनासो गर्न थाले । साँवा सर अफिसमा विद्यार्थीहरुका परियोजना कार्यहरु परिक्षण गर्दै थिए । कार्यालय सहयोगी रामकुमारले दौडदै आएर भन्यो, "सर, एकजना अभिभावक आउनु भको छ । के गरौं सर?"
"म थोरै बिजी छु, एकछिन पर्खन भनन, रामकुमार ।" साँवा सरले जवाफ दिए ।
"सर, यी अभिभावक रिसले आउनु भको जस्तो छ। पर्खाउन गार्हो पर्ला ।"
"ए हो, यहाँ मेरो अफिसमा पठाउँ है त ।"
एकैछिनमा ती अभिभावक साँवा सरको अफिसमा आए । "हजुर, नमस्कार ।" साँवा सरले ती अभिभावकलाई अभिवादन गरे । तर ती अभिभावकले अभिवादन फर्काएनन् । कुर्सीमा नबसी नै भन्न सुरु गरे, " सुन्नुस् सर, तपाईहरुको स्कुलमा विद्यार्थी पढाउने मास्टर छन् कि विद्यार्थी कुट्ने बाउन्सर छन् ? गम्भीर चोटपटक लाग्ने गरि पिट्ने टिचर हुनै सक्दैन ।"
"हजुर सर, पहिले बस्नुस् न । हिडेर आउनु भको छ, एकछिन रेस्ट गर्नुस् न ।" साँवा सरले बस्न आग्रह गर्दै भने। रामकुमारले चिसो पानी ल्याएर ती अभिभावकको सामुन्ने रहेको टि-टेबलमा राखे।
"आज सार्है गर्मी छ, चिसो पानी पिउनुस् हजुर ।" साँवा सरको यो आतिथ्यता देखेर ती अभिभावकले पनि नकार्न सकेनन् । केहीबेरपछि साँवा सरले सोधे, "अब भन्नुस् खास कुरा के होला सर? हजुर कस्को गार्जेन हुनुहुन्छ?"
"कक्षा ८ मा पढ्ने राजन थापाको गार्जेन हूँ म । हिजो राजनलाई अजय सरले कुटपिट गर्नु भएछ । उसको तिघ्रा, ढाड र जिउभरी नै डामैडाम छन् । एउटा शिक्षकले विद्यार्थीलाई अपराधीलाई जसरी यातना दिनु कस्तो सिस्टम हो? गार्जेनले आफ्ना छोराछोरीलाई यहाँ कुटाइ खान पठाएको होइन । तर यो स्कुलमा बाँसको लौरी, प्लम्बिङ पाइपले निर्मम कुटपिट गरिदोरहेछ । म डाइरेक्ट हेड सरलाई भेट्न चाहन्छु । मलाई भेट्न दिनुस् ।"
साँवा सरले ती अभिभावकको सम्झाउदै भने, "हजुरले हेड सरलाई पनि भेट्न पाउनुहुन्छ, हामी सबै हजुरहरुकै लागि सेवारत छौं । पहिले सबै कुरा बुझौं भनेर हो । एकैबेर धैर्यता गर्नुस् न है सर। म अजय सरसँग पनि कुरा बुझ्छु ।"
साँवा सरले अजय सरलाई बोलाउनका लागि रामकुमारलाई पठाउनु भयो । अजय सरले बारम्बार यस्ता घटनाहरु घटाउदै आउनु भएको थियो । विद्यार्थी, गार्जेन र सहकर्मीहरुसमेत वहाँको घामड, पुरातनपन्थी र हैकमवादी विचार र व्यावहारले आजित हुदै आएका थिए । समय बदलिए पनि आफूलाई बदल्न नचाहने सोचका कारणले अजय सर विवादमा पर्नु हुन्थ्यो । शिक्षा प्रणालीमा आमूल परिवर्तन आए पनि उनको पढाउने शैली र विद्यार्थीलाई गर्ने व्यावहारमा परिवर्तन ल्याउनु भएन । घोकन्ते विद्या, धावन्ते खेतीकै सुझबुझमा उनले विद्यार्थीहरुलाई पढाउनु हुन्थ्यो । खरो बोली र कडा सजायले मात्र विद्यार्थीहरुलाई काम गराउन सकिन्छ भन्ने उनको विश्वास थियो । भयरहित शैक्षिक वातावरण, बालमैत्री शिक्षामा उनलाई शंका लाग्थ्यो।
"किन पिट्न भको रे छोराले केही भन्यो हजुरलाई?" अफिसभित्र पस्दै साँवा सरले सोध्नु भयो?
"सरले पढाउदै गर्दा साथीसँग गफ गरेको निहुँमा कुट्नु भको भन्दै थियो । यस्तो सानो कुरामा त्यसरी चोट लाग्ने गरी कुटपिट गर्नु भनेको त्यो शिक्षकको नियत नै ठीक छैन कि मानसिक सन्तुलन ठीक छैन । मानसिक अवस्था ठिक नभको मान्छेलाई मास्टरमा नियुक्ति गर्नु स्कुल प्रशासनको पनि गल्ती हो।" राजनको बुबाले आक्रोसपुर्ण असन्तुष्टि व्यक्त गरे ।
अजय सर अफिसमा आउनु भएको खबर पाउने बित्तिकै साँवा सरले उनलाई गोप्य कोठामा भेट्न बोलाउनु भयो । उनले ती अभिभावक क्षुभ्द भएर स्कुल आउनु भएको कुरा अजय सरलाई सुनाए । राजनलाई कहाँ, कहिले र किन शारीरिक सजाय दिनु पर्यो भन्ने कुरा अजय सरले बताए ।
"एक इन्चको पाइपले दुई तीन पल्ट हानेको मात्र हो। राजनलाई हिजो केही भको थिएन । रोको पनि थिएन । आज बाउ लिएर आएछ । यसलाई यहाँ पढ्न मन छैन । क्लियरेन्स गराएर घर पठाइ दिउँ, इडियटलाई ।"
"विद्यार्थीलाई निष्कासन गर्दैमा यस्तो समस्याको अन्त्य हुदैन, अजय सर।" साँवा सरले गहिरो सास फेर्दै भने । "उसो भए, मलाई निकाल्दिए भैगयो। यस्तो समस्या आउदैन ।" अजय सरले झर्किदै भने ।
"हत्तेरीका, यस्तो बेलामा कुरा भुझ्नुस् न सर । म तपाईकै हितका लागि कुरा गर्दैछु । आफैँ गल्ती गर्ने अनि ठुला कुरा गर्नु भएन नि ।"
"मैले के गल्ती गरेँ। मैले बदमास विद्यार्थीलाई अनुशासनमा राख्न सजाय गरेको हूँ । यस्ता विद्यार्थीले भोलि टाउकामा टेक्छन् अनि पछुताउनु होला साँवा सर । तपाईको बालमैत्री शिक्षाको सिदान्त, आदर्शता यहाँ काम लाग्दैन, बुझ्नुहोला ।"
"तपाईद्वारा सृजित समस्याको सामना तपाई आफैँ गर्नुस् । मैले सहयोग गर्न खोज्दा तपाई उल्टै मैमाथि आइलाग्नु हुदोरैछ । ल हिड्नुस् ती गार्जेनलाई काउन्सिलिङ गरेर पठाउनुस् । " साँवा सरले पनि केही जोरले भने ।
"हुन्छ, म कुरा गर्छु । त्यसको छोरालाई बिगार्ने हो कि सपार्ने हो? म हेर्छु ।" अजय सर गोप्य कोठाबाट हुइकिएर बाहिरिए । साँवा सरले मध्यस्थता गर्न खोज्दाखोज्दै संलग्न पक्षहरु मध्यस्थकर्ताप्रति नै खनिएपछि उनिले तटस्थ बसेर तमासा हेर्नतिर लागे । ती अभिभावकसँग अजय सरको निकै ठुलो चर्काचर्की पर्यो । साँवा सरले मुक दर्शक भएर शिक्षक र गार्जेनको झगडा सुनिरहे ।
"हे, मास्टर यो एक्काइसौ शताब्दी हो । कुन जंगली युगमा जस्तो विद्यार्थी कुट्न पाउनु पर्ने कुरा गर्छौ ?"
"ए, भाइ तिम्रा छोरा जस्ता केटाहरु पढाको पच्चीस वर्ष भयो । मलाई पनि थाह छ आज इस्वी संवत् २००१ हो तर तिमी जस्ता गार्जेनकालागि १९०१ हो ।"
त्यो छलफल नियन्त्रण बाहिर जाने जस्तो लागेर साँवा सरले भने, "तपाईहरु विद्यालयको अफिसमा हुनुहुन्छ, विवाद गर्दा पनि सभ्य र शिष्ट भाषाको प्रयोग गर्नुहोला।"
आफूलाई संयमित पार्दै अजय सरले भने, " नेपाली विद्यार्थी र गार्जेनले लेसिज फेअर (laissez-faire) सिस्टम बुझ्दैनन् । शिक्षक बालमैत्री हुनलाई विद्यार्थी गार्जेनको चेतना पनि एक्काइसौ शताब्दीको हुनुपर्छ ।"
"ए सर । सब गार्जेनलाई अनपढ पाखे नसम्झनुस् । म जिल्ला शिक्षा कार्यलयको कर्मचारी हूँ। बालअधिकार र बालशिक्षाको क्षेत्रमा नै काम गर्छु । शिक्षकको आचारसंहितामा विद्यार्थीलाई सजाय गर्न नपाउने प्रावधान अहिलेको शिक्षा ऐन कानुनमा भएको जानकार हुनुहुन्छ होला।"
"ऐन कानुन उल्लंघन हुनेगरि तपाईको छोरालाई मैले के सजाय दिएँ? प्रमाण पुर्याउनुस् र मलाई कार्वाही गरेर देखाउनुस्। जि.शि.का.को हाकिम होस् कि शिक्षा मन्त्री नै होस्, मलाई केही फरक पर्दैन।"
"ठीक छ, यो विद्यालयमा तपाई जस्ता मास्टर पनि रहेछन् मलाई थाहा थिएन। विद्यार्थीलाई बिनाकारण यातना दिने शिक्षकलाई कार्वाही हुनुपर्छ।"
"धम्की नदिनुस्। पहिले आफ्नो बच्चालाई डिस्सिप्लिनमा राख्नुस्।"
"डिस्सिप्लिन सिकाउने मास्टरमा नै डिस्सिप्लिन नभए पछि विद्यार्थीमा के होला र खोइ ! डिस्सिप्लिन कि डिस्चार्ज? यो दुईमा एक रोज्ने काम तपाईको आयो, सर।"
"के अरे, भाइ? मलाई डिस्चार्ज, बर्खास्त गर्ने धम्की दिने? जि. शि. का. को एउटा जाबो कर्मचारीले । देखौंला म पनि मलाई कस्ले कार्वाही गर्छ।"
"तर्क जति गरेर पनि घमन्ड घट्दैन भने त्यो तर्क कुतर्क हो । यस्ता कुरा गर्न छोडेर निस्कर्षमा लागौं हजुर। यो सानातिनो कुरालाई ठुलो पार्नु हुदैन । यही टुंगो लाउनु पर्छ।" साँवा सरले कुरालाई अर्कैतिर घुमाउने प्रयत्न गरे।
"यो वादविवादको आजै टुंगो लाग्ने जस्तो देखिन मैले, साँवा सर। वि.नि., समाजसेवी, सञ्चारकर्मी अन्य मान्छेहरु ल्याएर राम्ररी छलफल गर्नुपर्ने अवस्था आयो।"
"सि.डि.ओ., शिक्षामन्त्री नै ल्याउदा पनि हुन्छ; वार्ता गरौंला।" अजय सरले निस्फिक्रीपुर्वक भने।
"हुन्छ सर फेरि भेटौंला।" फेरि आउने कुरा गर्दै ती गार्जेन उठेर बाहिरिए। साँवा सरले रोक्न खोज्दाखोज्दै ती गार्जेनले लामो फड्का मार्दै छिटोगरी अफिसको प्रांगणबाट निस्किए। साँवा सर पनि आफ्नो कक्षातिर लागे।
**
अजय सर र ती गार्जेनबिचको जुँङाको लडाइमा अजय सरको नै विजय भएको देखियो। अजय सरसँग असन्तुष्ट बनेर राजनको गार्जेनले पनि आफ्नो छोरालाई त्यो विद्यालयबाट निकाल्नुभयो। विद्यालदेखि केन्द्रीयस्तरसम्मको राजनीतिमा राम्रो दबदबा राख्न सफल अजय सरको राजनैतिक शक्तिको प्रभावले पेशागत कौशल र आचारलाई गौण बनाएको थियो। 'सचेत नागरिक दल'का क्रियासिल सदस्य अजय सर गार्जेनहरुका माझ त्यस विद्यालयलाई नमुना विद्यालय बनाउने आश्वासन दिन्थे। उनको पढाउने तरिका पुरानो भएपनि, विद्यार्थीहरुप्रति खरो मिजासका लागेपनि र सहकर्मी शिक्षकहरुसँग मैत्रीपूर्ण हुन नसकेपनि पार्टीमा माथिल्लो स्तरका नेताहरुसँग हिमचिम राम्रो थियो।
त्यस जनता माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रको दोस्रो महिना सुरुमात्र भएको थियो। विद्यालयमा नयाँ विद्यार्थीहरु भर्ना हुने र विद्यालय छोड्ने विद्यार्थीहरु जाने सिलसिला चलिरहेको थियो। विद्यालयको वार्षिक योजना, कार्यक्रम तथा नीतिनियमहरु तय हुदै थिए। प्रशासनमा नयाँ नियुक्ति तथा शैक्षिक व्यावस्थापनमा अदलीबदली हुने कार्य पनि भैरहेको थियो। त्यसैबिचमा वन डँडेलो झैं एउटा हल्ला चल्यो; "साँवा सरले स्कुल छोड्नु भयो रे।" कसैले भन्दै थिए "साँवा सरको अयोग्यताले गर्दा प्रधानाध्यापक हुन पाउनु भएन। त्यसैले शिक्षक पदबाट नै राजीनामा दिनु भयो रे।" जब साँवा सरको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित भयो तब त्यो हल्ला साँचो भयो। त्यो सूचनासँगै अर्को सूचना पनि टाँसिएको थियो। त्यस सूचनाको एक वाक्य थियो "नवनियुक्त प्रधानाध्यापक अजय सरको स्वागत समारोहमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध।"

उर्लाबारी, मोरङ, हालः धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।