14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मलाई पुरस्कारवैंशले कुत्कुत्याएको कुत्कुत्यायै छ

हास्यव्यङ्ग्य कृष्ण प्रधान November 20, 2021, 6:29 am
कृष्ण प्रधान
कृष्ण प्रधान

किशोर वा किशोरीको गालामाल जब शरीरको हर्मोन परिवर्तन हुन्छ त्यति बेला मुहारमा डण्डीफोरै डण्डीफोरको धलिमलि देखिन्छ । हर्मोन तन्नेरी भएपछि मेरो मुहारमा पनि डण्डीफोरको बजार नलागेको होइन । मेरो मुहारभरि डण्डीफोरै डण़्डीफोर देखेर मुमा भन्थिन् -मेरो छोरोलाई पनि वैंश आएछ । मनमनै भन्थेँ म त्यसताका, केको वैंश (?), यहाँ अनुहार बिग्रेर जाँड़ तार्ने छपनीजस्तो भइसक्यो । हो, एक समयमा मेरो मुहारभरि डण्डीफोरले वास गरेकै हो । तर मलाई वैंश लाग्यो वा लागेन सो मलाई थाहा नभए पनि अचेल मलाई साहित्यिक पुरस्कार र अभिनन्दन थाप्ने वैंशले कुत्याकुत्याउनसम्म कुत्यकुत्याउन थालेको छ ।
युवतीहरू छिल्लिएका र इत्रिएका देख्ता "हेर...हेर...यी केटीहरूलाई वैंशले प्याक् प्याक् पारेछ" भनेको सुन्नु चाहिँ सुनेकै हुँ । आफ्नो उमेरमा सबै वैंशले प्याक-प्याक् भएको होलान्...इत्रिएकै होलान् वा छिल्लिएका होलान् । यो हरमोनको दोष हो । हार्मोन परिवर्तन भएर वैंश लाग्नै सक्छ । झर्झराउँदो हर्मोन सुक्दै गएपछि वैंश कुन डिलमा जाँकिन्छ सोबारे वैंशबाट रिटार्यड हुने भूतपूर्व वैंशवालहरू जान्दछन् ।
मलाई वैंशले भेट्यो वा भेटेन...मलाई वैंशले कुत्कुत्यायो वा कुत्याएन म केही भन्न सक्तिनँ अनि थाहा पनि छैन । कतिबेला वैंश आयो...कतिबेला गयो त्यसको कुनै वास्तासमेत गरिएन । तर अचेल मलाई पुरस्कार, अभिनन्दन र सम्मानको वेंशले कुत्कुत्याउनुसम्म कुत्कुत्याउन थालेको कुरा किन ढाँटु । पुरस्कार-अभिनन्दन-सम्मानको वैंशले भेटेपछि भेटेजति र देखेजति सबै साहित्यकारको जीउमा पुरस्कार-अभिनन्दन-सम्मानको गन्ध मगमग गन्हाउँन थालेको छ । यही पुरस्कारवैंशले गर्दा मेरो घ्राणशक्ति कुकुरभन्दा आगर भएको छ । त्यति मात्र पनि होइन पुरस्कार-सम्मान-अभिनन्दनको लोभले पुरस्कारका ठेकेदारलाई कुलदेवताभन्गा आगर पूज्न थालेको छु ।
अचेल यो साहित्यको बजारमा तमाम् साहित्यकारलाई पुरस्कार-सम्मान-अभिनन्दनको वैंशले भेटेर पुरस्कार-सम्मान-अभिनन्दनको हर्मोन बढ़ाएको बढ़ाएकै छन् । हुन ता संसारका पन्ध्रै आना साहित्यकारहरूले "मलाई पुरस्कारको कुनै लोभ छैन ; मलाई कुनै पुरस्कार चाहिँदैन" भनी हाँक र धाक लाएका कुरा नसुनिएको होइन । कुकुरले आची खाँदैन भन्नु र साहित्यकारले मलाई पुरस्कार-सम्मान-अभिनन्दन चाहिँदैन भन्नु एक मन फलाम र एक मन रुईमा कुन गह्रौं (?) भने जत्तिकै हो । यसकारण पुरस्कार-अभिनन्दन-सम्मानको वैंशले प्ल्याक्-प्ल्याक् भएका साहित्यकार र कुकुरमाझ मैले कुनै अऩ्तर देखिनँ । उनको यस्तो कुरा सुन्दा ता पुरस्कार-अभिनन्दन-सम्मानको वेंशले कुत्कुतिनुसम्म कुत्कुतिनेलाई कुरीकुरी लाग्नु अस्वाभाविक होइऩ । तर पुरस्कार-अभिनन्दन-सम्मान ग्रहण गर्न ठ्याम्मै नमान्ने, "मलाई पुरस्कार-सम्मान-अभिनन्दन केही चाहिँदैन....त्यसको लागि मैले साहित्य लेखेको हुँदै होइन" भन्नेहरूलाई पनि पुरस्कारको वैंशले भेट्दैन भन्नु चाहिँ मिल्दैन । वैंशमा स्याल पनि घोर्ले हुन्छ भनेजस्तो पुरस्कारको वैंशले भेटेपछि जस्तै साधु साहित्यकार पनि पुरस्कार-अभिनन्दन-सम्मानको वैंशमा कुत्कुतेकै हुनुपर्छ ।
उनीहरू पुरस्कार वैंशले कुत्कुतिउन् कि नकुत्कुतिउन्...मलाई लुतो कनाइ केही छैन । तर मलाई पुरस्कारको वैंशले प्याक्-प्याक् पारेको छ...र ता म कुत्कुतिएको छु कि कुत्कुतिएको छु । यही पुरस्कार वैंशमा कुत्कुतिएर कुनै संस्थाका अध्यक्ष, सचिव वा पुरस्कार संस्थाका संयोजक देखे कि तिनको झोला, झिटीमिटी तुइँतुइँती बोकेर उनलाई फुरुक्कै पार्नु मन लाग्छ । किसिम-किसिमका पोको-पन्तेरो, फूल-अछेता सब थोक उनको चरणमै राखिदिएर साष्टाङ्ग दण्डवत् गर्ने झोंक चल्छ । पुरस्कारको वेंशले कुत्कुत्याएको कुत्कुत्याएको समयमा पुरस्कार-अभिनन्दन- सम्मानको लागि कोड़ीको पनि पाउ मोल्दा कुनै टुटा पर्दैन । य़सकारण पुरस्कारको वेंशले कुत्कुतेको बेला मैले पुरस्कार भाग लाउनेको वा पुरस्कार ठेकेदारको पाउ मोल्दा कुनै टुटा नपरेर मलाई नाफै नाफा हुन्छ भन्ने मेरो धारणा छ । आँप खानुसित मतलब भएपछि कोयासित के कको मतलह होइन र ज्यू ?
बड़े-बड़े धुरन्धर साहित्यकारहरूलाई पुरस्कारको मोह नहोला, उनीहरूलाई पुरस्कारको वैंशले नभेटेको होला....तर मलाई चाहिँ किन हो कोनि केही दिनदेखि यता पुरस्कारवैंशले भेटेर केही छैन । पुरस्कारवैंशले म मातिएको छु....पातिएको छु । पुरस्कार मात्र होइन अभिनन्दन-सम्मानको मोहले रानुबिनाको मौरीजस्तै नै बनाएको छ । के हो यस्तो बुझ्न सकेको छैन । मलाई दशा लागेको होकि पुरस्कार दिनेलाई दशा लागेको हो...कुनै अनुमान पनि लाउन सकेको छैन ।
साँच्चै मेरो पुरस्कारवैंशलाई कसैले पनि निमिट्यान्नै पार्नसक्छ भने तिनको पुस्तक भटाभट छापिदिएर पुस्तकको सङ्ख्या पाँचसयसम्म ता पुऱ्याइदिनसक्छु...सक्छु । त्यति पनि गर्न नसके मेरो वश, हुर्मत चल्ने संस्थाको पक्षबाट सम्मान, अभिनन्दन र चानचुने नगदी पुरस्कार ता ठ्याक्कै नि । फरकै पर्दैन । खास कुरा चाहिँ मेरो पुरस्कारवैंशलाई गतिलै पुरस्कार प्रदान गरेर बुहारी झारजस्तै स्याप्याक्कै पार्नुपऱ्यो पुरस्कार प्रदान गर्ने पुरस्कारर ठेकादारहरूले । बस् अहिले गिभ एण्डर टेकको जमाना छ । एक हातले लिने हो अर्को हातले दिने हो । स्यापको ट्याप् ।
यो पुरस्कारवैशले प्याक्-प्याक् भएपछि अनि पुरस्कारवैंशको लुतो नगइञ्जेल पुरस्कार दाताको निम्ति ज्यान दिन पनि म लु तयार भएँ । तर मेरो पुरस्कारवैंशलाई मलजल दिनुपऱ्यो । यति भए पुग्छ मलाई...पुरस्कारको राशि उनले आफूसित राख्दा पनि मलाई केही फरक पर्दैन...खाता-कलम र ठूल्ठूला समाचार पत्रमा "फलानुलाई फलानु पुरस्कारले सम्मानित हुने' भन्ने खबर छापिनुपऱ्यो । विभिन्न संस्थाले अभिनन्दन गर्नुपऱ्यो । बस्...यति भए पुस्कारवेंशले मातिएको यो मन गजक्क हुनेथ्यो ।
हिजो-आज प्रदान गरिने पुरस्कार-सम्मान-अभिनन्दनमा पक्षपाती, भाइचारा, लबी, जदौ-हजूर, खुसामदी रगत ह्वास्सै गन्हाउँछ । यसैमा बुइँ चढ़ेर मेरो पुरस्कारवैंशलाई साम्य पार्ने पुरस्कार ठेकेदारलाई पुरस्कारको कमिशन रुपमा किताब छापिदिने वचन अगावै दिइसकेको छु....तर त्यस पुस्तकमा प्रकाशक अर्कै हुनेछ । यसरी नै पुरस्कार ठेकेदारले अहिलेसम्म पाँचसय किताब छापिसक्नु मात्र होइन मजस्तो सबैभन्दा धेर किताब छाप्ने वा मलाई उछिन्ने साहित्यकार अहिलेसम्म जन्मेकै छैनन् भनी धाक लाउनेहरू पनि बजारमा नदेखिएको होइन ।
साँच्चै यो पुरस्कार-अभिनन्दन-सम्मान दिने र लिने क्रममा हाम्रो साहित्य पगली आइमाईको फुस्किसकेकोक गुन्यूँजस्तै नै भइसकेको छ । मेरा कतिपय साथीहरू "पुरस्कार-मान-सम्मान-अभिनन्दन-को लागि लेख्दिनँ म" भन्छन् । तर उनीहरूको कुरा सुनेर म दोधारमा पर्छु । यिनले साँच्चै भनेका हुन् कि धाकमात्रै देखाएका हुन् । तर "मलाई पुरस्कार चाहिँदैन" भन्नेहरू नै पुरस्कार-अभिनन्दन-सम्मानको नाँउ सुन्दा राल चुहाएको देखेको छु ।
अरुले जेसुकै भनुन्, पुरस्कार-अभिनन्दन-सम्मानको लोभ छैन, मोह छैन भनुन् कि जेसुकै, तर मचाहिँ पुरस्कार-अभिनन्दन-सम्मानको पक्कै भोगी छु, लोभी छु । यसैले ता मलाई पुरस्कारवैंशले कुत्कुत्याएको कुत्कुत्यायै छ ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।