15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रकृतिको अप्सरा, नेपालीको स्वर्णीम आनन्द ! रारा

नियात्रा राजेशकुमार अर्याल October 27, 2021, 5:09 am
राजेशकुमार अर्याल
राजेशकुमार अर्याल

स्वर्गकी अप्सरा ! रारा घुम्न जाने सल्लाहले मन प्रफुल्लित बनेको छ । पत्रकारिता पेशाको पेशागत र व्यवस्थानको जिम्मेवारीले थिचिएको, पारिवारिक जीवनले च्यापिएको तनले एकछिन भए पनि छुटकारा खोजेको छ । रारा यात्राको कुराले मन उमंगित बन्यो, तन उत्साहित । नेपालकै सबैभन्दा ठूलो ताल रारालाई आफ्नै आँखामा कैद गर्न म आतुर थिए ।

मानिसले जीवनमा अनेक क्रियाकलाप गरिरहन्छ । जन्मेपछि हिड्न खोज्ने, बामे र ताते गरेपछि दौड्ने अभ्यासक्रम नै जीवन बन्छ । हिंडने बानीले जीवनमा आनन्द दिन्छ । ऊर्जा दिन्छ, मनको बेचैनी हटाउँछ । हरेक मानिसले समृद्ध जीवनको खोजीमा हिंडिरहन्छ । हिड्ने, घुम्ने र अवलोकन गर्ने कुरा नै यात्रा हो । अहिलेको मानिस कामको बोझ र जोखिम लिँदा बढेको तनावले थिचिएको छ । त्यो बोझ एकछिन पन्छाउन भए तापनि यात्रामा निस्कने रहर जोकोहीमा हुन्छ ।

२०७६ सालको दशैं मनाएपछि कर्णाली प्रदेशमा अवस्थित रारा ताल अवलोकन भ्रमणमा निस्कियौँ । घामका किरण हराउन लागेका बेला प्रकृति र संस्कृतिको भण्डार तानसेन छोड्यौं । पाँच जना पत्रकार, दुई जना व्यवसायीको टोलीलाई बोकेर स्कार्पियो गाडी हुँइकियो सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डतिर । सिद्धार्थ राजमार्ग नेपालका पुराना मार्ग मध्येको एक हो, जसले लुम्बिनी प्रदेशका पहाडी जिल्ला र गण्डकी प्रदेशलाई सुगम बनाएको छ । यस राजमार्गले सुनौली र पोखरालाई जोडेको छ । गाडीले सयौं यात्री खाने जोखिमपूर्ण बनेको सिद्धबाबा क्षेत्रमा उफार्दै पछा¥र्दै बुटवल पु¥यायो । प्रदेशको मुकाम बनेकाले बुटवलमा फराकेका सडक पनि साँघुरो बनिसकेका थिए । मानिसको भीड र सवारी साधनको चापले नै बताउँथ्यो बुटवल फैलिदैछ । त्यसदिन प्रकृतिको आँगनबाट झरेका पाल्पाली कंक्रिटको जंगल बुटवलमा सुस्ताए ।

भोलिपल्ट विहान गाडीको टिंटिं र टुंटुं नहुँदै पूर्व पश्चिम महेन्द्र राजमार्गको कोहलपुरतिर हाम्रो यात्रा अघि बढ्यो । बिहानै सूचना आयो, रारा क्षेत्रमा भारी हिउँ परेको छ । बुटवलबाट करिव ५ घण्टाको यात्रामा कोहलपुर पुग्यौं । त्यसपछि सुर्खेततर्फ मोडियो । काँग्रेविहार, बुलबुले तालको स्मरण गर्दै कालिकोट गन्तव्य बनाएर गाडी अगाडि बढ्यो । सुर्खेत उपत्यका पार गरेर उकालो र ओरालो घुम्ती बाटो दैलेखतिर लागियो । गुराँशेमा थरिथरीका लालीगुराँश हेरियो । शरद ऋतुको सफा मौसममा घुमाउरो पहाडको बाटोमा रारा ताल हेरेर फर्किएका तानसेन चुच्चेबारीका प्रवेश पौड्याल भेटिए । गुलियो पस्दै गरेको सुन्तला खाएर अगाडि बढ्यौं । तल्लो डुङगेश्वरमा पुलमा भेटिएका ससाना बालबालिकाहरुले गाडी रोके । कर्णालीका भाका घन्काए । करुवा अर्धसाप्ताहिकका सम्पादक कृष्ण कार्कीले गीतसँगै नाच्न लगाए । दक्षिणा दिएर विदा भयौं ।

नेपालमा दुर्गममा अति दुर्गम क्षेत्र कहलिएको कर्णाली प्रदेशको भौगोलिक वनावट, प्राकृतिक वातावरण, सामाजिक आर्थिक जनजीवन हेर्ने उत्कठ अभिलाषा थियो यो यात्रामा । दैलेखबाट झरेको नदी र कर्णाली मिसिने दोभानमा रहेको सानो बजार तल्लो डुङगेश्वरमा भेटिएका मानिसहरुको जीवनले कर्णाली बोल्न थालेको अनुभूति हुन्थ्यो । बाटो भने पूर्ववतः उकाली ओराली, जंगलको हरियाली हुँदै अघि बढ्यो । ठाउँठाउँमा बाटखे बिग्रिएर ठूलठूला खाल्डाखुल्टी परेको देखियो । कर्णालीको तिरैतिर अगाडि बढ्दा दुईवटा गाडी पास हुने ठाउँ खोजेर गाडी वरै रोकिन पर्ने अवस्था थियो । अझ नदी तिर बसेको मानिसले सोच्दथ्यो, केही भइहाल्यो भने सिधै कर्णालीमा पानी खान पुगिन्छ । कर्णालीको दुःख र पीडा देखेपछि खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्ले र पाल्पा व्यापार संघका अध्यक्ष चिरिञ्जीवी पोखरेलले आफ्ना राजनीतिक यात्राका भोगाइहरु सुनाउनुभयो । पत्रकार माधव अर्यालले राजनितिक परिर्वतन र जनताका अपेक्षाका विषयमा प्रश्न गरेपछि जवाफमा लामा गफ भए, बाटो सजिलोसँग काटियो । हिड्दा धेरै बेरसम्म कि पहाड मात्र देखिन्छ कि कर्णालीको रित देखिन्छ । दैलेखको सिगौडी र अछामको बेलखेत जोड्न बनाइएको फेरि हेरियो । फेरिमा राखेर गाडी तारिरहेका थिए ।

कर्णाली करङ आकारमा नाली भएर बगेको छ । करङ नाली अप्रभंश भएर कर्णाली भएको भन्ने जनश्रुति रहेछ । अर्को यो नदीले कर्नालको आवाज दिएको महशुस हुँदो रहेछ, त्यसैले कर्णाली भनिएको भन्ने पनि रहेछ । जे होस् कर्णाली नेपालको लामो नदी हो । आदिसभ्यता जननी हो । नागबेली परेको बाटोमा जति यात्रा ग¥यो, जहाँको तहीँ रहेको भान हुन्थ्यो । घरिघरि कर्णालीको वारिपारि सुन्दर फाँहहरु देखिन्थे, जहाँ धान काटेका डोव थिए । हिलो र धुलोरहित कर्णाली राजमार्गबाट सुन्दर, शान्त स्वर्गकी अप्सरा रारासम्म घुमाउने अवस्थाको संझना गरियो, त्यस्तो कहिले हुने हो विश्वास छैन । गाडीबाट देखिने दैलेख र अछामका डाँडापाखा, खोंजहरु छिचोल्दै सेरिघाट पुग्दा रात पर्न थालेको थियो ।

त्यस्तै साँझ सात बजेतिर कालीकोटको सदरमुकाम मान्मा पुग्यो । राती बास बस्ने स्थानको प्रबन्ध साथीहरु कृष्ण कार्की र माधव अर्यालले पहिल्यै मिलाइसकेका थिए । डाँडाको थुम्कोमा रहेको मान्मा बजार पुग्दा निकै जाडोको महशुस भयो । कर्णाली तरेर माथि उक्लेको बाटो सम्झदा निकै उचाइमा आएको जस्तो लाग्यो । हावा बेसरी चलिरहेको थियो, सायद यहाँ हावाबाट बिजुली निकाल्न सकिन्छ । हावाबाट बिजुली निकाल्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित सपना देखाएपछि फेरि चर्चामा आइरहेको छ । बास बसेको होटलमा यात्रीहरुको भीड छ । होटलका सबै कोठा भरिएका थिए । बुटवलदेखि सोझै मान्मा हान्निएका हामीहरु थकाइले लम्पट परेका थियौँ । तत्काल खाना खायाँै । एउटा कोठामा दुई जनाका दरले बाँडिएर बिस्तारा ततायौँ । लामो यात्रा, अप्ठेरो बाटो र थकानका कारण मस्त निदाइएछ । विहान उठ्दा थाहा पाइयो, त्यही होटलमा भक्तपुर र चापकोटका जनप्रतिनिधिको टोलीबीच भिडन्त भएछ । चापकोटका मेयर घाइते भएछन् । कालिकोटको सदरमुकाम मान्म लमतन्न परेर डाँडोको बीचमा बसेको रहेछ । मध्य बजारमा योगी नरहरिनाथको शालिक रहेछ । मान्मलाई एक फन्को लाएर कालीकोटको ......रेष्टुरेन्टमा चिया नास्ता खाए टोली अघि बढ्यो ।

सुर्खेततिरबाट आएका साना ठूला गाडीको अगाडि पछाडि गर्दै गए । अधिकांश साना गाडी रारा जाने थिए । उसैगरी राराबाट फर्किनेहरुको पनि लहर नै थियो । कालीकोटको पिली माओवादी आक्रमण भएको थियो । त्यो ठाउँ गाडीबाट ओर्लेर हेरियो । पिली कालिकोट जिल्लाको एक ऐतिहासिक ठाउँ हो । जहाँ माओवादी सेनाले शाही नेपाली सेनालाई पराजित गरेको थियो । अहिले यो ठाउँलाई युद्ध पर्यटकीय स्थल घोषणा भएको रहेछ । युद्ध पार्कको भौतिक संरचना निर्माण हुँदैछ भनेर स्थानीय जनताले बताउँदै थिए ।

कर्णाली राजमार्ग हिड्दा लाग्थ्यो, यो राजमार्ग भन्न उपयुक्त होला कहिले ? अधिकांश भाग कच्ची छ, अर्ध कच्ची छ । कालोपत्रे गरिएको खण्डमा पनि अलकत्रोको पाप्रा उप्किएका छन् । चालकले वित्ताले नापेर गाडि गुडाएका छन् । यस्तो सडक यात्रा गरेर रारा ताल जानु सपना हो कि विपना जस्तो हुन्थ्यो । गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराको आँगनबाट देशबासीको नाममा सम्बोधन गर्दा नै मानिसहरुमा रारा तालको अनुपम सौन्दर्य दृष्टिगोचर गर्नका लागि रहर पलाएको थियो ।

कालीकोटको नाग्मघाट पुगियो । त्यहाँको बस्ती हेर्दा लाग्थ्यो, सडक बन्ने वित्तिकै राजमार्गलाई आँगन बनाएर घर बनाउनेहर कति छिटो अगाडि सरेका हुन् । नाग्माघाटबाट छुट्टिएर हिमा नदीको तिरैतिर लागेपछि नेपाली भाषाको उदगम् स्थल सिञ्जा सुरु हुन्छ । सिञ्जा उपत्यका लामो र ठूलो रहेछ । यो उपत्यका मात्र नभएर मनोरम भूगोल र सभ्यता हो । हामी बोलिरहेको बाक्य र लेखिरहेको भाषा नै सिञ्जाको जीवन्त उपहार हो । यही सिञ्जा टेकेर उभिने न हुन् कर्णाली र खस साम्राज्य । बाइसे र चौबिसे राज्यकालको बाइसे राज्यमा जुम्ला सशक्त थियो, जसको केन्द्र सिञ्जा थियो । सिञ्जामा भेटिने हरेक पुरुष दौरासुरवालको भेषमा छन्, महिलाहरु प्रायः गुन्यो चोलोमा । धनी गरिव सबैले नेपाली पोशाक लगाएका छन्, दशौं ठाउँमा टालेको नै किन नहोस् । एक सेट दौरा सुरवाल नसिलाएको मेरा लागि सिञ्जाका नरनारीहरुले लज्जाबोध बनाए । खाना समाजवाद गन्तव्य बनाउने लक्ष्य लिएका पार्टीका नेतालाई एक व्यवसायीले खुवाएको मार्सी चामलको भातको चर्चा सेलाएको थिएन । सिञ्जामा हामीले पनि मार्सीको भात खाने निर्णय ग¥यौं । च्याङ्ग्राको मासु र काली मार्सीको भात खायौँ । मोटा सिता तर भात नरम हुने रहेछ ।

जुम्लामा स्याउको खेती प्रसस्तै हुनेरहेछ । अहिले जहाँ जहाँ बाटो पुगेको छ त्यहाँका मानिसहर स्याउ खेती गर्न लालायित रहेछन् । बोटमा रहेका स्याउ टिप्ने बेला भएको रहेछ । चिस्यान केन्द्रको अभावमा मानिसहरुले बक्स पलङभित्र पराल राखेर स्याउ राख्ने रहेछन् । स्याउ, ओखर, सिमी, मार्सी चामल, सिस्नोको धुलो जस्ता स्थानीय कृषि उपज बाटोबाटोमा बिक्रीका लागि राखिएका थिए ।


हिमा नदी तर्नका लागि बनाइएका काठका पुल निकै आकर्षक र हेरिरहूँ लाग्ने थिए । टोलीमा रहेका सबैको तस्विर खिच्ने थलो बने यी काठका पुल । पुलको खाँवामा बनाइएका कुँदेका विभिन्न व्यक्तिका अनुहार ज्यादै आकर्षक थिए । नदी तर्ने मानिस पनि एकछिन नभुली अगाडि बढ्न सक्दैनथ्यो । नदीमाथि बनाइएका अस्थायी काठका जँघारहरु पनि उस्तै राम्रा । नीलो र कञ्चन पानीले हिमा नदीको सौन्यर्य प्रकट भइरहेको छ । गोठी जिउलाको बजारमा एकछिन रोकियौँ । केही खानेकुरा किन्यो । जुम्लापछिको ठूलो बजार रहेछ । त्यहाँ सबै प्रकारका खाद्यवस्तु, लत्ताकपडा, निर्माण सामग्रीहरु उपलब्ध छ । त्यहाँका प्रायः सबै घर होचा छन् । पुराना घरहरु प्रायः जाडो छल्नलाई बनाइएमा परम्परागत शैलीका छन् । कन्कासुन्दरी गाउँपालिकाले बाटोमा स्वागतद्वार बनाएको रहेछ । ‘हाम्मा रारा आउन्या आउना पाउनकन ओड्छो पोड्छो छ ।’ स्थानीय बासिन्दालाई बोलाएर सोधियो, अर्थ रहेछ, हाम्रो रारा आउने पाहुनालाई स्वागत छ ।

जतिजति माथि लाग्यो त्यति उराठ देखिन्थ्यो । नाङ्गा पहाड र अप्ठेरो बाटो बिर्सन सकिने थिएन । कर्णाली पर्यटन वर्ष घोषित भएकाले आन्तरिक पर्यटक बढेका छन् । रारा राष्ट्रिय निकुञ्जको सीमामा वफरजोन रहेछ । नेपाली सैनिकले त्यहाँ चेकजाँच गर्दोरहेछ । पालैपालो शरीरको खानतलासी गराइयो । लेकमा पुगेपछि ताल्चा विमानस्थल देखिदोरहेछ । उ पारि देखिने सल्लेरी, त्यसको दाँयातिर ताल्चा विमानस्थल हो गाडी चालकले देखाए । एक डेढ घण्टाको यात्रापछि हामी सल्लेरी हुँदै मिलीचौर आइपुगियो । मिलीचौरदेखि तालसम्मको जंगलको यात्रा पनि रमणीय थियो । यति अग्लो स्थानमा पनि लमतन्न परेको चौरले थकित यात्रीलाई सुस्ताउने स्थान दिएको छ । घोडा चढ्नुस् भन्दै आउनेहरुले घेरा हाले । प्रकृतिको काखमा आउँदा के घोडा चढ्नु, सरासर अगाडि बढ्नु भन्ने कृण्ण कार्की सुझावपछि पैदल लागियो । ढुंगा छापेको बाटो, हिउँको चिस्यान र चिप्लो । जोखिएर हिड्नु हरेक यात्रीको विशेषता हो ।

सल्लीपिरलमा टेक्दै चिफ्लिदै झर्दा तालको किनारमा पुगेको पत्तै भएन । तस्विर हेर्दा आनन्द आउने रारालाई आफ्नै आँखाले पहिलो पटक देख्यो । चारैतिर हिमाल र पहाडले घेरिएको तालमा निलो गाढा पानीमा तरङ फैलिरहेको थियो । सिरसिर हावाले हल्लाएको पानी छचल्किदा ताल चलिरहेको भान हुने, हिमालको टाकुरामा अडेस लागिसकेका सूर्यतिर फर्केर जलार्पण गरे । आनन्द महशुस भयो । हेर मन अघाउँदै, अध्याँरो पर्न थाल्यो । बासका लागि होटलको खोजीमा लागियो । तालको किनारमै दुई वटा होटल रहेछन् । रारा तालको आधा भाग हिड्नेपर्ने पारिपाखा रहेछ होटल । तालबाट निस्कने पानी मुगु कर्णालीमा मिसिने रहेछ, ट्रष्ट बिज्र त¥यौं । हामी रारा होटल एण्ड लजमा बस्नका लागि पुग्यौं । चिसो औधी बढेको थिए, त्यहाँ पुगेका अन्य यात्रीहरुले क्याम फायर गरिरहेका थिए । होटलको कोठा पुरै भरिएर टेण्ट टाँगेर पनि मानिसहरु बसेका थिए । सिमीको दाल, भात र मासु खायौँ । रारा तालको बारेमा विगतमा पढेका कुरा संझने कोशिस गरें ।

रारा राष्ट्रिय निकुञ्जले मुगु र जुम्ला जिल्लाको १५८३ हेक्टर क्षेत्रफल ओगटेको छ । रारा ताल समुद्री सतहदेखि २९९० मिटरको उचाइमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो ताल हो । रारा तालको लम्बाई ५.१ किलोमिटर छ भने चौडाई २.७ किलोमिटर छ । तालको गहिराई १६७ मिटर छ । पढेको रारा र देखेको रारामा कति हो कति फरक लाग्यो । आखिर तथ्य उही हो, अनुभूति फरक हो । भोलि हिउँ परोस् भन्ने कामना गरेर सुत्यौं । कालिकोटको मान्माबाट मुगुको रारा ताल आएको मस्त निदाइएछ । विहान उठ्दा पाँचऔंंल हिउँ परेको रहेछ । आँगन, चौर, तालको किनार चारैतिर सेतैसेतै हिउँले ढाकेको छ । विहान तालको रङ एकदमै गाढा देखियो । हिजो देखेको राराको रंग र आज विहानको राराको रंग फेरिएछ । राराले आफ्नो रुप फेर्छ भन्थे, हो रहेछ । जैविक विविधताले भरिपूर्ण रारालाई क्यामरामा कैद गर्न पाउँदा रेखीराम राना र माधव अर्याल साँच्चिकै उत्साहित थिए । तालमा एकछिन डुंगा खेलियो । नेत्र गहिरे डुँगा चढ्न नै डराए । वारपार गर्ने रहर थियो, सबै साथीहरु नचढेकाले करुणा काफ्ले, चिरञ्जीवी पोखरेलसँगै हामी फर्कियौँ । रारा वरपर आन्तरिक पर्यटकहरु हिउँमा लुकामारी खेलेका थिए, रमाइरमाइ फोटो खिचिरहेका थिए ।


चिया खाजा खाएपछि रारालाई हेर्न मुर्माटप जाने योजना बन्यो । मुर्माटप जान घोडा खोजियो । लगाम समाउने तरिका र खेद्ने रोक्ने कुरा सिकाएर मात्र घोडा दिए । घोडा साना ठूला थिए । पहिला चढ्ने ठूला घोडा चढियो, पछि चढ्ने सानामा परे । घोडामा चढ्ने बानी नपरेकाले होला हामीलाई उकालोमा पछाडी पेलिने, ओरालोमा अगाडी पेलिने रहेछ । घोडसवार गर्नेले पछाडी नै तानिनु पर्नेरहेछ । जंगलैजंगलको बाटो घरि चढ्ने घरि झर्ने गरेर मुर्माटप पुगियो । त्यहाँबाट देखिने मनमोहक हिमाल र निलो रारा तालले आँखालाई झिमिक्क पार्न दिएन । साइपाल, कान्जिरोवा र सिस्ने हिमालको छाँया रारामा परेको जस्तो देखियो । सूर्यको प्रकाश तेज भएसँगै राराले रङ्ग फे¥यो । राराले दिनमै निलो, आकाशे, बैजनी, खैरो जस्ता चार पाँच वटा रङ्ग फेरिरहन्छ । मानवले प्रकृतिलाई बिर्गान नपाएकाले रारा क्षेत्र सुन्दर र शान्त छ । २०२० सालमा अवलोकनका लागि आएका राजा महेन्द्रले स्वर्गकी अप्सरा कविता मात्र लेखेनन्, रारा छेउको बस्ती नै सार्ने व्यवस्था मिलाए । भर्जिन रारा राख्न योगदान दिए । रारा साँच्चै धर्तिको स्वर्ग हो । प्रकृतिको अप्सरा हो । नेपालीको स्वर्णीम आनन्द हो । सुन्दरताको प्रतीक स्वर्गको हुन्छ भने रारा स्वर्गकै टुक्रा हो । प्रकृतिको वरदान यो अनुपमन छटालाई पर्यटकले भरिभराउन बनाउन सके यो भूस्वर्ग हुने थियो । नेपालमा जन्मिएको नेपाली रारामा पुगेको छैन भने त्यसले नेपालको स्वर्गीय आनन्द पाएको छैन भन्ने बुझे हुन्छ । कर्णालीको दूरावस्थालाई फेर्न र कर्णालीबासीलाई आर्थिक र सामाजिक रुपले सम्पन्न बनाउन रारा पर्यटन प्याकेज बनाउन ढिला भएको छ ।

हुम्ला जुम्ला गाडीमा कहिले जाने हो ?
रारा ताल डुंगा चढी कहिले घुम्ने हो ।
कुन्ति मोक्तानले गाएको यो गीत सुन्दै पाल्पादेखि सरर गाडी चढेर हुम्ला पुग्न नसकिए तापनि रारा पुगेर फर्कियो । सडक र हवाई मार्ग दुबैले राराको यात्रालाई सहज बनाउने कोशिस गरेका छन् । हामीलाई राराको सौन्दर्यले मोहित बनायो । तर पूर्वाधार विकासको अभावमा एकपटक गएको पर्यटक पुनः फर्केर जाने अवस्था छैन । सास समेत रोकेर हिंड्नुपर्ने कर्णाली राजमार्ग संझदा राज्य प्रणालीको प्रशंसा कसरी गर्न सकिन्छ र ? कर्णालीबारे लेख्ने र बोल्नेहरुले रारा र शे फोक्सुन्डोको बयान गर्दछन् तर कर्णालीको मानव जीवनका बारेमा कमैले लेख्छन् । अझ बालिका र किशोरीहरुको दुःख कहाँ लेख्नु ! बालविवाह अपराध हो भन्ने कानूनको कर्णालीमा कहिले पालना होला ? गर्भवती महिला सुत्केरी हुन अस्पताल जान पाउने ज्ञारेन्टी कहिले होला ? कर्णालीको गरिवी, महिलाहरुप्रतिको व्यवहार, बालविवाह, स्वास्थ्य र शिक्षाको अवस्था कहालीलाग्दो छ । २००७ सालमा प्रजातन्त्र आएको कुरा जुम्लीले २ महिलापछि थाहा पाएका थिए रे । अहिले पाल्पाबाट २ दिनमा जुम्ला पुगिन्छ । बुटवलबाट १ दिनमा कालीकोट पुगिन्छ । कालीकोटबाट १० घण्टामा मुगुको रारा पुगिन्छ । त्योभन्दा छिटो रेडियो, मोवाइल र इन्टरनेट पुगिरेहका छन् । मिनेटभरको सूचना कर्णालीमा पुगेको छ । अपशोच कुपोषणको मारमा परेको कर्णालीमा काठमाडौँले चामल खान सिकायो तर कर्णालीको फापर र कोदो चामलभन्दा राम्रो हुन्छ भन्ने कुरा सिकाउन सकेन । भाते संस्कृति बसाइदियो । कर्णालीको भोकमरी र खाद्य संस्थान दौडनपर्ने स्थितिको अन्त्यका लागि कर्णालीमा आफ्नै उत्पादनमा बाँच्ने मानिसको समूह चाहिएको छ ।

रारामा पर्यटक बढेसँगै यसको सुन्दतामाथि चुनौति पनि थपिएको छ । काठमाडौँको बाग्मती र पोखराको फेवातालमा जस्तो प्रदुषण भविष्यमा रारा तालमा नहोस् भन्ने काममा ग¥यौं । फेरि फर्केर रारा आइन्छ आइन्न, रारा यात्राको संस्मरण लेख्ने छोरी छोरालाई पढाउने कसम खाएँ । निर्जीव तालले अनुभूति गरोस् नगरोस्, बिदाईका हात हल्लाए ।

तानसेन ९, दमकडा, पाल्पा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।