14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

'पैतालामा हिउँ, आँखामा हिमाल' : देश दर्शन र चिन्तन सन्दर्भ

कृति/समीक्षा आरएम डङ्गोल November 10, 2021, 12:44 am
आरएम डङ्गोल
आरएम डङ्गोल

नियात्रा- सैद्धान्तिकी र परम्परा
निबन्धमा कल्पना चिन्तनसहित सर्जकको मानसिक भावदशाको विशृङ्खलित प्रस्तुति हुन्छ । वैयक्तिक अनुभूतिको केन्द्रियतामा लेखिने चिठीपत्र, दैनिकी अथवा सूचना–तथ्यसहितको लेखिने जीवनी यसैभित्र समेटिन्छ । निजङ्खवका गाढा–पिक्का लेबरमा सूचनात्मक ग्रहणशीलता, गतिमयतासहित भूगोल, जनजीवन, संस्कृतिको बहुआयामिक पक्षहरूको पर्यवेक्षण हुँदै जाँदा यसले नियात्राको उपविधागत स्वरूप ग्रहण गर्दछ । यात्राको तिक्त÷मृदु जीवन भोगाइ वा कठोर समयसँगको साक्षात्कारको समय आरेखका आधारमा यात्रा संस्मरण र नियात्राको स्थूल भेद छुट्याउन सकिन्छ ।
नेपाली यात्रा निबन्धको स्पष्ट रेखाङ्कन वि. स. १९१९ को जङ्गबहादुरको बेलाइत यात्राबाट सुरु भएको हो । विदेशी भूमिको यात्राक्रममा लेखिएको बेनामी यसै कृतिको सिकोमा विदेश यात्रा भोगाइ लेखनको परम्पराले आजसम्म आइपुग्दा नेपाली भूगोल, जनजीवन, संस्कृति, इतिहास र प्रवासन अनुभूतिको अनेक स्तर र आयाम उद्घाटन गरिसकेको छ ।
पछिल्लो समय पर्यापर्यटन, पर्यटन प्रबद्र्धनात्मक उद्देश्यको नियात्रा लेखनीले पनि गति लिन थालेको पाइन्छ । नियात्राकार राजेन्द्रमान डङ्गोलको पैतालामा हिउँ, आँखामा हिमाल यसैको साक्ष्य हो ।
नियात्राकार डङ्गोल र पैतालामा हिउँ, आँखामा हिमाल
राजेन्द्रमान डङ्गोल(२०२६)पेशाले पर्यटन व्यवसायी हुन् । ‘म नाटकको वियोगान्त पात्र(२०६०)’ शीर्षकको कविता छपाएर साहित्ययात्रा प्रारम्भ गरेका डङ्गोल सिर्जनात्मक साधनाका दृष्टिले कवि र नियात्राकार व्यक्तिङ्खवले स्थापित छन् । पेशागत इमानदारीले कमाएका थुप्रै विदेशी उदारमना विदेशी मित्रहरूको साथ र सहयोगबाट यिनले आनो जन्मथलोमा सकेको सामाजिक सेवासमेत गर्दै आइरहेका छन् । पछिल्लो समय ‘त्रिशूली वाङ्मय प्रतिष्ठान’ एवम् ‘कौशला लामिछाने स्मति कोष’जस्ता साहित्यिक संस्थाको नेतृङ्खवदायी भूमिकामा रही साहित्यिक योगदानसमेत दिँदै आइरहेका यिनको ‘यात्राका पाइला’ (नियात्रा– २०७६) कृति प्रकाशित छ ।
पैतालामा हिउँ, आखामा हिमाल दोस्रो कृति हो । यसमा अघिल्लो कृतिमा समेटिन बाँकी ‘बादलमाथिको मन्दिर’ मूल शीर्षकअन्तर्गतका ‘थाकखोलाको सेरोफेरो’(२०६० जेठ ८), ‘प्रेमको प्रतीक ताल’(२०६० जेठ ९), ‘अलौकिक दृश्य’(२०६० जेठ १०), तथा ‘सिराइचुलीमा चुलिँदा’ मूल शीर्षकअन्तर्गतका ‘हुग्दे हुँदै हात्तिबाङ’(२०६१ चैत्र ३०) र ‘सिराइचुली चुम्दा’(२०६० चैत्र ३१) गरी ५ वटा फुटकर रचनाहरूसहित अन्य ९ वटा मूल शीर्षक र त्यसअन्तर्गत २६ वटा फुटकर रचनाहरू समेटिएका छन् ।
वि. सं. २०६० मा दुई बधिर विदेशी पदयात्रीहरू जोन र डेभिडसँग गरिएको यात्राको नालीबेली ‘बादलमाथिको मन्दिर’ मूल शीर्षकअन्तर्गतका ३ वटा फुटकर नियात्रा रचनामा प्रस्तुत गरिएको छ । यी रचनामा मुस्ताङको धार्मिक र पर्यटकीय दृष्टिले महङ्खवपूर्ण स्थल मुक्तिनाथसम्मको यात्राक्रममा साक्षात्कार गरिएका हिमशृङ्खला र तिनै हिमशृङ्खलाका सेरोफेरोमा रहेका छहरा(रूप्से), नदी(कालीगण्डकी), ताल(धुम्बा), चहकिला गाउँबस्तीहरू, रहस्यमयी प्राचीन गुम्बा र स्थानीय बासिन्दाहरूका दैनन्दिनी, उनीहरूका आस्था र विश्वासमाथि चनाखो दृष्टि फिँजारिएको छ । ‘सिराइचुलीमा चुलिँदा’मा काठमाडौँको क्याथ कलेजका विद्यार्थीहरूसँग चितवनको महङ्खवपूर्ण पर्यटकीय गन्तव्यस्थल सिराइचुली पर्वतसम्मको पदयात्रामा देखिएका र भोगिएका दृश्य र घटनाहरूको फेहरिस्त उतारिएको छ । खासगरी स्थानीय चेपाङबस्ती र तिनका जीवनरीतसँग जोडिएका सांस्कृतिक पक्ष, सिराइचुलीको गन्तव्यमार्गमा पर्ने गाउँमा बास बस्ने क्रममा गाउँलेहरूबाट प्रस्तुत गरिएको खैँजडी भजनको भाका, त्यसको लय–तालजस्ता सांस्कृतिक पक्षको अन्तर्य खोतलिएको छ । सिराइचुलीको शिखर चुम्दा विद्यार्थी र सहभागीहरूको समवेत हर्षबढाइँको कौतुकमय प्रस्तुति पनि यसमा प्रस्तुत गरिएको छ ।
‘काठमाडौँको काँठतिर’ मूल शीर्षकअन्र्तगत समेटिएका ‘जामाचोबाट काठमाडौँ चियाउँदा’(२०७१ फागुन ३०)मा अमेरिकी प्राध्यापक माइकल लेचसँग गरिएको हाइकिङ यात्राको विवरण समेटिएको छ । काठमाडौँको उत्तरपूर्वी कुनाको नागार्जुन पर्वतमालाको शिखरमा अवस्थित जामाचो हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र पनि हो । नागार्जुनबाट उकालिँदै गर्दा बाटोमा देखिने विभिन्न मन्दिर, गुफा, थुम्की र तिनीहरूसँग सम्बन्धित मिथक, किम्बदन्तीको घतलाग्दो वर्णन यसमा पाइन्छ । जुद्धशमशेरले बनाउन लगाएको नागार्जुन दरबारसँग सम्बन्धित ऐतिहासिकी पनि उत्तिकै पठनीय छ । ‘शिवपुरी शैर’(२०७१ असोज १) शीर्षकको रचनामा विदेशी पर्यटक तोबियाजसँग काठमाडौँ उपत्यकाको जलाधार क्षेत्र शिवपुरी पर्वतको पदयात्रा र पदमार्गमा पर्ने बाघद्वार, तीनचुलीको भौगोलिक परिवेश र अनुभूतिको सुन्दर प्रस्तुति छ । शिवपुरी बाबा(गोविन्दानन्द भारती)को साधनास्थल, बागमती नदीको उद्गम बाघद्वारसँग सम्बन्धित पौराणिक प्रसङ्गले नियात्रालाई गहकिलो बनाएको छ ।
यसबाहेकका ३ वटा फुटकर रचनाहरू ‘ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा’ (२०७७ असार २०), ‘लाकुरी भन्ज्याङको यादमा’(२०७७ भदौ ३०) र ‘बाबाजीसँग अन्तरङ्ग कुरोकन्थो’(२०७७ साउन ७) कोभिड महामारीबाट आहत समय परिवेशमा लकडाउनले कुँजिएका हातखुट्टा तन्काउन गरिएका मनमौजी यात्रासन्दर्भसँग सम्बन्धित छ । नियात्राकार बसोबास गर्ने तारकेश्वर नगरपालिकाअन्तर्गत चुनिसाङ्लाबाट अलिक माथिको सानो र रमणीय तामाङबस्तीको तस्बिर ‘ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा’ नियात्रामा प्रस्तुत गरिएको छ । ‘लाकुरी भन्ज्याङको यादमा’ नियात्रामा काठमाडौँको कुनामा अवस्थित गाउँले परिधानमा चिटिक्क पहाडी परिवेशको सुन्दर चित्रण छ । ‘बाबाजीसँग अन्तरङ्ग कुरोकन्थो’ शीर्षकको नियात्रामा भने जितपुर फेदी, पाँचमाने भन्ज्याङ हुँदै थानगढी(गढी थुम्को)बाट तारकेश्वर मन्दिरसम्मको पैदलयात्रा, मन्दिरमा भेटिएका श्रीनाथ बाबा र तारकेश्वरकै फुयाँल थरका बाबाजीसँगको सांसारिक र आध्यात्मिक जीवन भोगाइसँग सम्बन्धित अन्तरङ्ग संवादको रोचक प्रस्तुति छ ।
यी रचनाहरूमा काठमाडौँ वरिपरिका ग्रामीण पहाडी परिवेश, त्यहाँका लिच्छवी, मल्लकालीन संस्कृति र सभ्यता, स्थानीय वनस्पति र जडिबुटीका विषयमा गहिरो चासो व्यक्त भएको छ । यी पाँचैवटा नियात्रा रचनाहरू फरकफरक समय परिवेशमा सम्पन्न गरिएका यात्राका प्राप्ति हुन् । त्यसैले यिनमा अन्य नियात्रा रचनामा झैँ दैनिकी शैली पाइन्न ।
सङ्ग्रहमा समेटिएको ‘इन्द्रदहमा पाँगा कल्पदा’ मूल शीर्षकअन्तर्गतका ‘इन्द्रदहको पौराणिक कथन’ र ‘कल्पनामा डुब्दै भावले नुहाउँदै’ एकै मिति(२०७६ असोज ८)मा लेखिएका दुई नियात्रा रचना हुन् । यी रचनामा सांस्कृतिक महङ्खव बोकेको इन्द्रदह र ऐतिहासिक महत्वको कालु पाँडेको समाधिस्थल अवलोकन सन्दर्भमा नियात्राकारले पाठकलाई पौराणिक युग र एकीकरणकालीन शाह युगको विचरण गराएका छन् । काठमाडौँको वसन्तपुरमा आयोजना गरिने इन्द्रजात्रा र देवराज इन्द्रले पापमोचनका लागि स्नान गरेको इन्द्रदहबीच सम्बन्ध देखाएर यी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सकिने उपाय पनि सुझाइएको छ ।
कोरोनाकालीन लकडाउनले जनजीवन निसास्सिरहेको समय परिवेशमा कुन्चेप्वाकलमा पाइएका स्थानीय वनस्पतिको सूचीसहित कोभिड– १९ को उपचार यिनै जडिबुटीबाट गर्न सकिने उपाय सुझाउँदै उनी लेख्छन्ः
साक्ष्य– १
सिस्नुदेखि गाँजासम्म, असुरोदेखि अमलासम्म, गन्देको झारदेखि रानीसिन्कासम्म झुलिरहेका छन् भुईंभरि । औँला फिँजाइरहेका छन्, अडिरका पाँचऔँले पातले । नरम काँडेदार दानाका झुप्पा लागेका छन् । हेर्दा ठ्याक्कै कोभिड– १९ को आकृतिजस्तै । कतै कोरोनाको ओखती पनि यही त होइन भनेझैँ भान हुने ! जडीबुटी त कति हो कति ! चिन्न सके पो !
रुघाखोकीले पनि बर्सेनी उल्लेख्य सङ्ख्यामा मान्छेहरू मर्छन् । हामी आत्तिएका मात्र हौँ । जडीबुटी खाएरै हुर्केका हौँ हामी । बाटुलपाते, चिराइतो र गुर्जोजस्ता औषधिजन्य वनस्पति हाम्रै वरिपरि छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउन सके हाम्रो शरीरमा प्रवेश गर्ने आँट गर्न सक्दैन कोरोनाले । आखिर कति दिन डराएर बस्ने कोरोनासित ?
‘यात्राबीचको यात्रा’अन्तर्गत ‘आनीसँग कोरोला नाकातिर’(२०७६ जेठ १७) र ‘योजनाबिनाको यात्रा’(२०७६ जेठ १८) गरी दुई रचना समेटिएका छन् । विदेशी पर्यटक एलेन र जोसँग माथिल्लो मुस्ताङको यात्राक्रममा जुरेको दुई अतिरिक्त यात्रालाई ‘यात्राबीचको यात्रा’ नाम दिइएको छ । नियात्राकारको आनीद्वय सोनाम र पासाङ अनि अङ्गे्रजी भाषाको राम्रो ज्ञाता मणिकलासँग ल्हो–मान्थाङको तिजी सांस्कृतिक पर्वको रमझममा भेट हुन्छ । सहयात्री पर्यटकहरू ल्हो–मान्थाङमा एक दिनको विश्राममा रहेका वेलाको समयको सदुपयोग गर्दै नियात्राकार उनै आनीद्वय र मणिकलाको साथ चीनसँगको सीमा कोरोला नाका पुग्छन् । बाटोमा देखिएका विभिन्न रङका छ्योर्तेन, भव्य गुम्बाहरू र अद्वितीय रहस्यमय जोङ गुफा र छोसेर गुफाको अवलोकन क्रमका अनुभूतिहरू यस नियात्रामा लिपिबद्ध छन् । भोलिपल्ट कागबेनी फर्कने क्रममा एलेन र जोसमेत सम्मिलित टोलीले ढाकछेन्मा राक्षस्नीको मुटु राखेर निर्माण गरिएको भनिने घार गुम्बा र लुरि काबुङ गुम्बाको अवलोकन गर्छ । नियात्राकारले बौद्धमार्गी साधकहरूको साधनास्थल यी दुवै गुम्बाको भव्यताको सुन्दर चित्रण गरेका छन् । उनै एलेनसँग अधिल्लो वर्ष गरिएको यात्राको केही रोचक प्रसङ्गको पनि यसमा स्मरण गरिएको छ ।
‘पोखरा पल्तिर’ मूल शीर्षक अन्तगर्तका ‘उकालिँदै अस्ट्रेलियन क्याम्प’ (२०७६ साउन ६) र ‘जङ्गलको बाटो जुकाको चुसाइ’(२०७६ साउन ८)मा पोखराबाट २८ कि. मि. परको पञ्चासे डाँडासम्मको यात्रा विवरण प्रस्तुत छ । मलेसियन नोम्याड एडभेन्चर्स परिवारका विदेशी पर्यटकहरूलाई पदयात्रा गराउने सिलसिलामा धम्पुस हुँदै उकालो लागेपछि पुगिने अस्ट्रेलियन क्याम्पसम्मको पहिलो दिनको यात्रा र त्यसपछि काँडे हुँदै पञ्चासेसम्म गरिएको दोस्रो दिनको यात्रानुभूति साँच्चिकै रोमाञ्चक छ । बाटोमा रोपाईंको दृश्य देख्दा नियात्राकार आनो गाउँ सम्झिएर नोस्ट्याल्जिक बन्छन् ।
जुकाको आततायी स्वभाव र प्रवृत्तिलाई समकालीन राजनीतिक सन्दर्भसित जोड्दै उनी लेख्छन्ः
साक्ष्य– २
थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने । कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदारहेछन् । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नुनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधँै खोक्रो हुँदोरहेछ देश ।
‘नारपाभूमिको आतिथ्य’ मूल शीर्षकअन्तर्गत २०७६ मङ्सिर १० देखि १५ गतेसम्मको ६ वटा नियात्रा रचनाहरू समेटिएका छन् । मनाङको कोतोे पुगेपछि अन्नपूर्णा चक्रियमार्ग र नारपाभूमि जाने बाटो छुटिन्छ । नियात्राकार फ्रेन्चभाषी बेल्जियन फिलिप डिभोस र उनका तन्नेरी छोरा म्याक्सिमलाई लिएर नारपाभूमितिर लाग्छन् । पहिलो दिन उनीहरू मस्र्याङ्दी र नारखोलाको किनारैकिनार अनगिन्ती पच्याङ, घुम्ती, छाङाछुर भीर, उबडखाबड खोँच र घना जङ्गल हुँदै मेता पुग्छन् । यस दिनको यात्रा अनुभूति ‘कल्पना परी झरना’को शीर्षक रचनामा प्रस्तुत गरिएको छ । बाटोमा भेटिएको रूप्सिलो झरनाको सौन्दर्यले नियात्राकार लट्ठिएका छन् । उनी यो झरनालाई म्याग्दीको रूप्से झरनासित तुलना मात्र गर्दैनन्, त्यस्तै झरनालाई सिक्किममा ‘वनझाँक्री फल्स’ नाम दिई आय आर्जनको स्रोत बना इएको सन्दर्भ पनि सम्झिन्छन् ।
दोस्रो दिनको यात्रा अनुभूति ‘खम्पा विम्ब’ शीर्षकको रचनामा प्रस्तुत गरिएको छ । पाँच घण्टा लगाएर एघार किलो मिटरको दूरी पार गरी मेताबाट झुनुम देराली हुँदै च्याखु पुग्दा त्यहाँका खम्पाकालीन घर र सुरक्षा पोस्टहरूको भग्नावशेष देखेपछि नियात्राकार सन् १९५० ताकाको खम्पा विद्रोहको इतिहास स्मरण गर्छन् । यस रचनामा चीनले तिब्बत निलेपछि तिब्बती मूलका खम्पाहरूले नेपालका मुस्ताङ र मनाङबाट सशस्त्र विद्रोह सुरु गरेका र चीनको दबाबपछि एक चीन नीतिमा नेपाल दृढ हुँदै विद्रोह दबाउने क्रममा उक्त विद्रोहका नायक गे वाङ्दी मारिएको प्रसङ्गलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । सन् २००१ सम्म नेपालको नार–फु क्षेत्र पदयात्रा निषेधित क्षेत्रका रूपमा रहेको तथ्यलाई यही घटनाक्रमसँग जोडेर प्रस्तुत गरिएको छ । यही यात्राक्रममा अर्का पथप्रर्दशक जयनाथ भण्डारीको फोटोग्राफी कला र फोहर व्यवस्थापन सम्बन्धी सचेतनाको मुक्तकण्ठले प्रशंसामात्र गरिएको छैन, बाटोमा भेटिएको मजदूरहरूको कष्टसाध्य जीवन, फिलिपको पारिवारिक जीवनको अन्तरङ्ग प्रसङ्गको पनि उद्घाटन गरिएको छ ।
अघिल्लो रात क्याङमा बसेका उनीहरू तेस्रो दिन फु गाउँ पुग्छन् । फुबासीले बेहोरेको खम्पा विद्रोहको सास्ती, पहाडको शिरमा रहेको टासी ल्हाखाङ गुम्बा पुगेपनि भित्र छिर्न नपाइएको दुखेसो मात्र होइन, गाउँमा टाँगिएको रङ्गिन लुङ्दा र बौद्ध तोरणको सांस्कृतिक अर्थ र महङ्खवको रोचक वर्णन तथा फिलिपको पारिवरिक विखण्डनको वियोगान्त कथाको रोचक प्रस्तुतिले यस रचनालाई पठनीय बनाएको छ ।
फुको यात्राक्रममा देखिएको प्रकृतिको अनुपम छटाको काव्यिक वर्णन यसरी गरिएको छः
साक्ष्य– ३
‘राजकीय सम्मानमा रातो कार्पेट बिछ्याएजस्तै हिमकणका सेता पत्रले ढाकिएको छ बाटो । सेनाहरू सलामी दिन उभिएझैँ लस्करै उभिएका छन् अग्ला पहाडहरू । फु खोलाले बजाइरहेछ राष्ट्रिय धून । नाउरहरूले पनि बाक्लै उपस्थिति देखाएका छन् हाम्रो स्वागतमा । प्रकृतिले दिएको राजकीय सम्मान ग्रहण गर्दै छौँ हामी ।’
चौँथो दिनको यात्रा फु गाउँबाट सुरु हुन्छ । उनीहरूलाई नारफेदी पुग्नुछ । बाटोमा क्याङ गाउँ भेटिन्छ । त्यस दिनको यात्रा त्यति उत्साहप्रद छैन । फिलिपका ९१ वर्षीय पिता हस्पिटलको आईसीयुमा उपचाररत रहेको खबर उसकी आमाले दिन्छिन् । उनीहरू अपराह्न चारबजे नारफेदी स्थित नारसाते थ्याङ्गु छोलिङ गुम्बा पुग्छन् । नार गाउँ पुग्न अझै तीन घण्टा लाग्ने भएकोले त्यस रात त्यहीँ बास बस्छन् । भोलिपल्छ बिहान यात्रा थाल्नु अगाबै फिलिप आना बाबुको निधन भएको दुखद समाचार सुनाउँछन् । उनको स्वदेश फिर्तिको चाँजोपाँजो मिलाइन्छ । ‘फिलिपलाई बज्रपात’ शीर्षकको यस रचनाको केन्द्रमा उनै फिलिप छन् । अब नियात्राकारको जिम्मामा छन्– फिलिपपुत्र म्याक्सिम ।
‘नारको मेजमानी’ र ‘पैतालामा हिउँ, आखामा हिमाल’ शीर्षकको रचनामा म्याक्सिम केन्द्रीय पात्र बनेका छन् । उनलाई काङ्ला पास गराउने जिम्मेवारी पाएका छन् नियात्राकारले । हजुरबाको निधनको खबरले न्यास्रिएका म्याक्सिमलाई प्रकृतिको अनुपम सौन्दर्यले भुलाउँछ । उनीहरू त्यस दिन नेपालकै सबैभन्दा उचाइको मानव बस्ती नार गाउँ पुग्छन् । बाटोमा भेटिने मणिवाल, छ्योर्तेन, अगाडि–पछाडि, दायाबायाँका हिमशिखरहरू र उकालो चढिरहँदा देखिने प्रकृतिको अलौकिक सौन्दर्यले नियात्राकार झन् ऊर्जाशील बन्दै गएको अनुभव गर्छन् । नारको मेजमानी मानेर उनीहरू सोझिन्छन्– काङ्लातर्फ । काङ्लाफेदी हुँदै उकालिँदै जाँदा उनीहरू अन्ततः ५,३२० मिटरको काङ्लापास अर्थात् यो यात्राकै अन्तिम गन्तव्य चुम्छन् । त्यहाँबाट नजिकै देखिने हिमाली लस्करको अवर्णनीय दृश्यबाट नियात्राकार रोमाञ्चित हुँदै लेख्छन्ः
साक्ष्य– ४
‘आरोहणमा हल्का कठिनाइ हुनु त सामान्य कुरा हो । फेरि उचाइ चुम्दाको आनन्द बेग्लै । पुनर्ताजगी भएर मन हाँसिहाल्ने । अन्नपूर्णा– २, गङ्गापूर्णा, अन्नपूर्णा– ४ र तिलिचो पिकले आनो दिशा परिवर्तन गरेर हेरिरहेको थियो काङ ला पासको हाम्रो आगमन । यति नजिकबाट कहिल्यै देखेको थिइनँ मैले ती चुलीलाई एकै पटक एउटै भूःविन्दुबाट । एकै फड्कोमा तिनलाई भेट्न सकिन्छ भनेझैँ लाग्ने । हिमाल पनि थरीथरी आकृतिका ! कोही स्तूपाका शिखाराजस्ता । कोही मन्दिरका गजुरजस्ता । कोही सेता दरबारजस्ता । फेरि यस्तैयस्तै आकृतिका अर्कोतिर अग्लिएर उभिएका छन्– हिमलुङ, सारिबुङ, कङ्गारु र पिसाङलगायतका अनेक बेनामे चुचुराहरू । उठेको त्यो भूगोलबाट देख्दै थिएँ म हिमालैहिमालको हिमाल ।’
आख्यानात्मक संरचनाका यी रचनाहरूमा चरित्रले घटनालाई डो¥याएको छ । यात्राका सहभागी पात्रहरू नै चाखलाग्दा छन् । चाहे ती फिलिप वा म्याक्सिम हुन् वा बेनामका बेनीका मगर, कृष्ण श्रेष्ठ, कर्मा, सोनाम वा नारका निमा घले दम्पती हुन् । यिनीहरूसँग छ– थाकका थाक जीवन्त अनुभव कोसेली । यसमा नियात्राकारले थपेका छन्– आनै सूचनात्मक अनुभूतिराशि ।
‘हेलम्बुमा हेलिँदा’ मूल शीर्षकअन्र्गतका ‘ल्यासब्याकमा हेलम्बु’(२०७६ चैत्र ५) र ‘ग्रेटवालको छेउमा पुग्दा’(२०७६ चैत्र ६) गरी दुई नियात्रा रचनाहरू समेटिएका छन् यी यात्रा रचनाहरू सिन्धुपाल्चोकको उत्तरी हिमाली भेग हेलम्बु र यसको सेरोफेरोको यात्रासित सम्बन्धित छ । कोभिडको महामारीले २०७६ चैत्र ११ गतेदेखि स्कुल र कलेजहरू बन्द गर्न र भीडभाड नगर्न उर्दी जारी भएको समयलाई सदुपयोग गर्दै माधव घिमिरे ‘अटल’, जयनाथ भण्डारी र पुरु लम्सालका साथमा नियात्राकार बौद्धमार्गीहरूको बसोबास भएको हेलम्बुतिर हानिन्छन् । पहिलो दिन शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै, सुन्दरीजल, मूलखर्क र चिसापानी भएर कुटुम्साङसम्म पुग्ने उनीहरूको योजना तुहिन्छ । मोटरसाइकलमा पेट्रोलको अभावको कारण चिप्लिङसम्म पुगेका उनीहरू इन्धनको लागि मेलम्ची फर्कन बाध्य हुन्छन् । यही यात्राबीच सन् २००१ को अप्रिल महिनामा चारजना मलेसियन लिम परिवारलाई आफूले गराएको क्याम्पिङ ट्रेकको स्मृतिमा हराउन पुगेका छन्– नियात्राकार । यस नियात्रामा स्मृति बिम्बको सुन्दर प्रयोग गरिएको छ ।
यात्राक्रममा नेपाली इतिहासमा कुटिल षडयन्त्रका पानाहरू पल्टाइएका छन् । रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरी यही षडयन्त्रको शिकार बन्न पुगेको ऐतिहासिकीसहित ह्योल्मो सस्कृतिको परिचायक यस क्षेत्रको बहुआयामिक महङ्खवको वर्णन गरिएको छ । पछिल्लो समय पर्यटन प्रबद्र्धनका लागि स्थानीय स्तरमा भइरहेको प्रयासको प्रशंसा गर्दै १०८ फिट अग्लो बुद्धको प्रतिमासहित नुवाकोट, रसुवा र सिन्धुपाल्चोक छुनेगरी निर्माण हुन लागिरहेको ६० कि. मि. लामो ग्रेटवालले हेलम्बुबासीको भविष्य उज्यलिने आशावादी दृष्टिकोण पनि यस रचनामा प्रस्तुत छ ।
‘पिके पिकको झलक’ मूल शीर्षकअन्तर्गतका ‘आनै दिन आनै मर्जी’(२०७७ कार्तिक २२) र ‘पिके पिक आरोहण’(२०७७ कार्तिक २३) मा मनमौजी यात्राअनुभूति समेटिएका छन् । सोलुखुम्बुको उच्चभूमिमा ४,०६५ मिटरको उचाइको पिके पिक यात्राक्रममा नियात्राकार सहयात्री जयनाथ भण्डारी, आदर्श महत, माधव घिमिरे‘अटल’का साथ मोटरसाइकलको यात्रा गर्दै सोलुको दोराखर्क पुग्छन् । र, त्यहाँबाट देन्डीपुत्र पेमा शेर्पालाई पथप्रदर्शक बनाएर रामदिङ, ताक्ुलुङ हुँदै ल्हामुजे थुम्को, टाप्टिङ र साम्सिङको कठोर उकालो उकालिँदै पिके पिक बेसक्याम्प पुग्छन् । पिके पिकजस्ता डाँडा, थुमहरूलाई पर्यटकीय दृष्टिले सम्बर्धन गर्न सकिए नेपाली अर्थतन्त्रमा ठूलो ठेवा मिल्ने सम्भावना औल्याउँदै उनी लेख्छन्ः
साक्ष्य– ५
प्रबद्र्धन गर्न सके पिके पिकजस्ता दूरबिन डाँडाहरू हजारौँ हजार छन् नेपालमा । हाम्रो आनै मौलिक संस्कार र संस्कृति छन् । अतिथि सत्कारमा समर्पित हातहरूको कमी छैन । ‘भिजन’ र ‘मिसन’ भएका सक्षम नेतृत्व भइदिए पो ! हिरारूपी पिके पिक भेट्न यति धेरै समय लाग्यो । नत्र यो ठाउँ उहिल्यै अन्नपूर्णा क्षेत्रको अस्ट्रेलियन क्याम्पजस्तै भइसक्नुपथ्र्यो । मनोलाप गर्दै गर्दा चिनियाँ प्राध्यापक डा. हुले भनेको सम्झेँ– ‘नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ ।’’
‘रुबी भ्याली स्मृतिका कोसेली’ मूल शीर्षकको नियात्रा रचनामा ‘अन्तहीन दृश्य’ (२०७७ मङ्सिर २२), ‘तिप्लिङमा तरङ्गिएको मन’(२०७७ मङ्सिर २२) र ‘स्मृतिमा चालीस गाउ’ँ(२०७७ मङ्सिर २४) गरी तीन वटा रचनाहरू समेटिएका छन् । यी रचनामा धादिङ जिल्लाको उत्तरी हिमाली भेगअन्तर्गत रुबी भ्यालीसँग साटिएको प्रेमानुभूतिको प्रस्तुति छ । गणेश हिमाल पर्यटन विकास समितिको आतिथ्यमा रसुवा–नुवाकोट पर्यटन समाजको प्रतिनिधिङ्खव गर्दै पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूका साथमा नियात्राकार त्यस क्षेत्रमा पर्ने खुर्पु भन्ज्याङ(युरी खर्क), पार्वतीकुण्ड हुँदै पाङसाङ भन्ज्याङ र तिप्लिङ पुग्छन् । यसै क्षेत्रको अनुभूति ‘अन्तहीन दृश्य’ र ‘तिप्लिङमा तरङ्गिएको मन’ शीर्षकको नियात्रामा प्रस्तुत गरिएको छ । रुबी भ्यालीको प्राकृतिक, जैविक, सांस्कृतिक सम्पदा, बोन्पो धर्म संस्कृति मान्ने गुरुङ र तामाङहरूको जातीय इतिहास, उनीहरूको घाटु र सोरठी नाचको नालीबेली ‘स्मृतिमा चालीस गाउ’ँ शीर्षकको रचनामा खोतलिएको छ ।
बौद्ध धर्मावलम्बीको बसोबास भएको धादिङको उत्तरी हिमाली क्षेत्रमा बढ्दै गइरहेको इसाइकरण बारे नियात्राकार चिन्ता र चासो व्यक्त गर्दै लेख्छन्ः
साक्ष्य– ६
‘अचेल त पहाडले पनि इसाई धर्मको प्रतीक ‘क्रस’को नाकफुली लगाउन थालिसकेछन् । परम्परागत रङ्गिन लुङ्दरको बुलाकीले शोभायमान हाम्रा पहाडलाई जबरजस्ती लगाइदिएको फुली अशोभनीय लाग्यो मलाई ।’
यस नियात्रा कृतिमा सङ्कलित रचनाहरूमध्ये सबैभन्दा पछिल्लो यात्राअनुभूति ‘टुरिजम याम ट्रिप– २०११’ मूल शीर्षकका ‘सेल्फी डाँडामा सेल्फी’ र ‘माझीगाउँका मनहरू’मा ब्यक्त गरिएको छ । पर्यटन व्यवसायी बोधराज भण्डारीको सौजन्यमा पर्यटन प्रबद्र्धनको उद्देश्यले पर्यटन व्यवसायी र पत्रकारहरूसहित नियात्राकार सिन्धुलीको मूलकोटस्थित सिन्धुली–रामेछाप सिमा जोड्ने सुनकोशी किनारको ताज रिभरसाइड रिसोर्टमा बास बस्न पुग्छन् । मूलकोटबाट नौ कि. मि. परको रातमाटे सेल्फी डाँडासम्मको यात्रा सन्दर्भमा लेखिएको ‘सेल्फी डाँडामा सेल्फी’मा अघिल्लो दिन(२०७७ माघ २६) को यात्रा अनुभूति प्रस्तुत छ । पृथ्वीनारायण शाहले अङ्ग्रेजसँगको युद्धको क्रममा मूलकोटमा हतियार भण्डारण गरेको ऐतिहासिक तथ्यसहित सडकमै स्थापना गरिएको सेतीदेवी मन्दिर निर्माणसम्बन्धी जनविश्वासको रोचक प्रस्तुतिले यो नियात्रा रोचक बनेको छ ।
‘सेल्फी डाँडामा सेल्फी’कै निरन्तरताका रूपमा २०७७ माघ २७ गते गरिएको यात्रानुभूति ‘माझीगाउँका मनहरू’ नियात्रामा समेटिएको छ । सेल्फीडाँडापछि उनीहरू सुनकोशी पारि माझीगाउँ पुग्छन् । आदिवासी माझी जातिको बासोबास रहेको त्यस गाउँका माझीहरूको जातीय इतिहास र संस्कृतिप्रति नियात्राकारको गहिरो चासो देखिन्छ । काँश कुसवार थरीका स्थानीय माझीहरूको शारीरिक बनौट, उनीहरूको दिनचर्या वर्णनक्रममा नियात्राकार आफू जन्मे हुर्केकको थातथलोको स्मृति चित्र यसरी उतार्छन्ः
साक्ष्य– ७
‘डाँडामा चलिरहेको न्यानो वायुमा अनुरक्त मेरो मन स्वच्छ सुनकोशीको सतहमा पुग्छ । आनै जन्मभूमि नुवाकोटको भैरवी मन्दिरसँगैको शीत्तलपाटीमा बसेर तादी खोला र त्रिशूली नदी हेर्दाको जस्तै लाग्छ, सुनकोशीको चाललाई । तादी किनार छेउका मालाकोट र घोडघाटजस्तै लाग्छ, सुनकोशी किनार छेउ बसेको माझीबस्ती ।
भाषिक विन्यास
यस कृतिमा ११ वटा मूल शीर्षक र त्यस अन्तर्गत ३१ वटा नियात्रा रचनाहरू समाविष्ट छन् । प्रायः स्थानिक परिवेशको सङ्केतस्वरूप चयन गरिएका मूल शीर्षकले उपशीर्षकको भाव वा आशयलाई स्मृतिबिम्बको माध्यबाट समेटेको छ । नियात्रामा भैगोलिक तथा सांस्कृतिक परिवेशको चित्रण गर्ने, सहभागी चरित्रको भाव दशाको उत्खनन गर्ने र समकालीन राष्ट्रिय राजनीतिक जीवनप्रतिको असन्तुष्टि व्यक्त गर्ने क्रममा चयन गरिएका भाषा र लवज परिष्कृत र ओजपूर्ण छ । पात्रसँगको संवादमा परिवेश अनुकूलन लवजको प्रयोग गरिएको छ । पेशागत धर्म निर्वाहको क्रममा सहयात्री विदेशीसँग स्थानीय भौगोलिक अवस्थिति, समाजिक, सांस्कृतिक पक्षको जानकारी दिन प्रयोग गरिएको अङ्ग्रेजी लवजले पनि नियात्रा रचनालाई स्वाभाविक बनाएको छ । प्रकृतिको अप्रतिम र रहस्यमय छटाबाट विमोहित हुँदाको भावदशामा भाषिक विचलनयुक्त काव्यिक भाषामा आनो अनुभूति व्यक्त गर्न सक्ने सामथ्र्य नियात्राकारको विशिष्ट पक्ष बन्न पुगेको छ ।
दैनिकी शैलीमा आनो सूचनाराशिको सन्तुलित संयोजनले यो कृतिलाई गुरुङ्खव प्रदान गरेको छ । ठाउँठाउँमा घटनालाई चरित्रले डो¥याई अभिव्यक्ति दिने क्रममा आख्यानात्मक शैली वरण गरिएको छ । यसले पाठकमा पर्याप्त कुतूहलता सिर्जना गर्न सक्छ । अनुकूल/प्रतिकूल परिस्थितिजन्य अनुभूतिलाई सहज अभिव्यक्ति दिने क्रममा नियात्राकारले गीतको बोल र धून गन्गुनाएका छन् । यसले नियात्रा रचनालाई थप सुरुचिपूर्ण बनाएको छ ।
समग्रमा वैयक्तिक अनुभूतिको प्रगाढतालाई छिटो छरितो र गेयात्मक वाक्य विन्यासमा सहज र सरल ढङ्गले प्रवाहपूर्ण बनाई प्रस्तुत गर्न सक्नु यस कृतिको विशिष्ट पक्ष हो ।
निष्कर्ष
समकालीन नेपाली नियात्रा साहित्य लेखनको परिधि विस्तारमा कृष्ण बजगाईं, दामोदर पुडासैनी ‘किशोर’, श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, पवन आलोक, युवराज नयाँघरे, प्रतीक ढकाल, जय छाङ्छा, चन्द्रप्रसाद भट्टराई, रामप्रसाद पन्तहरूको विशिष्ट योगदान रहेको छ । यही पङ्क्तिमा पछिल्लो समय अत्यन्त सक्रिय र ऊर्जाशील प्रतिभाका रूपमा देखा परेका व्यक्तिङ्खव हुन्– राजेन्द्रमान डङ्गोल । यो कृति उनको नियात्रा लेखन यात्राको निरन्तरताको दोस्रो साक्ष्य हो । यो कृतिमा व्यावसायिक प्रयोजन, पर्यटन प्रबद्र्धन र स्वतन्त्र वा मनमौजी ढङ्गले सम्पन्न वैयक्तिक यात्रा अनुभूतिलाई दैनिकी लेखनको ढाँचामा, व्याख्यात्मक र विवरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । उच्च हिमाली भेगको जनजीवन र संस्कृतिप्रति नियात्राकारको गहिरो अभिरुचि देखिन्छ । उच्च स्थानबाट देखिने अलौकिक, रहस्यमय दृश्य, त्यहाँका थुम, भन्ज्याङ, घाँटी, नदीनाला, छहरा छाँगा, ताल तलैयाजस्ता प्राकृतिक सम्पदाको महिमा (साक्ष्य–५),बौद्ध स्तूपा छ्योर्तेन, मणिवाल वा लुङ्दा–लुङ्दरले सिँगारिएको सांस्कृतिक झाँकी उनको लेखनको विषय क्षेत्र बनेको छ । त्यसैगरी उनले जैविक विविधतायुक्त हिमाली, पहाडी भूबनोट, जडिबुटी, पशुपन्छीको उपयोगिता र महङ्खव(साक्ष्य–१) बारे विभिन्न सूचना र तथ्यसहित आनो अभिमत जाहेर गरेका छन् ।
यात्राक्रममा उकालो लाग्दा वा ओराली झर्दाका विहङ्गम रोमाञ्चक दृश्य(साक्ष्य–४), भौगोलिक अवस्थिति, सहयात्री र पदयात्रीसँगको भलाकुसारीको शैली, बाटोमा पर्ने गाउँ–बस्ती, पहाड हिमाल, नदीनाला, छहरा, गुम्बा र मन्दिरको नामकरणसम्बन्धी स्थानीय जनश्रुति, किम्वदन्ती वा मिथको घतलाग्दो प्रस्तुति, लिच्छवीकालीन, राणाकालीन ऐतिहासिक तथा सांस्कृतिक वैभव उत्खननले पनि यो कृति अध्येता, अनुसन्धाताका लागि पनि पठनीय सामग्री बन्न पुगेको छ । नियात्राकार काठमाडौँ वरिपरिको ग्रामीण प्राकृतिक परिवेशमा पाइने मौलिक जातीय संस्कृति, ऐतिहासिक विशिष्टताको खोजिसहित देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण(साक्ष्य–६) प्रति गहिरो चिन्ता र चासो पनि व्यक्त गर्छन् । समकालीन नेपाली राजनीति र समाजमा ब्याप्त भ्रष्टिकरण(साक्ष्य–२) प्रति उनी आलोचनात्मक दृष्टि राख्छन् । यात्राक्रममा विभिन्न स्थानमा पुग्दा अनुभूत भावराशिमा उनी आनो जन्मथलोको साम्यता(साक्ष्य–७) पनि खोज्छन् र नोस्ट्याल्जिक हुन्छन् । आनो थातथलोप्रतिको गहिरो अनुरागसहित उनको नियात्रा रचना देशप्रेमको भावनाले उज्यालिएका छन् ।
छिटो छरितो वाक्य विन्याससहित काव्यिक भाषा(साक्ष्य–३) मा देश दर्शन र चिन्तनको अनुभूति प्रस्तुतिमा उनी जति सफल देखिन्छन्, सार्थक यात्राको निरन्तरतामा पनि उत्तिकै इमानदार र प्रतिबद्ध देखिन्छन् । त्यसैले आगामी दिनहरूमा उनीबाट अझ गहकिलो नियात्रा कृतिको अपेक्षा गर्न सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।