14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निबन्ध लेखन

विचार विजयराज आचार्य November 16, 2021, 4:36 pm
विजयराज आचार्य
विजयराज आचार्य

गद्य विधाको छोटो रचनालाई निबन्ध भनिन्छ । निबन्ध विचार भावलाई कलात्मक ढङ्गले प्रतिपादन गर्ने विधा हो । निबन्धमा भावना मिसिएको हुन्छ । भावना नमिसिएको निबन्ध निरस र सूचनाको थुप्रोजस्तो मात्र हुन्छ । निबन्ध साहित्यको अन्य विधा आख्यान, काव्य र नाटकभन्दा पछिल्लो समयमा लेख्न थालिएको साहित्यिक विधा हो । निबन्ध अहिले संसारभरी नै चर्चित र स्थापित बनिसकेको छ । निबन्ध विधाको जन्म फ्रान्समा भएको हो । निबन्ध विधा फस्टाउने र विस्तार हुने कामचाहिँ बेलायतमा भएको हो । निबन्ध साहित्यको स्वतन्त्र विधाको रूपमा स्थापित भइसकेको छ ।
निबन्ध आत्मपरक र वस्तुपरक गरी दुई प्रकारले लेखिन्छ । आत्मपरक निबन्ध संवेदनाप्रधान हुन्छ भने वस्तुपरक निबन्ध विषयप्रधान हुन्छ ।
आत्मपरक निबन्धलाई निजात्मक भावपरक निबन्ध भनिन्छ । यस्तो निबन्धमा लेखकको निजी विचार वा कल्पना बढी हुन्छ । वस्तुपरक निबन्धलाई परात्मक निबन्ध भनिन्छ । यस्तो निबन्ध वर्णनात्मक, विवरणात्मक तथा विचारपरक हुन्छ । वस्तुपरक निबन्धमा सत्यता र विषयवस्तुको प्रधानता हुन्छ ।
आत्मपरक निबन्ध प्रथम पुरुष म हामीमा लेखिन्छ । वस्तुपरक निबन्ध तृतीय पुरुष दृष्टिविन्दुमा लेखिन्छ । आत्मपरक निबन्धमा निबन्धकारको निजी विचार व्यक्त गरिन्छ । वस्तुपरक निबन्धमा विषयलाई प्राथमिकता दिइन्छ ।
आत्मपरक निबन्धमा निबन्धकारले आफ्नो व्यक्तिगत र निजी विचारलाई कलात्मक भाषाका माध्यमबाट प्रस्तुत गर्नुपर्छ । वस्तुपरक निबन्धमा कुनै पनि विषयवस्तुमा आधारित भई त्यससँग सम्बन्धित सत्यतथ्य कुराको क्रमबद्ध वर्णन वा विवेचना गर्नुपर्छ ।
निचोडमा भन्नुपर्दा आत्मपरक निबन्ध कल्पनामा आधारित हुन्छ । वस्तुपरक निबन्धचाहिँ सत्यतथ्यमा आधारित हुन्छ । आत्मपरक निबन्ध भावनात्मक र विचारात्मक गरी दुई प्रकारका हुन्छन् । वस्तुपरक निबन्ध पनि विवरणात्मक र वर्णनात्मक गरी दुई प्रकारका हुन्छन् । भाव पक्षलाई जोड दिँदै कल्पनाको उडानका भरमा लेखिएको निबन्धलाई भावनात्मक निबन्ध भनिन्छ । तर्क, चिन्तन र विचारको प्रधानता रहेको निबन्ध विचारात्मक निबन्ध हो ।
जुनसुकै घटनालाई सिलसिला मिलाई पूर्ण विवरणका साथ प्रस्तुत गरिने निबन्ध नै विवरणात्मक निबन्ध हो । आफूले अनुभव गरेको वस्तु, घटना, प्रकृति आदिको तथ्यपरक ढङ्गले वर्णन गरेर लेखिएको निबन्ध नै वर्णनात्मक निबन्ध हो । वर्णनात्मक निबन्धमा कल्पनाको भन्दा तथ्य कुराले प्राथमिकता पाउँछ । देखेको–सुनेको कुनै घटना र वस्तु आदिलाई कलात्मक तरिकाले लेखिने निबन्ध वर्णनात्मक निबन्ध हो । वर्णनात्मक निबन्धमा कुनै वस्तु वा विषयको स्वरूप र संरचनालाई वर्णनात्मक तरिकाले प्रस्तुत गरिन्छ ।
निबन्धकारको अनुभूति, अनुभव, ज्ञान र विवेकको उचित प्रयोग गरी घटनाप्रधान भएर लेखिएको निबन्ध विवरणात्मक निबन्ध हो ।
गहन विचार भएको चिन्तनप्रधान निबन्ध विचारात्मक निबन्ध हो । प्रेम, माया, करुणाजस्ता विषयलाई बौद्धिक–तार्किक तरिकाले लेखिएको निबन्ध भावनात्मक निबन्ध हो । निबन्धकारको मनमा उब्जिएको भावना, अनुभूति, कल्पना समेटेर लेखिएको निबन्ध भावनात्मक निबन्ध हो ।
कथामा जस्तो निबन्धमा पनि आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन् ।
आदि ः सुरुको भागमा निबन्धको शीर्षकको चिनारी र विषयवस्तुको परिचय गराउनुपर्छ । जुन विषयमा निबन्ध लेख्ने हो त्यसको परिचय पनि आदि भागमा दिनुपर्छ ।
मध्य ः मध्य भागमा निबन्ध लेख्नका लागि छानिएको विषयको विशेषता, महत्व र गुणदोषको विश्लेषण र विवेचना गर्नुपर्छ ।
अन्त्य ः निबन्धको अन्त्य भागमा विषयवस्तुको निचोड वा सारांश प्रस्तुत गर्नुपर्छ ।
वस्तु शैली र उद्देश्य गरी निबन्धका तीन तत्व हुन्छन् ।
वस्तु ः निबन्धको लागि वस्तु अत्यावश्यक तत्व हो । बाह्य सामग्री नभई मानव मस्तिस्क र दृश्यसँग सम्बन्धित कुरालाई वस्तु भनिन्छ । वस्तुअन्तर्गत भाव तत्व र वृद्धि तत्व हुन्छन् । सुकुमार संवेदना, रागात्मक गम्भीर्य, ध्वन्यात्मकता र चिन्तनका तरलता भाव तत्वअन्र्तगत पर्दछन् । कल्पना र दृष्टान्तले भाव तत्वलाई सजाइएको हुन्छ । निजात्मक निबन्धमा भाव तत्वले राम्रोसँग खेल्ने मौका पाउँछ ।
चिन्तन, विचार, कार्यकरणतर्पm गराइ र औचित्य निर्वाह बुद्धि तत्वअन्तर्गत पर्दछन् । मस्तिष्क जति तिखारिएको हुन्छ, बुद्धि त्यति नै तीव्र हुन्छ । बुद्धि जति तीव्र हुन्छ, चिन्तन र विचार त्यति नै प्रभावकारी हुन्छ । बुद्धि मानव मस्तिष्कको खारिएको प्रतिभा हो । बुद्धि र हृदय निबन्धका मुख्य सामग्री हुन् ।
शैली ः निबन्धको प्रस्तुतीकरणको तरिका र पद्धति नै शैली हो । आफ्नो विचार वा विषयवस्तुलाई निबन्धभर प्रस्तुत गर्न तयार गरिएको शब्द, वाक्य र अनुच्छेदको बनोटलाई शैली भनिन्छ । भाव र भाषालाई एकै ठाउँमा समन्वित गर्ने ढङ्ग नै शैली हो ।
निबन्ध लेखनको क्रममा शैलीले ठुलो भूमिका खेल्ने भएकोले शैलीलाई निबन्धको प्रमुख तत्वका रूपमा मानिन्छ । निबन्धमा रसिला, रमाइला र विषयवस्तु सुहाउँदो शैली हुनुपर्छ ।
उद्देश्य ः निबन्धकारले आफ्नो कुनै न कुनै उद्देश्य पूरा गर्नका लागि निबन्ध लेख्छन् । प्रायःजसो निबन्धकारले आत्पप्रकाशन र सूचना दिने उद्देश्यले निबन्ध लेख्दछन् । निबन्धकारले देखेको, भोगेको, सुनेको, अनुभव गरेका र कल्पना गरेका कुरालाई कलात्मक ढङ्गबाट पाठकसमक्ष प्रस्तुत गर्नु नै निबन्धको मुख्य उद्देश्य हो ।
निबन्धकारले निजी दृष्टिको र अनुभूतिका माध्यमबाट स्वको चिनारी गराउनु आत्मप्रकाशन हो । निबन्धको उद्देश्य सूचना प्रदान गर्नु पनि हो । आपूmले जाने बुझेको कुरोलाई आम पाठकसमक्ष निबन्धमार्पmत सुचना पु¥याउने उद्देश्य निबन्धकारको हुन्छ ।
निबन्धलाई निम्न चरणमा लेख्न सकिन्छ ः
१ विषयको शीर्षकको चयन
२ बुँदा टिपोट
३ सामग्री सङ्कलन
४ क्रम निर्धारण
५ अनुच्छेद लेखन
६ निष्कर्ष लेखन
७ पुनर्लेखन
यसरी सात चरण्मा निबन्ध लेखिन्छ ।
विषय अथवा शीर्षकको चयन ः निबन्धकारले जानेको, बुझेको, अनुभव वा अनुभुति गरेकोमध्ये कुन विषयमा निबन्ध लेख्ने हो ? विषयको छनोट गरी विषयअनुसारको उपयुक्त शीर्षक छनोट गर्नुपर्छ । शीर्षकले निबन्धको सिङ्गो विषयवस्तुको प्रतिनिधित्व गर्नुपर्छ । शीर्षक सकेसम्म छोटो र चोटिलो हुनुपर्छ । निबन्धको शीर्षक आकर्षक हुनुपर्छ । शीर्षकले नै सिङगो निबन्धको झलक देखाउनुपर्छ । निबन्धकारले विषयवस्तुको आधारमा निबन्ध लेख्न सक्नुपर्छ ।
सामग्री सङ्कलन ः निबन्धकारले निबन्ध लेख्नका लागि छनोट गरेका विषयसँग सम्बन्धित सामग्री अध्ययनका लागि सङ्कलन गर्नुपर्छ ।
बुँदा टिपोट ः निबन्ध लेख्नका लागि सबभन्दा पहिले विषय छनोट गर्नुपर्छ । विषय छनोटपछि शीर्षक लेख्ने । विषय र शीर्षक छनोटपछि सामग्रीको आधारमा आवश्यक तथ्यहरूलाई सिलसिलेवार तरिकाले बुँदामा टिपोट गर्नुपर्छ ।
क्रम निर्धारण ः बुँदाका आधारमा निबन्धलाई आदि, मध्य र अन्त्यसम्म कसरी लेख्ने ? भनेर क्रम मिलाउनुपर्छ । निबन्ध लेख्दा आदि अथवा सुरुमा विषयवस्तुको परिचय दिनुपर्छ । मध्यमा विषयवस्तुको व्याख्या र राम्रा–नराम्रा पक्ष लेख्नुपर्छ । अन्त्यमा सिङ्गै निबन्धको निष्कर्ष लेख्नुपर्छ ।
निष्कर्ष लेखन ः निबन्ध लेखिसकेछि आफूले लेखेको निबन्ध अध्ययन गरेर निष्कर्ष लेख्नुपर्छ ।
पुनर्लेखन ः निबन्धलाई जति धेरै पटक पुनर्लेखन ग¥यो त्यति नै स्तरीय हुन्छ । निबन्धलाई स्तरीय बनाउन पटकपटक पुनर्लेखन गर्नुपर्छ ।
निबन्ध सुललित, हास्यव्यङ्ग्य, नियात्रा, चेतनप्रवाह, पत्रात्मक, दैनिकी, संस्मरण, जीवनी गरी आठ प्रकारका हुन्छन् ।
विषयवस्तुका आधारमा निबन्ध वर्णनात्मक, विवरणात्मक, विचारात्मक र भावनात्मक गरी चार प्रकारका हुन्छन् ।
वर्णनात्मक ः कुनै विषयको नालीवेली खुट्याएर वर्णन गर्ने काम वर्णनात्मक निबन्धले गर्नुपर्छ । वर्णनात्मक निबन्धको विषय प्राणी भए प्राणी पाइने स्थान, आकारप्रकार, स्वभाव, विचित्रता र उपसंहार मिलाएर लेख्नुपर्छ । विषय मान्छे भए परिचय, प्राचीन इतिहास, वंश परम्परा, भाषा, धर्म, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवन समेट्नुपर्छ । विषय स्थान भए स्थान, नामकरण, इतिहास, जलवायु, शिल्प, व्यापार, जाति, धर्म, रमणीय स्थान आदि समेट्नुपर्छ । विषय वस्तु भए उत्पत्ति, प्राकृतिक वा कृत्रिम, प्राप्तिस्थान, कुन अवस्थामा पाइन्छ ? कृत्रिमताको इतिहास, उपसंहार आदि समेट्नुपर्छ ।
विवरणात्मक ः विवरणात्मक निबन्धमा निबन्धकारले कुनै खास घटना वा विषयको बेलिविस्तार लगाउनुपर्छ । विषय ऐतिहासिक भए घटना, समय र स्थान, ऐतिहासिकता, पृष्ठभूमि, कारण र वर्णन राम्रो नराम्रो पक्ष निबन्धकारको धारणामा समेट्नुपर्छ । विषय जीवन चरित्र भए परिचय, जन्म, वंश, आमाबुबा, बाल्यकाल, शिक्षा, पेशा, राष्ट्र वा विश्वकै लागि पु¥याएको योगदान, राम्रा नराम्रा पक्ष, मृत्यु, भावी पुस्ताका लागि उनको आदर्श । विषय भ्रमण वृतान्त भए परिचय, उद्देश्य, समय आरम्भ, यात्राको विवरण, उपलब्धि, सामाजिक–आर्थिक स्थिति, व्यापार, कला संस्कृति, यात्राको समीक्षा र निष्कर्ष समेट्नुपर्छ । विषय आकस्मिक घटना भए परिचय, गते, स्थान, कारण, विवरण, घटनाका अन्त्य, उपलब्धि र समीक्षा समेट्नुपर्छ ।
विचारात्मक ः विचारात्मक निबन्धमा लेखकले बीचबीचमा आफ्नो विचार दिन्छ । धर्म, दर्शन, राजनीति, साहित्य, संस्कृित आदि जुनसुकै विषयवस्तुमा विचारात्मक निबन्ध लेख्न सकिन्छ । कुनै गुणदोष वा उपलब्धिको वर्णन विचारात्मक निबन्धमा गरिन्छ । विचारात्मक निबन्ध अर्थ, परिभाषा, परिचय, सार्वजनिक, सामाजिक, स्वभाव ,संंयम, गुणदोष, नाफा नोक्सान, दृष्टान्त प्रमाण समेटेर लेखिन्छ ।
भावात्मक निबन्ध ः भावात्मक निबन्धमा अमुर्त भावहरूको उपस्थापन हुन्छ । दया, देशप्रेम, करुणा, आशा आदि भावात्मक निबन्धका विषयवस्तु हुन् । यसमा हार्दिकता, सौकुमार्य र संवेदनशीलता हुन्छ ।
विषयवस्तुको आधारमा वस्तुपरक, भावपरक र विचारपरक गरी तीन प्रकारका निबन्ध हुन्छन् ।
वस्तुपरक निबन्धमा विषयवस्तुको यथार्थता र तथ्यहरूको मात्रा बढी हुन्छ । वस्तुपरक निबन्धमा निबन्धकार स्वयम् उपस्थित नभई दर्शकजस्तो बनेर विषयवस्तुको विश्लेषणात्मक प्रस्तुति गर्नुपर्छ ।
भावपरक निबन्धमा साहित्यिकता र आत्मपरकता हुनुपर्छ । विचारात्मक निबन्धमा कुनै सिद्धान्त वा विचारको पृष्ठभूमि, विषयवस्तुलाई तार्किक र विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्नुपर्छ ।
निबन्धमा बाह्य घटना, पात्र, परिवेशको भन्दा निबन्धकारको निजी विचार र दृष्टिकोणको विशेष भूमिका हुन्छ ।
निबन्ध जुनसुकै विषयमा लेख्न सकिन्छ । स्रष्टाको रुचि क्षमता चिन्तन विचार र ज्ञानको आधारमा एउटा निश्चित विषयवस्तुमा निबन्ध लेख्नुपर्छ ।
निबन्ध निर्देशित र स्वतन्त्र गरी दुई तरिकाले लेखिन्छ । विद्यालय वा विश्वविद्यालयका विद्यार्थीहरूलाई लेखाइने निबन्ध निर्देशित निबन्ध लेखन हो । यस्ता निबन्ध लेख्नका लागि शीर्षक, विषय र शब्द सङ्ख्यासमेत तोकिएको हुन्छ । स्वतन्त्र लेखनका लागि कुनै पनि सीमा बन्धन हुँदैन ।
निबन्ध एक प्रकारको आत्मप्रकाशनका प्रयत्न हो । निबन्धकारले निबन्धमार्पmत स्वको अभिव्यक्रि गर्दछ । निबन्धकारले पाठकसमक्ष निकटतम आत्मीयता स्थापित गर्नुपर्छ । सीधै शिक्षा दिने, सन्देश वा उपदेश दिने कामचाहिँ गर्नु हुन्नँ । निबन्धले लेखकलाई आफूसँग भएको ज्ञानलाई अरूसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।
धार्मिक पर्व, सांस्कृतिक पर्व, राष्ट्रिय पर्व, समस्या, मौसम, सामाजिक राजनीतिक आर्थिक वैज्ञानिकलगायत दुनियाकाँ जुनसुकै विष्यमा निबन्ध लेख्न सकिन्छ । व्यक्तिगत चिनजान वा कुनै स्वार्थले निबन्धको विषयवस्तुमा प्रभाव पार्नु हुन्न । आफूले लेखेको निबन्ध सबैले मन नपराउन सक्छन् तर निबन्ध निष्पक्ष भएर लेख्नुपर्छ । निष्पक्षता नै निबन्धको पहिलो र अन्तिम कडी हो ।
निबन्ध लेख्दा ध्यान दिनुपर्ने कुराहरू ः
१ निबन्ध लेख्नुभन्दा पहिले सम्बन्धित विषयको ज्ञान व्यापक हुनुपर्छ ।
२ क्रमबद्ध तरिकाले विचारलाई प्रस्तुत गर्नुपर्छ ।
३ निबन्धको भाषा सरल र रोचक हुनुपर्छ ।
४ निबन्धका वाक्य छोटा र सरल हुनुपर्छ ।
५ निबन्धमा अनावश्यक वर्णन गर्नुहुन्न । छोटो र सटिक तरिकाले लेख्नुपर्छ । शब्द चयनमा ध्यान दिनुपर्छ । अनावश्यक शब्दको प्रयोग गर्नुहुँदैन ।
६ व्याकरणको नियम उचित ढङ्गले प्रयोग गर्नुपर्छ ।
७ निबन्धमा विषयअनुसार प्रेरक प्रसङ्गको उल्लेख गर्दा रोचक हुन्छ ।
८ सुरु, मध्य र अन्त्यमा कुनै उक्ति वा विषयसँग सम्बन्धित कविताका पंक्तिहरू प्रयोग गरियो भने निबन्ध थप रोचक बन्छ ।
आत्मप्रकाशनको क्षमताको अभिवृद्धि, सामयिक चेतनाका विकास, भाषिक क्षमताको विकास, कल्पनाशक्तिको विकास र विषयको ज्ञान बढाउनु निबन्धका विशेषता हुन् ।
निबन्ध साहित्यिक र तथ्यपरक गरी दुई प्रकारका हुन्छन् । साहित्यिक निबन्ध रागात्मक भाषा र आलाङ्कारिता र कलात्मक हुन्छ । तथ्यपरक निबन्ध बढी वस्तुपरक हुन्छ । विद्यालय, विश्वविद्यालय लगायत विभिन्न सङ्घसंस्थाहरूले आफ्नो उद्देश्यलाई प्रचारप्रसार गर्ने उद्देश्यले आफूसँग सम्बन्धित विषय दिएर वा नदिई प्रतियोगिताको लागि अथवा परीक्षाको लागि तथ्यपरक निबन्ध लेखाइन्छ ।
ठट्यौली पाराले गरिने छेडपेड वा हँसाउने खालको तिखो व्यङ्ग्य गरी लेखिएको निबन्धलाई हास्यव्यङ्ग्य निबन्ध भनिन्छ । त्यस तरिकाले प्रस्तुत गर्न सक्नु निबन्धकारको उत्कृष्ट खुबी मानिन्छ ।
पाठकले निबन्ध पढ्दा आफ्नै जीवनमा घटेका घटनाको सम्झना गर्ने खालको हुनुपर्छ । पाठक निबन्धमा चुर्लुम्म डुब्नुपर्छ । पाठकले जति धेरै आत्मसात गर्छन् त्यति नै निबन्ध सफल भएको मानिन्छ ।
विद्यालयदेखि विश्वविद्यालयका उच्च कक्षासम्म किन निबन्ध समावेश गरिन्छ ?
१ विद्यार्थीले आफ्ना विचारहरूलाई एकत्र गर्न सिकून् ।
२ विचारहरूलाई सन्तुलित ढङ्गबाट प्रस्तुत गर्न सिकून् ।
३ भाषालाई उपयुक्त ढङ्गबाट प्रयोग गर्न सिकून् ।
४ जुनसुकै विषयमा विद्यार्थीले आफ्नो धारणा निर्धक्क राख्न सकून् ।
५ विद्यार्थीका वैचारिक स्तरको वृद्धि होस् ।
६ संवेदनात्मक तथा वैचारिक स्तरमा परिपक्व बन्न सकून् ।
७ विद्यार्थीले आफ्नो विचारहरूलाई सकारात्मक दिशा दिन सकून् ।
८ आफ्नो विचारलाई दृढतापूर्वक राख्न सकून् ।
९ आलोचनात्मक दृष्टिकोणका विकास हुन सकोस् ।
१० सुगाजस्तो घोक्ने नबनी विचारशील प्राणी बन्न सकून् ।
विद्यार्थीबाट माथि उल्लिखित लक्ष्य प्राप्तिका लागि विद्यायलका साना साना कक्षादेखि विश्वविद्यालयका उच्च कक्षासम्म निबन्धको प्रयोग गर्ने गरिन्छ ।
निबन्ध लेख्नका लागि विचार सङ्कलन गर्ने तरिका ः
१ अरूले लेखेका उत्कृष्ट निबन्ध अध्ययन गर्नाले आफ्नो दिमागमा पनि निबन्धको खाका बन्दै जान्छ ।
२ इन्टरनेट लगायतका विभिन्न सामाजिक सञ्जाल र पुस्तकालयको सहायता लिनुपर्छ ।
३ आफूले छानेको विषयमा आफ्नो धारणा के छ ? त्यो पारिवारिक सदस्य, आफन्त र साथीभाइसँग छलफल गरेर आफ्नो धारणा स्पष्ट पार्नुपर्छ ।
४ आफ्नो अनुभवमा आधारित भएर लेख्ने
संक्षेपमा निबन्ध छोटो छरितो गद्य विधा हो । मनका कुरा पोख्ने माध्यम हो । कुनै विषयमा तटस्थ भएर गरिने वर्णन हो । सामान्य विषयदेखि विशाल विषयसमेतमा लेख्न सकिने विधा हो । निबन्ध जति लेख्यो त्यति परिस्कृत हुँदै जान्छ ।
निबन्ध साहित्यका मुख्य विधाहरूमध्येको एक हो । यसलाई मुक्त विधा पनि भनिन्छ । मानव मनमा उब्जिएको भावना र विचारको स्वतन्त्र गद्य अभिव्यक्ति नै निबन्ध हो । निबन्धमा विषय विशेषको प्रतिबिम्ब हुन्छ । निबन्धमा आन्तरिक आवेश, अनुभूति र मानसिकताको प्रभाव हुन्छ । निबन्ध विषय र आत्मासँग सम्बन्धित हुन्छ । विषय निबन्धको प्राण तत्व हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।