14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सत्ता–रुख र मान्छे

कविता चाङ चिराग November 3, 2021, 1:27 pm
चाङ चिराग
चाङ चिराग

मानिसहरु धेरै प्रकारमा हुन्छन्
कोही अग्ला हुन्छन्
कोही होचा हुन्छन्
कोही पातला हुन्छन्
कोही मोटा हुन्छन्
विविध खालमा हुन्छन्मानिसहरु ।
मैले देखेका मानिसहरुमध्ये
कसैले हलो जोत्छन्
कसैले खाना पकाउछन्
कसैले लुगा सिँउछन्
कसैले दूध दुहुन्छन्
कसैले भारी बोक्छन्
कसैले सडक खन्छन्
कसैले सडक सफा गर्छन्
कसैले विद्यालय पढाउछन्
र, अरु थुप्रैले थुप्रै काम गर्छन्।
मैले देखेका मानिसहरु
रुख चढेर घाँस काट्छन्
भुई खोतलेर दाउरा झिक्छन्
वर वर पुगेर खेत जोत्दछन्
पर परसम्म पुगेर पानी ल्याउँछन्।
मैले देखेका
यस्ता मानिस पनि छन्–
जो रुख चढ्छन्
जो भुईमा टेक्छन्
र, जो छिमेकी हाङ्गा समाउँछन्
तिनीहरु
रुख चढेर फल टिप्छन्
फल टिपेर आफन्तलाई बाँड्छन्
र, फल खाएर मोटाउँछन्।
के का रुख चढ्छन्तिनीहरु ?
घाँसका रुख हैनन्
न सिमलको रुख हो,
न खर्सुको रुख हो,
न ऐसेलु हो न त खुर्सानीकै हो ।
तपाईलाई थाहा छ ?
के हो त्यो रुख ?
म खुलासा गर्छु आज–
सत्ता नामको
एउटा ठूलो रुख छ हाम्रो नेपालमा
केही मानिसहरु
लम्बेतान लाइनमा देखिन्छन्
आलोपालो रुख चढ्न
अनुशसित बनेर पर्खेका छन्
मायावी तरिकाले
पहिलो, दोस्रो, तेस्रो र चौथो पुस्ता
हेर्दै रहर लाग्दा अनुहार
कति मिलेर लाइनमा छन्
हात धोएर खाना पर्खेका जस्ता
धूप बोकेर मन्दिर पस्ने जस्ता
‘स्टेरिङ्ग’ समाउन साँचो बोकेका जस्ता
हेर्नस्त कति रमाएका देखिन्छन्
सडकमा मानिसको रगत बगेको छ
घरभित्र पानी पसेको छ
समाजमा मात्र होइन,
घरमा पनि ‘सद्भाव’ भड्किएको छ
यहाँ ‘अनुहार’ हेरेर
यहाँ ‘पेशा’ हेरेर
यहाँ ‘काम’ हेरेर
यहँ ‘भूगोल’ हेरेर
यहाँ ‘जात’ हेरेर
यहाँ ‘पोशाक’ हेरेर
र, यहाँ ‘बोली’ हेरेर
सडकसम्म–
बन्दुक, भाला, लाठी,
र, तरबार छन्
मानवता भयग्रस्त छ
स्वर आक्रोशित छ
अनुहार क्रुद्ध छ
र, ‘सद्भाव’ हिंस्रक छ ।
तर ‘ती’ मानिसहरु
एउटा अग्लो रुख–सत्ता
समाएर बसेका छन्
रुखका फल पाउन
छिमेकी ‘हाङ्गा’ समाउन
निकै व्यग्र छन्
र त, तिनीहरु
रगत देख्दैनन्
अरुलाई देख्दैनन्
‘सद्भाव’ नाउको
कुनै सभ्यता बुझ्दैनन्
‘मानवता’ चीजको रङ्क देख्दैनन्
र त सत्ता–रुखमा
टुप्लुक्क बसिरहेछन्
एक तमासले
खुशी अनुहारमा
खोयबिर्के सुँङेर
निदाउने प्रयास गरिरहेछन्
मात्र सत्ता–रुखका लागि
मात्र सत्ता–फलका लागि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।