15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गद्यशैलीको रूपविज्ञान: नेपाली समालोचनाको नयाँ आयाम

कृति/समीक्षा डा. शालिकराम पौड्याल October 26, 2021, 3:53 pm
डा. शालिकराम पौड्याल
डा. शालिकराम पौड्याल

दयाराम श्रेष्ठ नेपाली समालोचनाका क्षेत्रमा सुप्रसिद्ध नाम हो । धनकुटामा जन्मिएका श्रेष्ठले नेपाली विषयको कथा विधामा विद्यावारिधि गरेका छन् । नेपाली साहित्यको कथाविधालाई माथि उठाउन श्रेष्ठको अतुलनीय योगदान रहेको छ । धनकुटा कलेजबाट प्राध्यापन कार्य प्रारम्भ गरेका श्रेष्ठ त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेर सेवानिवृत्त जीवन बिताइरहेका छन् । आफ्नो सेवानिवृत्त जीवनलाई समेत समालोचना र अनुसन्धानका क्षेत्रमा समर्पित गरिरहेका श्रेष्ठका समालोचनात्मक तथा अनुसन्धानात्मक कृति प्राप्त गरी नेपाली समालोचना दिनानुदिन समृद्ध बन्दै गएको छ । नेपालको राष्ट्रिय झण्डा कृतिका लागि २०५३ सालको मदन पुरस्कार समेत प्राप्त गरेका श्रेष्ठका मौलिक सन्दर्भ र मूल्याङ्कन (२०२५), नेपाली साहित्यका केही पृष्ठ (२०३२), गोरखापत्र ः विवरणात्मक सूचीपत्र (२०३२), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४), प्रारम्भिक कालको नेपाली साहित्य ः इतिहास र परम्परा (२०३८), शाहवंश र नेपाली साहित्य (२०३९), रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१), नेपाली कथा भाग ४ (२०५७), साहित्यको इतिहास ः सिद्धान्त र सन्दर्भ (२०६१), नेपाली कथा र कथाकार (२०७०), साहित्यको अनुसन्धान व्यवस्थापन (अनुसन्धान दर्शन २०७७) आदि कृति प्रकाशन गरी श्रेष्ठले नेपाली साहित्य समालोचनाको श्रीवृद्धि गरेका छन् ।
गद्य शैलीको रूपविज्ञान (२०७८) समालोचक दयाराम श्रेष्ठको नेपाली समालोचनाका क्षेत्रमा नवीनतम प्रविधिलाई भित्राउन सफल कृति हो । प्रस्तावना, पदविन्यास, वाक्यविन्यास, अनुच्छेदयोजना संगठनयोजना, शैलीको रूपविज्ञानको अनुशासन र उपसंहार गरी सातवटा वल्लीमा विभाजित यस पुस्तकमा गद्यसाहित्यको रूपवैज्ञानिक विश्लेषणको प्रारूप प्रस्तुत गरिएको छ । भाषाको रूपविज्ञान भएजस्तै गद्यशैलीको पनि रूपविज्ञान हुने भएकाले गद्यशैलीको विश्लेषण रूपविज्ञानका कोणबाट गर्न सकिने नयाँ समालोचना पद्धतिको विकास गर्ने काम यस पुस्तकले गरेको छ । गद्यसाहित्यको पदविन्यासको विश्लेषणको आधार प्रस्तुत गरीे श्रेष्ठले पदको उचित प्रयोगस्थल साहित्य भएको कुरा विभिन्न दृष्टान्तमार्फत प्रमाणित गरेका छन् । सही शब्दको पहिचान गरी प्रयोग गर्नु भनेको रोगको सही निदान गरेर औषधी सेवन गर्नु जस्तै भएकाले साहित्यमा पनि पदको शुद्धता र पवित्रता आवश्यक हुने धारणा पुस्तकमा प्रस्तुत भएको छ । साहित्यमा प्रयुक्त भाषामा शब्दाधिक्य दोष, पुनरुक्ति दोष, वर्णविन्यासगत दोष हुन नहुने मान्यता यस पुस्तकमा उदाहरणसहित प्रस्तुत गरिएको छ । साहित्यमा वाक्यविन्यासको महŒव आँैल्याउँदै श्रेष्ठले साहित्य रचनाको आधारभूमि रूपाकृति भएको उल्लेख गरी स्पष्टता र संक्षिप्तता अपरिहार्य हुने बताएका छन् । श्रेष्ठले खरायो र कछुवाको दौडको कथाको दृष्टान्त प्रस्तुत गरी वाक्यविन्यासमा सावधानी र मितव्ययिता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
प्रस्तुत पुस्तकमा वाक्यविन्यासको मार्गचित्रका रूपमा पदस्थानान्तरण, पदस्थापन, समानान्तर, सम्प्रेषण अन्तराल, निषिद्धता, वाच्यसङ्गति, आदरार्थी सङ्गति रहेका हुन्छन् र तिनका बिचमा सङ्गठित हुनु अनिवार्य रहेको हुन्छ साथै अभिव्यक्तिमा रिक्तता र असङ्गति हुन नहुने अवधारणालाई विभिन्न उदाहरणबाट स्पष्ट पारिएको छ । प्रस्तुत पुस्तकमा अनुच्छेद योजनाअन्तर्गत एउटा मूल विचार वाक्य र अन्य आश्रित पूरक उपपूरक वाक्यहरू भएमा अनुच्छेद योजना सुसंगठित हुने सैद्धान्तिक अवधारणालाई आरेखबाट स्पष्ट पारिएको छ । रूपविज्ञानअनुसार १ विचार ² १ अनुच्छेदको सूत्र हुने र यसैअनुसार अनुच्छेद योजना हुनुपर्ने अवधारणालाई चिकित्सकीय भाषाको दृष्टान्तबाट स्पष्ट पारिएको छ । यसमा एउटा मानक अनुच्छेदका लागि एकत्व, संसक्ति र बल हुनुपर्ने मान्यता प्रस्तुत गरिएको छ । एकत्वको कायम विचार वाक्यले गर्छ, संसक्तिले विचार वाक्यको विस्तार गर्छ र बलले विचार वाक्यको पुनर्गठन गर्दछ । श्रेष्ठले अनुच्छेदमा विचार वाक्य, वाक्यतŒव र अन्तर्विषय गरी तीन स्तम्भ हुने बताएका छन् । यस पुस्तकमा श्रेष्ठले गद्यशैलीको संगठनलाई गृहनिर्माणको वास्तुकलाको रूप र वाक्यतŒवको विन्यासलाई भाषाको इन्जिनियरिङ मानेका छन् । शैलीको रूपविज्ञानको अनुशासनमा लेखन धर्मप्रति इमानदारी, अभिव्यक्तिमा सजगता र पाठकमैत्री भाषाको चयन पर्दछन् भन्दै श्रेष्ठले शैलीको रूपविज्ञानमा निहित अनुशासन नै लेखकको मौलिक पहिचान भएको बताएका छन् । साहित्यमा प्रयुक्त शैलीका आधारमा लेखकको पहिचान हुने अवधारणालाई यसले समेटेको छ ।
श्रेष्ठले कुनैपनि गद्य संकथन वा कृति विशेषको साधन हार्डवेयर रूपविज्ञान भएको र यसले नै कृतिको सफ्टवेयरलाई क्रियाशील तुल्याउने भएकाले गद्यसाहित्यको रूपविज्ञानको विश्लेषण गर्नु जरुरी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् । प्रस्तुत पुस्तकमा गद्यसाहित्यमा प्रयुक्त भाषिक संरचनाको अध्ययन विश्लेषण रूपविज्ञानका कोणबाट गर्न सकिने र यसले साहित्यमा प्रयुक्त भाषिक पक्ष पदविन्यास, वाक्यविन्यास, अनुच्छेदयोजना, संगठनयोजना र रूपविज्ञानको अनुशासनको अध्ययन गर्ने कुराको विशद विश्लेषण गरिएको छ । नेपाली साहित्यको अध्ययन अनुसन्धान परम्परित तरिकाबाट मात्र भइरहेको परिप्रेक्ष्यमा प्रस्तुत कृतिले गद्यसाहित्यको रूपविज्ञानका कोणबाट अनुसन्धान गर्न सकिने सैद्धान्तिक आधार निर्माण गरेको छ । स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका अनुसन्धानहरू यही सिद्धान्तलाई आधार मानेर गर्न सकिएमा नेपाली समालोचनाले नयाँ उचाइ प्राप्त गर्ने कुरा निश्चित छ । यस पुस्तकले गद्यसाहित्यको अध्ययन अनुसन्धानका लागि नयाँ ढाँचा र प्रारूप निर्माण गरी नेपाली समालोचनाको क्षितिजलाई फराकिलो बनाएको छ ।
पुस्तकः गद्यशैलीको रूपविज्ञान
लेखकः प्रा.डा.दयाराम श्रेष्ठ
प्रकाशकः शिखा बुक्स, काठमाडौँ
मूल्य: रु २००/–
पृष्ठ: १४०

उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।