15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सामाजिक यथार्थ चित्रणको कसीमा बद्री ढकाल ‘हिरामणि’को ‘‘ठ्यौको’’

कृति/समीक्षा राजेन्द्र पहाडी October 24, 2021, 8:31 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

नशाको थुप्रो
शक्तिकेन्द्र टाउको
त्यस्तै हो ठ्यौको
वि.सं. २०३२ सालमा स्याङ्जा जिल्लाको आँधीखोला– ६ मा माता पिता खिमादेवी ढकाल र निधु प्रसाद ढकालको पुत्ररत्नको रुपमा जन्मिएका र हाल बाँके जिल्लामा रहेर अध्यापन सेवामा समर्पित युवा साहित्यकार बद्री ढकाल ‘हिरामणि’ को नवीनतम हाइकु कृति ‘‘ठ्यौको’’ भित्र सङ्ग्रहित २३२ वटा हाइकु मध्येको एक हो प्रारम्भमा उल्लिखित हाइकु । ‘दृश्य र ब्यवहारमा लहसिदा निस्केको मनको स्वतन्त्र अभिव्यक्तिलाई खाँदेर सुत्रवद्ध गरिएको सृजना नै हाइकु हो ।’ भन्ने मान्यता राख्ने बद्री ढकालको तेस्रो हाइकु कृतिको रुपमा प्रकाशित भएको छ ‘‘ठ्यौको’’ । यस अघि यिनका ‘‘दामको पूजा’’ (२०७०), प्रतिनिधि हाइकुहरु (२०७७) संयुक्तसङ्ग्रहका रुपमा प्रकाशित भैसकेका छन् । मूलतः विज्ञान, कला र शिक्षा विषयको अध्येता भएर पनि यिनको साहित्यिक संलग्नता, क्रियाशीलता र योगदान लोभलाग्दो देखिन्छ ।
नेपाल हाइकु केन्द्र, बाँकेको संस्थापक अध्यक्ष रहेका हाइजिन बद्री ढकाल हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके, सहिद स्मृति केन्द्र नेपाल, भेरी साहित्य समाज, बाँके र मधुरिमा नेपाल कला केन्द्र, बाँकेलगायतका संघ संस्थामा आबद्ध भै साहित्य, कला र संगीतको क्षेत्रमा आफूसक्दो योगदान दिइरहेका देखिन्छन् । साहित्य सृजनाका माध्यमबाट आदर्श समाज निर्माणको पक्षमा वकालत गर्न चाहने स्रष्टा ढकालका पुस्तकाकार बाहेक पनि थुप्रै रचनाहरु फुटकर रुपमा प्रकाशित भैरहेकाछन् भने हाइकु कविता लेखनका क्षेत्रमा यिनको विशेष अभिरुची भएको बुझ्न सकिन्छ । त्यही रुचीको पछिल्लो उत्पादनको रुपमा आएको हो ‘‘ठ्यौको’’ हाइकुसङ्ग्रह ।
पछिल्लो समयमा नेपाली वाङ्मय फाँटमा छोटा, छरिता वा टुक्रे सिर्जनाका पाठकको संख्यामा ह्वात्तै बृद्धि भएको देखिन्छ । गीत, गजल, मुक्तक, चोका, ताङ्काजस्ता तुलनात्मकरुपमा छोटा रचनाहरुले धेरैथोरै आफ्नो स्थान बनाएको देख्न÷पढ्न पनि पाइन्छ । यही उपक्रममा जापानी शैलीका हाइकु सिर्जनाहरुले पनि पाठकको मनग्गे ध्यानाकर्षण गरिरहेको अवस्था छ । जापानी शैलीका छोटा कविता ‘हाइकु’ ले आफ्नो संक्षिप्त स्वरुपमा विहङ्गम दृष्टिकोण प्रस्तुत गर्दछन् । ५–७–५ को संरचना अन्तरगत जम्मा १७ अक्षर प्रयोग गरी तीन हरफमा लेखिने हाइकु कविताले कविका भावना, विचार र चिन्तनलाई अत्यन्त छोटो रुपमा शक्तिशाली ढंगले प्रस्तुत गर्दछन् भन्ने विश्वास गरिन्छ । हाइकुमा कविले कमभन्दा कम शब्द खर्चिन्छ तर उसले प्रयोग गरेका हरेक शब्दको भाव, संकेत र मर्म ज्यादै धेरै, गहन र फराकिलो हुने गर्दछ । युवा सर्जक बद्री ढकाल ‘हिरामणि’ को ‘‘ठ्यौको’’ हाइकुसङ्ग्रहमा सङ्ग्रहित हाइकुहरुमा पनि यी मर्महरु बग्रेल्ती आत्मसाथ गरिएको पाइन्छ ।
‘‘ठ्यौको’’ हाइकु कृतिभित्र पाठकले आफ्नो इच्छाअनुसार नेपाली र अंग्रेजी भाषामा हाइकुहरुको स्वाद लिन पाउने अवस्था छ । आफ्ना हाइकुहरुलाई अंग्रेजी भाषामा अनुवाद गरेर कृतिमा समावेश गरी स्रष्टा ढकालले नयाँ प्रयोग पनि गरेकाछन् । मुलुकले संघीय राजनैतिक प्रणालीमा प्रवेश गरेको छोटो समयमा नै जनमानसमा आएको प्रणालीगत बितृष्णालाई उजागर गर्दै ढकाल हाइकुमार्फत यसरी अभिब्यक्त हुन्छन्,
देश प्रदेश Country and Provinces
संसद र सांसद houses and law makers
मन्त्रीको चाङ horde of ministers
बस्तुतः जुनसुकै विधाको साहित्यिक सिर्जनाले समाज, सवाल र सहज प्रस्तुतीलाई पन्छाउन मिल्दैन । स्रष्टाका सिर्जनाले समाजका सवाललाई बस्तुगत रुपमा उठान गर्ने भएकाले नै साहित्यलाई समाजको दर्पणका रुपमा अथ्र्याइएको हुनुपर्दछ । तसर्थ, सर्जकले समाजलाई घच्घचाउने, जागृत गर्ने, सचेतीकरण गर्ने र उद्देलित गर्ने ध्येयले सिर्जन धर्म निर्बाह गर्नुपर्दछ भन्ने आग्रहलाई अन्यथा भन्न सकिंदैन । ढकालका हाइकुले समाजको छिन्द्रान्वेषण गर्ने जुन पहल र परख गरेका छन् त्यो असाध्यै स्तुत्य छ ।
मायाको मन्त्र
जप गर्दै चखेवा
अनसनमा
कति जीवन्त तथा शास्वत लाग्छन् यी हाइकुहरु । मूलतः प्रत्येक व्यक्तिमा आ–आफ्ना अप्रकटिकृत भावना र कल्पना हुने गर्दछन् । जव ति भावनालाई उर्वर हुने वातावरण प्राप्त हुन्छ, तव ती छाल, ज्वारभाटा र शीतविन्दु भएर शिखरित हुन्छन् । यिनै प्रखर दर्विला र प्रेमिल नादको उमङ्गमा साहित्य सिर्जना हुन्छ वा लेखकले साहित्य बृष्टि गर्दछ । हरेक मानिसमा क्षण–प्रतिक्षण नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्ना मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ ।
बढ्यो इमान
साहस स्वाभिमान
नाकाबन्दीले
मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ र दिर्घकालीक हुन्छ । जब भाषाका माध्यमबाट मनको गहिराई पक्डेर उद्देलित शब्दसिरालाई कपीका पानामा पस्किइन्छ, तब मिठो, सुललित र मनै लोेभ्याउने साहित्य जन्मिन्छ । फगत मन्त्र र जप ध्यानले मात्र उत्कृष्ठ सिर्जना सम्भव हुँदैन । हो यही मर्मका बीचबाट जन्मेको हुनुपर्छ स्रष्टा बद्री ढकालको ‘‘ठ्यौको’’ हाइकु कृति ।
माकुरी चाल
खुट्टा सिरानीतिर
मायाको जाल
त्यसो त कुनै पनि विधाको साहित्य सिर्जना सहज र सरल विषय हुँदै होइन, अपितु भावनाका उच्छवासहरुले जव सर्जकको माथिङ्गललाई रिंगटा खेलाउँछन्, तब एउटा लेखक/साहित्यकार कष्टप्रद ओथारो बस्छ र जन्माउँछ युगिन सिर्जना । कवि, लेखक आफ्ना सन्तानरुपी सिर्जनामा आफूलाई यसरी मनखुश गराउँछ, मानौ उसको लागि सिर्जना नै सबैथोक हो । मनका विविधा रङ्गहरुलाई साहित्य लेखनका माध्यमबाट सम्प्रेषण गर्दा अतिशय उमङ्गित हुन स्रष्टालाई कसैले सिकाइरहनु पर्दैन । ऊ आफैभित्र खुशी हुन्छ र अरुका मनभित्र पसेर पनि खुशी हुन्छ ।
पाकेको तन
जिन्दगी सत्य खोज्छ
अनुसन्धान
‘‘ठ्यौको’’ भित्रका सबैजसो हाइकुहरुले हाइजिन ढकाललाई मात्र खुशी दिँदैनन्, अपितु सबै पाठक र द्रष्टाहरु भित्री हृदयदेखि नै उद्देलित र पुलकित हुन सक्दछन् । यसो किनभने बद्री ढकालकृत ‘‘ठ्यौको’’ भित्रका सबैजसो हाइकुहरुले समकालीन जीवन र जगतको तितो यथार्थलाई उदाङ्ग बनाएकाछन् । ‘बल्ल प¥यो निरमाया–माकुरी जालैमा’ भनेजस्तो सरल रेखामा पनि कहाँ जान्छ र जिन्दगी ? वास्तविक जीवनको रसास्वादन गर्न त अध्ययन, अनुभव र अनुसन्धानकै जरुरत पर्दछ ।
मूलको पानी
अछुतको करुवा
प्यासी बाहुन
यस कृतिमा समाविष्ट सबै हाइकुहरु बोधगम्य, सरल, सरस र सुस्वादिला छन् । ढकालका हाइकुहरु हाम्रो वर्तमान समाजलाई जस्ताको तस्तै उदिन्न, केलाउन र छिमल्न सक्षम छन् । आफू जन्मे हुर्केको समाजको बिसंगत अभ्यासलाई धारेहात लगाउन यिनका सिर्जनाहरु अतिशय काविल देखिन्छन् । यिनका हाइकुमा छुत–अछुत, ठूला–साना, पढेका–नपढेका, शहरीया–गाउँले, शासक–शासित, धनी–गरिब, महिला–पुरुष, किशोर–किशोरी, भौतिक–प्राकृतिकलगायतका समसामयिक सवालहरु रोचक ढंगले उत्खनन गर्ने काम भएको छ । समाजकै परिवेशले वेष्ठित भएर सिर्जना गरिएका हाइकुहरु भएकाले पाठक तन्मयकासाथ यिनका हाइकुमा बाँधिन्छ, हाइकुलाई मनन गर्छ र हाइकुसँगै रमाउँछ पनि ।
बाढी पहिरो
खान्छ मुटु कलेजो
दुखी जनता
जनमनको पीडा, आर्तनाद र दुःख बोलेकाछन् ढकालका हाइकुहरुले । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेले प्रकाशकीय भूमिका निर्वाह गरेको ‘‘ठ्यौको’’ हाइकु सङ्ग्रहमा हाइजिन ढकालले आफूले देखेका, भोगेका, सुनेका र अनुभूत गरेका विषयहरुलाई बिम्ब र प्रतिकहरुको सुन्दर संयोजनसहित हाइकु कविताको रुपमा प्रस्तुत गरेकाछन् । यिनको हाइकु लेखन समाजको विविधताकै प्रतिबिम्बका रुपमा अघि बढेको छ । वर्तमान समाजको विचित्रको चित्रलाई हाइकुमा उतार्ने यिनको अभ्यास घतलाग्दो छ । देशप्रेम, संस्कृतिप्रेम, भाइचारा र बन्धुत्वको भावनाको प्रवद्र्धनमा हाइजिन ढकालको विशेष जोड रहेको भेटिन्छ यिनका हाइकुमा दृष्टिगोचर गर्दा । थोरै शब्दमा आफ्ना अरुचीका विषयमा ब्यङ्ग्यबाण प्रक्षेपण गर्नु सामान्य कुरा हुँदै होइन, तर हाइजिन ढकालले यो कामलाई कुशलतापूर्वक सम्पादन गरेको देखिन्छ । निकटको छिमेकीले हामीलाई हेपेर गर्ने निकृष्ट ब्यवहारका प्रति ढकालले कसेर ब्यङ्ग्य प्रहार गरेकाछन् यसरी,
भारत ठान्छ
लिपुलेख दुख्दैन
दोक्लाम दुख्छ
यस कृतिमा समाविष्ट हाइकुहरु विचरण गर्दा कविले आफू सामाजिक जीवनका विभिन्न क्षेत्रमा संलग्न हुँदा आर्जन गरेका विषयविविध अध्ययन, अनुभव, अभ्यास र अनुभूतिहरुको संयोजन भेट्न सकिन्छ । ढकालका हाइकूहरु सुललित, सुरम्य, हृदयग्राही, छेडखानयुक्त र पाठकलाई च्वास्स छुने खालका छन् । यिनले प्रयोग गरेका शब्दपुष्पहरुको सहजता र विषयको सघनताले हाइकु सङ्ग्रहको ओझ बढाइदिएको छ । सबका सब हाइकु अनुशीलन गर्दा हाइकु लेखनमा ढकाल निकै फुर्केर अघि बढेको अनुभव गर्दछ पाठकले । स्रष्टा बद्री ढकाल बढो उदात्त र निमग्न भएर हाइकुका शब्दहरुसँग निखारको धार लगाइरहेका भेटिन्छन् हाइकूभित्र ।
गेटको फूल
कार्यालय नछिर्टै
दलाली पन्जा
यति चोटिला बिम्बहरुको सहज प्रयोगबाट समाजको बेथिति, अनियमितता र छाडापनको दोहोलो काड्न सक्नु सर्जकको सफलता हो भन्ने लाग्दछ । हाइकूले जीवन, जगत र पर्यावरणका सर्वाङ्गिण पक्षहरुलाई बोधगम्य, शालीन, शौम्य तथा धीरतापूर्वक प्रस्तुत गर्नुपर्दछ भन्ने अपेक्षा राखिन्छ । सर्जकमा उच्च कोटीको समाजशास्त्रीय चेत हुनुपर्ने तथ्यलाई नजरअन्दाज गर्न सकिंदैन । जुन कुरा ढकालका हाइकुहरुमा प्रशस्त भेट्न सकिन्छ । ढकाल आफू बाँचेको समाजका प्रति निष्ठापूर्वक प्रस्तुत हुने प्रयास गरेको देखिन्छन् हाइकुका विषयक्षेत्र छनोट गर्दा । यिनका हाइकुले आञ्चलिकताको भावलाई पनि मनग्गे उद्बोधन गरेकाछन् ।
रुप्से छहरा
काखैमा अन्धगल्छी
तान्दछ बल्छी

रातो सुकुल
लिवाङ्ग र थवाङ्ग
रातै रुकुम
झट्ट हेर्दा ढकालकृत हाइकुहरु उखानटुक्काजस्ता, भजनको चुट्काजस्ता, धर्मग्रन्थका श्लोकजस्ता, मन्त्रजस्ता वा सामाजिक कहावतका रहनीजस्ता लाग्ने गर्दछन्, जसले समाजमा व्यक्तिहरुलाई एक खालको दर्शन, नैतिकता, सभ्यता र शिष्टाचार तथा आचार–विचार सिकाइरहेका हुन्छन् । यिनका थुप्रै हाइकुहरुले उपरोक्त जिम्मेवारीलाई पूरा गर्ने सत्प्रयास गरेकाछन् । यिनका अधिकांश हाइकुमा समयको आवाजले प्रमुख स्थान पाइरहेको भेटिन्छ ।
खोला चालेर
छैन महल मोह
नुनको जोहो

डुबेको घर
घाउमा नुन चुक
शीतलहर
भए खाने र पु¥याएर खाने वर्गको जीवन भोगाइको यो भन्दा मार्मिक चित्रण अरु के नै पो हुन सक्छ र ? समयलाई यथोचित प्रतिबिम्बित गर्ने ध्येयमा ढकालको लेखन अविचलित जुटिरहेको पत्तो पाउन कुनै कठिनाई हुँदैन । कालको सौंन्दर्य महिमा गाउन र यसको विद्रूपतामाथि कठोरतापूर्वक प्रहार गर्न यिनी चुकेका छैनन् । समयले लिन खोजेको अधोगतिका प्रति यिनले आफ्ना हाइकुमा प्रयुक्त शब्दबाट नाराजगी प्रकट गरेका छन् । क्षणिक मादकतामा रम्ने र के के न जित्यौं भन्ठान्नेहरुलाई यिनले शालिनतापूर्वक बन्दना गर्न रुचाउँछन् ।
पुलती तिमी
झुसिलकिरा बन्दाको
क्षण सम्झ त !
स्रष्टा बद्री ढकालले आफ्ना हाइकुमार्फत मुलुकमा विकसित हुँदै गैरहेको बिकृत राजनीतिका प्रति पनि नाराजगी प्रकट गर्दछन् । मुलकको समृद्धि, सम्पन्नता, स्वायत्तता, सार्वभौमिकता र भौगोलिक अखण्डताका पक्षमा शान्तभावमा आग्रह राख्ने यि स्रष्टाले छिमेकी मुलकको हेपाहा प्रबृृत्ति र देशका राजनैतिक नेताहरुको दोहोरो भूमिकाका प्रति गम्भीर प्रश्न खडा गरेकाछन् आफ्ना हाइकुहरु मार्फत ।
नदी बाँधेर
सिमाना छेकबार
नेता तगारो

उफ्राई बित्ता
टवार्टवार् भ्यागुता
चुनावी नेता
यतिमात्र होइन हाइजिन ढकालले सुविचारित ढंगले नै पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको पश्चिमाकरणको बिरोध गरेको पनि भेउ पाउन सकिन्छ । आफ्नो मौलिक मूल्य मान्यता र संस्कार संस्कृतलाई चटक्कै छोडेर विदेशीको अन्धानुकरण गर्ने कुराले राम्रो नगर्ने तर्फ उनले सरोकारवालाहरुलाई सचेत बनाउन चाहेका छन् ।
सेता हिमाल
बजारिया फेसन
काला पहाड

जन्मोत्सव रे
बत्ती निभाई केक
कति उदेक !
कवि ढकाल समाजमा ब्याप्त असमान शक्ति सम्बन्ध र लैंगिक विभेदका प्रति पनि सुविचारित दृष्टिकोण प्रस्तुत गर्दछन् आफ्ना हाइकु सिर्जनामार्फत । महिलालाई भोग्याको रुपमा वा सुन्रताको प्रतिकका रुपमा मात्र परिभाषित गर्न र बुझ्न खोज्ने खोटपूर्ण धारणाका प्रति उनको बिमति रहेको देखिन्छ उनका हाइकु पढ्दै जाँदा ।
साउने झरी
हरिया हतकडी
पाखुराभरि

भित्र गरम
अत्याश छ बेसरी
बाहिर भ्रम
वास्तवमा किन चाउरिइस मरिच आफ्नै रागले भनेजस्तो महिलाको सुन्दरताको मानक मानिएका पहिरन र श्रृङ्गारका प्रसाधनहरु नै हतकडीका रुपमा रहनु सभ्य समाजका लागि पाच्य हुन सक्दैन । यो कुरामा कवि ढकालको स्पष्ट विचार प्रकटिकृत भएको छ । मुखमा रामराम बगलीमा छुरा भनेजस्तो बाहिर देखाउने एकथरी र भित्र गर्ने अर्कै थरी भएपछि मुलुकले कोल्टे फेर्ने कुरा एकादेशको कथामा मात्रै सीमित हुन बेर लाग्दैन भनेर हाइजिन ढकालले सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहेको बुझ्न सकिन्छ ।
सालिक पनि
अनसन बसेर
मरे के गर्नी ?
यस्तो अहम सवाललाई सार्वजनिक रुपमा उठान गर्ने हिम्मत राख्नु स्रष्टा ढकालको मननीय पक्ष हो । यता न उताको मझधारमा अनिर्णयको बन्दी बनेर मुलुक र समाजले निकास पाउने सम्भावना नभएकाले सामाजिक न्याय सुनिश्चित हुनेगरी अघि बढ्नुनै सबैको हितमा हुने कुरालाई ढकालले स्मरण गराउन चाहेको देखिन्छ । सबैको चित्त बुझाउने काम सजिलो हुनै सक्दैन तसर्थ सर्वजन हिताय ः सर्वजन सुखायको स्थानमा बहुजन हिताय ः बहुजन सुखायको मान्यताले पनि अघि बढ्नु समिचीन हुन सक्दछ भन्ने स्रष्टा ढकालको धारणा हो भन्ने देखिन्छ । समस्यामाथि समस्या थपेर कुनै निकास निस्कन नसक्ने तथ्यमा सर्जक ढकाल प्रष्ट देखिन्छन् ।
यस्ता थुप्रै सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक, आर्थिक तथा बैदेशिक ममिलाका विषयवस्तुहरुलाई हाइजिन बद्री ढकाल ‘हिरामणि’ले आफ्ना हाइकुहरुमा समेटेका छन् । यिनका अधिकांश हाइकुहरु नेपाली समाजको यथार्थलाई पटाक्षेप गर्न र समाजभित्रको बहुविषयक अन्तरकुन्तरलाई अन्वेषण गर्न सफल छन् भन्न सकिन्छ । समाजलाई र मुलुकलाई दिशा निर्देश गर्न पनि यिनका हाइकुहरुले सतत प्रयत्न गरेकाछन् । आफ्ना हाइकुमार्फत हाइजिन ढकालले समाजका हर्ताकर्ताहरुलाई लल्कार्ने र प्रश्न सोध्ने काम मात्र गरेका छैनन्, अपितु अबको कार्यदिशा पनि सुस्पष्ट रुपमा प्रस्तुत गरेकाछन् । यस तथ्यबाट के भन्न सकिन्छ भने ढकाल साहित्य सिर्जनाको फाँटमा केबल स्रष्टाको रुपमा मात्र नभै द्रष्टाको रुपमा पनि प्रस्तुत भएकाछन् ।
अन्त्यमा, हाइजिन बद्री ढकाल ‘हिरामणि’ को ‘‘ठ्यौको’’ हाइकुसङ्ग्रह साँच्चिकै सफल कृतिका रुपमा पल्लवित भैरहन सकोस् । नेपाली बृहत शब्दकोशका अनुसार ठ्यौकोलाई काठको ठुलो टुक्रो, गिँडुल्को वा ठेउकोको रुपमा अथ्र्याइएको देखिन्छ । ठ्यौकोलाई विधि र ढंग पु¥याएर प्रयोग गर्न जान्यो भने यसलाई किमती सामग्री उत्पादनमा सदुपयोग गर्न पनि सकिन्छ भने ढंग पुगेन भने फगत क्षणभरको तातोपनका लागि आगो तापेर वा यत्तिकै सडेर खेर जान दिने स्थिति पनि आउन सक्दछ । यति मात्र भनौं, सिर्जनशील काममा र मौजुदा समाजको उत्थानका लागि ठ्यौको र ठ्यौकाहरुको सकारात्मक प्रयोग अपेक्षित देखिन्छ ।
फेरिनैपर्छ
सूर्यकोण फेरिदा
छाँयाको मान्छे
प्रस्तुत कृतिमा समाविष्ट दोस्रो हाइकुको भावार्थ निकै मार्मिक र चोटिलो प्रतित हुन्छ । समयले सिकाउने सवक सबैले सिक्नै पर्दछ । ‘दृष्टि अनुसारको सृष्टि कि, सृष्टि अनुसारको दृष्टि’ निर्माण गर्ने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्ला । तसर्थ, ‘‘ठ्यौको’’लाई नशाको थुप्रो मान्ने या शक्ति केन्द्रको टाउको मान्ने यसको जिम्मा पाठकीय स्वतन्त्रताको अधिनमा छोड्नुनै मनासिब होला । हाइजिन बद्री ढकाल ‘हिरामणि’ को साहित्यिक धरातलको उन्नयनको कामना गर्दछु । धन्यवाद ।
कृति ः ठ्यौको (हाइकुसङ्ग्रह)
कृतिकार ः बद्रि ढकाल ‘हिरामणि’
संस्करण ः प्रथम २०७८
प्रकाशक ः हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके
पृष्ठ संख्या ः १०+११६
मूल्य ः रु. ३००।–

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।