14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सौन्दर्य एवम् सौन्दर्य सिद्धान्तः सन्दर्भ छिचिमिराका कथाहरू

कृति/समीक्षा कविता लामा November 9, 2021, 3:26 pm
कविता लामा
कविता लामा

परिचय
सिक्किमबाट नयाँ सम्भावना र नयाँ सोच लिएर साहित्यमा प्रविष्टि पाइसकेका कथाकार युवा बरालका आजसम्म दुईवटा कथासङ्ग्रह जिउनी र छिचिमिरा प्रकाशित भएका छन्। जिउनीको चर्चा त्यति भएन जति दोस्रो कथा सङ्ग्रह छिचिमिराको भयो। यसचोटि बरालले धेरै नवीन विषयहरूलाई कथामा गम्भीरतापूर्वक उठान गरेका छन्। नेपाली समाज, गाउँले परिवेश, परम्परा, सामाजिक मूल्य मान्यताहरूलाई समयानुकूल बनाई प्रस्तुत गर्नमा यिनी धेरै सचेत देखिएका छन्। छिचिमिराका धेरजसो कथाहरूले समाजमा जरा गाडेका रूढ विचार, परम्परा, कुसंस्कार, वर्गभेद, सामाजिक भेदभाव र विसङ्गतिको आलोचना गर्दै यौनशिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी, लैङ्गिक अध्ययनअन्तर्गत पुरुषत्व र नारीत्व जस्ता महत्त्वपूर्ण विषयलाई समावेश गरी नयाँ सङ्कथन निर्माण गरेको छ। मनोवैज्ञानिक भावभूमिमा लेखिएका केही कथाहरूले पनि उत्तिकै नवीन अवधारणालाई स्थापित गर्ने आग्रह राखेको छ।
“फुकोएली अर्थमा डिस्कोर्स त्यो रचना हो जो परिस्थितिअनुसार बन्छ र परिस्थितिअनुसार बद्लिन्छ। ज्ञानमा फड्को आउनु डिस्कोर्समा परिवर्तन आउनु हो। सङ्कथनले रूप लिनु सङ्कथनको रूपायन हो। परिवार, समाज, राज्य, व्यक्ति तथा सामाजिक शास्त्रहरू सब डिस्कोर्स हुन्।” (गौतम, 2014: 107)
उक्त कथनका आधारमा हेर्दा बरालका कथामा सङ्कथनहरू परिस्थितिअनुरूप परिवर्तित भएको देखाइएको छ। जस्तै, ‘जस्ट च्याटिङ्ग’-मा पात्रहरूको प्रयोगतर्फ कथाकारको नयाँ अवधारणा उल्लिखित हुनु, ‘प्रिय पाठक’-मा पाठकप्रति लेखक उदासीन देखिनु आदि। समाजमा निहित वर्गभेद कथा ‘छिचिमिरा’, ‘नून’, ‘कोसेली’-मा देखाइएको छ भने‘जस्ट च्याटिङ्ग’ कथाले अहिलेका युवाहरूमा झ्याङ्गिँदै गएको संवेदनहीन मनले जीवनसित सम्झौता गरी जीवनलाई कसरी सहज रूपमा लिन सक्छन् त्यसबारे प्रकाश पारेको छ। ‘एडेम्स एप्पल’-भित्र आमाले छोरीलाई दिएको यौनशिक्षा अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण भएको छ। मानवीयताको ह्रास र नाश ‘कुण्ठा’ कथामा उल्लिखित पाइन्छ। ‘मूलघर’ कथामा संस्कार र संस्कृतिप्रति विमुख हुँदै गएको अहिलेको पिँढीले आफ्नो मूल घरलाई पैसा कमाउने माध्यम सम्झनु तर मूल घरको सौन्दर्यप्रति असचेत रहने मानसिकतालाई गतिलो व्यङ्ग्यद्वारा प्रस्तुत गरिएको छ। प्रत्येक घरमा हुँदैआएको अभ्यास र हुर्कँदै गएको संस्कार बाजेबोज्यूदेखि आफ्ना सन्तानहरूलाई टाढा राख्ने अनि अङ्ग्रेजी भाषाप्रतिको मोहले एउटा पिँढी आफ्नो मातृभाषाको प्रयोगदेखि टाढिएको ‘अदृश्यतिर’ कथाले यथार्थ रूपमा वर्णन गरेको छ।
भाषालाई शक्ति मान्ने लेखकहरू अहिले प्रयोगकालमा छन्। उनीहरू पात्र, पाठक र पाठसित प्रयोग गर्न चाहन्छन्। 20औँ शताब्दीका संरचनावादी आलोचक रोलाँ बार्थले आफ्नो निबन्ध ‘अथर्स एन्ड राइटर्स’(सन् 1960)-मा दुईवटा प्रश्न सोधेका छन्- कसले बोल्छ? र कसले लेख्छ? पहिलो प्रश्नको उत्तर दिँदै उनी भन्छन्- लेखकबाहेक अरू कोही पनि बोल्दैनन्। यिनको विचारमा फ्रान्समा 16औँ देखि 19औँ शताब्दीसम्म भाषालाई माध्यम बनाई लेखक एक्लै बोले र मनपरि गरे। त्यसपछि भाषा शक्ति बन्यो र लेखक विशेषाधिकृत एवम् शक्तिशाली बने। (दास, 2014: 332)
पाठमा अन्तर्निहित अचेलका पात्रहरू अब बोल्ने पालो हाम्रो हो भन्छन्। आजका सचेत पात्रहरू पाठमा लेखकको राजनीति बुझ्छन् वा बुझ्ने क्रममा छन् जो पाठदेखि बाहिर आएर लेखकको विरोध गर्ने आँट गर्छन्। पाठभित्र पात्रको इच्छा र आकाङ्क्षा के छ? पाठभित्रका पात्रलाई नसोधी लेखकले स्वतन्त्रताको हनन गर्दै उनीहरूलाई असमय बिनाकारण पाठबाट हटाइ दिन्छन् वा मृत्यु वरण गर्न लगाउँछन्। तसर्थ लेखकप्रति असन्तुष्ट रहेका वा मरिसकेका पात्रहरू पनि चिहानबाट उठेर लेखकले उनीहरूमाथि वर्षौँदेखि गर्दै आएको शोषण, अन्याय, र अत्याचारको प्रतिवाद गर्न उनीहरू पुनः नयाँ पाठमा प्रवेश गर्छन्। जीवित पात्र तथा मृत पात्रहरूको सक्रिय सहभागिताले साहित्यमा यसरी पुराना सङ्कथनहरू भत्किएर नयाँ सङ्कथन निर्माण भएको देखिन्छ। समकालीन साहित्य सिद्धान्त र समालोचनामा अहिले लेखक र पात्रमाझ चलिरहेको द्वन्द्वलाई कथाकार युवा बराल “जस्ट च्याटिङ्ग” कथामा यसरी उल्लेख गर्छन्-“पात्रहरू सहजै सम्मिलित हुन मान्दैनन् कथामा, फकाएर राख्नुपर्ने स्थिति आइसकेको छ। जबर्जस्ती राखिएका पात्रहरूले भनेजस्तो भूमिका निर्वाह गर्न सक्दैनन्। कथामा पसेका पात्रहरू अन्यभन्दा स्वयं पार्थक्य हुन्छन् अर्थात् तिनीहरूमा जिम्मेवारीपनको भारी थोपिएको हुन्छ।” (पृ. 86) पाठभित्र पुनः प्रविष्टि पाएका पात्रहरूले लेखक विरूद्ध गरेका आलोचनादेखि सजग बनेका युवा बराल पात्रको नामकरण गर्न पनि असुरक्षित अनुभव गर्छन्- “डर लाग्छ हिजो-आज। यही संत्राशले कथामा पात्रहरूको यथार्थ अनि प्रचलित नाम राख्न हिच्किचाइरहेछु।” (पृ.86)
प्रयोगका दृष्टिले युवा बराल नयाँ कथात्मक लेखनतर्फ अग्रसर रहेका देखिन्छन्। तर प्रस्तुत लेखले यिनका कथात्मक प्रयुक्तिको चर्चा नगरेर छिचिमिरा(सन् 2018)-का मूलतः तिनवटा कथा “के सोचेँ मैले”, “आँखीझ्याल” अनि “जस्ट च्याटिङ्ग”-लाई सौन्दर्य र सौन्दर्य सिद्धान्तका दृष्टिले अध्ययन विश्लेषण गरिएको छ।
सौन्दर्य एवम् सौन्दर्य सिद्धान्तःछोटो चर्चा
अविक गङ्गोपाध्यायको पुस्तक लिटेरेरी थ्योरिज एन्ड क्रिटिसिजम बियोन्ड मोडर्निज्म (सन् 2005)भित्र उल्लिखित “थ्योरिज अव् दि ब्युटी एन्ड दि ब्युटिफुल” (पृ.8) शीर्षकमा गरिएको सैद्धान्तिक चर्चामा यो लेख आधारित रहेको छ। विभिन्न अनुशासनका सौन्दर्यशास्त्रीहरूले सुन्दरताका वैशिष्ट्यहरूलाई समृद्ध बनाउनलाई सुन्दरताको अर्थ र परिभाषाबारे आ-आफ्ना मत व्यक्त गरेका छन्। तर उक्त लेख यी विविध मतहरूमा केन्द्रित नभएर यसले सौन्दर्यका विभिन्न वर्गीकरण र श्रेणीमाथि प्रकाश पार्ने प्रयास गरेको छ।
सौन्दर्य एवम् सौन्दर्य सिद्धान्तभित्र यौन चाहनाको मूल आधार आनन्द अनुभव अथवा ऐन्द्रिक सुख हो भन्ने देखाइएको छ। त्यस इच्छा र चाहनाको मूल कारण मानिएको छ प्रेम भाव। बेनेडिटो क्रोचेको विचारअनुसार ‘हरेक अभिव्यक्ति नै कला हो’। तसर्थ माया, प्रेम, आवेग, कला, चिन्तन, कथ्य, शिल्प, सर्जक, ग्रहणकर्ता आदि हरेकसित सुन्दरताको अवधारणा अत्यन्त नजिकबाट जोडिएको हुन्छ। (गङ्गोपाध्याय, 2005:9) कथामा प्रयुक्त पात्रहरूमा चित्रित त्यही विविध अनुभूतिलाई समातेर यस चर्चालाई अघि बढाइएको छ।
कुनै थोक मन पर्नाको पछि सौन्दर्य नै मूल कारक रहेको हुन्छ। सौन्दर्यात्मक वस्तुले मान्छेका आँखा र मनलाई आफूतर्फ खिँच्छ। प्राप्त त्यस आनन्दले विपरीत लिङ्गप्रति नजिक हुने, ऊसित बोल्ने इच्छा उत्पन्न गराउँछ। उसलाई मनै मनमा प्रेम गर्न थाल्छ, मन पराउन थाल्छ, ऊसितको सामीप्य पाउने सपना देख्न थाल्छ र अन्तमा गएर त्यस आनन्दले विपरीत लिङ्गप्रति यौनको चाहना राख्छ। यस्तो चाहना र इच्छालाई स्वाभाविक मानिन्छ। त्यो चाहना कल्पनामा होस् वा यथार्थमा उसले ऐन्द्रिय सुखसित उपभोग गर्छ। तसर्थ आनन्द वा ऐन्द्रिय सुख प्राप्तिको मूल आधार सौन्दर्यलाई मानिन्छ। सौन्दर्य शब्दले सुन्दरता भन्ने अर्थ प्रदान गर्छ। सौन्दर्य वस्तुमा होइन हेर्नेको आँखामा लुकेको हुन्छ। यसै सम्बन्धमा फ्रान्सेली लेखक एनाटोले फ्रान्स (1844-1924) भन्छन्- “ मलाई विश्वास छ, वस्तु किन सुन्दर हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन।” (गङ्गोपाध्याय, 2005: 8)
सिद्धान्तकारहरूले सौन्दर्यलाई मुख्यतः चारवटा वर्गमा राखेर हेरेका छन्- (क) मूल भाव (इसेन्स), (ख) सम्बन्ध (रिलेसन), (ग) कारण (कज), अनि (घ) प्रभाव (इफेक्ट)।
सुन्दर देखिने सबै वस्तुहरू नै सुन्दर लाग्नु यसको मूल भाव हो। जब वस्तु सुन्दर लाग्छ त्यस वस्तुप्रति मान्छेको आकर्षण बढ्छ तब मात्र त्यस सुन्दरताले ऐन्द्रिक सुख दिन्छ र त्यसप्रति नजिकको सम्बन्ध स्थापित हुन्छ। भनिन्छ, प्रकृतिको अनुकरण नै कला हो। वास्तवमा अनुकरणमा नै सुन्दरता बसेको हुन्छ। सुन्दरतासितको सम्बन्धले मात्र आनन्द दिइन्छ वा भइन्छ भन्ने मत एरिस्टोटलको छ। सौन्दर्यका विभिन्न वस्तुपरक व्याख्या गर्ने अध्येताहरू हुन्- ह्युम, रस्किन, सान्तयना, केनेथ ब्रुक, कलरिज, कोनराड लाङ्ग तथा अन्य। वस्तु सुन्दर देखिनाका कुनै विशेष कारण हुँदैन यो आफैमा सुन्दर नदेखिए पनि यसको सुन्दरता मनमा स्वतः सिर्जित हुन्छ र त्यसै अनुभूतिले वस्तुको सौन्दर्य अवलोकन गरिन्छ। सौन्दर्य सिद्धान्तकार ह्युमको भनाइ पनि यस्तै छ। सौन्दर्यले दिइएको ऐन्द्रिक सुख कुनै डिग्रीसम्म पुगेपछि अघिसम्म लागिरहेको सुन्दर वस्तुले कहिले काहीँ आफूमा भ्रम सिर्जना गरेको अनुभूति पनि हुन्छ भन्ने अर्को मत व्यक्त गर्छन् मनोविज्ञानी रस्किन। तर सुन्दर लाग्नको कारण थाहा भएपछि मात्र त्यसको प्रभाव पर्छ। सुन्दरता मुख्यतः प्रेम, कला, सिर्जना, सर्जक आदिसित जोडिएको अवधारणा हो। तसर्थ सुन्दर वस्तु कलाकारको दक्षताअनुरूप उत्पादन हुन्छ भनिएको छ। यस्तै प्रकारले प्रकृतिमा भएका मान्छेको गतिविधिको प्रभावस्वरूप पनि सुन्दर वस्तु देखिन्छ। (गङ्गोपाध्याय,2005:8-9)
यसका अतिरिक्त सौन्दर्य सिद्धान्तका सातवटा प्रकारहरूको पनि चर्चा पाइन्छ, जो निम्न छन्-
(क) प्राचीन विचारकहरूका अवधारणामा सौन्दर्य चेत
(ख) पुनर्जागरणकालोत्तर जर्मनेली विचारकहरूका मतमा सौन्दर्य
(ग) पशु प्राणीमा सौन्दर्य चेतः एक दैहिक अनुभूति
(घ) मूलभूत सौन्दर्यः इच्छा, ऐन्द्रिक सुख वा आनन्द अनि व्यक्ति
(ङ) गौण सौन्दर्यः बाह्य जगत्
(च) कलाः विषय, रूप एवम् सौन्दर्य
(छ) सौन्दर्यः व्यक्तिनिष्ठ पूर्वाग्रह अथवा वस्तुगत निर्वैयक्तिकता (गङ्गोपाध्याय, 2005: 8)
यी प्रत्येक प्रकारहरूको यहाँ विस्तृत व्याख्या विश्लेषण नगरेर बरालका उक्त तिनवटा कथामा पाइने चौथो प्रकार ‘मूलभूत सौन्दर्यः इच्छा, ऐन्द्रिक सुख वा आनन्द अनि व्यक्ति’ तथा पाँचौँ प्रकार ‘गौण सौन्दर्यः बाह्य जगत्’लाई मात्र आधार गरिएको छ।
सौन्दर्य एवम् सौन्दर्य सिद्धान्तको दृष्टिले छिचिमिराका केही कथाहरूको विश्लेषण
“के सोचेँ मैले” कथाको नायक योगेन्द्र बाह्य दृष्टिले हेर्दा सुन्दर छैन भन्ने कुरा कथाकी नायिका म पात्र राधिकाको आँखाले उसको रूपको वर्णन गरेबाट बुझिन्छ- “खिनौटे, चुच्चो नाक, अलग्गै देखिने, दुब्लो मान्छे”। ऊ हेर्नमा त्यति सुन्दर र आकर्षक नदेखिए पनि सङ्गीतको साइनो जोड्न पुगेकी राधिका पहिलो भेटमा नै उसको गायन प्रतिभा र सङ्गीतमा रुचि देखेर योगेनप्रति प्रभावित बन्नाका साथै उसको व्यक्तित्व आकर्षक लाग्न थाल्छ। यो आकर्षण सुन्दर वस्तुप्रतिको होइन तर सङ्गीतको तारले यी दुईको हृदयको तार झन्कृत भयो भन्ने बोध राधिकाबाट भएको छ। यस कथामा उद्धृत प्रसङ्गले सौन्दर्य सिद्धान्तमा पाइने मूल भाव, सम्बन्ध, कारण र प्रभाव चारैवटा वर्ग समावेश भएको पाइन्छ- “मैले धुन गुन्गुनाउँदै गर्दा योगेनले गिटार टिपेर बजाउन शुरू गरेछन्। म आँखा चिम्लेर गाउँदै गर्दा त्यो गिटारको मेलोडीले मीठो तरङ्गको झंकार सृजना गरिसकेको थियो। हामी सङ्गीतको सागरभित्र डुबल्की मारिसकेका थियौँ। साँच्चै सङ्गतको प्रभाव मात्रले पनि वास्तविक सङ्गीतको स्वरूप प्रष्फुटित गर्छ कि कसो। योगेन र मेरो यसरी भेट हुनु, सँगै गीत गाउनु, यो सङ्गम साँच्चै अलौकिक थियो।” (पृ.71) प्लेटोले भनेझैँ ‘यदि कुनै वस्तु सुन्दर लाग्छ र त्यहाँ साँच्चै सुन्दरता निहित छ भन्ने लाग्यो भने त्यो सुन्दर देखिनाको पछि कुनै कारण हुँदैन। (गङ्गोपाध्याय, 2005: 8) यो भावनासित जोडिएका हुनाले यसलाई अनुभूत गर्न सकिन्छ तर विश्लेषण गर्न सकिँदैन।’ यस समय यही अनुभूति राधिकाले पनि गरिरहेकी छे। अघि वर्णन गरिएको त्यो खिनौटे, नाक चुच्चो मान्छे राधिकाको निम्ति प्रतिभावान् मात्र साबित नभएर उसको निम्ति त्यो प्रेमको अनुभूति जस्तो थियो- “हाम्रा आँखाहरू बोलिरहे। स्वरहरू एकोहोरो भए। एउटै लय, ताल र धुनमा हामी सारा संसार विचरण गरिरह्यौँ। आनन्दको अनुभव थियो त्यो। त्यो खिनौटो मान्छे पनि प्रतिभावान रहेछ भन्ने मैले जानेँ। (पृ.71) योगेनलाई भेट्न नपाउँदा मन खिन्न हुनु, उसले तयार पारेको गिटारको धुन सुनेर खुसी हुनु, मन अस्थिर भएर उसको सम्झनामा चिट्ठी लेख्नु आदिले राधिका सोच्छे कि मामाले ठिकै भनेछन्- ‘मन मिल्ने मान्छे।’ त्यो मान्छे बस्यो मेरो मनमा।”(पृ.71) योगेन उसको मनमा बस्नाको मूल कारण हो राधिकालाई योगेन सुन्दर लाग्न थालेको छ। कारण ‘सुन्दर भन्ने कुनै मोडल नै हुँदैन भन्ने नित्सेको भनाइ (गङ्गोपाध्याय, 2005:8) यहाँ राधिकाको सोचाइसित खाप खाएको मान्न सकिन्छ। मान्छेले परम्परागत रूपमा बुझ्दै आएको सुन्दरताको अर्थ र परिभाषा राधिकाको जीवनमा परिवर्तित भएको देखिन्छ। एकजना असुन्दर देखिने मान्छे सबैको निम्ति असुन्दर र अनाकर्षक हुन्छ भन्ने सोच सधैँ सही नहुन सक्छ। किनभने सुन्दरताको अर्थ प्रत्येक व्यक्ति र परिवेशमा निर्भर गर्छ।
ह्युमको भनाइअनुसार- ‘वस्तु आफैमा निहित गुणले सुन्दर हुँदैन, सौन्दर्य मनमा आफै सिर्जना हुन्छ र त्यो अस्तित्वमा आउँछ।’ यही भाव राधिकामा पनि विकसित देखिन्छ जसलाई जोन रस्किनको मनोविज्ञानमा आधारित‘आनन्द सिद्धान्त’-को नजिक राखेर हेर्न सकिन्छ। यस सिद्धान्तको मान्यता के छ भने सुन्दर देखिएको वस्तुले कुनै डिग्रीसम्म मात्र आनन्द वा ऐन्द्रिक सुख दिन्छ। तर त्यस सुन्दरताबाट प्राप्त आनन्द अनुभूतिले कहिले काहीँ व्यक्तिमा भ्रम पनि सिर्जना गर्ने गर्छ। (गङ्गोपाध्याय, 2005: 9) यस्तै एकै दिनको भेटबाट प्राप्त भ्रमपूर्ण सुखानुभूतिमा कथाकी पात्र राधिका रहेकी देखिन्छे जो योगेनले लेखेको चिट्ठीको अन्तिम पदले पुष्टि गरेको छ- “अन्तिममा एकै पद थियो त्यो जसले मेरो जीवनको सबकुछ लुटिदियो म शून्यमा परिणत भएँ एकैचोटि। चिट्ठीमा लेखिएको थियो-...तपाईँले लता बहिनीलाई पठाएको चिट्ठी जस्ताको तस्तै उसले मलाई पोस्ट गरेकी थिई। त्यसमा तपाईँले मलाई ‘जीवनभरको साथी’ बनाउने इच्छा जाहेर गर्नुभएको रहेछ। त्यो पढेर म अत्यन्त विचलित बनेँ साथै दुःखी पनि। मैले सपनामा पनि नसोचेको कुरा म कसरी स्वीकार्न सक्छु? प्रेमको नजरले होइन म तपाईँलाई एउटी गुरुको नजरले हेर्ने गर्छु। एउटा गुरु र चेलाको पवित्र सम्बन्धलाई धमिल्याउने तपाईँको विचारलाई म समर्थन गर्न सक्दिनँ। म तपाईँलाई श्रद्धा गर्छु, इज्जत गर्छु अनि सम्मान पनि। हाम्रो सम्बन्धलाई गलत अर्थले नहेर्नोस्। मैले राखेको स्थानदेखि तल नझर्नोस् अनि म माथि चढेर समानन्तर बस्न पनि चाहन्न। तपाईँले मलाई सङ्गीतको चार शब्द ‘सरगम’ सिकाउनु भएको छ। स्वयंलाई एकपल्ट फर्किएर हेर्नोस्। तपाईँले आफैलाई त्यो उच्चतम स्थानमा पाउनुहुनेछ जुन ठाउँमा राखेर म तपाईँको दिन-रात पूजा गरिरहेछु। सङ्गीतको साधना गरिरहेछु। अस्तु।”(पृ.73)
सबैभन्दा पहिला वस्तुहरू सुन्दर लागेपछि मात्र त्यसप्रति आकर्षण बढ्छ, त्यसलाई पाउने इच्छा जाग्छ। यसरी नै राधिकाको योगेनसित भेट भएपछि मात्र उसको नजिक जाने, ऊसित विवाह गर्ने इच्छा जाग्नु स्वाभाविक देखिन्छ। राधिकाको नजरमा योगेनको सुन्दरता भनेको उसको साङ्गीतिक प्रतिभा हो। तर उक्त चिट्ठीमा एक एक शब्दले राधिकाभित्र उम्रिएको योगेनप्रतिको असीम प्रेम र उसलाई बिहे गर्ने सपनालाई एकैचोटि धराशयी बनाएको छ। सुन्दरताले इच्छा, चाहना, आनन्द, पुरुष र विशेषतः नारीसित नजिकको सम्बन्ध स्थापित गर्छ। योगेनले थाहै नपाई राधिकाले आफूभित्र स्थापित त्यस सम्बन्धलाई यथार्थमा रूपान्तरित गर्न ऊ असक्षम बन्छे।
योगेनलाई हेर्ने इच्छा र भेट्ने छटपटी राधिकाभित्र विकसित भएझैँ निलिमालाई धेरै दिनदेखि घरमा नआएकी र उसलाई हेर्ने इच्छा अर्को कथा “आँखीझ्याल”-को प्रमुख म पात्र सुरज यसरी वर्णन गर्छ- “मनभित्र एउटा झिनो बेचैनी बसिराखेकै छ। उनलाई नभेटेको पनि निकै भयो। न बाहिरतिर उज्यालोमा, न भित्र अँध्यारोमा नै देख्न सकेको छु। यही असन्तोषले चिमोटिरहेछ हरपल।”। (पृ.42) उक्त कथाको दोस्रो अनुच्छेदमा राखिएका यही शब्दहरूबाट “आँखीझ्याल” नितान्त एउटा मनोवैज्ञानिक कथा भएर अघि बढेको छ। म पात्र र निलिमामा निहित यौन चाहनाको यस मनोविज्ञानलाई सौन्दर्य सिद्धान्तले पनि अध्ययन गर्न सकिन्छ। कथा“आँखीझ्याल”-मा वर्णित आँखीझ्यालद्वारा म पात्रले आफूलाई सुन्दर लाग्ने व्यक्तिको सुन्दरता हेरेर आफूभित्रको दीर्घकालीन यौनेच्छा पुरा गरेको देखिन्छ। जुन इच्छापूर्तिले ऊ पुनः अर्को दिन त्यो सुन्दर दृश्य हेर्न लालायित भई घरको झ्यालमा पुगेर त्यहाँबाट केही सुन्दर वस्तु हेर्न चाहन्छ। कथाबाट एउटा दृष्टान्त उद्धृत छ- “नानी निदाएको छ। समय यथोचित छ मेरो निम्ति। म जान्दछु। मुटुको धडकन बढ्दैछ। आफ्नो वशमा छैन श्वासको तीव्रता पनि। विस्तारै झ्यालतिर बढ्छु। जो बनिएको सूक्ष्म छिद्र छ, त्यो मेरो संसार अवलोकन गर्ने नेत्रद्वय बराबर छ। ध्यानमग्न भई त्यो आँखीझ्यालबाट हेर्छु पल्लोपट्टि।” (पृ. 49) सौन्दर्य सिद्धान्तअनुसार नित्से आफ्नो विचार यसरी राख्छन्-सुन्दर र कुरूप जैविक कुराहरू हुन्। यद्यपि मान्छेलाई सुन्दर चिजहरूले चाँडो ध्यानाकर्षण गर्छ। यस कथाको म पात्रको आकर्षण बिन्दु पनि निलिमाको सौन्दर्य नै हो। दि भ्यालु अव् फिलोसफी (1926)-का अमेरिकेली लेखक, इतिहासकार तथा दार्शनिक विल ड्युराँले भनेका छन्- हरियो घाँस र निलो आकाश हेर्दा सुन्दर लाग्छ तर कहिले काहीँ मान्छेलाई हरियो आकाश र निलो घाँस हेर्नमा पनि आनन्द लाग्ने बानी बसिसकेको हुन्छ। (गङ्गोपाध्याय, 2005: 11) त्यस्तै म पात्रलाई आफ्नी स्वास्नी मालतीको भन्दा अर्काकी स्वास्नी निलिमाको सौन्दर्य हेर्नमा आनन्द र बानी दुवै भइसकेको पुष्टि कथाको थालनीबाट थाहा पाइन्छ। जस्तै, -“मलाई उनको प्रगाढ सामीप्यको र निश्छल हाँसोको बानी परिसकेको छ।”(पृ.42)
सौन्दर्य सिद्धान्तले कहिले काहीँ मन पराएका मानिसहरूको स्वर, कुरा गराइलाई पनि सुन्दर मान्छ।( गङ्गोपाध्याय,2005: 12) मान्छेको सौन्दर्य निखार्नमा पहिरन पनि एउटा महत्त्वपूर्ण तत्त्व हो। निलिमाको सुन्दर अनुहार, मिठो स्वर, र उसले लगाउने हरेक वेशभूषा आदिप्रति म पात्र अत्यन्त आकर्षित देखिन्छ। निलिमामा म पात्रले अनुभूत गरेको सौन्दर्यको वर्णन यसरी गरिएको छ- “उनको त्यो मोहनी आवाज। सौम्य अनुहार। चिटिक्क परेको केशराशि। सपक्क मिलेको आँखिभौँ। पातलो ओठमा गुलाबी लिपिस्टिक अनि गहुँगोरो मुहारको हँसिलो मुस्कान। उनले पहिरिएका सबै पहिरनले कस्तो सुहाएको झैँ लाग्छ। तर व्यक्त गर्दिन म कसैलाई पनि। उनको रूप हेरेर म एक्लै गदगद हुन्छु। रोमाञ्चित बन्छु। मेरो आकर्षण किन हो उनमा यसरी एकोहोरो तरहले बस्यो थाहा छैन। तर म उनलाई असाध्य मन पराउँछु।”(पृ.43) पहिरनले सौन्दर्यको वृद्धि गर्छ कारण पहिरनलाई प्रतिरोधको एउटा साधन मानिन्छ, प्रतिरोधले ऊभित्र भएको सुन्दरता हेर्ने इच्छाको वृद्धि गर्छ। यस्तै प्रक्रियाबाट कथाको म पात्रभित्र पनि अनेकौँ इच्छा, चाहना र उसलाई पाउने सपना प्रतिदिन प्रतिपल हुँदै बढेको देखिन्छ।
यस कथामा म पात्रले निलिमालाई मन पराएको, उसको सौन्दर्यप्रतिको आकर्षण ऊ बाहेक कसैलाई थाहा छैन। अर्काकी स्वास्नीलाई मन पराएको कुरा नितान्त आफूभित्र लुकाएर राख्नु वा गोप्य राख्न सक्नुलाई मनोविज्ञानमा सफल अतिशयोक्ति मानिन्छ। “आँखाको अङ्गालोभरि म उनलाई बाँधेर कल्पनाको चुम्बन खान्थेँ। मेरी मालतीले छनक पनि पाउँदिन थिई। आँखाबाट नै म आफ्नो तिर्सना मेटाउँथें।” (पृ.42) म पात्रले निलिमाको सुन्दरता देखेर गरिएको यस यौन भोगलाई सौन्दर्य सिद्धान्तकारहरू सुन्दरताले मान्छेलाई उत्तेजित र उत्साहित तुल्याउँछ भन्ने मत राख्छन्।
अर्को कथा “जस्ट च्याटिङ्ग”-मा कुनै पात्रको नाम उल्लेख छैन। पात्र क र पात्र ख दुईजना पूर्व प्रेमी प्रेमिका हुन्छन् जो अहिले अर्कै केटी र अर्कै केटासित बिहे गरेर घरजम गरिसकेका हुन्छन्। यिनीहरू एकदिन भेट भएर विगतका कुराहरू गर्छन् र पात्र क (केटा)-ले पात्र ख (केटी)-लाई मन पराउनाको कारण उसको सुन्दरता नै हो भन्छन्-“...तिमी चञ्चले स्वभावकी नकचरी थियौ। त्यो लामो केशराशि, मिलेको आँखिभौँ, लाम्चो गहुँ-गोरो अनुहार, हिस्सी परेको जिउ-डाल, सुडौला खुट्टाहरूमा चटक्कै सुहाएको सेतो मोजा र कालो जुत्ता।” (पृ.87) कालो आँखा र भर्खर फक्रिँदै गएको तिम्रो जोबनले पनि मैले तिमीलाई प्रेम गरेँ। तर जब यी दुई पात्रमाझ शारीरिक सम्बन्ध स्थापित हुन्छ तब पात्र क को निम्ति ख-को त्यो अघिको सुन्दरता त्यहीँ सकिन्छ। आफूदेखि टाढिँदै गएको पात्र क प्रति पात्र ख आफ्नो अनुभूति यसरी व्यक्त गर्छे- ‘अन्ततः तिमी अघाएपछि कुकुरले हड्डी छोडे झैँ छोड्यौ। छोडिदियौ!!’
प्रतिउत्तरमा पात्र क सहज भावमा भन्छ- “हो,सबै प्रेमी भनाउँदाहरू प्रथमतः आफ्नो प्रेमिका भनौदीको बाह्य स्वरूपबाट आकर्षित हुन्छन्, उसरी नै प्रेमिकाहरू पनि। मैले तिमीलाई मन पराउनु भनेको ऐले जान्दा तिम्रो रूपको मोह थियो।”(पृ. 87) कथा ‘जस्ट च्याटिङ्ग’का पात्र क-को पत्नी र पात्र ख-को पति दुवैसित उनीहरूको यस प्रेम कथालाई गोप्य राख्न सफल भएका छन्।
सौन्दर्य सिद्धान्तकारद्वय जर्ज सान्तयान अनि थोमस हब्स(1579-1688)-ले आनन्द सिद्धान्तलाई सौन्दर्यको दृष्टिले प्रस्तुत गरेका छन्। सान्तयन ‘सुन्दर वस्तुलाई हेरेर आनन्दित हुन सकिन्छ’ भन्छन् भने हब्स ‘आनन्दित हुनुबाट सुन्दरता देखिन्छ’ भन्छन्। (गङ्गोपाध्याय, 2005: 11) यी दुवै भनाइलाई पुरुष पात्र म-मा लागु गरेर हेर्न सकिन्छ। कारण म पात्र सुरुमा निलिमाको शारीरिक हाउभाव, घरमा उसको आउजाउबाट भित्रदेखि आनन्दित हुन्थ्यो भने आफ्नो घरको झ्यालबाट देखिएको निलिमाको निर्वस्त्र जिउ देखेपछि उसले अझ नजिकबाट निलिमाको सौन्दर्यको ऐन्द्रिक सुख अनुभव गर्दै भन्छ-“जुन वस्तुलाई म यतिञ्जेल कल्पनाले मात्र देखिरहन्थेँ, त्यो चिजलाई ऐले म आँखाभरि, मनभरि, विपनाभरि यसरी छामिरहेछु। पिइरहेछु। भोगिरहेछु।...वाह! त्यो झ्याल। जसको त्यो उदाङ्गोपनाले मलाई धित मर्नेगरी चक्षु-प्यास मेट्ने सौभाग्य मिलिरहेको छ। ” (पृ. 44) “के सोचेँ मैले” कथामा हब्सको भनाइअनुसार राधिका आनन्दित भएर योगेनलाई सुन्दर देखेकी छे। कथा “जस्ट च्याटिङ्ग”-को पात्र खको सुन्दरता देखेर पात्र क आनन्दित भएको छ जहाँ सान्तयनले राखेका मान्यतालाई आधार मान्न सकिन्छ।
विचारकहरू भन्ने गर्छन्- जसरी प्रेमद्वारा सौन्दर्यको सिर्जना हुन्छ उसरी नै सौन्दर्यद्वारा प्रेमको सिर्जना हुन्छ। सौन्दर्य प्रेममा सीमित हुन्छ वा हुँदैन यो प्रत्येक व्यक्ति व्यक्तिमा निर्भर हुन्छ। कहिले काहीँ यो आनन्द भाव पनि इच्छादि यौन भोग, काम वासनासित जोडिएको पत्तै हुँदैन। जुन स्थिति “आँखिझ्याल” कथामा म पात्रले यसरी अनुभूत गर्छ- “अझै के-के झरिलो बर्बराउँदै थिइन् निलिमा। मैले ध्यानै दिइन। म त आँखाको प्यासी जिब्रोले उनको त्यो सौम्य मुहार छिटो-छिटो वेपर्वाह चाटिरहेको थिएँ। अनवरत प्रतीक्षाको उष्ण रापले जलेको हृदयलाई शान्त गराउन उनको गाला, ओंठ, गला, छात्ती, कम्मर, फिला, पाइताला अनि औँलाहरू मनको ओंठले बेवास्ता चुमिरहेको थिएँ।” (पृ.50) यस वर्णित घटनामा म पात्रले गरेको अनुभूतिमा जुन प्रेम, आनन्द र यौन भोगको सुखानुभूति छ त्यो निलिमाले पनि उही रूपमा अनुभूत गरी भन्ने कुनै स्पष्ट चित्रण कथामा परिलक्षित छैन। तर म पात्रलाई त्यसतर्फ उत्साहित र उत्तेजित बनाउनमा निलिमाको प्रत्यक्ष-परोक्ष सहभागिता र चाहनालाई उसले यसरी अनुभूत गरेको छ- “...उनको भिजेको केशराशिले मेरो छात्तीदेखि मुन्तिरको भाग डम्म ढाकिन्छ अनि उनको नरम हत्केलाले मेरो फिलालाई सुस्तरी स्पर्श गर्छ। मलाई हुनसम्मको अप्ठेरो अनुभव भएको हुन्छ। बन्छु आल्हादित पनि। भर्खरै शान्त बनेको मनस्थिति पुनः खल्बलिन्छ एकतमासले।” (पृ.46) यसरी म पात्र एक्लै भएको मौका छोपेर निलिमा घरमा आउनु, काखमा समाई राखेको सानो छोरो (नानीलाई)-लाई माया गर्ने निहुँमा सुरजलाई छुने प्रयास गर्नु आदि स्पष्ट सङ्केतलाई म पात्रले त्यो ऐन्द्रिक सुख अनुभूत गर्ने पर्याप्त आधार पाएको बुझिन्छ।
नारीलाई सौन्दर्यको स्रोत मानिएकाले नारीले पुरुषलाई गरेको प्रेमभन्दा पुरुषले नारीलाई गरेको प्रेम नै शक्तिशाली हो भनिन्छ। मनोविज्ञानीहरूको विचारअनुसार पुरुषभन्दा नारी सुन्दर हुन्छन् भन्ने मान्यतालाई नारीहरू पनि स्विकार्छन्।
नारीहरू पुरुषलाई धारण गर्नुभन्दा पुरुषको इच्छा र चाहना भएर बस्न धेर मन पराउँछन्। त्यही नारीमा निहित इच्छा र प्रवृत्ति निलिमामा पनि रूपायित भएको छ। जस्तै, “चिसो नपुछिएको कपालबाट आएको त्यो महँगो सेम्पोको गन्धलाई पनि चिन्ने तेजिलो उनको वाफिलो जिउको गन्धले मलाई उनीतिर लगातार आकृष्ट गराइराखेको अनुभव छ। मेरो यतिञ्जेल बाँधिएको मन र शरीर दुवै किन हो नचाहँदा-नचाहँदै पनि यतिबेला उनीतिर खिचिँदै जाँदैछ। अर्को मनले यो सत्य स्वीकार गर्न मान्दैन। पर-पर पन्छिन खोज्छ। उनी अझ नजिक-नजिक टाँसिएर आउँछन्।”(पृ. 46) माथि उद्धृत गद्यांशलाई ‘गौण सौन्दर्यः बाह्य जगत्’ पाँचौँ प्रकारअन्तर्गत राखेर पनि विश्लेषण गर्न सकिन्छ। कतिपय यस्ता चिजहरू हुन्छन् जसलाई स्पर्श गरेर गोलो, चिल्लो, भित्र पसेको आदि आकार अनुभूतिबाट त्यसमा निहित सौन्दर्यको मापन गर्न सकिन्छ। यसका साथै सफा शरीर, फुलको सुगन्ध, पर्फ्युमको गन्धलाई समग्रतामा सुँघेर सौन्दर्यको आनन्द लिन सकिन्छ। यस्ता एकाध प्रसङ्गहरूले प्रस्तुत कथा “आँखीझ्याल”-लाई ‘गौण सौन्दर्यः बाह्य जगत्’-को प्रकारलाई प्रयोग गरी लेखिएको एउटा असल कथा मान्न सकिन्छ।
सौन्दर्य एवम् सौन्दर्य सिद्धान्तको दृष्टिले माथि विश्लेषित यी तिनैवटा कथामा प्रेम प्रसङ्गको प्रस्तुति बेग्ला बेग्लै भावभूमिबाट विकसित भएको देखिन्छ। कथा ‘के सोचेँ मैले’-मा राधिकाले योगेन्द्रलाई गरेकी प्रेम योगेन्द्रले अस्वीकार गर्छ र राधिकाले चिट्ठीमार्फत पठाएकी प्रेम प्रस्तावलाई योगेन गुरु शिष्यमा रहने पवित्र सम्बन्धको नाम दिन चाहन्छ। राधिकाले योगेनलाई मन पराउनुका पछि शारीरिक सुन्दरता नभएर ऊभित्र निहित सङ्गीतप्रतिको मोहलाई सुन्दर देखेकी छे। ‘आँखीझ्याल’कथामा म पात्र सुरजले निलिमालाई सुन्दर देखेर नै मन पराए तापनि निलिमालाई त्यो कुरा थाहा नभएको सोच्छ सुरज र निलिमाले पनि प्रत्यक्ष ऊप्रति प्रेम अभिव्यक्त गरेको उल्लेख कथामा नभए तापनि ऊ म पात्रप्रति कहीं न कहीँ आकर्षित रहेको उसका कतिपय क्रियाकलापद्वारा बुझिन्छ। कथा ‘जस्ट च्याटिङ्ग’-मा पात्र क र पात्र ख विगतमा प्रेमी प्रेमिकाको अन्तरङ्ग सम्बन्धमा रहे पनि वर्तमानमा उनीहरू दुवैका आफ्ना आफ्ना गृहस्थी जीवन छन् तर दुईजनामा प्रेम हुनु र शारीरिक सन्बन्ध स्थापित हुनाका आधार भने सुन्दरतालाई नै मानिएको छ।
सौन्दर्य सिद्धान्तले मानवीय मनोविज्ञानलाई बुझ्नको निम्ति सौन्दर्यलाई आधारभूत तत्त्व मानेको छ। सुन्दरता नै मान्छेको इच्छा, आकाङ्क्षा, चाहना, यौन र सपनाको मूल स्रोत हो भन्ने कुरा माथि विश्लेषित कथाका विभिन्न पात्रहरूका चरित्रबाट स्पष्ट थाहा पाइन्छ। यस दृष्टिले कथाकार युवा बराल समकालीन नेपाली कथा साहित्यमा समय चेतका साथै सौन्दर्य चेत पनि भएका कथाकारका रूपमा उभिएको पाउँछौँ।

सन्दर्भ पुस्तकहरू:
गङ्गोपाध्याय, अविक 2005, लिटरेरी थ्योरिज एन्ड क्रिटिसिज्म बियोन्ड मोर्डनिज्म, कोलकाताः बुक वे।
गौतम, कृष्ण 2014, उत्तरसिद्धान्त, काठमाडौः भृकुटी एकेडेमिक पब्लिकेसन्स।
दास, विजय कुमार 2014, ट्वेन्टियथ सेन्च्युरी लिटरेरी क्रिटिसिज्म,न्यु दिल्लीः एटल्यान्टिक पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड।
बराल, युवा 2018, छिचिमिरा, पूर्व सिक्किमः गान्तोक, मेन्यस्क्रिप्ट पब्लिकेशन।


नेपाली विभाग, सिक्किम विश्वविद्यालय।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।