15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सहाराको सपना

कथा हिमाल लिम्बु December 3, 2021, 2:33 am
हिमाल लिम्बु
हिमाल लिम्बु

२०५५ चैत्र ५ गतेको स्मरणीय घटना हो जुन मेरो मानसपटलमा नामेट भएर बसेको छ । त्यही स्मृतिको पानाबाट कथा सुरु...............।
किरात धर्मको पवित्र स्थल इलामको माङसेबुङमा हरेक वर्ष हाङ्साम साम्यो चुम्लुङ (किरात धर्म सम्मेलन) को आयोजना हुने गर्दछ । म पनि त्यस धार्मिक समारोहमा सहभागी हुन पहिलो पटक माङसेबुङ्/लारुम्बा जाँदै थिएँ। दमक मास्तिर बेलडाँगीसम्म बसबाट गएपछि बाँकी बाटो पैदल हिड्नु पर्दथ्यो । करिब चार पाँच घण्टाको पैदलयात्रा रतुवा खोलाको किनारैकिनार भएर उकालो भिरहरुमा हिड्नु पर्ने थियो । म एक्लो यात्री रतुवा खोलाको कलकलाउदै बगिरहेको पानीसँग खेल्दै रमाउदै अगाडि बढ्दै गएँ । एक घण्टाको यात्रा पछि मैले मेरो अघिअघि एउटी दिदी; शारीरिक संरचना हेर्दा मभन्दा केही वर्षले जेठी जस्तो लाग्थ्यो, उनी पनि यात्रारत देखेँ । केही दुरीको यात्रासम्म म र त्यो दिदी कहिले अघि कहिले पछि पर्दै हिडिरहेका थियौँ । हामीबिचमा संवाद हुन सकिरहेको थिएन । आमने सामने समीपमा भए बोल्न क्षमता नभएका मानिसहरुको बिचमा पनि सांकेतिक संवाद हुन्छ तर निकैबेर हामी दुईजनासँगै हिड्दा पनि ओठ खुल्न नसक्नु आफैमा अनौठो भैरहेको थियो । मैले कुराकानी गर्दै हिडे बाटो कटेको महसुस नहुने सोचेर उनीसँग बोल्न नजिकिएँ ।
"कहाँसम्म जाने होला दिदी ?" यो प्रश्नले संवादको उद्घाटन गरेँ ।
"यही पल्लो गाँउसम्म जाने हो, भाइ।" उनले मन्द हाँसोकासाथ जवाफ दिइन्।
के खोज्जस् यात्री; सहयात्री? भने झैँ मैंले यात्रामा साथी पाएर खुसी भएँ। विभिन्न कुराकानी गर्दै हामीले लामो बाटोलाई छोटो अनुभूति गर्ने चेष्टा गरिरहेका थियौं । परिचयको क्रममा मैले आफ्नो साँचो वास्तविक नाम दिए । तर उनले थोरै अफ्ठ्यारो मान्दै नाम भनिन्, "कमरेड सहारा।"
"लाल सलाम, कमरेड।" मैले अभिवादन गरेँ।
"तुगेन भाइ, म जनताको मुक्तिका लागि होमिएकी एक योध्दा हूँ।" क. सहाराले आफ्नो मनसाय निसंकोच व्यक्त गरिन्।
"माओवादी लडाकु?" मैले उनको पोशाक र झोलालाई नियाल्दै सोधेँ।
"हो, त्यसै भन्नु पर्ला।"
"तर दिदी एक्लै ...?" मैले दया भावमा जिज्ञासा राखेँ।
"सुराकीले नचिनोस् भनेर म एक्लै हिडेको, भाइ। अरु कमरेडहरू पछि आउदैछन्।"
उनको त्यस्तो कुरा सुनेर मेरो मनमा चिसो पस्यो। कतै म जस्तो गैर राजनैतिक प्राणी जाँतोमा मकै पिध्दा घुन परे झैँ चेपुवामा पर्ने हो कि! माओवादी लडाकु र सुरक्षाकर्मीको लुकामारी, गोलावारीमा परिने हो कि! म चुप लागेको देखेर क. सहाराले सोधिन् "के भो तुगेन भाइ, बोल्न छाड्नु भयो?"
"ए, म सोच्दै थिएँ, आज चैतको कति गते होला भनेर।" मैले केही अड्किदै भनेँ।
"आज २०५५ साल चैत ५ गते हो, भाइ।" उनले निर्धक्कपूर्वक भनिन्।
"ए, हो साचै, चैत ५ गते। आज काभ्रेमा नराम्रो घट्ना घटेछ नि, दिदी । मैले रेडियोमा सुनेको ७ जना माओवादी छापामारहरूले वीरगति पाएछन् ।" मैले भयमिश्रित स्वरमा भनेँ।
"यो एकात्मक राज्यसत्ताले हामी जनक्रान्तिका योध्दाहरुलाई यसरी नै दमन गर्ने कोसिस गर्छ। तर हामी कदापि पछि हट्ने छैनौं।"
"सहयोध्दाहरुको यसरी हत्या भएको र सहादत पाएको देख्दा सुन्दा डर, वितृष्णा लाग्दैन दिदीलाई?" मैले आँट गरेर सोधेँ।
"कात्रोको फेटा बाधेर युध्दमा लागेको हौं हामी क्रान्तिकारीहरू, न वितृष्णा लाग्छ, न मर्न डर लाग्छ। हामी दुस्मनदेखि भाग्ने कायर होइनौं।" उनले भन्दैगइन् "तुगेन भाइ, म नेपालकी छोरी हूँ। मेरो सपना शोषित पीडित जनतालाई उन्मुक्त गराउदै गणतान्त्रिक नेपालको स्थापना गर्नु हो। तपाई पनि जनताको हकअधिकारका लागि शोषक सामन्तका विरुध्द लड्नुस्, भाइ।"
मैले सुस्तरी भनेँ, "कमरेड, म अध्यात्मिक प्रकृतिको व्यक्ति हूँ। म बुध्दको शान्ति, मुन्धुमको शक्ति र विकासमा विस्वास गर्छु।"
"शान्ति र विकासका लागि नै यो सशस्त्र आन्दोलन गर्नु परेको हो, भाइ। यो देशमा सर्वहारावर्ग पिछडिएका जातिले अधिकार नपाउन्जेल शान्ति र समृध्दि आउदैन। शासक वर्गले अधिकार मागेर दिदैनन्, त्यसका लागि लड्नैपर्छ बुझिराख्नु होला।"
"कमरेड सहारा, म महागुरु फाल्गुनन्द जस्तै अध्यात्मिक जागरणको बाटोमा हिड्न चाहन्छु; बुध्दको अहिंसाको मार्गमा लाग्ने प्रकृतिको छु । यस्तो स्वभावले के म लडाकु कम्युनिष्ट बन्न सक्छु?"
"स्वभावले भन्दा जनतालाई सामन्ती सरकारको चङगुलबाट मुक्ति गराउने सपनाले जो कोहीलाई कम्युनिष्ट बनाउछ। तुगेन भाइ, जनमुक्ति सेनालाई तपाई जस्ता जुझारु युवाहरूको खाँचो छ ।" यसरी गफ गर्दै हिड्दा बाटो कटेको थाह हुदैनथ्यो। त्यसैबखत, हाम्रो विपरित दिशाबाट चारजनाको एक हुल मानिसहरू हामीतिरै आउदै थिए। त्यो देखेर सँगसँगै जस्तो हिडिरहेका हामी केही मिटरको दुरी बढाउदै अघिपछि हिड्न थाल्यौं। उनको कुरा सुन्दा यस्तो लाग्थ्यो उनी महान कार्यको नयाँ पथमा अगाडि बढिरहेकी थिइन्। उनी तत्कालिन जनयुध्दकी एक योध्दा जनमुक्ति सेनाकी सदस्य थिइन् । दुई घण्टाको यात्रापछि हामी रतुवाको किनारमा बनाएको एउटा छाप्रोमा पुग्यौं । त्यो ढुंगेनी बगरको छाप्रोमा एउटी बोल्न नसक्ने दिदी चियाखाजा बेच्थिन् । बोल्न नजाने पनि कारोबार गर्न बाठी थिइन् ती दिदी । म र मेरी सहयात्री खाजापानी खान भनेर छाप्रो अगाडिको ढुङ्गामा बस्यौँ। त्यहाँ खाजा थुक्पा मात्र रहेछ भने चिया पनि चिनी बिनाको फिका मात्र थियो। हामीले थुक्पा खाजा खाने भनेर आफै नै लागि पर्यौं । ती कमरेड सहाराले नुन खोर्सानी थपेर बनाएको थुक्पाको चर्को पिरो सुप मिठो लाग्यो। त्यसैले भनिएको होला भोजन भन्दा भोक मिठो । आधा घण्टाको विश्राम पछि हामी बाटो लाग्यौँ। त्यो चार पाँच घण्टाको हाम्रो सहयात्रा पनि मलाई भने सार्है छोटो लागिरहेको थियो । उनको बोलक्कड स्वभावले होला थकान लागेको अनुभूति थिएन । उनको कुराकानीको विषय सशस्त्र क्रान्ति थियो । यो समाज र देश प्रति उनको विद्रोह गर्ने विचार सुनेर म अक्कमक्क भएको थिएँ। बिस वर्षको ठिटो भएकाले मैले उनको कुरा बुझिन भनौं भने ती दिदी पनि मेरै दामलकी जस्तो लाग्थ्यो। त्यसबेला मैले बुझेँ कि मेरो र ती दिदीको राजनीतिक चेतनाको स्तर फरक थियो। म गरिब किसानकै छोरा थिएँ।श्रमिक मजदुर वर्गमा नै पर्थेँ। तर मलाई २०५२ साल फागुन १ गतेदेखि सुरु भएको माओवादी जनयुध्दले कुनै प्रभाव पारेन। किन होला? म अनुत्तरित थिएँ। गरिब मजदुर किसान उत्पीडित जाति र वर्गका कयौं युवायुवतीहरू त्यसबेला क्रान्तिकारी परिवर्तनका लागि द्वन्दमा होमिएका थिए। ती कमरेड सहारासँगको सहयात्रामा भएको हाम्रो कुराकानीले मलाई पनि उनीसँगै युद्दमा जान मन लागेको थियो। तर मैँले त्यो हिम्मत जुटाउन सकिन; मेरो व्यक्तिगत अभिरुचि पनि त्यस्तो नभएकोले होला।
मैले उनलाई आफ्नो वास्तविक नाम भनेको थिएँ तर उनले मलाई भूमिगत हुदाको छद्म नाम मात्र दिएकी थिइन्। तैपनि मैले उनीसँग गुनासो गरिन । गफको भुलभुलैयामा नै हामी रतुवा खोलाको दोभानमा पुग्यौं । त्यो दोभान खोलाको मात्र होइन हाम्रो पनि रहेछ किनकि ती कमरेड सहारासँग मैले अलग्गिनु पर्ने ठाँउ आइपुग्यो । "ल भाइ जानुस है। हाम्रो यो यात्रालाई नभुल्नु होला।" यति भनि नसक्दै उनीसँगै हिडिरहेको बाटोबाट छुट्टिएर अर्को बाटोतिर लागिसकेकी थिइन् । मैले केही भन्न भ्याइन । हेर्दाहेर्दै उनी हरियो डाँडामाथि उक्लिरहेकी थिइन बिदाइको हात हल्लाउदै । मलाई एक्कासी थकान लागे जस्तो भयो । म गर्हुङ् मन लिएर केही परसम्म हिडेँ अनि बगरको ढुङ्गामाथि थचक्क बसेँ । भिन्नभिन्न स्टेसनका सहयात्री हौँ हामी। केहीबेर सँगै यात्रा गर्दा किन धेरै आसक्त हुने भनेर मनलाई बुझाउने प्रयास गरेँ । त्यसपछिको यात्रामा मैले एक्लो भएको महसुस गरिरहेको थिएँ । त्यसैबेला जनकलाकार जीवन शर्माले गाएको एउटा गीत कताकता गुन्जिएको भान भयो मलाईः
"उकालीमा म आउँदा आउँदै कल्ले काट्यो डाँडैको पिपलु
हिड्दा हिड्दै हितैका साथी, दोबाटोमा छुटाउन सिपालु ।"

∞ बिस वर्षपछि ∞
२०७५ फागुन १ गतेका दिन एकजना साथी जसलाई म लुङ्गेली ठूले भन्ने गर्दथे । उसले चुङमाङको सहिद स्मारक पार्क घुम्न मलाई बोलाएको थियो। दस वर्षे जनयुध्दका सहिदहरुको स्मृतिमा निर्मित त्यो स्मारक नेपालको राजनैतिक परिवर्तनको एक यादगारी थियो। सशस्त्र जनयुध्द र प्रजातान्त्रिक जनआन्दोलनको उपजको रुपमा नेपालमा लोकतन्त्र आयो। अनि सहिदहरुको सम्मानमा सहिद स्मारक र स्मृतिपार्कहरु देशैभरि बनाइए। चुङमाङको त्यस स्मारकमा सहिदहरुको नाम, ठेगाना र जन्म-मृत्यूको मिति स्तम्भमा खोपेर लेखिएका थिए। त्यहाँ भिजिटको क्रममा केही सहिदहरुको नाम पढ्दै थिएँ। अचानक एउटा नाम देखेर मेरा आँखाहरु टक्क अडिएः
सहिद सिरिमाया मगर उर्फ 'कमरेड सहारा'
जन्मः २०३४/०९/१०
सहादातः २०५५/१२/०५
मेरो मथिङ्गल हल्का हल्लिए झैँ लाग्यो मलाई। मैले निधार खुम्च्याएर सोचेँ। 'कमरेड सहारा' नाम मैले २० वर्ष अघि सुनेको थिएँ। उनीसँगको छोटो सहयात्रा र भलाकुसारीको याद आयो। उनी सहिद भैसकेकी थिइन् भनेर चाहिँ मलाई थाहा थिएन। परिचित नाम भएकाले मैले पुनः दोर्याएर हेरेँ। उनको जन्ममिति र सहादत प्राप्त गरेको मिति रामरी हेरेँ। म छक्क परेँ किनभने त्यो मिति २०५५ चैत ५ गते लेखिएको थियो। मलाई त्यसबेला झलझली याद थियो; मैले माङसेबुङ जाँदा उनीसँग भेटेको मिति २०५५ चैत ५ गते कै दिन थियो। त्यो शुक्रवारको दिन थियो। उनीसँगको भेट अविस्मरणीय थियो। त्यसैले मैले मेरो डायरीमा उनीसँगको अभूतपूर्व भेटको मितिसहित सहयात्राको बारेमा दैनिकी लेखेको थिएँ। पछि मैले त्यो पुरानो डायरी पल्टाएर हेरेँ। मिति त्यही नै थियो। त्यस दिन कमरेड सहारासँग बाटोले भेटाएको थियो र बाटोले नै छुटाएको थियो; जिन्दगीको यात्रामा सिर्फ एक पटक, मात्र एक पटक। तर कस्तो चमत्कार ! २०५५ चैत ५ काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरुले सहादत पाएका थिएँ। ती सहिदहरुमध्ये एक थिइन् कमरेड सहारा । मरिसकेकी एक वरङ्गानासँग मेरो भेट कसरी संभव भयो! कतै उनको सहादतको मिति फरक परेको थियो कि! खैर, मैले यति बुझेँ त्यस दिन उनी मलाई आफ्नो मातृभूमिको लागि लड्न, सामाजिक असमानताका विरुध्द क्रान्तिमा लाग्न र जातीय-वर्गीय विभेदलाई अन्त्य गर्नका लागि याद दिलाउन एक अवतार बनेर आएकी थिइन्। र उनले देखेको सपना सम्झाएर सदाका लागि गइन्। मैले उनको सपनालाई सम्झिने बाहेक केही गरिँन। त्यस दिन पनि सहिद स्मारक स्तम्भ अगाडि उभिएर मैले उनको धूमिल अनुहार सम्झिएँ। उत्पीडित जाति, शोषित वर्ग र सिमान्तकृतको पहिचानले के कति न्याय पायो त? मैले घोत्लिएर सोचेँ। उनले सहादत प्राप्त गेरेको बिस वर्षमा पानी नबग्ने संविधानको धाराहरूबाट पनि कयौँ रुपरङ्गका पानी बगिसकेका थिए। तर उनले जनतालाई दिलाउन देखेको विकास र समृध्दिको सपनाहरू केवल दिवास्वप्न थिए। सहिद सहाराको सपनाहरू अधुरै थिए। उनको सम्झनामा म एकोहोरिएर उभिरहेँ।
"तुगेन, त्यहाँ किन टोलाइ बसेको?" लुङ्गेली ठूलेले मलाई बोलाए पछि म झस्केँ। म भूतमा हराइरहेको थिएँ।
"यता आउन, एक पल्ट हेरि पठाउ है, यो कस्को सालिक हो?" लुङ्गेलीले एउटा सालिक देखाउदै सोध्यो।
"कमरेड सहाराको" मैले सालिक नहेरिकन जवाफ दिएँ र त्यो सहिद स्मारक पार्कबाट सरासर बाहिरिएँ ।


उर्लाबारी, मोरङ, हालःधरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।