15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मृत्यु

कविता सतीश छेत्री October 26, 2021, 3:57 pm
सतीश छेत्री
सतीश छेत्री

मृत्युलाई
मान्छेले कहिले भेटेन
भेट्यो भने पनि
सब उडिसकेपछिको
एउटा शव।

साससित खेल्छ
खेलिरहन्छ मृत्यु
जीवनभर।
अवरोह - आरोह
आरोह - अवरोह
मानौं
जीवन एउटा
सुन्दर सिर्जना हो - मृत्युको।

मृत्युले सिकायो
खेत बनाउन
धान रोप्न
सञ्चय गर्न
मृत्यु कति ठूलो गुरू!
नत्र मरिन्छ भनेर
मृत्युले डर नदेखाएको भए
कहाँ हुन्थ्यो यो व्यवस्था !
कहाँ हुन्थ्यो यो संसार !
कहाँ हुन्थ्यो मेडिकल
कहाँ हुन्थ्यो औषधि !

मृत्यु - फूल।
बोटले
पूरा बाँचिसकेको प्रमाण।
बाँस मात्रै किन,
फुलेपछि त
गोदावारी र एस्टर पनि मर्छ
फुलेपछि त
फूलकै बोट पनि मर्छ
फूल - मृत्यु।

मृत्यु कालो छैन
मृत्युको रङ्ग नै छैन
मृत्यको वर्ग छैन
मृत्युको देश छैन
मृत्युको नातागोता सम्बन्ध नै छैन
आफन्त नै छैन
मृत्यु सबलाई छ
बराबर छ
बाँच्नेलाई मृत्यु
उपहार छ/ पारितोषिक छ।

मृत्युसित केको डर!
मृत्यु नआइदिएर
जीवनलाई 'हुन' दिन्छ।
दु:ख त
जीवनको सिर्जना हो।
व्यर्थै दु:खलाई
मृत्यु - भनेर मान्छेले
मृत्युलाई
बदनाम गरिहिँड्छ।

मृत्युसित
प्रेमवश आँखा जुझेकै दिन
जीवन शुरू हुन्छ।

मृत्यु ;
कृष्ण बनेर
खुट्टा घुमाइ उभिएकोसित
बाँसुरी बजाउँदै,
जीवन गोपिनी मन्त्रमुग्ध नाचेको
हेरिरहन्छ
र घाम डुबेपछि
प्रेमालाप सकिएपछि
अँगालो हालेर
जीवनलाई लिएर
सुटुक्क फर्किएको हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।