14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उदयचन्द्र वशिष्ठको व्यक्तित्व र कृतित्वको छोटो कैरन

कृति/समीक्षा डिल्लीप्रसाद अधिकारी November 3, 2021, 1:23 pm
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

नेपाली वाङ्मयका विद्वत् व्यक्तित्व उदयचन्द्र वशिष्ठका नामका अघि स्वर्गीय लेख्नु पर्दा हामीलाई एउटा विराट अभाव बोध हुँदछ। संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका विद्वान व्यक्ति उनी, अब आफ्ना कृतिमा मात्र कीर्तिमान छन्, सशरीर छैनन्। पूर्व सिक्किमको रिनाक, तारपीन बस्तीमा उनको कुटिर अद्यापि छ तर उनी छैनन्। हामीले सोध्न नपाएका धेरै कुराहरू अनुत्तरीत रहने भए। दसैँमा आशिर्वाद दिँदा-लिँदा हामीले भन्ने गरेको ‘आयुद्रोण सुते....’ श्लोकका रचयिता को होलान्? सोध्न पाइएन, उनको सुक्ति-सुधा पुस्तकको आवरणमा गीताको दसौँ अध्यायको श्लोक ३८ उद्धरण गरेर ह.गे. लेखिएको छ, त्यो केको छोटकरी हो सो नबुझिने भयो। श्रीमद्भागवत् महापुराणमा भनिएको ‘ताप त्रय’-को संक्षिप्तमा के अर्थ हो? द्वैत,अद्वैत र विशिष्टाद्वैतलाई छोटकरीमा कसरी बुझ्ने? जस्ता अनेकौँ प्रश्न छन् मगजमा तर बुझाउने सुलभ व्यक्तिको अभावले हामी पिरोलिएका छौँ। सिक्किमका समस्त चाडपर्वको महत्वबारे उनले लेखेको पुस्तक त छ हामीसँग तर नलेखिएका कति कति महत्तवपूर्ण कुरा जो उनीसँग थिए, ती अब कहाँबाट जान्ने हामीले? यो संसारको विधि विधानलाई मान्न बाध्य छौँ हामी।
माता नरमाया र पिता छबिलाल भण्डारीका कान्छा छोरा उदयचन्द्र वशिष्ठको जन्म सन् १९३० को जनवरी १ तारिकका दिन रिनाक, तारपीन बस्ती, पूर्व सिक्किममा भएको हो। बाल्यकालमै पिताको देहावसान भएको पीडा उनले खप्नु परेको तर आमा भने साहसिली भएकीले र आफ्ना दाजुहरूको साथै मावली (रूम्तेकका नेउपाने)हरूको सहयोग पाएर उनले संस्कृतमा वेदान्तचार्य, बी. ए. बी.टी र हिन्दीमा विशारदसम्मको उच्च शिक्षा हासिल गरेका थिए। जीवनमा अभाव, अनिकाल र थुप्रै अप्ठ्याराहरूसँग गर्नुपरेका उनका संघर्षका कथा उनको ‘जीवन चिन्तन’ पुस्तकमा पढ्न पाइन्छ।
त्यो बेलाको सिक्किम छ्योग्याल शासित थियो। प्रजाले उच्च शिक्षाको सुविधा पाउनका लागि राज्य बाहिर जानुपर्ने परिस्थिति थियो। उदयचन्द्र वशिष्ठले नेपालमा र पछि काशीमा गएर वेदान्तचार्यको उच्च शिक्षा हासिल गर्नका निम्ति गरेका संघर्ष, पछि सरकारी नोकारीमा लागेर बी.टी-को शिक्षा दार्जीलिङ सरकारी महाविद्यालयबाट पूरा गरेको कथा उनले यस पुस्तकमा उल्लेख गरेका छन्। काशीमा पढ्न बसेका बेला नेपाली साहित्यका धुरन्धर पण्डित जगन्नाथ गुरगाईँ, कुलचन्द्र गौतम, सोमनाथ सिग्द्याल जस्ता विद्वानको पनि संगत गर्ने अवसर उनले पाएका थिए भन्ने कुराको सूचना पनि ‘जीवन चिन्तन’ पुस्तकमा पाइन्छ।
वेदान्तचार्य र बी.ए.को अध्ययन पूरा गरेपछि दार्जीलिङ सेन्ट रोबर्ट स्कूलमा शिक्षकका रूपमा चालिस दिन काम गरेपछि मन नलागेर घर फर्केका उनी आजिविकाका निम्ति फेरि सरकारी नोकरीमा लागेका उनले नाम्ची स्कूलमा अध्यापकको काम गरे। त्यसबेलाका उनका छात्रहरूमा स्व. नरबहादुर भण्डारी, सिक्किमका पूर्व मुख्यमन्त्री र महाकवि स्व.तुलसी ‘कश्यप’ उल्लेखनीय व्यक्तित्वहरूमा पर्दछन्। पछि शिक्षकको काम गर्दागर्दै स्कूल निरिक्षकको पदका निम्ति योग्य भएर पनि कतिपय चालबाजीले सो पदमा पुग्न नपाएकोले उनले सरकारी नोकरीलाई त्याग्ने मन बनाए। फेरि मार्ताम बाबुको अनुरोधमा नाम्चीमै प्रधान अध्यापक र केहि वर्ष पाण्डाममा पनि प्रधान अध्यापकका रूपमा काम गरेपछि शिक्षकको रूपमा भने काम नगर्ने उनको मन भएको र नोकरी छोडेको कुरा पनि यो पुस्तकमा उल्लेखित छ। त्यसपछि उदयचन्द्र वशिष्ठले दरबारको पक्षमा भएको सिक्किम स्टेट कङ्ग्रेसमा लागेर राजनीतिक जीवन आरम्भ गरेका हुन्। तर उनको राजनीतिक जीवन भने सधैँ असफल रह्यो। सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा पनि उनको सहभागिता थियो अनि उनकै छात्र स्व. नरबहादुर भण्डारी सिक्किमका मुख्य मन्त्रीको गरिमामय पदमा पुगेकाले उनी सिक्किमे राजनीतिक परिवेशका एक सम्मानित व्यक्तित्व रहेका थिए। उनले पछि विभिन्न संस्थानका अध्यक्ष भएर पनि काम गरे।
एकदिन छुजाचेन, पूर्व सिक्किमबाट त्यसताकको सिक्किमका माननीय मन्त्री टि. आर. शर्मा, जो उनका विद्यार्थी पनि हुन्, उनले उदयचन्द्र वशिष्ठलाई घरैमा गएर ‘यसरी त्यसै बस्नु हुन्न सर, तपाई लेखनमा लाग्नुहवस्’- भनेर झस्काएपछि उनीभित्र सुसुप्त रहेको लेखन क्षमता जागृत भएको र श्रीमद्भागवत महापुराणको नेपाली सार संक्षेप लेख्न उनी उद्दत बनेको कुरा उनले ‘जीवन चिन्तन’-मा उल्लेख गरेका छन्। यही ग्रन्थले नै उनलाई समाजमा प्रख्यात बनायो। यो ‘नेपाली श्रीमद्भावत महापुराण सार सङ्ग्रह’ (ईश्वी सन् १९८७) नेपाली भाषामा लेखिएको यस किसिमको पहिलो पुस्तक त हुँदै हो साथै नेपाली भाषामा तर्जुमा गरिएको श्रीमद्भागवत महापुराणको यो सार संक्षेपले महापुराणको समस्त कथालाई कतै नछोडी सरल ढङ्गमा समेटेको छ। यसरी जीवनको उत्तरार्धमा आएर उदयचन्द्र वशिष्ठ नेपाली भाषा साहित्यमा एक सम्मानित व्यक्ति हुनपुगे।यो ग्रन्थको पहिलो संस्करणमा विद्वान डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्- “...... किनभने जस्तै विद्वान भए पनि भागवतमा अवश्य नै परीक्षा हुन्छ। मलाई लागेको छ कि वासिष्ठजी यस परीक्षाबाट अवश्य पार हुनुभएको छ”।
यसपछि उनको लेखन यात्राले गति पक्रियो। लगत्तै पछि पूर्वीय वाङ्मयमा संस्कृत भाषामा लेखिएको अद्वैत दर्शन आधारित पुस्तक ‘अष्टावक्र गीता’-लाई उनले श्लोकानुवाद गरेर नेपाली साहित्यमा अर्पण गरे। यसको पनि दोस्रो संस्करण प्रकाशित भइसकेको छ। ‘भगवान बुद्ध-नवौँ अवतार, ‘सिक्किमका चाड-पर्व’, ‘योग सन्दर्पिका’, ‘मृत्युञ्जय साधिका’ गरूड पुराण प्रेत कल्प (नेपाली अनुवाद)साथै विभिन्न पत्रपत्रिकामा अनेकौँ आध्यात्मिक लेखहरू उदयचन्द्र वशिष्ठका देन छन्। ईश्वी सन् २००६मा उनको अर्को एउटा महत्तपूर्ण पुस्तक प्रकाशित छ “सूक्ति सुधा”। यो छोटो लेखमा म उनको ‘सूक्ति सुधा’-का विषयमा केही प्रकाश पार्ने प्रयास गर्दछु।
श्रीमद्भागवद्गीताको अध्याय १० को ३८औँ श्लोकको पहिलो हरफका दुई शब्द “नीतिरस्मि जिगीषताम्” अर्थात् जित्ने इच्छा भएकाहरूको (कृष्ण) नीति हूँ’-भनेर भगवान कृष्णले भनेका छन्। यहाँ जित्ने भनेको इन्द्रीयजन्य भोगलाई जित्ने कुरा गरिएको हो। इन्द्रीयलाई जित्ने मात्र योगी हुन्छ र योगीहरू नीतिपरक हुन्छन् भन्ने यो गीताको ज्ञानलाई मुखपृष्ठमै उध्दरण गरिएको ‘सूक्ति सुधा’ पुस्तकले गार्हस्थ्य धर्म पालना गर्ने र कर्मयोगमा विश्वास गर्नेहरूलाई सम्वोधन गरेको छ। घरबार चलाएर बस्ने एउटा साधारण मानिसले कस्ता नीतिको अनुसरण गर्ने भन्ने यस पुस्तकको विषयवस्तु रहेको छ। मुख्य रूपमा अनुष्टुप छन्दको प्रयोग गरिएको यस पुस्तकमा उदयचन्द्र वशिष्ठले एउटा श्लोकमा एउटा नीतिको कुरा प्रष्ट्याउने क्रमलाई अघि बडाएका छन्। संस्कृत वाङ्मयमा नीतिका कुरा अनेकौँ छन् र त्यसको समय सान्दर्भिक विवेचना यस पुस्तकको मुख्य उपादेय हो। चाणक्य नीति, विदुर नीति आदिमा भएका शास्त्रीय नीतिका कुरा अहिलेको देश, काल र परिस्थितिमा उत्तिकै सान्दर्भिक हुँदाहुँदै पनि तिनमा प्रयुक्त उदाहरण भने समयको सापेक्षतामा पुराना भएका छन् र अहिलेका नीतिका कुरामा अहिलेकै परिवेश हुनुपर्ने आवश्यकताको परिपूर्ति गर्नलाई यो पुस्तक लेखिएको थाहा लाग्दछ। त्यसैले लेखक वशिष्ठले यस पुस्तकामा विभिन्न नीति शास्त्रमा पहिल्यै उल्लेखित विषयबाट अहिलेको समयलाई चाहिएका राम्रा कुराहरू यसमा समाविष्ट गरेका छन्। भाषाका दृश्टिकोणबाट हेर्दा यहाँ लेखक वशिष्ठ सरल र मौलिक छन्।
आफ्नो भन्नुपर्ने कुरामा लेखकले –“यस्ता पुस्तकको प्रयोजन र खाँचो नीति सम्बन्धि विश्वासमा निर्भर गर्दछ”-भनेर लेखेकाबाट के देखिन आउँछ भने आजको समाजमा पनि कतिलाई नीतिको प्रयोजन छ भने धेरैजसो मानिस नीतिलाई बेवास्ता गरेर समाजलाई दुर्गतितिर लैजाने पनि छन्। यो कुरामा पनि लेखक सचेत रहेका छन्।
हामीले साना छँदा पण्डित जगन्नाथ उपाध्याय गुरागाईँको गुणरत्नमाला खुबै पढेका हौँ र सो पुस्तकमा पनि नीतिकै कुराहरू नै धेरै छन्। त्यस्को प्रभाव पनि यो सूक्ति सुधामा प्रसस्त हेर्न सकिन्छ। गुणरन्नमाला पनि संस्कृत शास्त्रीय नीति-काव्यबाटै निसृत कवितामाला हो। हामीले सानामा पढेको अर्को पुस्तक चाणक्य नीतिको नेपाली गद्यानुवाद हो, जसमा प्रायः राजनीतिका कुरा छन्। यी दुइवटा पुस्तकको प्रभाव सूक्ति सुधामा परिलक्षित हुँदछ। यो कुरामा लेखकको पनि स्वीकारोक्ति छ। पछि मैले हाम्रा पिताज्यूको सानिध्यमा विदुर नीति पनि पढ्ने अवसर पाएको हूँ। त्यसको प्रभाव पनि यो सूक्ति सुधाले ग्रहण गरेको छ। तर यसको आफ्नो विशेषता पनि कम छैन। सूक्ति सुधाले अहिलेको युग सुहाउँदो खुराक पस्केको छ। पछि नेपाली साहित्यको अध्ययन गर्ने क्रममा कविशिरोमणी लेखनाथ पौड्यालका कवितामा भएका नीतिसम्मत कविता पनि पढ्न पाइए, जसको प्रभाव पनि यो पुस्तकले ग्रहण गरेको पाइयो। तर कति ठाउँमा भने कविशिरोमणिका कविताको कुरालाई लेखकले निकै बेग्लै अर्थमा पनि रचना गरेको पाइन्छ।
कविशिरोमणी र लेखक वशिष्ठ दुवैका एउटा एउटा श्लोक यहाँ उद्धृत गरिहेरौँ जसद्वारा लेखक वशिष्ठको मौलिकतालाई प्रष्ट्याउन सहायक हुन्छ-
बडाले जो ग-यो काम हुन्छ त्यो सर्वसम्मत
छैन शंकरको नंगा मगन्ते भेष निन्दित।। (कविशिरोमणी)

बडाले जो जसो गर्छन् अरूले त्यही गर्दछ
विद्वान निर्णय जो लिन्छ त्यही आदर्श बन्दछ।। (उदयचन्द्र वशिष्ठ)।

यसरी यी स्रष्टाद्वयको समयको सान्दर्भिकतामा सूक्तिको भिन्नता टड्कारो देखिन्छ। वशिष्ठ बसुधैव कुटुम्बकम्-को विवेक सबैमा हुनुपर्ने आग्रह पनि यसरी पाइन्छ-
मेरो तेरो भनी फाँका पार्ने मानिस तुच्छ हो
विवेकी व्यक्तिका निम्ति संसारै यो कुटुम्ब हो।।

“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”- भन्ने महाकवि देवकोटाको सूक्ति लेखक वशिष्ठमा यसरी व्यक्त भएको छ-
जातिको भेदले हुन्न ऊँच नीच कुनै जन
घृणा मान दुवै हुन्छन् आनी-बानी बुझीकन।।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता- को सूक्तिलाई लेखक वशिष्ठका शब्दमा मौलिक बनेको उदाहरण यसरी दिन सकिन्छ-
जहाँ नारीहरू रुन्छन्, हाँस्तैनन् देवता त्यहाँ
जहाँ नारी खुसी हुन्छन्, हाँस्छ यो विश्व चैनमा।।

सूक्ति सुधामा हाम्रो भाषाका नीजि सम्पत्ति उखान तुक्कालाई पनि कवितामय बनाएर व्यक्त गरिएको छ। ज्ञान र सूचना दुवै भिन्न विषय हुन्। सूचना मात्रलाई ज्ञान मान्न सकिँदैन।
यो कुरालाई पनि सुक्ति सुधाका कतिपय श्लोकमा निकै राम्ररी प्रस्तुत गरिएको छ।

विद्वान हुन्छ पढे मात्र ज्ञानी त नपढे पनि
ज्ञानी मूर्ख कतै हुन्न विद्वान मूर्ख भए पनि।।
जितेन्द्रीय हुने नम्र, हुन्छ मान्छे स्वभावमा
नम्रता ज्ञानले हुन्छ, ज्ञान मिल्छ विवेकमा।।

यसरी उद्धरण गर्न मनपर्ने अनेकौँ नीति श्लोक सूक्ति सुधामा छन् जुन यो छोटो लेखमा सम्भव छैन। मतिभ्रष्ट बन्दै गएका आजका मानिसका निम्ति यो सूक्ति सुधा-ले सही बाटोमा ल्याउन सक्ने हैसियत राख्दछ यदि कसैले पढेमा तर पढ्ने मानिस अहिले हाम्रो समाजमा बिरलै मात्र पाइन्छन्। तर पढ्नेले नै मात्र जीवनमा सफलता पाउँछ र जीवन पर्यन्त पनि समाजले उसलाई सम्झन्छ, जसरी आज हामी स्व. उदयचन्द्र वशिष्ठलाई सम्झिरहेछौँ।

आफ्नो जीवनकालमा उदयचन्द्र वशिष्ठले अनेकौँ सामाजिक कामहरू पनि सम्पन्न गरेका छन्। तिनमा केही यस्ता छन्।
१. नेपाली भाषाको सम्वैधानिक मान्यताका निम्ति संघर्ष
२. पूर्व सिक्किमको रिनाक बजारमा भानु सालिगको स्थापना
३. पूर्व सिक्किमकै रिनाकमा विश्व विनायक मन्दिरको स्थापनामा योगदान
४. पूर्व सिक्किमको रिनाक भेगमा साहित्यिक वातावरण बनाउने उद्देश्यले थालिएको प्रतिभा मञ्च मासिक कार्यक्रममा सक्रियता
५. सिक्किमका मानिसहरूलाई भारतका विभिन्न तीर्थस्थलमा भ्रमण गराउने कार्य
६. विभिन्न साहित्यिक, सांस्कृतिक, सामाजिक र धार्मिक उत्थानका कार्य
७. गायत्री ज्ञान-विद्यापीठमा सक्रिय भूमिका- इत्यादि उल्लेखनीय छन्।

जीवनकालमा उनले भाषा साहित्य र सामाजिक कार्यहरूमा दिएका योगदानलाई सम्मान गर्दै विभिन्न सरकारी एवं गैर सरकारी संस्थाले उनलाई पुरस्कार प्रदान र अभिनन्दन पनि गरेका छन्। भाषा-साहित्यको सुदीर्घ सेवाका निम्ति सिक्किम सरकारले ईश्वी सन् २००६ मा भानु पुरस्कारद्वारा उनलाई सम्मान गरेको थियो। नेपालका कतिपय संघ संस्थाले पनि उनलाई सम्मान गरेका थिए। ईश्वी सन् २०२१को फरवरी, १२मा उनको देहावसान भयो। उदयचन्द्र वशिष्ठको नश्वर देह नरहे पनि आफ्ना गुणकृत्य र कृतिमा उनी सदैव जिवन्त रहनेछन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।