14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

टुल्की

कथा डिल्लीप्रसाद अधिकारी November 16, 2021, 4:52 pm
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

सुन्दरताप्रति मानिसको आ-आफ्नै दृष्टिकोण हुन्छ र नै म उसलाई सुन्दरी वा राम्री भन्न पनि कसैगरे सक्तिन तर जवानीको आवेगमा उसलाई पनि कसैले आफ्नो वासनाको शिकार बनाउँछ भने त्यो एउटा आश्चर्यको कुरा हो। किनभने विकृत अनुहार भएकी उ कुच्चिएको थाली जस्तो, पुड्की, उभिँदा पनि सोझो गरी उभिँन नसक्ने, हिड्दा पनि कुप्रिने उसको नाम टुकमाया हो। टुकमाया उसको न्वारनको नाम (र बनाइएको भए चिनाको नाम) भलै होला तर सबैले उसलाई टुल्की भन्छन्। टुल्की गाउँमा चर्चित थिइ। उसको विशेष चर्चा हुनमा उसको हिँडाइ, उसको लुगा लगाउने ढङ्ग, खाने तरिका, बोल्ने लवज (कि उ नाके बोल्थी) आदिको चर्चाले मानिसलाई के आनन्द दिन्थ्यो कुन्नि? कसैले बेढङ्ले केही गरे ‘कस्तो टुल्की जस्तो....’ भनेर मानिसहरू उसलाई उपमा बनाउँथे। गाउँमा बिहे, ब्रत अनि पर्वहरूमा, मराउ-पराउमा टुल्कीको उपस्थिति अनिवार्य हुन्थ्यो। र जहाँ उसको उपस्थिति हुन्थ्यो, त्यहाँ समय-बेसमय उसको बिहेको चर्चा हुन्थ्यो। बिहे विषयमा कुरा भएपछि उ अत्यन्त तत्परताका साथ अर्को सालसम्म पर्खिने वा यसै साल बिहे भइहाल्ला भन्ने कुरामा रमाउँदै भाँडा माझिरहेकी हुन्थी। उ बिहे गर्न अत्यन्त आतुर थिई। तर यो ईश्वरको सुन्दर सृष्टिमा उसलाई मन पराउने र बिहे गर्न चाहने कहीँ भेटिएला के भन्ने शङ्का सदैव प्रबल थियो।
एकपटक यस्तै बिहेको आयोजनामा टुल्कीले भाँडा माझ्दै भनेकी थिइ- “मलाई अर्को साल हरि दाजुले बिहे गर्ने भनेका छन्। बा-आमाले नदिए भागेर जान्छु भै-जान्छ, आखिर छोरीको जातले सधैं माइतीकै आड्पिछामा बसेर हुने होइन”- अनि त्यहाँ हाँसोको एउटा छहरा उर्लेको थियो।
उसलाई मन परेका मानिस हरि मात्र होइन, अरू पनि थुप्रै थिए तर सबैले उसँग हरिले झैं लामो प्रतिक्षा गर्नुपर्ने आश्वासन दिएनन्। उसलाई बिहे गर्छु भन्ने मातृका सर, पदमलाल, देविचरण जस्ता थुप्रै थिए जसले हालमा आएर आफ्नो घर अरू नै सँग बसाइसकेका थिए। तर हरिले भने त्यसो गरेको थिएन र आज टुल्की हरिप्रसादलाई आफ्नो भावी पतिका रूपमा देख्छे। हरिले बिहे गर्छु भनेदेखि टुल्कीको भुँइमा खुट्टै छैन। उ ढुक्क थिई।
टुल्की घरमा कामको नाउँमा वरको सिन्को पर नसार्ने, यसैले होला, घरमा कसैले मीठो बोलीले ‘टुकमाया, खाना खान आइज’ भनेर बोलाएको सुनिएन। “एइ टुल्की, भोक लाग्यो भने आएर घिच” भनेर कराएको मैले थुप्रैपल्ट सुनेको छु।
आफ्नै बारीमा फलेका फलहरू पर्तिरको स्कूलमा लगेर बेच्ने र कहिले सित्तैमा स्कूले केटीहरूलाई दिएर उनीहरूको जडाउरी, नाक-कानको गहना आदि माग्ने टुल्कीको व्यवसायिक दक्षता थियो। केटीहरूसँग गफिँदा पनि उ हरिकै कुरा गर्थी। उसैसँग बिहे हुने कुरामा उ आश्वश्त थिई। जीवनको महत्वपूर्ण प्राप्ति नै उसको हरिसँग बिहे गरेर उसकी स्वासनी हुन पाउँनु थियो।
हरि मेरो साथी हो। उ मेरा थुप्रै मौकावादि र स्वार्थी मित्रहरूकै मध्येको एउटा हो। मैले जीवनमा भनेजस्ता मित्र कमाउन सकिन। सबै मबाट फाइदा लिएर मतलब पूरा गर्नेसम्मका मात्र भए। यो हुनसक्छ मेरै कमजोरी। मित्रतामा आपसी सद्भावना सदैव हुनुपर्छ भन्ने कुरा मेरो सन्दर्भमा एउटा निरर्थक चेष्टा मात्र रहेको छ।
हरि एकताका मेरो अभिन्न मित्र थियो। त्यो समय उसलाई मेरो आवस्यकता थियो कि हामी एउटै कक्षामा पढ्दथ्यौं। उ पढ्नमा लद्दू थियो यसैले म द्वारा आफ्नो दशौं कक्षाको परीक्षा सफल गराउनु उसको मुख्य ध्येय थियो। हाम्रो मित्रता यसरी एकवर्ष प्रगाढ रह्यो। मैले परीक्षा सफल गरें तर हरि फेल भयो। हरिले यसरी दशौं श्रेणीलाई क्रमश दुइचोटि फेल गरेपछि तेस्रो पटक कम्पार्टमेन्टमा फेरि दुइपटक परीक्षा दिएर पास गरेको र म्याट्रिक भएको थियो। यो केही वर्ष अघिकै कुरा हो।
टुल्कीले हरिलाई मन पराउने कुरा र उसैसँग मात्र बिहे गर्छु भन्ने दृढ निश्चय गरेको मैले राम्ररी चाल पाएको हो तर यो कुरालाई धेरै महत्व दिनु थिएन। हरि र टुल्की माझ प्रेम अनि विवाह हुनु यो सृष्टिलाई र प्रकृतिको सौन्दर्यलाई एटा चुनौती हुनेछ। सौन्दर्यको बद्नाम गर्न के हरि अघि सर्ला त? हो, यसप्रकारका घटना यदि कतै हुन्छन् भने त्यो सामाजिक मान्यताप्रतिको क्रान्तिको एउटा चुनौती हुने छ। के हरिले यो चुनौती दिनेछ समाजलाई? यस्तो ठान्नु अत्यन्तै कठीन छ।
थुप्रै वर्ष बिते। टुल्की र हरिमाझको प्रसंग सम्झिरहन लायकको नहुँदा र आफू आफ्नै कार्यमा व्यस्त रहँदा मैले स्कूले जीवनका कतिपय रमाइला कुराहरू बिर्सिसकेको थिएँ। टुल्कीका बारीमा आरू, नस्पाती, अम्बक, सुन्तला चोर्न गइयो र उसले देखी भने ‘हरिले पठाको’ भनेपछि बरू उसले अझै दिन्थी। यी कुराहरू स्मृतिको कन्तुरमा कतै रहेछन्। जीवन संघर्षका महाजालमा परेर यी सबै भुलिए। तर अचानक एकदिन हरिको बिहेको निमन्त्रणा पाएपछि स्मृतिको कन्तुर खोलियो। हामीले पढेको त्यो विद्यालय र त्यो समयका केटौले बद्मासी, अर्काको बारीमा राती पसेर आलु, तरूल खन्ने, साग-सब्जी कोपी बोराका बोरा चोर्ने अनि हरि र टुल्कीको सम्बन्ध जो एउटा पानी हाँसोको विषय थियो। ती सबै यादहरू हरिको बिहेको निम्ताले बोकिल्याएछ। पत्र हेरें। हरिको विवाह टुल्कीसँग नभएर करूणासँग हुने निमन्त्रणा पत्रमा स्पष्ट थियो। टुल्कीका अर्थमा यो उसलाई हरिले दिएको ठूलो धोका थियो। हरिले छुट्टै एउटा चिट्ठीमा मलाई उसका घरमा बिहेका अघिल्लैदिन आइदिने अनुरोध गरेको थियो। त्यसो हुँदा आफ्नो पैतृक घरमा पनि पुगिने र हरिको बिहेमा पनि सरीक भइने कुराले म फुरूक्क भएँ। तोकेकै दिन म पुगें।
हरिको विवाह बडो रमझमका साथ सम्पन्न भइरहेथ्यो। त्यहाँ आएका निम्तारूहरू बिहेको मजा लिइरहेका थिए। मेरा सहपाठी पनि धेरै थिए त्यहाँ। आधाकल्चो पढाइले कचल्टिए पनि सरकारको सहुलियतमा सानातिना नोकरीमा लागेका मातृका, पदम, देवीहरूलाई जब मैले त्यहाँ देखें मलाई टुल्कीको सम्झना भयो। साह्रै सोझी त्यो नराम्रो अनुहारकी टुल्की जो एकताका हरिसँग बिहे गर्न उद्धत् टुल्की आज किन त्यहाँ छैन? यस्ता बिहे बटुलोमा भाँडा माझ्ने त टुल्की नै हुन्थी तर आज उसको अनुपस्थितिले मलाई खल्लो लाग्यो। होला कुनै कारण उ आज यहाँ छैन वा त हरिको विवाह अरू कसैसँग हुन लागेकाले उसले त्यहाँ उपस्थिति दिन सकिन।
भोलिपल्ट हामी जन्ती जानुपर्ने, राती नै तय भयो। हत्त-पत्त जन्ती जान मन नगर्ने मलाई पनि सबैले उचाले र बाजा-गाजा सहित हामी हिड्ने भयौं। बिहानै टुल्की आएर तमासा गर्न थाली-
“हरि दाजु, तिमीले म नराम्री छु अर्कैलाई बिहे गर्न आँटेको? हामी गरीबलाई हेपेको? त्यसो गर्न पाइँदैन। तिमीले मलाई नै बिहे गर्नुपर्छ।”
हामी चकित भयौं। हामीमध्ये एकजनाले भन्यो- “त्यो तिमीलाई बिहे गर्छू भनेको त जिस्किएर पो त। तिमीलाई त्यसो त अरुले पनि भनेका छन्। सबैसँग बिहे गर् भनेर ढिपी गर्न हुन्छ र?”
टुल्कीको रिसको पारो झन् बढ्यो। उ भन्न थाली- “कुरा धेरै छन्। अरूले बिहे गर्ने कुरा मात्र गरेका छन् तर हरिले त्यसभन्दा अझै धेरै के के गरेका छन् सोध न उसैलाई। म त आइमाइ मान्छे भन्न सक्तिन त्यस्ता कुरा।“
यति भनिसक्ता मान्छे पनि त्यहाँ धेरै जम्मा भए। एकजना बुज्रुक मानिसले टुल्कीलाई सम्झाए र कसो कसो जन्ती हिड्यौं। हिड्ने बेलामा शुभ-साइत हुनुपर्ने अशुभ भाँजो भयो। तर त्यो टुल्कीका कुरा अनुसार हरि र उ माझ कुनै रहस्य अवश्य छ। समान उमेरका दुवैजना र एउटै गाउँ। अभिनय बेग्लै कुरा हो तर त्यो सोझी टुल्कीलाई वैंश आएको बेला हरि जस्तो राम्रो केटाले बिहे गर्छु भन्नु एउटा हाँसो र ठट्यौली मात्र मैले बुझेको थिएँ। तर आज उसले जसरी त्यहाँ आन्दोलन गरी, मेरो मनमा झस्को पस्यो। त्यसमाथि एउटा शङ्का कि हरि र टुल्की जो कुनै हालतमा जोडिन सक्तैनन् तिनीहरूको यो रडाको कुनै रहश्यको पर्दा खोल्न लागिरहेको त छैन?
भोलिपल्ट जन्तीबाट फर्कियौं। टुल्की प्रवेशद्वारमै रणचण्डिका जस्तो बसिरहेकी पाउँदा हामी भयभित बन्यौं।
“-एइ हरि, हामीलाई हेप्छस्? तैले मलाई बिहे गर्छु भनेर कसम खाएको हो कि होइन यहाँ छ्या-छ्यात्ति भन्। अर्काकी छोरीलाई यस्तो गरेर धोका दिने??”
“-होइन मैले कहाँ तँलाई धोका दिने?”- हरिले स्पष्टीकरण दिन खोज्दा-खोज्दै टुल्की बेहुलीपटि फर्केर- “तिमी पनि म जस्तै कसैकी छोरी हौ तर यो हरिजस्तो कसाइसँग कसरी फकियौ? यो त धोकेबाज हो। यसले मलाई अलपत्र पारेको छ।”- यति भनेर उ बाटो लागी। उसका परिवारका कोही पनि त्यो बिहेमा रहेनछन्। सबै कुरा विचार गर्दा हरिले कतै चुक गरेकै हुनुपर्छ भन्ने मलाई लाग्यो। त्यहाँ सोध्न उचित मौका मिलेन।
बिहे सकियो। तर टुल्कीको प्रलयङ्कारी विद्रोहले विवाहको स्वाद बिस्वाद बन्यो। भोलिपल्ट म फर्किने विचारमा थिएँ तर मलाई टुल्कीको भनाइको रहश्य जान्ने प्रबल इच्छा थियो। टुल्कीले आफ्नो हक नै खोजेकी हो वा विवाहमा भाँजो हाल्न र शुभ साइत बिगार्न खोजेकी वा ठट्टाका कुरामै आफ्नो वर्चश्व देखाउन खोजेकी हो थाहै भएन। मलाई खुलदुली भइरह्यो।
जन्ती जाने बिहान टुल्की राँकिएका बेला एकजना बुज्रुगले उसलाई सम्झाएको र उ मानेकी देखेको हुनाले म उनैलाई यो विषयमा सोधौं भन्ने ठानेर धेरै पढेका र उमेरले पनि पाकेका मानिसलाई मैले सोध्ने विचार गरें। उनी हरिका काका भएकाले म पनि उनलाई काका सम्वोधन गर्छु।
काकाले भने- “ हेर, यस्ता कुरालाई नै सामाजिक कुरीति भनिन्छ। यो हरि सम्पूर्ण रूपमा दोषी छ। तर हामीले उसलाई उसको दोषको सजाय दिन नसक्ने भएर हामी पनि दोषी छौं। उसलाई त मार्दा पनि हुने हो, किनभने यसले टुल्कीलाई दुइ-दुइपल्ट पेट बोकाएर तुहाइदिएको छ। एउटी गरीबकी छोरीमाथि यहाँभन्दा ठूलो अन्याय अरू के हुन्छ? अनि मैले भनें ‘हेर हरि, तैले टुल्कीलाई नै बिहे गर। होइन भने कहिल्यै बिहे नगरेर टुल्कीलाई सधैं पालिराख।”- यसो भन्दा उ मसँग रिसायो। यी जम्मै कुरा समाजको अघि राखेर हरिलाई कायल पारूँ भन्दा म उसको एउटै काका। बाबु मरेपछि बाबु नै। तर उसका बाबु जीवित भएका भए यस्तो घटनामा के गर्थे गर्थे? नानी, मैले निर्णय लिन नसकेर हरिलाई तेरै खुसी गर् भनें।”- यी कुरा गर्दा ती बुजुग्रका आँखा रसाएका थिए।
मैले बल्ल थाहा पाएँ टुल्कीको कुराको रहश्य। बुज्रुगले मलाई चेतावनी पनि दिए- “नानी, तिमी त कथा लेख्ने मान्छे। फेरि लेखौला यो कथा पनि र हरि मसँग र तिमीसँग पनि रिसाउला।”
थुप्रै वर्ष बितेछन् आफ्नो गाउँ जान नपाएको। मैले भर्खरै बिहे गरेको थिएँ र श्रीमतीलाई पनि साथै लिएर घरतिर लागें। गाउँका बारेमा कुरा गर्दा मैले श्रीमतीसँग टुल्कीको कुरा सबै गरेको थिएँ। संयोग कत्ति अचम्मको भने टुल्कीलाई बाटामा भेटियो। मैले चिनाएँ।
-“ कत्ति राम्री केटी पाएछन् यी भाइले त?” कहा हो घर माइती को हुन्” तमाम कुरा उसले सोधी। मैले पनि “तिम्रो बिहे भा’छैन” – भनेर सोधिहालेंछु। मेरी श्रीमती र टुल्की माझमा के गफहरू भए कुन्नि बेलुका श्रीमतीले भनिन्- “त्यो टुल्कीको त साह्रै बेहाल गरेका रहेछन् नि गाउँका केटाहरूले। विचरा....। कत्ति पापी छन् नि यो संसारमा मान्छे!”
श्रीमतीको यो विचरा शब्दले मलाई यो कथा नलेखी नहुने लाग्यो। मैले ती बुज्रुग काकाको चेतावनीलाई नटेरी एउटी अबलाको यो कथा लेखें। कथा त्यहाँसम्म पुग्न सकोस्, जहाँ यसप्रकारका शोषण हुन्छन् र भनिदिने कि कथा यथार्थ भएपनि त्यसमा कल्पनाको जलप भने हुन्छ नै।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।