15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तरबार र कलम

लघुकथा राजु “हिमांशु” October 24, 2021, 10:01 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

तरबार र कलमको बिचमा मान्छे ठिङ्ग उभिएको छ। वैचारिक द्वन्द्व चलिरहेको छ तरबार र कलममाझ।
“यो संसारमा तरबारभन्दा कलम धारिलो हुन्छ भन्ने धारणा गलत हो।” धारिलो तरबार चिच्यायो ।
“लेखेर लाग्ने हुन्छ कलम तरबारभन्दा। स्वेच्छाचारी मान्छेका शक्तिहरूको पुञ्जलाई निमिट्यान्नै पार्ने महाशक्ति निहित हुन्छ कलममा।” कलमको दर्प अकासियो।
“तर शक्तिशाली मान्छेलाई पनि च्वाट्टै पार्न सक्छ तरबारले।” तरबार झन चिच्यायो।
“त्यसरी च्वाट्टै नपारी पनि समाधान खोज्न सक्छ कलमले । तरबारले काट्नु सक्छ ,जोड्नु सक्दैन। तर कलमले जोड्नु सक्छ। ” कलमको तिखो स्वर सुनियो।
“त्यसो भए हरेक क्षेत्रमा जानी नजानी बाङ्गो हुने यो मान्छेलाई सीधा पार्छौ कसरी ? अर्काको सम्पत्तिमा आफ्नो अधिकार खोज्ने यो लोभी मान्छेलाई दानी बनाउँछौ कसरी ? निर्दोष,निष्कलङ्क र मायालाग्दो बालिकालाई बलात्कार गर्ने यो पापी मान्छेलाई धर्मात्मा बनाउँछौ कसरी ? बम विस्फोट गराएर शहरै आतङ्कित पार्ने यो आतङ्कवादी मान्छेलाई सुधार्छौ कसरी ? अकालमा व्यर्थै मारिएका निहत्था निर्धाहरूका सपनाहरूलाई, आकाङ्क्षाहरूलाईधरि हत्या गर्ने हत्यारा मान्छेलाई मार्ग दर्शन दिन्छौ कसरी ? खै त रोक्न सकेको तिमीले जनहत्याहरू ? मानव अधिकारका हननहरू ? के ठूलो कुरो गर्छौ ? ” तरबारका प्रश्नहरू कराए। ठिङ्ग उभिएको मान्छे तर्सियो।
“तिमीले चैँ कसरी दिन सकेका छौ र तिम्रा प्रश्नहरूका उत्तरहरू? भन त। ” कलम गर्जियो।
“यी: यसरी।” भनी तरबारले ठिङ्ग उभिरहेको मान्छेको टाउको च्वाट्टै काटिदियो। रगताम्मे मान्छे निष्प्राण भएर भुईँमा लड़यो ।
अवाक कलम थरथर कामिरहेको थियो।


डाउहिल,खरसाङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।