17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इलामको पाथीभरा

नियात्रा अनु विज्ञाति November 10, 2021, 5:09 am
अनु विज्ञाति
अनु विज्ञाति

"इलाम, मात्र ५३ किलोमिटर ! यति त जान सकिन्छ होला है ?" मेरो मुखबाट फुत्त निस्कियो ।

मोटरसाइकलको गति केही कम गर्दै नवीनले भन्यो, "बाटो कस्तो छ, त्यसमा भरपर्छ दी । बाँकी बाटो पनि यताको जस्तै हो भने मज्जाले जान सकिन्छ," तत्काल उसले निर्णय सुनायो ।

यात्राको अर्को साथी केही अगाडि भएकोले राय बुझ्न बाँकी थियो । उकालोको दोस्रो घुम्तीले चालकको कुशलताप्रति प्रश्न गरी सकेकोले म भने जाउँ भनुँ या नभनुँ दोधारमा परेँ ।

पाथीभरा दर्शन मेरो पहिलो लक्ष्य भएकाले त्यहाँसम्म जस्तोसुकै अबस्थामा पनि पुग्नुपर्ने मनको निर्णय थियो । तर दिमागले बारम्बार मनलाई सम्झाउँदै थियो, 'जबर्जस्ती कहिँ जाने होइन । जहाँ पुग्दा अघि बढ्न सकिन्न जस्तो लाग्छ त्यहीँबाट फरक्क फर्कने ।'

मन र दिमागको अन्तरद्वन्द्व बुबा र आमा जस्तै बनेर उभिएको थियो, मेरो यात्रामा ।
"मेरी छोरी जस्तोसुकै परस्थितिमा पनि अघि बढ्न सक्छे"- बुबा ।
"नानी ! नजानेको बाटो हिड्नु हुन्न है ।"- आमा ।

साथमा भाइ नवीन थियो । उमेरमा भाइ भएपनि ज्ञान र संबेदनसिलतामा मेरो दाजु जस्तै थियो ऊ । तैपनि दिमागले म उसको अभिभावक ठान्यो । र मलाई झपार्यो । 'केटाकेटीको कुरा सुनेर हुन्छ । उसमा त युवा जोश छ । जे पनि गर्न सक्छु भन्ने अठोट छ । र पो जान सकिन्छ भन्छ । तर तँ दिदी होस् । अहिलेसम्मको यात्रामा मोटरसाइकल हँकाइकाे गति र कुशलता हेरेर तैँले पो निर्णय गर्नुपर्छ । जाने नजाने । यसै ठुली भनेर हुन्छ । खै औचित्यपूर्ण निर्णय ।' म यसैयसै अन्तरद्वन्दमा फस्दै थिएँ ।
०००
मिति २०७८ साल कार्तिक १३ गते शनिबार :
इलामका केही धार्मिक र केही पर्यटकीयस्थल भ्रमण गर्ने योजनासहित निष्किएकी म । कहाँसम्म जानेमा आफैँ दोधारमा थिएँ । मेरै आग्रहमा मेरोसाथ भ्रमणमा रहनुहुने श्रीमान विश्वविश्रुत विकास र भाइ नवीन मेरै छनोटकाे भरमा थिए । त्यसैले पनि मैले औचित्यपूर्ण निर्णय लिनु जरुरी थियो ।

कम्तीमा पाथीभरा माताको दर्शनसम्म अहिलेको लक्ष्य राख्छु । त्यहाँसम्मको यात्रापछि अरु सोचौंला । तत्कालको दोधार मनस्थितिलाई किनारा लगाएँ र त्यहाँसम्मको लागि अगाडी बढौं, भनेँ ।

झापा जिल्लाको चाराली/चारआलीदेखि २८ किलोमिटरको यात्रा तय गरेपछि, इलाम जिल्लामा रहेको पाथीभरा मन्दिर पुगियो । ताप्लेजुङको पाथीभरा मन्दिरलाई 'ठुली पाथीभरा' र इलामको त्यो पाथीभरा मन्दिरलाई 'सानी पाथीभरा' भनिने रहेछ । दर्शन गर्ने भक्तजनहरुको उक्ति अनुसार 'पथिभरा दर्शन गर्ने क्रममा सानी पाथीभरा हुँदै ठुली पाथीभरा जानुलाई राम्रो मानिदो' रहेछ। साथै ठुली पाथीभरा जान नसक्ने हरुले त्यहाँको पाथीभराबाट आरधना गरे हुने पनि धार्मिक मान्यता रहेछ।

मेची राजमार्गमै पाथीभरा मन्दिरको प्रवेशमार्ग भेटियो । दुईवटा प्रवेश मार्ग मध्ये, 'पूर्वपट्टीको मार्गबाट मन्दिर जाने र पश्चिमपट्टीको मार्गबाट फर्कने' भन्ने सामन्य धार्मिक मान्यता रहेछ । हामी भने हाम्रो मोटरसाइकल पार्किङ नजिकै पर्ने भएकोले पश्चिम मार्गबाट नै उकालो चढ्यौँ । ठाडो उकालो । सिमेन्टेड सिँढी अनि छेउछेउमा फलामे बार । दुबैतर्फ हरिया रुख । चिसो बतास । वारिपारीका चिया बगानको दृश्य । उकालोको थकान भुलाउन सहयोगगर्दै थिए । सुन्दर प्रकृति अनि म । कता कता हराउन यति नै काफी थियो ।

मोटो शरीर र उकालो यात्रा एकअर्काका प्रतिद्वन्द्वी जस्तै लाग्छ मलाई । उकालोले मेरो मोटो शरीरलाई र मेरो मोटो शरीरले उकालो चढ्दै उकालोलाई, निरन्तर चुनौती दिइरहेका थिए । म भने चिसो बतासको स्पर्शसँगै हरियालीको दृश्यावलोकनमा रम्दै थिएँ । मेरो हिडाइको गति र मुखबाट निस्किएको स्वाँ ... स्वाँ ... आवाजले होला दर्शन गरेर फर्कने दर्शनार्थी फर्कीफर्की मलाई हेर्दथे । कोहीकोही त भनिपनि हाल्थे, "यो भन्दा नि निक्कै ठाडो उकालो आउँछ माथी । यहीँ तपाईंलाई यस्तो छ ।गाह्रो हुने रहेछ ।"

म भने मुसुक्क हाँस्थेँ । मलाई समयको कुनै पावन्दी थिएन । जहिलेसुकै पुगे नि हुने । म त बेपर्वाह घुम्न हिडेकी मान्छे । 'घडीको सुइँ रोकिनेछ, मेरो लागि । मन्दिरको ढोका खोली रहनेछ, मेरो लागि । यो चिसो बतास बगिरहनेछ, मेरो लागि,' मेरो मन यस्तैयस्तै सोची रहेको थियो ।

सायद घुम्न निस्किएको बेला म आफुँलाई सुपरहीरो सम्झन्छु क्यारे । सबै मेरो लागि उपलब्ध छन् । पहुँचयोग्य हुनेछन् । मन हो, सोच्न पाउँछ । हुनु-नहुनु आफ्नो ठाउँमा छ । तर सोचेर नै म आफुँलाई बलवान सम्झन्थेँ अनि अगाडि बढ्ने तागत जम्मा पार्थेँ ।

दर्शनार्थीहरूको कुराले अझै निक्कै उकालो बाँकी रहेको कुरा संकेत गरिरहेको थियो । म सोच्दै थिएँ, 'म त चार भागको एक भाग पनि हिडेकी रहिनछु क्यारे ।'

केही माथी । एउटा फलैंचा देखियो । फलैंचाको भित्तामा लेखिएको थियो, 'आधाबाटो' । 'मन्दिर पुग्न आधाबाटो भनेको हो कि !' भन्ने अनुमान गर्न फर्कने दर्शनार्थीहरुको भनाइले दिएन । अनि के होला त त्यो ? किन त्यहाँ लेखिएको होला ? जीन्दगीको बाटो आधा भएको भन्न खोजिएको भनौं भने जीवन शुरुवात गर्नेहरूको भिड पनि त्यहाँ त्यतिनै देखिन्थ्यो । औसत आयुलाई आधार मान्ने हो भने मेरो भने पक्का पनि जीवनको आधाबाटो भएको थियो। त्यहाँ मेरो लागि भनेर पक्कै त्यो कोरिएको थिएन। कतै म जस्तैले कोरेका पो हुन कि ? म अनेक अनुमान लगाउदै अगाडि बढ्दै थिएँ ।

उकालोको चुनैती ज्यादा नै भएको महसुसहुँदै थियो ।एकाएक घण्टी बजेको सुनियो, 'ओहो ! मन्दिर नजिकै आइपुगेँछु कि क्या हो ?' मन केही उत्साहित भयो । बल गरेर केही खुड्किला फटाफट चढेँ। धुपको बासना हावाको साथ लागेर मलाई लिन म भएको ठाँउसम्मै आइपुग्याे।

धुपको सुगन्धले मेरो मोटो शरीरलाई स्पर्श गर्ने बित्तिकै । ममा अनौठो उर्जा आयो । निरन्तर बजिरहेको घण्टाको आवाजले गन्तव्य स्थल टाढा नरहेको बताई रहेको थियो । 'ओहो ! यति चाँडै मन्दिर आउपुगेँ ?' म अचम्मित भएँ । मैले त धेरै बाटो बाँकी होला भन्ने ठानेकी तर ... । अब भने फलैंचाको आधा बाटोको अर्थ बुझेँ । मन्दिर पुग्न त्यहाँ आइपुग्दा आधा हुने रहेछ । त्यो जानकारीमूलक वाक्य कोर्ने मान्छेलाई धेरै धेरै धन्यवाद । लेखिएका ती शब्दशब्द र लेखिने त्यो मसीलाई पनि । जसले निरन्तर दर्शनार्थीलाई गलेको शरीरमा उर्जा भरिदिन्छ ।
०००
कठिनाई आधा हुनु भनेको पक्कै पनि जोकोहीलाई उर्जा प्राप्त हुनु हो । अब यति नै दुरी पार गरे त पुगिहाल्छु नि भन्ने हिम्मत जुट्नु हो । आधा सकिनुले त्यहाँ दिएको खुसी दोब्बर भएको थियो । मन चङ्गा थियो । आधा त सकेँ बाँकी आधा कसो नसकुँला भन्ने अठोट मनमा सिर्जना हुने बित्तिकै, मेरो पाइलाको गतिमा शक्ति बढ्यो । अन्ततः बिहानको करिब ८:३० बजे हामी पाथीभरा परिसर पुग्यौं ।
०००
आधा घण्टाको ठाडो उकालोपछि । आइपुग्ने मन्दिर परिसरको समथर भागले, हाम्रा उकालोमा डराएका खुट्टाहरुलाई सान्त्वना दिइरहेको थियो । मन्दिर परिसर प्रवेश गर्ने गेट बाहिर, जुत्ता थन्क्याएर हामी भित्र छिर्‍यौँ ।

त्यहाँ पुजा बिधिका तरिका बारे माइकबाट जानकारी गराईँदो रहेछ । पहिला गणेश । त्यसपछि शिव । र पञ्चकन्याको पुजापछि पञ्चकन्या मन्दिर प्रवेश गर्ने मुख्य ढोकाको ठ्याक्कै अगाडि रहेको पित्तलको पाथीभरामाताको पुजाअर्चना गर्नुपर्ने, जानकारी मन्दिर पसिसरमा बजिरहेको थियो । हामीले सोही अनुसार पुजाअर्चना गर्‍यौं ।

मन्दिर परिसर विकास कोषको लागि केही सहयोग गरेर हामी पुजाअर्चनाको दृश्य हेर्दैथियौं । अचानक विश्वविश्रुत विकासको नाम बोलाइयो । हामी झसङ्ग भयौं । रु.पाँच सयभन्दा बढी सहयोग गर्ने भक्तजनको नाम माइकबाट वाचन हुँदो रहेछ । र प्रमाणपत्र दिइँदो रहेछ । बोलाउनुको तात्पर्य बुझेपछि, हामी ढुक्क भयौँ ।भाइ नवीनले जिस्क्याउँदै भन्यो, "भिनाजु ! प्रमाणपत्र बोकेर यता फर्कनु त । म फोटो खिच्छु । अनि पछि हजुरका साहित्यकार साथीहरुले, ओहो ! विश्वविश्रुत विकासले त मन्दिरमा पनि प्रतियोगिता जितेछ भन्छन् ।" उहाँले हाँस्दै प्रमाण-पत्र पट्याएर गोजीमा थन्क्याउनु भयो ।
०००
हरियो इलाम । त्यसमाथि माता पाथीभराको शरण । धुपको मिठो सुवास अनि घण्टाको निरन्तर आवाजले हाम्रो कान पवित्र भईरहेँ ।

मन्दिर भन्दा बाहिरपट्टी भक्तालुहरु बस्ने व्यवस्थित ठाँउ रहेछ । पुजापछिको समय हामीले त्यहाँ बसेर सुन्दर दृश्यमा आफुँहरुलाई हरायौँ ।

केहिबेर पछि वरिपरिका दृश्यहरुलाई मोबाइलमा कैदगर्दै माता पाथीभराको अनन्य कृपा बोकेर हामी मन्दिर परिसरबाट पहिले आएकै बाटो सरासर ओरालै ओरालो झर्‍यौँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।