15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इलाम भ्रमणमा चलेका पाइलाहरू

नियात्रा अनु विज्ञाति December 3, 2021, 4:23 pm
अनु विज्ञाति
अनु विज्ञाति

मिति २०७८ साल कार्तिक १३ गते शनिवार । इलामका केही स्थानहरूको भ्रमण गर्न निस्किएका हाम्रा पाइला । इलामको पाथीभरा मन्दिर दर्शनपछि राजमार्ग छेवैको विजेता होटलमा खाना खान पुगे र नजिकै देखिएको कन्याम तर्फ हुँईकिए। कन्याम मेरो पाँचौ पटकको यात्रा थियो । जति हेरेपनि हेरिरहुँ लाग्ने । त्यो दृश्यमा आफुलाई हराउन म उत्सुक थिएँ । झन् पहिलो पटक कन्याम पुग्ने अवसर पाएको नवीन त व्याकुल बनेको देखिन्थ्यो ।

पछिल्लो पल्ट । मैले देखेको कन्याम भन्दा फरक । कन्यामको पुरै सुन्दर दृश्य देखिने ठाउँमा, कन्याम (KANYAM) लेखेको अक्षर टाँगीएको रहेछ । हरियो कन्याममा पहेँलो अक्षर परैबाट टलल टल्कियो । नवीन आतुर थियो । कन्याम छुन । प्रकृतिमा रमाउन । नयाँ दृश्य आँखाभरी कैद गर्न । हामी पनि उस्तै ।

कन्यामको त्यो दृश्यमा फोटो खिच्नेहरुको भिड थियो । त्यहाँका स्थानिय फोटोग्राफर क्यामरा र फ्ल्यास लाईट बोकेर यताउता गरिरहेका थिए ।

"हामीसँग फोटो खिच्नुहोस् । अहिले हजुरहरुले भिडमै फोटो खिचेपनि पछि हामी फोटोसपबाट अरूहरूलाई हटाएर यो सुन्दर दृश्य र यी सबै अक्षरहरूमा हजुरको सिंगल फोटो बनाएर वाट्सएप गरिदिन्छौं ।" उनीहरू यात्रुसँग अनुरोध गर्दै थिए ।
"भरे वाट्सप गरिदिनु हुन्छ भन्ने के ग्यारेन्टी ?"
"हामीसँग त्यस्तो वाट्सएप-स्वाट्सएप भा'पो ।"
"लौ मेरो खिचिदिनुहोस ।"
कोही शंका त कोहि वाट्सएप नभएको कुरा सुनाउँदै र कोही फोटो खिच्न तयार हुँदैथिए ।

फोटोग्राफर भाइ जोड्ले कराए, "तपाईंहरु एकछिन हटिदिनुहोस् त । म उहाँको फोटो खिच्छु ।"
यी सब कुरा सुनिरहँदा मलाई अचम्म लाग्यो, "सबै हटिदिएपछि त सिंगल फोटो बनाउन किन फोटोसप चाहियो र ?"

फोटोग्राफर भाइको उर्दिपछी, यहाँ फोटो खिच्ने समूह तितरवितर भए । एक दुई यात्रुले ती भाइलाई रिसाउँदै भन्दै थिए, "तपाईंको क्यामरामा खिच्नेलाई मात्र यो ठाँउ हो र ?"
जवाफमा फोटोग्राफर भाइपनी जङ्गिए, "मैले यो ठाउँका लागि ट्याक्स तिरेको छु ।"
फोटोग्राफर र यात्रुको गलफत्तीमा सबै भिड झुम्मियो । त्यही बेला यता कन्याम अक्षर देखिने ठाउँ पुरै खाली भएछ । मैले देख्नासाथ भाइ र विश्वविश्रुत विकासलाई बस्न भने र सिंगल फोटो खिच्न भ्याएँ ।
अरुको झगडामा आफुले फाइदा उठाएको यो पहिलो पटक थियो मेरो । त्यसैले मैले आफुलाई खुब स्मार्ट सम्झिएँ । अनि फुर्ती लाउन भ्याएँ।
'परिस्थितिको यसरी सदुपयोग गर्ने हो के !'
०००
त्यसपछिको गन्तव्य श्रीअन्तु तय भएको थियो । बाटो सजिलो छ भन्ने सामान्य जानकारीपछि हामीले बाटो ततायौं । कहाँबाट बाटो छ, श्रीअन्तु जाने पत्तो थिएन । एकजना काम गरिरहेका मिस्त्रीलाई नविनले सोध्यो ।
"फिक्कल पुग्नु भन्दा केही अघिबाट बाटो छुटिन्छ । त्यहाँसम्म यहि बाटो जाने हो," उनले जवाफ दिए ।

तेत्रो प्रख्यात पर्यटकीय स्थल । पक्कै पनि छुट्टिने बाटोमा होडिङ बोर्ड होला, 'वेल कम टु श्रीअन्तु' । या त 'वे टु श्रीअन्तु' । या त 'श्रीअन्तु पाल्नुहुने सबै पाहुनाहरूलाई हार्दिक स्वागत छ' ।

मोरङबाट झापाहुँदै इलामसम्म पुग्दा कति धेरै गाउँपालिका र नगरपालिकाले स्वागत र भ्रमण गर्नु भएकोमा धन्यवाद भनी सकेका थिए । मलाई सबैको आथित्यता स्वीकार गर्दै धन्यवाद भन्न भ्याइनभ्याई थियो । मोटरसाइकल हाँक्नेहरूको सट्टामा पनि स्वीकार गर्ने मै थिएँ ।

"जहाँसम्म 'वे टु श्रीअन्तु' आउँदैन त्यहाँसम्म सिधा जाउँ ।" विश्वविश्रुत विकासले भन्नुभयो र आफू अघि लाग्नुभयो । भाइ र म पछ्याउँदै गयौं ।

'वे टु श्रीअन्तु' या त 'वेलकम टु श्रीअन्तु' या त 'श्रीअन्तु पाल्नुहुने सबै पाहुनाहरूलाई हार्दिक स्वागत छ' भन्ने आशामा छेउछाउका होडिङ बोर्डमा घाँटी तन्काई-तन्काई हेर्ने जिम्मा मैले नै पाएँ ।
फिक्कल बजार पुग्दासम्म मैले श्रीअन्तु जाने होडिङ बोर्ड पढ्न सकिन । फिक्कल पुगेको थाहा पाएपछि मैले राम्रोसँग जिम्मेवारी पूरा नगरेको ठानेर दुबैले ठुल्ठुला आँखाले मलाई हेरे ।

'मैले दुबै किनारका बाटा नियालेकै हुँ । तर त्यहाँ श्रीअन्तु जाने बाटो कहीँ लेखिएको थिएन,' मैंले स्पष्टीकरण पेश गरेँ ।
"नलेखिएको त होइन होला, नदेखेको चैं हुन सक्छ ।" उनीहरूले पत्याएनन् ।
फेरी फिक्कलका एक व्यापारीलाई सोध्यौं ।श्रीअन्तु जाने बाटो दुई किलोमिटर अघिनै छोडिएछ । आएकै बाटो फिर्ता हुनुपर्‍यो ।

'छिपेटार' भन्ने सानो चोक/बजारबाट श्रीअन्तु जाने बाटो छुट्टिने रहेछ । तर त्यहाँ साच्चै कुनै बोर्ड/लेखोट थिएन । श्रीअन्तुको बारेमा केही जानकारी थिएन । सूर्योदय नगरपालिकाको लागि प्रसिद्ध । त्यति सुन्दर पर्यटकीय स्थल जानेबाटो । किन होडिङ बोर्ड बिहिन होला ? यस भन्दा अघि थियो थिएन । थाहा भएन । तर पछि हुनेछ भन्ने विश्वास छ ।

आन्तरिक आम्दानीको दृष्टिकोणले इलामको दोस्रो ठूलो नगरपालिका रहेछ 'सूर्योदय नगरपालिका' । त्यहीँ पर्दा रहेछन् श्रीअन्तु लगायत इलामका सुन्दर मानिएका र धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठानिएका धेरै स्थानहरू ।

श्रीअन्तु जाने बाटोलाई अझै व्यवस्थित र सुन्दर बनाउन सके त्यहाँ आर्थिक आम्दानी, लगानीको तुलानामा सयौं गुणा बढी हुने पक्का थियो । तर होडिङ बोर्डसम्म नदेख्दा मन खिन्न भयो ।
यो यात्रा गरिरहँदा, मैले २०७० सालतिर भारतको नैनीताल घुम्न गएको सम्झिएँ । नेपालको सिमाना सकिएर भारत प्रवेश गर्ने बित्तिकै 'वेल कम टु नैनीताल' लेखिएको थियो । मलाई लाग्यो । ताल धेरै टाढा छैन । तर धेरै बाटो काटिसक्दा पनि नैनीताल आइपुगेन । बरु करिब पाँचपाँच सय मिटरको दूरीमा नैनीतालको वर्णन गरेर टाँगिएका बोर्डहरूले भने निरन्तर स्वागत गरिरहे ।
"तपाईं सुन्दर नैनितालको भ्रमणमा हुनुहुन्छ । कृपया बाहिरको आनन्द लिदै यात्रा गर्नुहोस् ।"
फलैंचा छेउछाउ, "एकैछिन सुस्ताएर आफूलाई फुर्ती बनाउनुहोस् ।"

बाटोको तल्लो किनारमा घना जङ्गल थियो । दिउँसै अँध्यारो देखिने त्यो जङ्गलमा बडेमानका रूखहरू यात्रीहरूका आँखालाई अझ बडा बनाईरहेका थिए । सडक, दोहोरो सवारी साधन सजिलै पास हुने खालको थियो । छेउमा स्टिल रेलिङ लगाएको थियो । माथिल्लो किनारमा कतै रेष्टुरेन्ट, कतै खाजाघर, कतै दृश्य हेर्नका लागि निर्माण गरिएका टावरहरु र कतै आरमदायी फलैंचाहरूको निर्माण गरिएको थियो ।

यो सबै नियाल्दा, लाग्याे नैनीताल जाने बाटो यस्तो छ । झन् नैनीताल कस्तो होला ? कत्रो होला ? तर गाडीबाट परपर हेर्दा चाहिँ फुस्रा र रूखा रातमाटे डाँडा मात्र देखिन्थ्ये । साच्चै विरक्त लाग्ने डाँडाहरू । प्राकृतिक सुन्दरताको नाम निशान नै नभए जस्ता । तर तिनै डाँडा घुम्दै त्यहाँ पुग्दा । बनाईएको कृत्रिम व्यवस्थित बाटो । लेखिएर टाँगिएका अनेकौं प्लेकार्ड र होडिङ बोर्ड र ठाउँठाउँका भ्यू टावरले साँच्चै सुन्दर रहेझैँ भान दिलाई रहेको थियो नैनीताल ।

भारत टेक्नासाथ 'वेल कम टु नैनीताल' भन्ने बोर्डले हामीलाई यति घुमायो कि, लामो समयसम्म त्यो डाँडाकाँडा फन्को मारिसक्दासम्म पनि नैनीताल आइपुग्ने छनक थिएन ।

पर्यटकहरू तिनै बाटाका रेष्टुरेण्ट, फलैंचा, खाजाघर र भ्यु टावरतिर रमाईरहेका देखिन्थे । खाजाघर नजिकै लेखिएका होडिङ् बोर्ड्ले तानेको हुनुपर्छ । नतानोस् पनि किन ?
"थकान महसुस भयो ? आनुहोस् । हामीलाई सेवा गर्ने मौका दिनुहोस्," जो लेखिएको थियो ।
त्यति सम्मान पाउँदा यतिकै बाटो काट्नु पनि त भएन । सायद उनीहरूलाई त्यसले हप्तौं लगाएर पुर्‍याउने छ नैनीताल ।

बाटैभरी वर्णित नैनीताल जब पुगेँ । म छक्क परेँ । यहि ताल हो । जसका लागि त्यतिका शब्दहरु खर्चिएका थिए । त्यत्रो डाँडाकाँडा काटिएको थियो । त्यही ताल पुर्‍याउने बहानामा बिचबिचका रेष्टुरेण्ट चलेका थिए । आउनेहरूलाई पनि अहो ! साच्चै सुन्दर ठाँउ यात्राका लागि छानोट गरिएछ भन्ने लागेको थियो ।

तर नेपालमा त्यतिका प्राकृतिक रुपमा सुन्दर ताल हेरेका मेरा आँखाले । त्यो नैनीताललाई अती नै सामान्य देख्यो । उसकै नामले तानेका पर्यटकले गरेको खर्च बेकार देख्यो । माफ गर नैनीताल । मलाई जे महसुस भयो । जे देखेँ लेखेँ ।
(अँ त । म श्रीअन्तुको बारेमा भन्दै थिएँ । पढ्दा हजुरहरूलाई प्रसंग विस्तार भयो भन्ने लाग्यो होला । तर अब यो अति नै सान्दर्भिक लाग्नेछ । मलाई विश्वास छ ।)
भारतको नैनीतालले । बाटोमा जे महसुस गराउँछ । त्यो दिएन । तर श्रीअन्तुले बाटोमा जे महसुस गराएन । त्यसको करौडौं गुणा दियो ।

श्रीअन्तुका बाटाहरूमा भारतको नैनीतालका बाटा जस्तै होडिङ बोर्ड, फलौंचा, रेष्टुरेण्ट र भ्यु टावर बनाउने हो भने पर्यटकलाई हप्तौं इङ्गेज गराउन सकिने थियो । त्यो पनि इमानदारिताका साथ । साँच्चैको प्राकृतिक सुन्दरता देखाएर ।

छिपेटारबाट ओरालो झरेको हाम्रो यात्रा । सिद्धि खोलासम्म निरन्तर ओरालो झरिरह्यो ।

पहाडी भू-भाग । सागुँरो बाटो । बाटोको दायाँबायाँ अम्लिसाका हरिया बोटहरू । तिहारको छेउछाउ भएकाले पोतिएका र सजिएका सुन्दर घरहरू । अनि ढकमक्क फुलेका सयपत्री फूल । बाटोमा हामीलाई निरन्तर स्वागत गरिरहेका थिए । इलामको पाँच प्रसिद्ध 'अ' मध्येको एउटा 'अ' अम्लिसो । हाम्रो यात्राको दर्शक थियो । छिपेटारदेखि श्रीअन्तुसम्मकै बाटोको भित्तामा अम्लिसो लहराई रहेको भेटियो ।

केही अगाडि भएको बेमौसमी वर्षाले बाटो छेउछाउका अग्ला डिस्काहरू झारेर कतैकतै त बाटो नै पुरिदिएको रहेछ । यसै त निक्कै साँघुरो बाटो । त्यसमाथि पहिरोले पुरिदिँदा विपरीत दिशाबाट आएका गाडीहरूलाई पार हुन निक्कै हम्मेहम्मे पर्दथ्यो ।

नवीन भने त्यस्तो बाटोमा पनि मलाई भिडियो खिच्न आग्रह गरी रहन्थ्यो । दुई अग्ला डिस्काका विचबाट पर कन्याम तिरको चिया देख्यो कि "खिच्नु-खिच्नु दि," भन्दै मोटरसाइकलको गति कम गर्थ्यो ।

'यस्ता चिया बगान अब इलामको यात्रा भरी जतापनि पाइन्छन् । यो अप्ठ्यारो बाटोमा जोखिम नमोलौं । बरु अरुतिरका चिया बगानमा खिचौंला भन्दै सम्झाएँ ।' तर पहिलो पटक कन्याम देखेर मोहित बनेको उ किन मान्थ्यो र ?

"म मोटरसाइकल कुदाउँनमा निपुण छु । केही होला कि भन्ने चिन्ता नलिनु । ढुक्क हुनु । तर मैले भनेको ठाउँको फोटो र भिडियो चैं खिच्नु पर्छ तपाईंले । म खिचुँ भने तपाईं मोटरसाइकल कुदाउँनु हुन्न !" उसले कसोकसो दवाव सिर्जना गराएरै छोड्यो । अन्ततः बाटो भरीका दृश्यहरु क्यामरामा कैद भए ।

छिपेटारबाट शुरु भएको ओरालो सिद्धि खोला पुगेपछि सकिँदो रहेछ । त्यहाँबाट उकालो शुरु भयो । हामीले सिद्धिखोलाको सिद्धि होटलमा चिया र चटपटे खायौं । बाँसको टाटीले बनेको सानो होटलमा सानी नानी थिइन् चटपटे बनाउने । केही यात्रीहरू खाजा खान बसेका देखिन्थे । तीनै सानी नानीले कुदाकुद सबैतिर भ्याँइरहेकी थिइन् । सोचे यी नानी चाँहि यो होटलवालाकी छोरी होलिन् । स्कुल बिदाको समयमा बा-आमालाई राम्रो सहयोग गर्ने रहिछन् । तर हामीले चियाखाजा खाई सक्दा पनि उनका बु-आमा चाहिँ कतै देखापरेका थिएनन् । पछि त्यही बाटो फर्किदा त्यहीँ खाजा खाएथ्यौं । त्यो बेला पो थाहा भयो उनको त दुई वर्षको बाबु रहेछ । भर्खर १९ वर्ष लागेकी उनी । एक बच्चाकी आमा भएर घरबार धानीरहेकी रहिछन् । कठै मेरो देशको बालबिबाह अन्त्यको कानून... ।

"अब श्रीअन्तु पुग्न कति समय लाग्छ बैनी ?"जाने बेलामा विश्वविश्रुत विकासले सोध्नुभयो ।

"आधा घन्टामा झिल त पुगिहाल्नु हुन्छ । त्यसपछि अलिकती त हो अन्तु पनि," नानीले जवाफ फर्काइन्। भाइ र म अलमलियौं । झिल के हो ? दुबैले जानेका रहेनछौं ।
"बोटिङ पनि हुन्छ त्यहाँ ?" विश्वविश्रुतले पुनः सोध्नुभयो ।
"हुन्छ नि । त्यहाँ त झन् झिलमिली हुन्छ । धेरै रमाइलो छ," बैनीले जानकारी दिइन् ।

"अहो ! त्यसो भए त बोटिङ गर्ने हो । लु अलमल नगरी बाटो लागौं ।" उहाँ फेरि अगाडि लाग्नुभयो । अब भने हामीले झिल भनेको 'पोखरी' रहेछ भनेर बुझ्यौं र बोटिङको मज्जा सम्झदै पिछा लाग्यौं ।

छिपेटारबाट करिब चौंध किलोमिटरको यात्रापछि हामी श्रीअन्तु पुग्यौं । आले होमस्टेमा झोला थन्क्यायौँ र ताजा भई झिल तिर लाग्यौं ।
०००
दायाँबायाँ ठूला-ठूला सुन्दर चिया बगान । वरिपरि घुम्न मिल्ने बाटो । बस्न मिल्ने फलैंचाहरू । बिचमा सुन्दर ताल । मनमोहक दृश्य । काठबाट बनेको गेट र पूल । अग्ला र सलक्क परेका रूख। तल्लो किनारमा प्राकृतिक देखिने काठ र बाँसका घरहरू । रिसोर्ट रहेछन् । क्याम्प फायर र वार्विक्यूको लागि उहीँ डिजाइनले बनेका आकर्षक रिसोर्ट । चिया बगानकै बिचबिचमा बनेका फलैंचा । कुनै फिल्ममा देखाइने सुन्दर दृश्यलाई मात दिने खालको थियो ।
०००

प्रकृतिसँग निकट हुनु र त्यहाँको शान्त वातावरणमा हराउनु । मेरो जीवनको सबैभन्दा सुखद पल हो । त्यहाँ रहँदा लाग्यो, यहाँ जतिको सुखद पल अरु कहाँ बिताउन पाउँला र ? त्यो मीठो अनुभूति सम्झिदा । आज लेख्दालेख्दै किबोर्डमा हात चुपचाप बस्छन् । मानसपटलभरी त्यो साँझ र सुन्दर प्रकृतिको दृश्य झल्झली नाच्न थाल्छ ।

रिसोर्टको लागि तयार हुँदै गरेका घरहरु कोरियन शैलीका थिए । सायद त्यो क्याम्प फायर र वार्विक्यूको लागि उपयुुक्त भएर या त घुम्न आउने पर्यटकलाई भाडामा दिन त्यस्तो डिजाइनको रिसोर्ट सहज हुन्छ भनेर हुनुपर्छ । नत्र त कमेरो र रातो माटोले लिपेको । कौंसीमा फर्सी र मकैका झुत्ता झुन्ड्याएको । खरको छानाले छाएको घर बनाउन पाएको भए अझै हाम्रो मौलिकता झल्कन्थ्यो भन्ने लागिरह्यो । तर त्यहाँका बासिन्दाको व्यावसायिकतालाई पनि त हामीले स्वीकार गर्नैपर्छ ।
°°°

झिल वरपर सफारी गर्न र फोटो खिच्न घोडा पाइँदोरहेछ । घोडा देखाएर फोटो खिचेको रु. पचास, चडेर खिचेको रु. सय र वरिपरि फन्का लगाएको रु. दुई सय रहेछ । यस कार्यमा दिनभरी नै चार-पाँच घोडा व्यस्त हुने रहेछन् ।यात्रीहरूको मनोरञ्जन सयसहरुको राम्रो आम्दानीको श्रोत बन्दो रहेछ । बेलुकी पख । पोखरी र पोखरी वरपरका सबै रिसोर्टहरुमा रङ्गी-बिरङ्गी बत्ती बले ।गोधुँली साँझ । वरिपरिको रिसोर्टमा बजेको गीतको सुमधुर धुन । बीचमा लम्पसार परेको शान्त तलाउ । छेउछाउका हरिया चिया बगान । लाग्यो स्वर्ग भनेको ठ्याक्कै यस्तै हुन्छ होला । जति साँझ पर्दैगयो उति झिलमा रौनक छाउँदै गयो । मलाई भने त्यो भन्दा पर बसेकोमा विस्मित लाग्यो । यता रातैभरी हेरिरहँदा पनि न अघाउने दृश्य थियो । उता भोलि बिहानको सूर्योदय हेर्न नजिक पर्ने गरी हाम्रो बसाईं मिलाइएको थियो।
°°°
नवीन भन्दै थियो, "यहाँ विस्मित होइन खुसी हुने ।साँझको रौनक यता हेरियो । बिहानको रौनकका लागि उता बस्दा छिट्टै पुगिन्छ भोलि । हाम्रो बस्ने निर्णय एकदम सही छ ।"

हुन त श्रीअन्तु । प्राकृति रूपमा सुन्दर रहेछ । जता बसे पनि विस्मित नलाग्ने । रमाइलो । हामी करिब साँझ ७:३० मा होमस्टे फर्कियौं ।

खाना खाएर म सुत्न गएँ । नवीन चैं आगनमा क्याम्प फायर गरेर मिठामिठा पुर्वेली गीतमा झुमी रहेका समूहसँग कुराकानीमा अल्झियो ।

एकाबिहानै बसेको आले होमस्टेबाट झुल्केघाम हेर्न श्रीअन्तु डाँडा तिर उकालो लाग्यौं । बिहानै सुर्योदय हेर्नेको जमात पनि होहल्ला गर्दै उकालो लागेको सुनिन्थ्यो । अँध्यारो भएकोले मानिसहरू देख्न भने सकिएको थिएन ।

उकालो बाटो । आफ्नो उहीँ मोटो ज्यान । साथीहरूको हातमा झुन्डिएर पाइला अगाडि बढाउँदै थिए। केही माथी दुई वटा बाटो आए । अब कता जाने होला ? हामी अलमल्ल पर्‍यौं । फेरि पनि त्यही कमि महसुस भयो ।श्रीअन्तु जाने बाटो भनेर सानै भए पनि बोर्ड राख्नु पर्ने । मोबाइलको बत्ती बालेर हेर्‍यौं । अलि चहलपहल जता छ त्यतै लाग्यौं । बाटोमा घोडा र सयस थिए । मैले साथीहरूको हात समातेर जवर्जस्ती उकालो चडेको देखेर होला छेउका सयस कराउँथे, "घोडा सवारी मात्र ३०० रुपैयाँ ।"

मलाई ट्रेकिङ मन पर्छ । हिड्न नसक्नु मोटो ज्यानको कमजोरी हो । मेरो मन र रहरको होइन । जब मान्छेमा मन र रहर हुन्छ कसैको केही लाग्दैन । त्यसैले मेरो मोटो ज्यानले मेरो हिड्ने रहर छेक्न सकेन ।

समुद्र सतहबाट तेइस सय फिट उचाइमा रहेको श्रीअन्तु डाँडालाई दुई हजार त्रिचालीस सालमा 'दीपेन्द्र शिखर' नामाकरण गरिएको रहेछ । 'दीपेन्द्र शिखर' नामाकारण गरेपनि त्यो डाँडाको प्रसिद्धि 'श्रीअन्तु डाँडा'कै नामले रहेछ ।

करिब बिस मिनेटको उकालो पछि केही स-साना होटल भेटिए । घाम उदाउन समय अलिकति बाँकी नै रहेकाले हामीले तातो चिया र तराईको मनपराने खाजा भक्का खायौं । वर्षको चौबीस सय करवापत सामुदायिक वनलाई बुझाएपछि त्यहाँ वर्षभरी होटल राख्न पाइने रहेछ । शनिबार एकै दिनमा बाह्र-चौध हजारसम्मको आम्दानी हुन्छ । अरू बार तीन-चार हजारसम्मको आम्दानी हुन्छ भन्थे होटलवालाहरू ।

होटलहरू सकिने वित्तिकै । प्रवेश गेट भेटियो । त्यहाँ भित्र जानको लागि शुल्क तिर्नु पर्दोरहेछ। जनही पचास रूपैयाँ तिरेर हामी भित्र पस्यौं ।

भित्रको श्रीअन्तु टावरमा सूर्योदय हेर्नेको भीड जम्मा भै सकेको रहेछ । हामीले पनि टावर अगाडिको स्थान सुरक्षित गर्‍यौं र सूर्योदयको प्रतिक्षा गर्न थाल्यौं ।

सूर्योदयको व्यग्र प्रतिक्षामा रहेका यात्रुहरु बिच रोचक माहोल सिर्जना हुँदोरहेछ ।

"ए आयो आयो !" भन्ने आवाजले बारम्बार हामीलाई झुक्याउँथ्यो । सूर्य उदाउनु अघि सूर्योदय नियाल्न ठूलो उत्साह बोकेकाहरु बिच, को पहिला देख्ने भनेझैँ अघोषित प्रतिपर्धा चल्दो रहेछ ।

बल्ल छ बजेर सात मिनेटमा सूर्योदय भयो ।

पहिला रातो सूर्यको थोरै भाग क्षितिजमा देखियो । त्यसपछि बिस्तारै पुरै भाग रातो भएर निस्कियो । रातो भाग निस्किएपछि हल्का पहेंलो र त्यसपछि सेतो हुँदै सूर्यका किरणहरू छताछुल्ल धरतीमा पोखिए ।

यतिञ्जेलसम्म पनि सूर्योदय हेर्नेहरूमा हुटिङ्ग चलिरहेको थियो । श्रीअन्तुमा घामको पहिलो झुल्कोले स्पर्श गर्ने बित्तिकै धर्ती उज्यालो भयो ।
सूर्योदय नियाल्नका लागि स्थान सुरक्षित गरेर बसेकाहरू तितर्वितर हुन थाले । त्यसपछि फोटो र भिडियो खिच्नेहरूको होडबाजी चले झैँ देखियो ।

हामीले पनि श्रीअन्तु डाँडाबाट देखिने वरिपरिका दृश्यहरू नियाल्यौं ।
त्यहाँबाट टीष्टा नदि, दार्जिलिङ, खर्साङ, कञ्चनजङ्घा हिमाल आदि-आदिका सुन्दर दृश्यहरू देखिने रहेछन् ।

केही समय श्रीअन्तु डाँडामा बिताएपछि हामी पनि ओरालो झर्‍यौं । फर्कदा बाटोका दायाँबायाँ रहेका घना रूखहरूसँग लुकामारी गर्दै गर्दा । हामी कुन दिशामा हिडिरहेका छौं भन्ने बारे तर्क भयो । कोहि कसैको कुरामा सहमत हुन नसकेपछि नवीनले मोबाइलको कम्पास निकाल्यो । अनि दिशा पहिल्याउन थाल्यो ।
भूगोल हेरेर पहाडमा दिशा छुट्याउन जानेका रहेनछौँ कसैले । त्यसपछिको यात्रामा हामी कता हिड्दैछौं भन्यो कि नवीन मोबाइल झिकेर हेर्न थाली हाल्थ्यो । आज यो लेखी रहँदा उसले "अब मलाई कसैले डाट्न सक्दैन" भनेको खुब सम्झिरहेकी छुँ ।

सूर्योदय हेरेर फर्किएपछि हामीले श्रीअन्तु छोड्नु पर्ने भयो । मलाई भने त्यो प्रकृतिसँग अझै रम्न पाए भन्ने लागिरहेको थियो । तर भेटिएपछि छुटिनु जरूरी थियो ।

हामी बसेको होमस्टेले विदाईको औपचारिकता निभायो । विदाईमा हिजो देखेका घरका कोही मान्छे थिएनन् । भन्न होमस्टे भनिए पनि व्यावसायिक होटल तर्फ मोडिन थालेको भान भयो त्यहाँका होमस्टेहरू । एउटी सानी बैनीले टीका लगाइदिइन र फूलको गुच्छा दिएर बिदा गरिन् । अपनत्व दिलाउने त्यो औपचारिकता आफैंमा विचरा थियो । जे भए पनि एक दिनको श्रीअन्तु यात्राको बिट मारेर हामी पुन: ओरालो झर्‍यौं।

बेलबारी, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।