15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेगेटिभ

लघुकथा डा. श्यामप्रसाद न्याैपाने October 24, 2021, 9:44 pm
डा. श्यामप्रसाद न्याैपाने
डा. श्यामप्रसाद न्याैपाने

घरमा आएपछि शान्तसँग थपक्क बसिरहने रघुले आज आउने बित्तिकै साबुनपानीले मिजिमिजी हात धाेयाे । केही क्षण आँगनकाे वल्लाे छेउ र पल्लाे छेउ गरिरह्याे । घरी यता घरी उता गर्‍याे ।

उसकाे निधारमा चिटचिट पसिना आइरहेका थिए । छिन छिनमा साबुनपानीले हात धाेइरहेकाे थियाे ।
कहिल्यै यसरी छटपटाएकाे नदेखेकी उसकी आमाले साेधिन् - "बाबु ! के भयाे ? किन छटपटाएकाे ?"
उसले सुनेकाे नसुन्यै गर्‍याे । ऊ कतिखेर आगनकाे याे छेउ पुग्थ्याे, कतिखेर ऊ छेउ । कतिखेर उसले निधारमा आएका पसिना दाहिने हातकाे चाेर अौंलाले पुस्थ्याे । उसकाे मन समुद्री आँधीझैं निकै अशान्त देखिन्थ्यो ।

कहिल्यै यस्ताे अशान्त बेहाेरा नदेखाएको रघुलाई देखेर छिमेकी पनि दङ्ग परेर उसलाई हेरिरहेका थिए ।

केही समयपछि रघुकाे साथी विक्रम उसकाे घर आयाे । " रघु ! हामीसँग एक हप्ता सँगै बसेकाे, सँगै कामकाज गरेकाे मनवीर थियाे नि, जसलाई रुघाखाेकी र ज्वराे देखिएर अस्पताल भर्ना गरिएकाे थियाे उसमा काेराेना नेगेटिभ देखियाे " तगाराे खाेल्दै उसले एकै सासमा भन्याे ।
विक्रमका कुरातिर त्यति ध्यान नदिएकाे रघुले 'काेराेना नेगेटिभ' सुन्ने बित्तिकै "हँ , साँच्चिकै हाे" भनी साेध्याे ।
"नपत्याए ल हेर" भन्दै विक्रमले काेराेना परीक्षण गरेकाे रिपोर्ट उसलाई दिंदै भन्याे ।

रघुले कागज हेर्‍याे । "ए ! नेगेटिभ नै त रहेछ" उसकाे मुखबाट अनायासै निस्कियाे ।
ऊसँग एक हप्तासँगै बसेकाे भनेर म त्यसै आत्तिएर !" उसले मनमनै साेच्याे ।

तर्कवितर्कले समुद्री तुफानझैं अशान्त भएकाे रघुकाे मन "नेगेटिभ" देख्ने बित्तिकै अघाएकाे गाईझैं शान्त भयाे । निधारका पसिना अकस्मात् कता हराए कता । रघुकाे मुहार खुलेकाे कमलझैं उज्यालाे देखिएकाे थियाे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।