15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘संवैधानिक पत्नी’ एक झलक

कृति/समीक्षा इन्दिरा दीक्षित October 24, 2021, 9:08 am
इन्दिरा दीक्षित
इन्दिरा दीक्षित

विदेशलाई कर्म थलो बनाए पनि स्वदेशलाई सर्वोपरि ठान्ने लेखक कृष्ण बजगाईंका एक दर्जन भन्दा बढि पुस्तक बजारमा आएका छन् । बेलायतको बसाई अनि विदेशको व्यस्त जीवनशैली हुदाहुदै पनि “खाने मुखलाई जुँगाले छेक्दैन” भने झै आफ्नो समय निकालेर मन लागेको विधामा कलम चलाउ छन् ।
बिभिन्न विधामा कलम चलाउँन पोख्त उनका कथा, कविता, हाइकु, नियात्रा, लघुकथा आदिका पुस्तक प्रकाशित भएक छन् । नियात्रामा सिद्धहस्त बजगाईंका कृतिहरु सबैजसो पठन पाठनको लागि योग्य छन् । लगनशील सष्टा बजगाईं उनको उत्कृष्ट लेखन शैली र छुट्टै मौलिकताले गर्दा आजका पुस्तामा बढि मनपराइएका लोकप्रिय लेखक बन्न पुगेका छन् ।
विवेक सिर्जनशील प्रकाशन, काठमाण्डौंले बजगाईंको “संवैधानिक पत्नी” नामक लघुकथासंग्रह हालै बजारमा ल्याएको छ । परदेशको बसाईमा तयार पारेका उक्त कृति पढ्दा उनलाई स्वदेशको सम्झनाले निक्कै सताएको देखिन्छ । मेरो देश यस्तो कहिले होला भन्दै विकसित देशको रमझम देखेर नेपालसँग तुलना गर्दै घोत्लन्छन् । स्वदेशको घटना परिघटना र पल पलको खवरमा चासो राख्दै विकृति र विसंगतिको खाडलतिर धकेलिँदै गएको नेपाल र नेपालीहरु प्रति निक्कै सम्वेदनशील भएका देखिन्छन् । स्वदेशको मायाँमा ओतप्रोत भएका उनी देश र देशवासीलाई अधोगतितिर धकेल्ने उपर ब्यङ्ग स्वरुप उनले “संवैधानिक पत्नी” नामक लघुकथा लेखेका हुन् कि जस्तो लाग्दछ ।
यस लघुकथासङग्रहमा उनले सिँगो नेपालको चरित्र चित्रण गरेका छन् । उनका लघुकथामा राजनीति, समाजको बेथिति र समाजलाई भड्काएर आफ्नो दुनो सोझ्याउँने एनजिओ र आइएनजिओ उपर तिब्र प्रहार गरेका छन् ।
१. राजनीति
जम्मा ५४ वटा लघुकथा भएको यस सङ्ग्रहका झण्डै एकतिहाई कथाहरु राजनैतिक विसंगति उपर खर्चिएका छन् । पहिलो लघुकथा नै कमरेडको अन्तरवार्ताबाट सुरु हुन्छ । कम्युनिस्ट भनेपछि स्वभाबैले नास्तिक, ईश्वर नमान्ने, देशमा चलिआएको पुरानो संरचना भत्काएर नयाँ स्थापित गर्ने हुन्छ । समाज परिवर्तन गर्ने भन्दै सत्तामा पुगेपछि उनै कमरेडले नेपाली पहिरनमा सजिएर जनताकै अगाडि मन्दिरमा पूजाआजा र चाडपर्व मनाउँछन् । सुरुदेखि नै कमरेडको उपरोक्त कृयाकलाप देखिरहेका सम्पादक समाचार सम्पादन गर्दागर्दै बेहोस भएको देखाएर कमरेड उपर तिब्र प्रहार गरेका छन् ।
दिन दुईगुना रात चौगुनाको दरले बढ्दै गएको अनियन्त्रित महँगीको मारमा परेका जनता महँगीको हत्या अर्थात नियन्त्रण गर्न खोज्छन् । तर सरकारकै संरक्षणमा रहेको महँगीलाई निरिह जनताले के गर्न सक्छन् र ? स्वैर कल्पनामा आधारित उक्त कथा चोटिलो छ ।
अर्को कथामा न्यायालयको चीर हरणको जीवन्त तस्बिर उतारेका छन् । राजनैतिक संरक्षणमा रहेका अभियुक्तले न्यायलाई नै चुनौति दिदै सार्वजनिक रुपमा अभियुक्त संघ खोलेर अपराधी कै संख्या बढाउँदै लैजाने गरेको तथ्य उतार्द छन् ।
अर्को लघुकथामा राज्य सत्ता संचालन गर्ने उच्च ओहोदामा पुगेकाले देशको शासन ब्यवस्थालाई आफ्नै ढंगले ब्याख्या गर्दै मनलाग्दी कार्य सन्चालन गरेको देखाउँदछन् । यस्तो खाले मनपरी शासन गर्ने नेतालाई नक्कली नेताको संज्ञा दिएका छन् ।
सत्ताधारी शासकबाट सहीदको अपमानमा भएकोमा उनी दुःखी हुन्छन् । राज्यसत्तामा पुगेका नेताहरुले मनलाग्या जतिलाई सहीद घोषणा गर्दा असली सहीद ओझेलमा परेर अपमानित हुनु पर्दा सहीदका परिवारको मन कुण्ठित हुन्छ । तिनको कथा पढेर पाठकको मन चस्स छुन्छ ।
आधा आकाश ढाकेर बसेका महिलालाई कानुनी अधिकारमा मात्र सिमित राखेर ब्यावहारिक रुपमा सबै अधिकार पुरुष वर्गले मात्र हत्याएका छन् । जिन्दगीभर आश्वासन मात्र पाएका र अधिकार माग्दा नपाएका महिलाहरु मरेर पुगेको स्वर्गमा पनि आफ्नो अधिकार मागी रहेकै सान्दर्भिक दृष्टान्त कथामा उनेका छन् ।
नेपालमा रहेका निकृष्ट नेताहरुको बखान गर्दै उनी अगाडि लेख्छन्, बाचुन्जेल आफ्नो मातृभूमिको किनबेच गरिरहेका नेताले मरेर स्वर्ग पुग्दा पनि किनबेच गर्न थालेछन् । यस्ता खाले अनैतिक नेताबाट पटकपटक धोका पाएका जनता फेरि पनि उनै नेतालाई भोट दिएर बिजयी बनाउँछन् । जनताको यस्तो मूख्याईंलाई उनले कुर्सी उद्योग नामाकरण गरेका छन् ।
भ्रष्ट नेताहरुले देश र जनतालाई धोका दिएर अवैध रुपमा कुमल्याएको धनलाई वैध बनाउँन कागजी काम देखाएर गोप्यरुपमा कालो धनलाई सेतोमा परिणत गरेको अवस्थाको चित्रण गर्दछन् । धुर्त नेताका अगाडि बिचरा जनता हेरेको हे¥र्यै हुन्छन् । विशाल र विकसित दुई ठूला राज्यहरुको बिचमा रहेको नेपालले छिमेकीको देखासिको गर्नु त कता हो कता, उल्टै विकाशको नाममा जोकतन्त्र चलाएर जनतालाई बेबकुफ बनाएर सधै आफ्नो दुनु सोझ्याई रहेको कटु यर्थाथ कथामा पोखेका छन् । कुचो लघुकथा मार्फत अर्को ब्यंग्यको तीर चलाएका छन् ।
नेताको अनैतिक कर्तुत देखेर उनी फेरि अर्को ब्यंग्य गर्छन् । परिणाम जस्तोसुकै आओस् तर नेपालका नेताले भद्र सहमति भन्दै जो जस सँग र जस्तोसुकै पनि सहमति गरेको उदाहरण पेश गर्दछन् । देशको राज्य व्यवस्थामा नेता सधै धनी र जनता सधै गरीव भएका छन् । नेपालको यस्तो बिचित्रको व्यवस्था देखेर विदेशी पनि दंग परेका होलान् भनेर ब्यंग्य कस्दछन् ।
जनताको गरिवी निवारण गर्नुको सट्टा पुर्वाधार विनाको गाउँलाई नगरपालीका घोषणा गरेर चर्को कर असुल गर्ने अनि विकास निर्माणको बजेट अर्थ नलाग्ने भ्यु टावर बनाउँन खर्चिने, जनतालाई दुःख दिएर आफूमात्र खुसी हुन खोज्ने र जनताको गाँस काटेर आफूमात्र मोटाउने नेतालाई उनले राम्रो कटाक्ष गरेका छन् ।
उपरोक्त लघुकथाहरुमा कथाकारले ब्यंगात्मक शैली अपनाएर नेताहरुको त्रुटि औल्याई उनीहरुलाई सुध्रिने सल्लाह दिएका छन् ।

२. सामाजिक बेथिति
लघुकथाकारका अनुसार नेपालको विकास नहुनुमा सामाजिक बेथिति पनि एउटा कारक तत्व हो । परम्परादेखि चलिआएको संरचना भत्काएर नयाँ थालनी गर्न खोज्दा समाजमा विचलन आउँछ । स्वदेशमा काम नपाएर विदेश पलायन हुँदा परिवारमा आएको दूरीले विचलन आएको छ । लघुकथा मार्फत उनले समाजको बेथितिलाई छर्लङ्ग्याउँने प्रयास गरेको देखिन्छ ।
नेपालमा इन्टरनेटको यति धेरै दुरुपयोग भएको छ कि माग्नेले पनि यसैलाई माध्यम बनाएर जिविकोपार्जन गरेका कुरा लघुकथा मार्फत उतारेका छन् । अझ कत्ति संघसंस्थाहरु बिदेशमा भएका नेपाली र विदेशीलाई समेत इन्टरनेटको माध्यमबाट गरिवीको बहानामा चन्दा उठाएर ठगी गरिरहेका छन् । छोराछोरी, बाबुआमा सबै फोनमा ब्यस्त हुँदा पारिवारिक सम्वन्धमा नै दरार आउँछ । इन्टरनेटको दुरुपयागका बारेमा यस्तै कुरा लघुकथामा उनले औंल्याएका छन् ।
कथामा एकजना पतिले बाहिरी दुनियाँ बुझेर हो वा आफ्नी पत्नी सधै घरमा राजी खुसी बसुन् भनेर दिनहुँ पत्नी पूजा गरिरहेको चोटिलो कथा बुनेका छन् । अर्को कथामा उनी लेख्छन् संविधान र कानूनले जोड्ने र फोर्ने गरेको नाता संवैधानिक नै हुन्छ । जबसम्म मनले मनसँग नाता जोड्दैन तवसम्म पतिपत्नीको सम्बन्ध धरापमा हुन्छ । अर्को कथामा उनी लेख्छन् बिबाहित महिलाहरु आफूलाई चित्त नबुझेर सोधिरहेका हुन्छन्, हामीलाई किन धर्मपत्नी भन्छि ? धर्मपुत्र, धर्मपुत्री, धर्मबाबु, धर्मआमा भन्न मिल्छ भने विबाह गरेको पुरुषलाई धर्मपति भन्न किन पाइदैन ? यो अनुत्तरीय प्रश्नलाई कथाकारको मनमा उठेको रमाइलो प्रसंग मात्र होइन ।
पत्नीसँग सम्बन्धित अन्य लघुकथाहरुमा पत्नी पुराण र महिलाको चाहना अनुरुप बन्न नसकेको नामर्द पुरुष आदिका बारेमा रोचक वर्णन छन् । महिलाहरुले चाहेमा निर्दोष ब्यक्तिलाई पनि दोषी बनाउँन सक्छिन् भनेर पुरुष भाग्य नामक लघुकथामा उल्लेख गरेका छन् । एकातिर पतिसँग असन्तुष्ट भएका महिलाहरुको समूहले महिला क्लब खोलेर आआफ्ना पतिको निन्दा गर्दै मनको भडास निकालेर रमाउँछन् । अर्कोतिर पत्नीबाट प्रताडित पुरुषको समूहले पनि आफ्नो क्लब खोल्न खोज्दछन् । तर अध्यक्षता ग्रहण गर्न कोही अगाडि सर्दैनन् । त्यसको मुख्य कारण सबैलाई आफ्नै पत्नीको डर भएको रहश्य बताएर कथाको अन्त्य गर्दछन् ।
जागिरमा मात्र सीमित नरहेर जायज नाजायज तरिकाले अतिरिक्त आम्दानी गर्ने पत्नी र त्यस्तैमा रमाउने पतिको अन्तिम हविगत अतिरिक्त आम्दानी शिर्षकको कथामा बताएका छन् । आजभोलि दाइजोको बिगबिगि चलेको बेलामा उनले लेखेका छन्, बाबुआमाले सिकाएको शील स्वभाव र चारित्रिक गुण नै असली दाइजो हो । भौतिक सामान भन्दा घर ब्यवहारमा निपुर्ण भएकी नारीको भित्री सौन्दर्यले घर स्वर्ग बन्छ ।
उनले सामाजिक परिवेशका लघुकथाहरुमार्फत समाजको बेथिति राम्ररी छर्लङग्याएका छन् । घर,परिवार र समाजमा सधैजसो घटिरहने घटना र परिवेशलाई अंगालेर कथावस्तु तयार पारे पनि धेरैजसो पति र पत्नीको सम्बन्घलाई अगाडि ल्याएका छन् । उनको नजरमा पति पत्नी भनेको नै घर हो भन्ने मात्र हो अथवा विदेशमा बसेर विदेशी रहन सहनमा भिजेकाले पति पत्नी बाहेक घरभित्र अरु सदस्यको कल्पना गर्न नसकेका हुन् कि जस्तो लाग्दछ ।
पति र पत्नी बाहेकका अरु केही लघुकथाहरुमा आँखाको नानी शिर्षकको मार्मिक कथा छ । उक्त लघुकथामा बृद्ध आमाको आँखाको नानी रुपी सन्तान आफ्नो प्रिय छोरोलाई बिहे गरेर ल्याएकी बुहारीले उसको कब्जामा राख्छिन् । बुढी आमा छट्पटिँदै आँखाको नानी हरायो भनेर पागल जस्तै कराउँदै हिडेकी आमाको व्यथा लेखेका छन् । ।
मान्छे असन्तुष्ट प्राणी हो । धन, इज्जत, मानसम्मान जे जति भएपनि सन्तुष्ट बन्न नसकेर अरु धेरैको कामना गरिरहेकै हुन्छ । तर यो भन्दा पर रहेको एउटा जोगी जसलाई मोक्ष बाहेक अरुको चाहना हुदैन । सांसारिक दुनियाको राग र वैरागका सम्बन्धमा अन्तिम ईच्छा नामक लघुकथामा दर्शाएका छन् । अर्को कथामा धर्मको नाममा आश्रम खोलेर बसेका बाबाजीहरुको कर्तुत र उनका छाडा प्रवचनले महिलाहरुमा विचलन ल्याएर सिधासादा महिलाहरुलाई घर मिलाउँने भन्दै यौन शोषण गर्ने गरेका कुरा कथामा ल्याएका छन् ।
पात्रहरु नामक लघुकथामा पात्रहरुले संवाद गरेको रोचक प्रस्ुतुति पढ्न पाइन्छ । अझ चप्पल शिर्षकको लघुकथामा चप्पल जुत्ता जतिसुकै राम्रो र दामी भए पनि आखिर गोडामा नै लगाउने हो । चप्पल शिरमा लगाउन मिल्दैन । नफाटुन्जेल गोडाले लतार्ने हो भन्दै व्यंग्यात्मक शैलीमा लघुकथा टुङ्ग्याएका छन् । यस्तै लघुकथा मार्फत ढोँगी समाजको चरित्र उधाङ्गो पारेका छन् ।
३. एनजीओ/आइएनजिओको प्रभाव
नेपालमा एनजीओ र आइएनजिओ निक्कै मौलाएका देखिन्छन् । गरीव देशको विकास गर्ने भन्दै केही चन्दामा पाएका रकम पचाउँन यिनीहरु सहर बजारमा भन्दा गाउँघर तिरै लाग्छन् । विकासको नाममा सोझा सिधा गाउँलेलाई नचाहिदो कुरामा उचालेर घरमा झैझगडा या फाटो ल्याईदिन्छन् । विकाश भन्दा पनि विनाश गर्दछन् । उनले ल्याएको रकम कागजी काम गरेको देखाएर उतै लैजान्छन् । आखिर तिनले हाम्रो सामाजिक संरचना मात्र बिगारेका छन् । एनजीओ र आइएनजिओको विकृतिलाई देखेर उनले सटिक लघुकथा लेखेका छन् ।
सँगै मिलेर बसेका पतिपत्नीलाई अधिकारको नाममा उचालेर तिनीहरुको बिचमा मात्र होइन सासुबुहारी बिचमा फाटो ल्याउँछन् । स्वतन्त्रताको नाममा महिलाहरुलाई छाडा हुन सिकाएका छन् । घरमा भएको सानोतिनो कुरालाई भुसमा आगो सल्काएझै ठूलो बनाएर छोडपत्रसम्म गराएका छन् । महिला अधिकारको नाममा भाँडभैलो गराएर सामाजिक संरचना खल्बल्याएका छन् । घर बिगारेपछि गाउँनै बिग्रिन्छ । गाउँ बिग्रिए शहर अनि शहरबाट देश नै बिग्रिन्छ । देश पतनको सुरुवात त गाउँबाटै हुन्छ भन्ने लघुकथाकारको बिचारसँग सहमत हुन सकिन्छ ।
छोटा वाक्य, सटिक वर्णन र नयाँ विषयमा लघुकथा लेख्नु उनको विशेषता हुन् । ‘संवैधानिक पत्नी’ ११२ पृष्ठ संख्याको लघुकथा बृहत् पुस्तक होइन । तर पढ्दै जाँदा यसभित्र भएको गहन कुराले जो कोहीको मनमा गहिरो प्रभाव पार्दछ । हँस्यौली, ठट्यौली र व्यंग्यात्मक रुपमा लघुकथा मार्फत उनले उठाएका कुराहरु विचारणीय छन् ।

विशालनगर, काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।