अल्लरे सन्ते दिनभरि हल्लेर हिँड़्छ। त्यसलाई गाउँलेहरूले लफङ्गा भन्छन्। खप्परले झोपड़ीमा थचारे पनि उसको स्वभावचाहिँ महलमा बस्नेको छ। रातभरि जुवा खेलेर घर ढिलो गरी पस्छ। मध्य दिनमा सुत्छ, अम्बल जति सबै खान्छ। कहिलेकाहीँ घरको एक छाक भुले पनि आइतबारको दिन बजार गएर अजिलाको मोमो-थुक्पा चाख्न कहिले बिर्सिदैंन। अल्छेहरूको देश हुने भए सन्ते अवश्यै त्यसको राजा हुनेथियो।
बूढ़ी आमाले जति सम्झाउँदा पनि सन्ते तह लाग्दैन। लोग्नेको मृत्युपश्चात एक्लो विधवी आईमाईले घर र वन दुवै धान्ने आँट गर्थिन्। सन्तेकी आमा पौरखी थिइन् तर छोरोबाट कुनै सहारा नपाएकोले जीवनमा उन्नति गर्न सकिनन्। समयसँगै सन्तेकी आमाको उमेर पनि ढल्दैगयो र बल पनि घट्दै गयो। तसर्थ घरको आर्थिक स्थिति पनि सोचनीय बन्न थाल्यो। घरभित्रको सङ्कटापन्न स्थितिले पनि सन्तेको मनमौजी बानीलाई सुधार्न सकेन।
सन्तेकी आमाको स्वास्थ्य आजभोलि ठीक छैन, घरिघरि बिरामी हुने गर्छिन्। चूल्हा-चैका, बारी-बिरूवा, कुखुरा-बाख्रा, घाँस-दाउराको खटाईले उनको बूढ़ो हड्डीलाई गलाइसकेको छ। सन्तेकी आमालाई चिताभन्दा चिन्ताले जलाइसकेको छ।
आज पनि सन्ते, सधैँ झैं अबेरगरी घर पस्यो। भोकले उसलाई भान्साघरतिर तान्यो र उसले एकपछि अर्को भाँड़ा कोट्याउन थाल्यो। सबै भाँड़ा रित्तो पाएपछि आज घरमा खाना नपाकेको सन्तेले बुझ्यो। उसलाई आमाले आफूमाथि अवहेलना गरेकोजस्तो लाग्यो, त्यो रिसले चुर भयो। मुर्मुरिँदै आमाको कोठातिर पस्यो।
टुकीको धिपधिप उज्यालोमा आमा सुतिरहेकी थिइन्। ठूलो स्वरले आवाज दिँदा पनि आमा उठिनन्। त्यसले आमाको हात समातेर झक्झकायो। आमाको हात छुनेबित्तिक्कै आगोको भुप्रो समातेको जस्तो त्यसलाई अनुभव भयो। आमाको शरीर ज्वरोले तपिरहेको थियो।
मधुरो प्रकाशमा त्यसले आमाको अनुहार राम्ररी नियाल्यो। पहिलोपल्ट उसले आमाको अनुहारका छालाहरू खुम्चिएर चौरी परिसकेको निधारमा बुढ़ेसकालले कोरेको धर्साहरू देख्यो। आँखाका डिलमा थाकेका लोतीहरू झुण्डिरहेका थिए, बङ्गराहरू सबै झरेकाले मुखभन्दा चिउँड़ो ठूलो देखिरहेको थियो। जीवनमा प्रथमपल्ट सन्तेलाई डर लाग्यो।
गाई-बाख्रा कराएकाले सन्तेको निद्रा बिग्रियो। धेरै कोषिष गर्दा पनि त्यो फेरि सुत्न सकेन। पलङको एक छेउदेखि अर्को छेउ, त्यो पल्टिरह्यो तरै पनि त्यसले पलङचाहिँ छोड़ेन। सहीसक्नु नभएपछि अन्तमा सन्ते आङ् तान्दै बाहिर निस्कियो। सकी-नसकी गाई-बाख्रालाई घाँस हाल्दै गरेकी आमालाई देखेर पनि सन्तेको मन पग्लेन। टाड़ैबाट त्यसले टवाल्ल परेर हेरिरहेयो। हेर्दाहेर्दै बाख्राको खोरको नजीक गएर आमा अचानक मुर्छा परिन्। सन्ते आत्तिएर आमातिर कुद्यो।
एकै छिनमा सन्तेको घरमा गाउँभरिका मान्छेहरू भेला भए। खबर सुनेर गाउँका कम्पाउण्डर बाजे पनि आइपुगेछन्। कम्पाउण्डर बाजे गाउँका गन्यमान्य व्यक्तिहरूमा हुन्। उनको औषधीले गाउँ-छिमेकका धेरैजना रोगीहरू निको भएका छन्। उनले रोग निको पारिदिएको दाम कहिले तोक्दैनन्। पैसा नहुनेले कुखुरा - अण्डा दिन्छन्। हुँदै नहुनेले धन्यवादै मात्र पनि दिन्छन्। कम्पाउण्डर बाजे एकदमै भलादमी छन्। सन्तेकी आमा नजीक भएका मानिसहरूले, कम्पाउण्डर बाजेको निम्ति ठाउँ छाड़िदिए। कम्पाउण्डर बाजेले सन्तेकी आमाको आँखा उघारे, निधारमा हात राखे र हातको नाड़ी छामेर केही क्षणको निम्ति आँखा चिम्ले। सन्तेकी आमा एक्कासी खोकेकीले कम्पाउण्डर बाजेको ध्यान भङ्ग भयो। गम्भिर अनुहार बनाउँदै कम्पाउण्डर बाजेले झोलाबाट पर्ची झिके र सर्टको गोजीबाट कलम झिकेर औषधीको नाम लेखे। शारीरिक र मानसिक कमजोरीले छोपेको कारण बिसन्चो भएको अड़कल काट्दै कम्पाउण्डर बाजेले औषधीको पर्चा सन्तेको हातमा थमाइदिए। सन्तेले धन्यवाद दिएपछि कम्पाउण्डर बाजेले विदा लिए। अरू गाउँलेहरू पनि विस्तारै आ-आफ्ना घरतिर लागे।
आमा, कोठामा पूरानो खियाले खाएको टुकी अँध्यारोसँग सकी-नसकी जुझिरहेको थिइन्, उनकै जीवन सङ्घर्षजस्तै कहिले पनि निभ्न सक्ने त्यो बत्ती हावामा हल्लिरहेको थियो। उनले भरसक उठ्ने प्रयास गरिरहेकी थिइन् तर ताकतले साथ छोड़िसकेको थियो। सन्तेकी आमा थला परिन्। अब उनले कमाउन नसक्ने भइन्। रोगले उनको शरीरलाई निल्यो। घरको जिम्मेवारी एक्कासी सन्तेको टाउकोमा खस्यो। नचाहँदा-नचाहँदै पनि घर-परिवारको लोभले सन्तेलाई उठाउन कर लाग्यो।
घरको राशन विस्तारै सकिन थालेपछि सन्तेले विकल्प खोज्न आरम्भ गर्यो। बूढ़ी आमाको पौरखले थुपारेको पशुधन बेचेर घर-खर्च चलाउने त्यसले निधो गर्यो। हेर्दाहेर्दै खोरहरू रित्तै भए। बारी पनि बाँझो थियो, त्यसलाई कसैले ऋण पत्याउने कुरै थिएन। त्यसको जीवनमा ठूलो आपत आइपर्यो। अब सन्तेले काम गर्नैपर्ने भयो। लम्पसार भएर पलङमा लड़िरहेकी विरामी आमा, सन्तेले ‘काम खोज्न जान लागेको’ भनेको सुनेर तीन छक्क परिन्। जे होस्! आमा खुशी भइन् र मनमनै सन्तेलाई आशिर्वाद दिइन्। सन्ते काम खोज्न घरबाट निस्क्यो।
मूल फाटकमा गाउँका धेरै मानिसहरू भेला भइरहेका थिए। भिड़को आकर्षणले सन्तेलाई पनि सहजै तान्यो। त्यसले सोधखोज गर्दा त्यो भिड़ दार्जीलिङ जान तैयार भइरहेको थाह पायो। आज दार्जीलिङ स्टेशनमा पार्टीको विराट जनसभा आयोजना भइरहेको छ अरे! जनसभामा सहभागि बन्नलाई गाउँ वरिपरिका धेरैजना मानिसहरू गाड़ीको पर्खाइमा थिए। रिसी, छुबु र रूधीर प्रबन्धन मिलाउन व्यस्त छन्। उनीहरू समष्टिका धारदार युवा नेताहरू हुन्। रिसीको नजर अचानक सन्तेमा पर्यो। उसले सन्तेलाई हातको इशाराले बोलायो। उसले सन्तेको हातमा पाँच सय रूपियाँ थमायो र अरू प्रबन्धन मिलाउनमा व्यस्त भयो। सन्तेलाई अब जनसभा नगई भएन।
गाड़ीहरू आए, भेला भएकाहरू खाँदिए, एउटा गाड़ीमा सन्ते पनि कोच्रियो। सबै गाड़ीहरू दार्जीलिङतिर गुड़्न थाले। सन्ते, धेरै महिनापछि शहर गइरहेको थियो। जनसभामा भाग लिने सन्तेको मनाशय थिएन। त्यो त दिनभरि दार्जीलिङ शहरमा रङ्गालिन चाहन्थ्यो र अजिलाको होटलमा मोमो-भुटुवासँग तोङ्बा तानेर धेरै दिनको तलतल मेटाउन चाहन्थ्यो।
गाड़ीहरूले शहर प्रवेश गरे। दोकानपाटहरू सबै बन्द थिए। चारैतिर पुलिसका जवानहरू देखिन्थे, मानौ कुनै ठूला युद्धको प्रतिक्षामा उनीहरू बसिरहेका छन्। पार्टीका कार्यकर्ताहरूको चहल-पहल रहे तापनि शहर बिरान देखिन्थ्यो। आज अजिलाको होटल पनि बन्द रहेको अड़कल काटेर सन्ते निराश बन्यो।
कतै नरोकी गाड़ी सिधै पार्टी कार्यालयतिर बढ़यो। त्यहाँ अघिबाटै विशाल जनसमूह भेला भएर कुनै नेताको भाषण सुनिरहेको थियो। गाउँका अरूहरू सरह सन्ते पनि त्यही जनसमुद्रमा मिसियो। भाषण सुनेर धेरै मानिसहरू उत्तेजित भइरहेका थिए।
आक्रोषित युवाहरूले ‘चिहानमा हामी बस्दैनौं‘ ‘होइन भने डाङ-डुङ्’ को गगनभेदी नारा लगाउनथाले। केही समयपश्चात् जुलुस जनसभामा परिणत भएर शहरतर्फ बढ़्न थाल्यो।
सुरक्षा कवचमा सुसज्जित, फाइबरको लौरो लिएका, आँसु गैसको बन्दुक बोकेका पुलिसकर्मीहरू मानौ त्यही भिड़को पर्खाइमा छन्। दुवै समूह मुखामुख भएपछि धक्कामुक्की आरम्भ भयो। भिड़ उग्र हुँदै गएपछि पुलिसले लौरो हान्न थाल्यो। भागमभाग मचियो, त्यसमध्ये केही युवाहरूले पुलिसमाथि ढुङ्गा प्रहार गर्न लागे। एकैछिनमा त्यो क्षेत्र रणभूमिमा परिणत भयो। पुलिसले आँसुग्यासको गोला हान्यो तर केही सीप लागेन, नभएपछि आत्तिएर भिड़माथि अन्धाधुन्ध गोली चलाउन थाल्यो। मानिसहरू रूखका मुड़ा झैं भकाभकी ढले। ... ... ...
... ... ...दार्जीलिङ शहर एकैछिनमा रक्ताम्मे बन्यो।
सन्तेको आँगनमा मानिसहरूको घुइँचो लागेको थियो। पार्टीका ठूला-साना नेताहरू गाउँ वरिपरिका गन्यमान्य व्यक्तिहरू, धर्मगुरूहरू कोही चिनिएका, कोही नचिनिएकाहरू सबै सबै, आज सन्तेको घरमा भेला भएका थिए। ‘शहीद सन्ते अमर रहोस्!’ को गगनभेदी नारा चारैतिर गुञ्जिरहेको थियो। सन्ते शहीद बनेकोमा कतिले आह्रिस गरे, कतिले त्यसको आत्मा-शान्तिको निम्ति प्रार्थना गरे। हिजोको गुमनाम सन्ते सारा पहाड़मा आज मुख्य समाचार थियो।
आज सन्तेको दिन थियो तर अन्तिम दिन।
छोराले संसारबाट भव्यतासाथ विदा लिएको सन्तेकी आमालाई गर्व भए तापनि उनी मनभित्रबाट भने खुशी थिइनन्। घरको एक कुनामा आँखाभरि आँसु बोकेर उनी केही सोचिरहेकी थिइन्। ओछ्यानमा थला परेकि आमाले एक्लो जवान छोराको कमाई खाने सुःख कहिले नपाएको आफ्नो खोटा भाग्यलाई मन-मनै कोसिरहेकी थिइन्।
खरसाङ, दार्जिलिङ,