15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दु:स्वप्न

कविता रुद्र बराल October 24, 2021, 8:58 am

क्रमश: बढ्दै छ
अनुहारमा म्युजियम बोकेका आकृतिहरूको भिड
कति हिजोहरू पचाउन सके एउटा म्युजियम बन्छ
कति म्युजियम चहार्दा एउटा सिङ्गो इतिहासको
पुस्तक पाइन्छ
म्युजियम बोकेका आकृतिहरूलाई कसैले सोधेनन्
ती आकृतिले खोलामा हेरेनन् आफ्नो कायाको छायाँ
म्युजियमले बोक्न सक्तैन वर्तमानको कोलाज
चिडियाघरझैँ
हुन त
यी आकृतिहरूको
टाउकोमा एक एक चिडियाघर पनि छ
आफूलाई चिथोरिरहेछ्न्
आँखाबाट फुत्किएर आएका बाँदरहरूले
अरूको गुँड भत्काइरहेछ्न् बेकसुर
च्यातिरहेछन्
जतनले राखेका पुर्ख्यौली दस्तावेज
एकहुल नानीहरू शरणार्थी शिविरका आँगनमा बसेर
घोकिरहेछ्न्
भूपिका
गिरीका
कहिल्यै कण्ठस्थ नहुने कविताहरू।

बडसोला, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।