आमुख
“हर रात सपनी ऐंठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि ?”
यो गीत सुन्दा सबैलाई दीप श्रेष्ठको झल्को आउँछ, तर यस गीतका रचनाकार विप्लव प्रतीकको सम्झना कमैलाई आउँछ । अझ यो गीतको स्थायी खण्ड सिर्जना गरिएको ठाउँ चितवन हो भन्ने कुराको जानकारी सीमित मानिसलाई मात्र थाहा होला । यी यस्तै कालजयी गीत र थुप्रै सुन्दर कविताका सर्जक विप्लव प्रतीकले २०७४ मा प्रकाशित गरेको अविजित उपन्यासले नेपाली पाठकको ध्यनलाई त्यति तानेको देखिएन । बुक हिल पब्लिकेशनले प्रकाशित गरेको भए पनि भीडभाडमा निस्कन त्यति नरुचाउने र आफू निरन्तर साधनामा रमाउन चाहने उपन्यासकारका बानीका कारण पनि त्यसो भएको हो कि ? भन्ने अनुमान लगाउन सकिन्छ । त्यसो त कृतिलाई चर्चामा ल्याउने मुख्य कुरा कृति आफैँ हो, तर पनि यो पूँजीवादी जमानामा विज्ञापन र हल्लाले पनि त्यसमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । कालान्तरमा त्यस्तो हल्ला सेलाएर जान्छ, तर वर्तमानमा त्यसको करामतलाई नकार्न भने मिल्दैन । चर्चामा नआए पनि अविजित उपन्यासको शक्तिलाई एक न एक दिन यो समाजले अवश्य स्वीकार्नु पर्नेछ भन्ने मेरो सशक्त मान्यता छ ।
उपन्यासकार विप्लव प्रतीकबारे छोटो चर्चा
उपन्यासार विप्लव प्रतीक मूलतः कवि हुन् । एकल साधना उनको पहिचान हो । सेतै फुलेको लामो कपाल, फुलेका दाह्री–जुँगा उनका बाह्य हुलिया हुन् । अग्लो शरीर, खाइलाग्दो जिउजाल, गोरो बदनले उनको हुलियालाई अझ प्रष्ट पार्छ । अनौपचारिक खालको पोशाकले उनलाई छुट्टै खालको देखाउँछ । यस्तो लाग्छ उनी आफूभित्र पृथक् स्वादको कविता बाँचिरहेका छन् ।
कसैलाई पनि आफ्नो थर र उमेर नबताउने विप्लवले आफ्ना सबै औपचारिक कागजातमा प्रतीक लेखाएका छन् । त्यसो त कृष्णप्रसाद सर्वहारा नामक लेखक तथा वामपन्थी नेताका जेठा सन्तानका रूपमा जन्मिएका उनमा बाबुको प्रभाव परेको हुनुपर्छ । काठमाडौँको भीमसेनस्थानमा जन्मिएका उनको पुख्र्यौली घर भने काठमाडौँकै धोबीधारा हो । हाल काठमाडौँकै घट्टेकुलोमा एक्लो बस्ने गरेका उनमा साहित्यप्रति लगाव मात्र होइन दीर्घ साधना पनि छ । दर्जनौँ सशक्त गीतका सर्जक प्रतीकको नेपाली भाषामा कृतिगत रूपमा हालसम्म नहारेको मान्छे कवितासङ्ग्रह र अविजित उपन्यास प्रकाशित भएका छन् । उनका कविताहरू अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली लगायत अन्य विदेशी भाषामा पनि अनूदित भएर कृतिगत रूपमा आएका छन् ।
अविजित उपन्यासको पृष्ठभूमि
धेरै पहिलेदेखि भनिँदै आएको कुरा हो– शून्यमा साहित्य जन्मिन सक्तैन । साहित्यकारले साहित्य लेख्नुअघि त्यसका बारेमा देखेको, भोगेको, सुनेको, अनुभव गरेको वा कतै पढेको हुनुपर्छ । सामान्यतया यस्ता कुरालाई कल्पनाको लेप लगाएर साहित्यको साँचोमा ढाल्ने गरिन्छ । त्यसैले साहित्यलाई समाजको दर्पण भन्ने गरिएको हो । त्यसो त साहित्यले समाजलाई चित्रण गर्ने भएकाले यसलाई इतिहासका सामग्रीका रूपमा पनि लिने गरिन्छ । इतिहासमा घटना प्रबल हुन्छ भने साहित्यमा कला पक्ष हाबी हुन्छ, कल्पनाको प्रधानता हुन्छ । अझ उपन्यासमा ऐतिहासिकता भेटिनु सामान्य कुरा हो । वर्णन हुने र अन्य विधाभन्दा लामो हुने भएकाले उपन्यास साहित्यका अन्य विधाभन्दा समाजसँग बढी जवाफदेही हुन्छ भन्दा अत्युक्ति नहोला ।
लेखकले मानसपटलमा बसेका कुरालाई लेख्दा लेखनलाई बढी न्याय गर्न सक्छ । काठमाडौँको काँठमा जन्मी हुर्केका उपन्यासकार नारायण ढकालले आफ्ना उपन्यासमा काँठको जीवन र त्यहाँको भोगाइलाई प्रशस्त वर्णन गरेको पाइन्छ । त्यसको विपरीत काठमाडौँ सहरको भीमसेनस्थानमा जन्मी हुर्केका उपन्यासकार विप्लव प्रतीकले काठमाडौँ सहरको कथालाई आफ्नो उपन्यासमा समेट्ने प्रयास गरेका छन् । जीवनको लामो कालखण्ड काठमाडाँै सहरका विभिन्न ठाउँमा गुजारेकाले त्यसको छाया–छवि विप्लवको मानसपटलमा दीगो गरी बसेको छ भन्दा समस्या पर्दैन । उनले आफ्नो बाबुको छायालाई आफ्नो उपन्यासमा राम्ररी उतारेका छन् भन्दा पनि अत्युक्ति हुन्न । तर त्यसमा कल्पनाको लेप राम्ररी लागेको छ । नेपाली समाजमा इतिहास बनिसकेको राणा काल, प्रजातन्त्र काल, पञ्चायत कालजस्ता तीनवटा कालखण्डलाई अविजित उपन्यासले परिवेश बनाएर समेटेको छ । यसमा त्यतिबेलाका काठमाडौँ उपत्यका मात्र नभएर काठमाडौँ बाहिरको राजविराज, वीरगञ्ज, काभ्रेपलाञ्चोक, धादिङजस्ता जिल्लाहरू पनि राम्ररी आएका छन् । यसर्थ अविजित उपन्यास विगतका तीनवटा कालखण्डको जीवन्त इतिहास पनि बनेको छ ।
अविजित उपन्यासको कथानक
जम्मा एघार खण्ड र ३६६ पृष्ठको आयाममा फैलिएको अविजित उपन्यासको कथानकमा वि.सं. १९९७ देखि २०४६ सम्मको जम्मा पचास वर्षको समयअवधि चित्रण गरिएको छ । यसमा समेटिएका मुख्य–मुख्य घटना निम्न छन् ः
उपन्यासको पहिलो खण्डमा बालक अविजितको बाललीलाको चर्चा छ । उसले आफ्ना साथीहरूसँग विभिन्न बालखेल खेल्ने गरेको र खेल्नका लागि माधवसँग विभिन्न ठाउँ चाहार्ने गरेको वर्णन छ । यसरी घुम्ने क्रममा उसले सिफलको जङ्गलमा रूखमा मानिस झुन्ड्याएको देख्छ । त्यसपछि डराएर घर फर्केपछि उसले बाबुसँग रूखमा मान्छे फलेको कुरा गर्दा बाबुले ती राणाविरोधी भएकाले तिनका बारेमा कसैसँग चर्चा नगर्न र यदि त्यसो गरेमा राणाहरूले जिब्रो थुतिदिने डर देखाउँछन् । त्यस्तै आफ्नी सात वर्षीया बहिनीको उन्नाईस वर्षका युवासँग विवाह भएको, दशैँ र तिहारजस्ता चाड मनाएको, तिहारमा जुवा खेल्न जाँदा बाबुले उसलाई साथी लगेको, जुवामा धन हारेपछि उसको बाबुमा उदासी छाएको, त्यसको केही समयमा बाबुको मृत्यु भएको, बाबु मरेको एक महिना नहुँदै आमाको नाम बाबुको साथी वीरमणिसँग जोडिएर पञ्चायत बस्न लागेको, पञ्चायत बस्नुअघि नै उनीहरू गाउँ छाडेर भागेको भए पनि अविजितले त्यस घटना बारे केही थाहा नपाएको, भोलिपल्ट उठेर उसले आमालाई घर वरिपरि खोजेको घटना पहिलो खण्डमा वर्णित छ । त्यस्तै उपन्यासको दोस्रो खण्डमा घरमा एक्लो भएका अविजितलाई राजविराजमा बडाहाकिम रहेका उसको भिनाजु कुलभक्तले काठमाडाँैबाट घोडामा चढाएर आफ्नो दलबलसँग त्यता लगेको र त्यहाँ उसले छ वर्ष विताएको वर्णन छ । यही अवधिमा उसले तराईको होली, सरकारी कर्मचारीले गर्ने सिकार, कसूरदारलाई गरिने सजायँ आदि देख्छ । यस्तै राणाजी खुसी भएर उसको भिनाजुलाई उपहार दिइएको ग्रामोफोन हेरेर ऊ दङ्ग पर्छ । एक दिन भिनाजु अफिस गएको बखत झ्यालबाट चढेर ग्रामोफोन बजाउँदै गर्दा भिनाजु आइपुगेपछि उसको गालामा चड्कन लगाउँछन् । यसले उसको मनमा चोट परेका कारण भोलिपल्ट सोही झ्यालबाट पसेर भिनाजुको बाकसबाट आफूलाई चाहिने बाटो खर्च चोरेर काठमाडौँ फर्कन्छ । फर्कने क्रममा रक्सौलमा रेलबाट उत्रने क्रममा उसको झोला र पैसा हराएपछि रोइरहेको अवस्थामा मदनसँग भेट र उसँग साथ लागेर करिम चाचाको गाडा चढेर वीरगञ्जतर्फ लागेको घटनाहरू समेटिएका छन् ।
त्यस्तै उपन्यासको तेस्रो खण्डमा मदनको साथ लागेर वीरगञ्जतर्फ लागेको अविजितले बाटो २००७ सालको जनक्रान्ति प्रत्यक्ष देखेको कुरा गरिएको छ । तनावग्रस्त वीरगञ्जबाट काठमाडौँ तत्काल जान नसकिएपछि ऊ एक हप्तासम्म मदनकहाँ बसेको, त्यो अवधिमा सामान्य लेखपढ गर्न सिकेको, मदनका क्रान्तिकारी साथीहरूसँग सङ्गत बढेको र उसमा पनि क्रान्तिप्रति अभिरुचि बढेको देखाइएको छ । मदन र ऊ काठमाडौँ फर्कने क्रममा अमलेखगञ्जमा पक्राउ परेको र उसले यातना खप्ने क्रममा भिनाजुको नाम लिएपछि उसलाई छुटाउन भिनाजुले आफ्नो सेवक हर्कवीरलाई पठाएका र ऊ छुटेपछि राजविराज जान नमानेपछि हर्कवीरले बाटोखर्च दिएर काठमाडौँ पठाएको कुरा आएको छ । अमलेखगञ्जबाट हिँडेर काठमाडौँ आइपुगेको ऊ सिधै आफ्नो घर पुग्छ । घरमा ताला लागेकाले दलिनबाट चढेर बार्दली हुँदै माथिल्लो चोटामा पुगेर सुतेको, भोलिपल्ट उसकी दिदी लक्ष्मीलाई भेटेर चापी र केही खर्च लिएर फर्केको, दिदीबाट बहिनी र ज्वाइँको मृत्यु भएको खबर सुनेको, यही बीचमा देशमा प्रजातन्त्र आएको, इन्द्रजात्रामा रथ तान्ने क्रममा विजयलालसँग चिनजान भएको, उसले अविजितलाई पढ्न मन भए आफूले पढेका किताब दिएर सहयोग गर्ने बताएको, यसपछि उसले आफू पढ्न चाहेकाले बाबुका साथी थिरजङसँग सहयोग माग्न गएको, उनले आफूले सहयोग गर्न नसके पनि गणेशजीले घर बन्धकी राखेर वा घर किनेर आर्थिक सहयोग गर्न सक्ने बताएको, उसले धोबीधारामा आफू बसिरहेको पुख्र्यौली घर बेचेर बानेश्वरमा चार आनामा बनेको दुई तल्ले घर किनेको र आफूलाई पढाइमा समर्पित गरेको कुरा यो खण्डमा आएको छ ।
उपन्यासको चौथो खण्डमा देशमा प्रजातन्त्रले परिवर्तन ल्याएजस्तै अविजितले प्राइभेट नै भए पनि म्याट्रिक मात्र होइन, आईए सम्मको अध्ययन पूरा गरेको कुरा गरिएको छ । अविजित अन्य साथीसँग मिलेर कम्युनिष्ट पार्टीको सदस्य बनेको, साथीहरूसँग विभिन्न ठाउँमा भेटिने गरेको, उसले आजीविकाका लागि पत्रिकामा काम गरेको, यस्तैमा देशमा आएको परिवर्तन स्थायी हुन नपाउँदै राजाले कू गरेर पञ्चायती शासन लागू गरेको, उसँग हर्कवीरले पतिघर छाडेर बसेकी आफ्नी कान्छी बहिनी सरितालाई काम खोज्न आग्रह गरिएको, एक दिन बहिनीलाई लिएर आएपछि उसको रूपबाट प्रभावित अविजित विवाह बन्धनमा बाँधिएको कुरा गरिएको छ । त्यस्तै पाँचौँ खण्डमा पञ्चायती व्यवस्थाका बक्रदृष्टि र अविजितको पत्रिकामा प्रकाशित लेखका कारण पत्रिका बन्द भएको, उसलाई पक्राउ गरी लगिएको, प्रहरीले बयान लिएर छाडेको, ऊ बेरोजगार भएको, उसको छिमेकमा घर किनेर बसेको पुण्यप्रसादसँग परिचय भएको, उसको सहायताबाट उसले खोपासीमा रसियनहरूले बनाउन लागेको हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्टमा काम पाउने पक्का भएको कुरा गरिएको छ ।
उपन्यासको छैटौँ खण्डमा पत्नी सरितालाई लिएर अविजित जागीरको सिलसिलामा खोपासी गएको, त्यहाँ गएर उसले मन लगाएर काम गरेको, त्यहाँका कामदार र हाकिमसँग सुमधुर सम्बन्ध राखेको, करिब दश महिना काम गरेपछि पत्नी सरितालाई खोपासीमै छाडेर काम विशेषले काठमाडौँ जाने क्रममा घरमा पसेको र भोलिपल्ट बिहान उसको छिमेकी पुण्यप्रसादले उसको पार्टीको महासचिव नृपविक्रमलाई जानकारी नदिई जागीर खाएकाले उसलाई जागीरबाट हटाउन लगाएको खबर सुनाउँछ । यसबाट हतास बनेको अविजितलाई उनले भूमिसुधारमा जागीर लगाइदिने आश्वासन दिँदा आफू राजाविरोधी भएकाले त्यसमा जागीर खान नमिल्ने बताउँछ । तर पुण्यप्रसादले बाँच्नका लागि जागीर आवश्यक हुने कुरा बताएपछि ऊ तयार भएर खोपासी गएको, आफ्नो बचेखुचेको तलब बुझी पत्नी सरिता र भर्खरै जन्मेको छोरोलाई लिएर ऊ काठमाडौँ फर्केको कुरा गरिएको छ । त्यस्तै सातौँ खण्डमा ऊ जागीर खान भनेर धुलिखेलको बाटो हुँदै देवभूमितिर लागेको, छ महिना त्यहाँ बसेर उसले मन लगाएर भूमिसुधारका लागि आवश्यक पर्ने तथ्याङ्क सङ्कलन गरेको, भोलिपल्ट सहर फर्कने योजनामा रहेको ऊ दिउँसो गाउँ घुम्न निस्केका बेला जसवीर नामक दलितलाई गाउँकै ठालु नेत्रविक्रमबाट गरिएको दुव्र्यव्यवहारका विरुद्ध उत्रिँदा उसको ज्यान जोखिममा पर्ने देखेर उसलाई सोही राति गाउँबाट सहरतिर जाने बाटो देखाउन स्वयं जसवीर उसँग फर्केको देखाइएको छ । यसरी ज्यान बचाएर हिँडेको अविजित सहर पसेपछि केही समय बेरोजगार बनेको, त्यतिबेला फेरि साथीहरूको सङ्गतमा जुटेर राजनीतिक गफ गर्ने र रक्सीको नसामा डुब्ने गरेको देखाइएको छ ।
उपन्यासको आठौँ खण्डमा अविजित साथीको साथमा लागेर हिप्पीहरूको क्रियाकलाप हेर्न वसन्तपुर जाने गरेको देखाइएको छ । त्यहाँ गएर उसले हुक्का तान्ने, नसा सेवन गर्ने गरेको छ । उनीहरूको अनियन्त्रित क्रियाकलापबाट आजित भएपछि राजधानीबाट लखेटिएको देखाइएको छ । त्यस्तै नवौँ खण्डमा पुण्यप्रसादकै सहयोगमा अविजित धादिङको केवलपुरम शिक्षक भएर गएको देखाइएको छ । त्यहाँ बस्ने क्रममा ऊ गाउँसँग घुलमिल भएको, सामाजिक क्रियाकलापमा पनि सहभागी हुने गरेको, त्यस्तैमा एक दिन झापामा छोरासहित पुण्यप्रसादको क्रान्तिकारीका हातबाट हत्या भएको कुरा उसको सहयोगी देवीप्रसादबाट थाहा पाएको र त्यसबाट उसको मन विचलित भएको देखाइएको छ । त्यहाँ करिब छ महिना बसेर दशैँ मनाउन घर फर्कने क्रममा बाटोमा ऊ चढेको ट्रक दुर्घटना भएपछि सत्र दिनसम्म हस्पिटल बसेको, डिस्चार्ज हुने बेलामा साथीहरूले थाहा पाएर उसलाई लिन हस्पिटल पुगेका, निस्कने बेलामा उसको झोला र पैसा बाटोमै हराएको थाहा पाएपछि विजयले उसलाई खर्च चलाउन भनेर एक सय रुपैयाँ दिएको, घरमा पुग्दा ढोकामा ताल्चा लागेको, सबै दङ्ग परिरहेको अवस्थामा छिमेकी महिलाले सरिता पोइला गएको जानकारी दिएर यो खण्डको अन्त्य गरिएको छ ।
उपन्यासको दशौँ खण्डको सुरुमा पत्नीे सानो छोरासहित भागेकीले चिन्तित भएर अविजित बस्ने गरेको देखाइएको छ । त्यस्तैमा एउटा शनिबारको बिहान उसको घरमा आएर एउटा अपरिचितले आफ्नो नाम तेजवीर भएको र आफूले सरितालाई असाध्यै माया गर्ने गरेको बताउँछ । त्यति मात्र नभएर सरिता आफूसँग भएको र ऊबिना आफू बाँच्न नसक्ने भएकाले उसलाई सदाका लागि आफ्नो बनाउन चाहेको कुरा उसकै लोग्ने अविजितसँग गरेपछि स्वयं अविजित अवाक् बन्छ । साथीहरूसँग सल्लाह गरेर उसले सरितालाई पारपाचुके दिएको, त्यसपछि एक्लो भएको अविजितले विजयको सहयोगमा कृष्णदासको पत्रिकामा सम्पादकको काम गरेको, त्यस्तैमा एक दिन वि.पी. को शवयात्रा देखेको, काङ्ग्रेसको सत्याग्रह र दरबारमार्गको बमकाण्डका बारेमा समाचार बनाएको र दशैँमा विजयसँग मिलेर हेलम्बुतिर यात्रामा गएको देखाइएको छ । त्यस्तै एघारौँ खण्डको सुरुमा एक्लो जीवन बिताइरहेको करिब पचास वर्षे अविजितलाई उसका साथीहरूले कर गरेर बाईस वर्षकी जानकीसँग विवाह गराइदिएको कुरा आएको छ । विवाहमा रुचि नराखेका अविजितले काम नभएका बेला रक्सीमा झुम्ने गरेको, त्यस्तैमा उसको भाञ्चा धीरु उसलाई खोज्दै आएको, उसले आफ्ना बाबु–आमाको मृत्यु भइसकेको खबर दिएको, धीरु र अविजित सँगै बसेर रक्सी पिउने गरेका, अविजितले काम गर्ने पत्रिका बिक्री भएकाले ऊ जागीरविहीन बनेको, पछि पत्रिकाकै साहुको चिनजानका व्यक्तिको स्कुलमा उसले पढाउने काम पाएको, धीरु बाक्लै आउने गरेकाले उसँग माइजुको राम्रो बोलचाल हुने गरेको, एक दिन जानकी माइत गएको बेला अविजित र धीरुले मात्ने गरी रक्सी पिएको बेला जानकी साँझमा टुप्लुक्क आइपुगेकी, बेस्सरी मातेकाले धीरु त्यो रात त्यहीँ बसेको, रातमा माइजुका कारण धीरुले अनैतिक सम्बन्ध राखेको, भोलिपल्ट बिहानै लाजले हिँडेको, दिउँसो मामा घरमा नहुने मौका पारेर धीरु माइजुसँग माफी माग्न आएको, माइजुलाई त्यो सम्बन्ध अनैतिक थियो भनेर बुझाउन प्रयास गरे पनि माइजु त्यसमै अडिन चाहेको, ऊ अब त्यहाँ कहिल्यै नफर्कने विचार गरेर हिँड्न लाग्दा माइजुले गम्लङ्ग अङ्गालो हालेकी, उसले छुटाउने प्रयास गरिरहेकै अवस्थामा अविजितले देखेका, अविजितले रिसाएर अब यहाँ नआउन र मन लागे माइजु लैजान भनेपछि लज्जा र हीनताबोधले धीरु चुपचाप हिँडेको, जानकी पनि तत्काल घर छोडेर हिँडेकी, उसको साथी मघैयाले जानकी माइत गएको र घर फर्कन नचाहेको कुरा पत्ता लगाएको, यस्तैमा २०४६ सालको आन्दोलन सुरु भएको, चैत्र २४ को जुलुस उसको घरबाट आएकोदेखेपछि अविजित पनि स्वःस्फूर्त रूपमा सामेल भएको र दरबारमार्गमा भएको गोलीकाण्डमा उसको ज्यान गएको देखाइएको छ । प्रजातन्त्र प्राप्तिको आमसभामा उसका साथीहरूले उसलाई खोजे पनि ऊ शहीद बनेको कुरा भने कसैलाई थाहा नभएको देखाएर उपन्यासको अन्त्य भएको छ । यसरी अविजितको सिङ्गो जीवन उपन्यासमा चित्रण गरिएको पाइन्छ ।
अविजित उपन्यासमा चित्रित इतिहासका त्रिकाल
अविजित उपन्यास चरित्रकेन्द्री उपन्यास हो । यसमा उपन्यासको नायक अविजितको बाल्यकालदेखि जीवनको अन्त्यसम्मका घटनाहरू आएका छन् । अविजितले जीवन बुझ्न सक्ने भएदेखिका सारा वृत्तान्त यो उपन्यामा आएको छ । एउटा व्यक्तिको वरिपरि उपन्यास घुमेको भए पनि ऊ राणा कालमा जन्मेको, प्रजातन्त काल भोगेको र सबैभन्दा बढी पञ्चायत कालमा जीवन गुजारेको पात्र देखिएको छ । अविजितसँग समाजको चित्र पनि आएकाले अविजित उपन्यास इतिहासका त्रिकालको साक्ष्य बनेको देखिन्छ । यसलाई निम्न प्रमाणका आधारमा पुष्टि गर्न सकिन्छ ः
क) राण काल
उपन्यासको नायक अविजितको जन्म राणा कालमा काठमाडौँको धोवीधारामा भएको कुरा उपन्यासमा वर्णन गरिएको छ । उसले बाल्यकालमा देखे–भोगेका कुराको उपन्यासमा वर्णन गरिएको पाइन्छ । यस्ता वर्णनले राणा कालको समयको चिनारी दिएको छ ।
राणा दरबारबाट अवकाश पाएका भीमप्रसाद र पार्वतीका दोस्रो सन्तान र एक मात्र छोराका रूपमा रहेको उसले आफू सानो छँदा आफूभन्दा सानी बहिनीको बिहे देखेको कुरालाई उपन्यासमा यसरी वर्णन गरिएको छ ः
“आज गणेशजी आएका थिए ।”, भीमप्रसादले कुराको सिलसिला सुरू गरे ।
“दुलहा टक्सारमा छन् रे । प्राइम मिनिस्टरका प्यारा । उन्नाईसका । हाम्री कान्छी पनि सात लागिसकी । यही छेक गरिदिएन भने आठ लाग्छे । आठ लागे, नौ लाग्न के बेर ? के भन्छेस् ?” (पृष्ठ ः ४)
राणा कालमा बालविवाह प्रचलित थियो भन्ने कुरा हामी इतिहासमा पढ्न पाउँछौँ । यहाँ त्यो जीवनशैलीको चित्रण गरिएको छ । सात वर्षकी बालिकाको विवाह उन्नाईस वर्षका युवासँग गरिएको देखाइनुका साथै टक्सारको जागीर, प्राइम मिनिष्टरका प्याराजस्ता पदावलीले पनि राणा कालको झल्को दिन्छ । यसर्थ माथिको उद्धरणमा त्यतिबेलाका समाजको चित्रण पाइन्छ ।
वि.संं. १९९७ को शहीद काण्डलाई बालक अविजितले आफ्नै आँखाले देखेको थियो । साथी माधवसँग सिफलतिर घुम्न जाँदा उसले रूखमा मान्छे झुन्ड्याएको देख्यो र साथीलाई पनि देखायो । ऊ मात्र होइन साथी पनि डराएकाले आत्तिएर घर फक्र्यो । घरमा आएर बाबु भीमप्रसादलाई डराई–डराई त्यो घटना बताउँदा बाबुले उसलाई यस्तो भने ः
“धेरै डुलुवा हुने होइन, कुरा बुझिस् ? अनि रूखमा झुण्डिएको मान्छेको कसैसँग कुरै नगर्नू । राणाजीका आठपहरियाहरूले सुने भने जिब्रो काटेर पातमा राखिदिन्छन् । राणाजीसँग जोरी खोज्ने क्रान्तिकारीहरूको हालत त देखिहालिस ? झुन्ड्याएर मारे ।” (पृष्ठ ः ९)
त्यतिबेला चार शहीदलाई सिफलको जङ्गलमा झुन्ड्याएर मान्छे तर्साउन त्यतिकै छाडिएको कुरा इतिहासमा पढ्न पाइन्छ । सोही कुरालाई माथिको उद्धरणले प्रष्ट पारेको छ । त्यति मात्र नभएर आफ्नै आँखाले देखेको कुरा पनि कसैसँग नभन्न अविजितलाई उसको बाबुले दिएको चेतावनीले राणा कालको त्रासलाई राम्ररी चित्रण गरेको छ ।
वि.संं. २००७ को जनक्रान्तिलाई अविजितले राजविराजबाट काठमाडौँ फर्कने क्रममा वीरगञ्जमा प्रत्यक्ष देखे–भोगेको कुरालाई तलको उद्धरणले पुष्टि गरेको छ ः
अचानक गोलीका आवाजहरू सुनिन थाले । “करिम चाचा ?”, मदनको खुल्दुली मिश्रित सम्बोधनमा प्रश्न थियो ।
“सरकारके सिपाही से लडे है कौनो मुक्ति वाहिनी । कायल सब लडाईं खतम भैल कह ली । पता नहीँ आज फेन इ काहे का धुमधडाक सुनैली हम ।”, करिम चाचाले जवाफ दिँदादिँदै जानकारी दिए ।
“ए, मुक्ति सेनाले क्रान्ति सुरू गरेछ ?”, मदनको अनुहारमा तेज छायो । (पृष्ठ ः ७२)
रक्सौलबाट गाडा चढेर वीरगञ्ज फर्कने क्रममा वीरगञ्जमा एक्कासि गोली चलेको आवाज सुनिन्छ । यसरी दिउँसै सहरमा किन गोली चल्यो होला भन्ने मदनको जिज्ञासालाई गाडाचालक करिम चाचाले आफ्नै भाषामा दिएको माथिको उत्तरले जनमुक्ति सेना, सत्तासीन राणाका सेनाका बीचमा भिडन्त भएको देखाएको छ । हामीले इतिहासमा वीरगञ्जमा भएको जनमुक्ति सेनाको सशस्त्र युद्धका बारेमा पढेको कुरालाई माथिको उद्धरणले थप प्रकाश पारेको छ । उपन्यसमा वर्णित यी र यस्तै घटनाले राणाकालीन समयको चिनारी दिएको पुष्टि हुन्छ ।
ख) प्रजातन्त्र काल
वि.संं. २००७ मा तत्कालीन राजा त्रिभुवन नेपाल छाडेर सपरिवार दिल्ली गएका र नेपालमा सशस्त्र क्रान्ति भएको कुरा नेपालको इतिहासमा लेखिएको छ । उक्त जनक्रान्तिपछि नेपालमा प्रजातन्त्र प्राप्ति भएको र त्यसले जनमानसका आशा र अपेक्षा पूरा गर्न नसकेको कुरालाई अविजित उपन्यासले आख्यानात्मक ढङ्गले यसरी पुष्टि गरेको छ ः
वि.संं. २००७ को जनक्रान्तिपछिको प्रजातन्त्र प्राप्तिको पहिलो दिन घुम्दै अचानक टुँडिखेल पुगेको अविजितले त्यहाँ थुप्रै मान्छेको भीड देखेको र आफू पनि भीडमा मिसिएको कुरा सम्झना गरेको छ । भीडमा उसले देखेको कुरालाई उपन्यासमा यसरी चित्रण गरिएको छ ः
खरीको रूखको चौतारोमा कालो कोट, सेतो कमिज र कालो इस्टकोट लगाएको एक जना मानिस माइक अगाडि उभिएर भाषण गर्दै थियो, “जनताको जित भएको छ । जहानियाँ शासनको अन्त्य भयो । अब कोही सामन्त हुनेछैन । अब तपाईँ–हामी कोही रैती होइनौँ, नागरिक हाँै । नयाँ संविधान लेखिनेछ र लेख्नेछ संविधानसभाले जनताको संविधान ।” (पृष्ठ ः ९०–९१)
माथिको उद्धरणमा प्रजातन्त्र प्राप्तिपछि जनतामा आशाको सञ्चार भएको देखाइएको छ । नेताहरू उत्साहित भएका छन् । उनीहरू जनतालाई रैतीबाट नागरिक बनेको कुरा बताउँदै छन् । यो परिवर्तन प्रजातन्त्रले मात्र सम्भव भएको कुरा पनि माथिको उद्धरणमा गरिएको छ ।
क्रान्तिपछि देशमा प्रजातन्त्र आयो । त्यसले निश्चित रूपमा केही परिवर्तन ल्यायो, तर त्यो परिवर्तन नाम मात्रको परिवर्तन थियो भन्ने कुरालाई अविजितको जीवनसँग जोडेर उपन्यासले यसरी वर्णन गरेको छ ः
क्रान्तिपछि मुलुकमा परिवर्तन आयो । र, अविजितको जीवनमा पनि । उसको जीवनमा आएको परिवर्तनमध्ये पुरानो घर विक्री गर्नु पहिलो बन्यो । त्यसपछि उसले बानेश्वरको उचाइमा चार आना जग्गामा दुईतले पुरानो घर किन्यो । त्यसबाहेकको परिवर्तन भनेको उसले प्रवेशिका अर्थात् म्याट्रिक मात्र होइन, आईए पनि सिध्यायो । (पृष्ठ ः १०५)
माथिको उद्धरणमा अविजितले पुरानो घर बेचेर नयाँ घर किन्नुलाई पहिलो परिवर्तन भनिएको छ । यसरी ठाउँ सर्नु र खुल्ला ठाउँ छाडेर साँघुरो ठाउँमा जानुलाई बाध्यात्मक परिवर्तन मान्न सकिन्छ । दोस्रो परिवर्तन उसले प्राइभेट भए पनि म्याट्रिक र आईएसम्म पढ्नुलाई लिइएको छ । राणा कालमा सर्वसाधारणलाई शिक्षाबाट वञ्चित गरिएकोमा प्रजातन्त्रप्राति पश्चात् जनताले शिक्षाको अवसर पाउने गरेकोलाई वास्तवमै सकारात्मक परिवर्तन मान्न सकिन्छ । यीवाहेक जनताले खासै परिवर्तनको महसूस गर्न नपाएको कुरा उपन्यासमा आएको छ । त्यसो यो उपन्यासले राणा काल जति पनि प्रजातन्त्र कालको चर्चा गरेको छैन ।
ग) पञ्चायत काल
वि.संं. २००७ सालमा जहानियाँ राणा शासन हटेर देशमा प्रजातन्त्र आए पनि दलहरूका बीचमा काटाकाट र मारामार भएका कारण राजाले घोषणा गरेको संविधानसभाको निर्वाचन हुन सकेन । आमनिर्वाचनबाट बनेको सरकार पनि दुई वर्षभन्दा बढी टिक्न सकेन । यस्तो अवस्थामा राजा महेन्द्रले २०१७ साल पुष १ गते निर्दलीय पञ्चायती व्यवस्था घोषणा गरी देशबाट प्रजातन्त्रको हनन गरेको कुरा हामी इतिहासमा पढ्छौँ ।
देशमा प्रजातन्त्र हनन भई पञ्चायती व्यवस्था आउनुमा राजा र दलका नेताहरू बराबर जिम्मेवार भएको कुरालाई उपन्यासले यसरी वर्णन गरेको छ ः
राजाले बागडोर आफ्नो हातमा लिइसकेपछि कुनै ठूलो उथलपुथल भएन । राजाका लागि सके त्यो बडो उपयुक्त समय थियो शासन हत्याउने ।
दलहरूबीच काटमारमै दश वर्ष बितेको थियो । मुलुकमा दासप्रथा उन्मूलन भए तापनि मानिसहरूमा दास मानसिकता हटेको थिएन । (पृष्ठ ः ११५)
जनताले लामो सङ्घर्ष र बलिदानपछि देशमा आएको प्रजातन्त्र कति सजिलै राजाको हातमा गयो र देशमा निर्दलीय पञ्चायती व्यवस्था आयो भन्ने कुरालाई माथिको साक्ष्यले पुष्टि गरेको छ । यसमा दलहरू नै बढी जिम्मेवार भएको तर्क माथिको उद्धरणमा देख्न पाइन्छ ।
पञ्चायती शासनकालमा युरोपका विभिन्न स्थानबाट काठमाडौँमा भित्रिएको हिप्पी संस्कारको चित्रण पनि उपन्यासले गरेको छ । आजका युवाका लागि यो गजब खालको सामग्री बनेको छ । हेरौँ एउटा उदाहरण ः
... हल्लीखल्ली मच्चियो त्यहाँ । र ढुङ्गेधारामा गएर एक जना प्रहरी कराउन थाल्यो, “इस्टोप ! इस्टोप !” जे भइरहेछ त्यहाँ, त्यसलाई रोक्न आदेश दिइरहेको थियो ऊ ।
“ह्वाट्स अप मेन ?”, एक जनाले सोध्यो ।
“नो न्याकेट, नो न्याकेट ! क्लोथ पुट ! न्याकेट–इल्लिगल, इल्लिगल !”
खुल्लेआम नग्न स्नान गर्न अनुमति छैन भन्ने कुरा उसले एक हातले एक जनाको कपडा हल्लाएर बुझाउने प्रयास ग¥यो । (पृष्ठ ः २३४)
युरोपमा दोस्रो विश्वयुद्धबाट मानसिक रूपमा खण्डित भएका युवाहरू काठमाडाँै छिरेर वसन्तपुर वरपर बस्ने गरेको र उनीहरू नसा, नग्नता, खुल्ला यौन र छाडापनमा बाँच्ने गरेको कुरालाई माथिको उद्धरणले पुष्टि गरेको छ । त्यसलाई रोक्न सरकार लागि परेको कुरा पनि माथिको उद्धरणमा आएको पाइन्छ ।
नेपालको इतिहासमा वि.संं. २०४२ मा नेपाली काङ्ग्रेसले गरेको सत्याग्रह र सोही समयमा भएको दरबार मार्गको बमकाण्डको महत्पूर्ण स्थान छ । यसलाई उपन्यासमा अविजित र उसको पत्रिकाका मालिक कृष्णदासको संवादका माध्यमबाट यसरी देखाइएको छ ः
... “किङ्स वेमा बम पड्काएछन् ।”, कृष्णदासको मुखबाट यति सुन्नेबित्तिकै अविजितले मुखमा हाल्न खोजेको मःमः फुस्किएर प्लेटमै खस्यो ।
“कसले ?”
“हल्ला त काङ्ग्रेसले भन्ने छ ।”
“काङ्ग्रेस त सत्याग्रहमा छ होइन ?”
“त्यही त, हुनसक्छ काङ्ग्रेसको सत्याग्रह बिथोल्न सरकारले आफैँ नै यो नाटक रचेको पनि हुन सक्छ ।” (पृष्ठ ः ३०१)
माथिको संवादमा आफैँले बम पड्काउन लगाउने र त्यसको दोष अरूको टाउको थोपर्ने सत्ताधारीको दोहोरो चरित्र माथिको संवादले प्रमाणित गरेको छ । पञ्चायती व्यवस्थाले कसरी नेपाली काङ्ग्रेसले गरेको सत्याग्रह भाँड्ने उपक्रम गरेको थियो भन्ने ऐतिहासिक तथ्यलाई माथिको उद्धरणमा संवादात्मक तरिकाले पुष्टि गरेको छ ।
पञ्चायती व्यवस्था ढाल्नका लागि वि.संं. २०४६ को जन आन्दोलन सुरु गर्न लागेको कुराको चर्चा अविजित र उसका राजनीतिक रूपले प्रशिक्षित मित्रमण्डलीमा चलेका बेलामा अविजितले उक्त आन्दोलनले पनि जनताले दुःख सिवाय केही नपाउने निष्कर्ष यसरी निकालेको छ ः
“आन्दोलन शिखरमा पुग्नेमा शङ्कै छ मलाई । यदि पुगि हाल्यो भने दुर्भाग्य नेपालीकै हुनेछ । सफल भएर यी दलका मान्छेलाई विद्रोह गर्ने जति अक्कल छ, सत्ता सम्हाल्ने ज्ञान छैन । त्यसैले दुःख पाउने जनताले हो । पञ्चायतले जिते पनि दुःख पाउने जनताले नै हो किनभने जितको उन्मादले पञ्चायत मातिनेछ ।”, अविजितले भन्यो । (पृष्ठ ः ३५५)
देशमा नेताहरू प्रशस्त भएको तर राजनेता नभएको र सबैजना आ–आफ्ना स्वार्थको घेराबाट माथि उठ्न नसकेको तीतो यथार्थ माथिको उद्धरणमा पाइन्छ । घोर निरासामा बाँचिरहेका अविजितमा यस्तो धारण आउनु स्वाभाविक देखिए पनि उपन्यासमा आएको यो विश्लेषण तात्कालीन थियो कि उपन्यासकारले अहिले आएर बनाएका हुन् ? भन्ने बारेमा शङ्का गर्न सकिन्छ ।
आफू राजनीतिक रूपले प्रशिक्षित भएकाले आफ्नो घरअगाडिबाट सत्ताको विरोधमा नाराबाजीसहितको जुलुस आएको देखेपछि अविजित चुपचाप घरमा बस्न सकेन । फलतः ऊ पनि वि.संं. २०४६ को जन आन्दोलनमा स्वःस्फूर्त तरिकाले सहभागी भएको कुरा तलको साक्ष्यमा देख्न सकिन्छ ः
मानिसहरूले देखे, एक जना अर्को पनि लडखडाउँदै लड्यो । अविजित थियो त्यो । सबथोक निस्पट्ट अन्धकार हुनुअघि उसको मुखबाट अन्तिम वाक्य निस्कियो, “विजय होस् !” (पृष्ठ ः ३६५)
वि.संं. २०४६ को चैत्र २४ को आन्दोलनमा दरबार मार्गमा भएको भीषण आन्दोलनमा राजाको सालिक तोड्न सर्वसाधारण जनता चढेपछि गोली चलेको र त्यसपछि भागाभाग भएको कुरा उपन्यासमा आएको छ । यसरी भाग्ने क्रममा अविजितलाई गोली लागेर ढलेको कुरा माथिको साक्ष्यमा आएको छ । ऊ शहीद भएको कुरा न उसका आफन्तले थाहा पाए, न त कुनै साथीभाइले थाहा पाए । यस्ता अनाम शहीदहरूको योगदानले पञ्चायती व्यवस्था ढलेको कुरा माथिको उद्धरणमा आए पनि त्यसको भोग न उसका आफन्तले गर्न पाए न उसको योगदानको उचित सम्मान नै हुन सकेको छ भन्ने ऐतिहासिक कुरा पनि माथिको उद्धरणमा आएको छ ।
यसरी अविजितको जीवनका आरोह–अवरोह केलाउने क्रममा उसले बाल्यकालमा भोगेको राणा काल, किशोरावस्थामा देखेको प्रजातन्त्र र जीवनको लामो कालखण्ड भोगेको पञ्चायती व्यवस्थाका विविध घटनालाई उपन्यासले कथ्य बनाएको छ । एउटा पात्रको सिङ्गो जीवन उतारिएकाले घटनाहरू फटाफट अगाडि बढेका छन् । उसको उमेरको हिसाब कताकति नमिलेको हो कि भन्ने धारणा पाठकले बनाउन सक्छन् । यति भएर पनि उपन्यासले इतिहासको त्रिकाललाई सुन्दर ढङ्गले चित्रण गरेको छ ।
उपसंहार
“जाऊँ फेरि त्यही गाउँ
जहाँ नदी गाउँछ, धरती नाच्छ
र जहाँ गुञ्जिन्छ
पातहरू बताससँग ठोक्किएर
जीवनको सुन्दर कविता ।” (गाउँको सम्झना ः विप्लव प्रतीक)
माथिको कवितांशमा जस्तै उपन्यासकार विप्लव प्रतीकले आफ्नो उपन्यासमा गाउँको मोह र अतीतको मोह ज्यादा नै देखाएका छन् । वि.संं. १९९७ को शहीद काण्डलाई उपन्यासको नायक बालक अविजितले आफ्नै आँखाले देखेको भए पनि त्यसलाई उसले वास्तविक रूपमा नबुझी रूखमा मान्छे फलेको देखेको बताइएको छ भने वि.संं. २००७ सालको क्रान्तिको अन्त्यतिर रक्सौलमा भेटिएका मदनका सङ्गतले ऊ आफैँ सामेल भएको देखाइएको छ । वि.संं. २०१७ को पञ्चायती व्यवस्थाको आगमन त्यसको प्रभावसँग भने ऊ आफैँ सामेल भएको र त्यसको चपेटामा उसको जीवन पिल्सिएको पनि देखाइएको छ । उपन्यासको अन्त्यमा वि.संं. २०४६ को जनआन्दोलनको चित्रण गर्दै चैत्र २४ को दरबार घेराउ काण्डमा अविजितको मृत्यु भएको देखाइएको छ । चैत्र २६ को प्रजातन्त्र प्राप्तिको आमसभाका दिनमा उसका साथीहरू भुवन, विजय, मघैया र बलरामले अविविजले उसलाई खोजे पनि उसको कतै पत्तो नभएको देखाएर उपन्यास टुङ्ग्याएको छ । यसर्थ यो उपन्यास राणा काल, प्रजातन्त्र काल र पञ्चायत कालको ऐतिहासिक दस्ताबेज बनेको छ । यसका नायक अविजितले देखे–भोगेको समय र समाज यस उपन्यासमा उतारिएको छ । एउटा पात्रको सिङ्गो जीवन आएकाले यो उपन्यास पूर्ण बनेको छ । आजका किशोर र अहिलेका बालक युवा बनिसकेपछि त्यतिबेलाको समय र जीवनशैली बुझाउनका लागि यो उपन्यास उपयुक्त खजाना बन्न सक्छ । यसका लागि उपन्यासकार विप्लव प्रतीक बधाईका पात्र बनेका छन् ।
सन्दर्भ सामग्र सूची
उप्रेती, सञ्जीव. २०६८. सिद्धान्तका कुरा. काठमाडौँ ः अक्षर क्रियसन ।
थापा, हिमांशु. २०४७. साहित्य परिचय. काठमाडौँ ः साझा प्रकाशन ।
प्रतीक, विप्लव. २०७४. अविजित. काठमाडाँै ः बुक–हिल पब्लिकेसन ।
बराल, ऋषिराज. २०६३. उपन्यासको सौन्दर्यशास्त्र. (दो.संस्क.). ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि. २०६८. मनोविश्लेषण र साहित्य. काठमाडौंँ ः अक्सफोर्ड इन्टरनेसनल पब्लिेकेसन प्रा.लि.।
श्रेष्ठ, तारालाल. २०६८. शक्ति, स्रष्टा र सवाल्टर्न. (दो.संस्क). काठमाडौं ः डिस्कोर्स पब्लिकेसन ।