17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुन्धुम र लोक साहित्य

निबन्ध डा. नवराज सुब्बा December 3, 2021, 4:40 pm
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

ज्ञानलाई किरात जातिले 'मुन्धुम' तथा आर्य जातिले 'वेद' भन्दछन् । मुन्धुमको कतिपय सवालमा फेदाङ्बा/मा, साम्बा अड्किन्छन् । आ-आफ्नै ढङ्गले दर्शनको ब्याख्या गरिदिन्छन् । लामो कालखण्ड जनजिब्रोमा झुन्डिएर रहेको ज्ञान विभिन्न स्थलमा पुग्दा किसिम किसिमका परिवारसित घुलमिल हुँदा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँनु स्वभाविक छ । त्यसैले मुन्धुमको वस्तुगत तथ्य बुझ्न वा जिज्ञाशा शान्त पार्नलाई साहित्यिक दृष्टि घुमाउनु पर्दछ ।

मुन्धुमी काव्यमा आउने अविधा, लक्षणा, व्यञ्जनायुक्त भावार्थ, प्रतीक र विम्बलाई गुरु, भक्त वा पाठकले आ–आफ्नै ढङ्गले ब्याख्या गर्ने गर्दछन् । त्यसैले मुन्धुम दर्शनउपर अन्त्यहीन व्याख्यान र शास्त्रार्थ हुने गर्दछन् । मुन्धुम, वेद श्रुति र स्मृति परम्परामा आधारित लोकगाथा हुन् । यो लेख्यरूपमा आउनुपूर्व लामो कालखण्डसम्म सयौं–हजारौं पुस्ता मुखमुखमा झुण्डिएर बसेको थियो । त्यसले अनगिन्ति भूगोल खेपेर मात्र वेदले एक–दुई हजार वर्षपूर्व लेख्य रूप पायो । मुन्धुमको लेखन परम्परा आरम्भ करिव एक हजार वर्ष अघि मात्र भयो । श्रुति र स्मृति परम्परामा हुर्केका ज्ञान र साहित्य लिपिवद्ध हुनअघि उत्पत्ति र विकास कसरी भयो? यसको अध्ययन गर्न लोक साहित्यसम्बन्धी सिद्धान्तको ज्ञान हुन आवश्यक छ ।

'लोक' शब्द संस्कृत भाषाबाट आएको शब्द हो । संस्कृतको 'लोक दर्शन' धातुमा 'धञ' प्रत्यय लागेर बनेको शब्द हो 'लोक' । जसको अर्थ हुन्छ देख्नेवाला, प्राणी, संसार, जनता आदि । लोक कल्याणकारी भावनाले अभिप्रेरित अभिव्यक्ति वा साहित्य नै लोकसाहित्य हो । यो शब्द ऋग्वेददेखि नै संस्कृत साहित्यमा प्रचलित भएर आएको हो । यसले विश्वव्यापी मान्यता र महत्व बोकेको छ ।

प्रसिद्ध नृतत्वविद् फ्र्यान्ज बोआसका अनुसार लोकसाहित्य भनेको लोकको आत्मजीवनी हो । डा. कृष्णदेव उपाध्याय भन्छन्- प्राकृतिक परिवेशमा निवास गर्ने आधुनिक सभ्यतादेखि टाढा रहेका आचार, विचार एवं जीवन परम्परायुक्त नियममा नियन्त्रित तथाकथित अशिक्षित एवं असंस्कृत जनतालाई 'लोक' भनिन्छ र तिनीहरूको सुख–दुखको साहित्य नै लोकसाहित्य हो ।

डा. वासुदेव त्रिपाठीका अनुसार सारांशमा जीवनको बहुमुखी सेरोफेरोको तीव्रतर अभिव्यक्ति नै लोक साहित्य हो । योगी नरहरिनाथका अनुसार लोक व्यवहारमा, लोकहितका लागि, लोकभाषामा, लोकविचारलाई प्रवाहमय शैलीमा लोकले प्रस्तुतगर्ने साहित्यलाई लोकसाहित्य भनिन्छ । माधव घिमिरेले लोकसाहित्यको चरित्रको बारेमा काव्यात्मक पारामा भन्छन्- 'सर्छन् भाका अनि यस गलाबाट अर्को गलामा' ।

धर्मराज थापा र हंसपुरे सुबेदी भन्छन्- लोकले सजिलै बुझ्न र अनुभव गर्नसक्ने भाषा र भावनामा निर्मित मानव मुटुको स्पन्दनबाट निस्केको मीठो आकर्षणमय मौखिक साहित्य नै लोकसाहित्य हो । तुलसी दिवस भन्छन्- सही अर्थमा लोक साहित्य लोकजीवन तथा संस्कृतिको प्रतिबिम्व मात्र नभएर सम्बाहक पनि हो । सरस्वती घिमिरे भन्छिन्- वेद भन्नु नै लोक साहित्य हो ।

यसरी माथिका परिभाषाअनुसार हाम्रा मुन्धुम, वेद साहित्य लोक साहित्यका कोटीमा पर्दछन् । बुँदागत रूपमा लोक साहित्यसम्बन्धी चिन्तनको सार टिपोट यसरी गर्न सकिन्छ-

१. यो युगौं युगदेखि श्रुति परम्परामा जीवित रहेको हुन्छ ।
२. यो सरल वाणीमा लोकानुभूतिको अभिव्यक्ति हो ।
३. यो लोकजीवन तथा संस्कृतिको सम्बाहक हो ।
४. यो आदिमता र नवीनताको संगम पनि हो ।
५. यो लेख्य साहित्य पूर्व पीठिका हो ।
६. यो शास्त्रीय बन्धन विहीन निरन्तर परिवर्तनशील सहजानुभूति युक्त मौखिक साहित्य हो ।

लिखित साहित्य मात्र साहित्य होइन । लिपिको आविष्कार हुनुपूर्व संसारका हरेक भाषामा अलिखित लोक साहित्य समृद्ध थियो । यसरी यसको मूल सम्बन्ध लिपिसंग नभई भाषासंग भएको देखिन्छ । लोकसाहित्यको सार्वकालिक मूलतम् विशेषताहरू पनि यसप्रकार छन्-

१. रचयिता अज्ञात रहनु, २. मौखिक एवं परम्परागत हुनु, ३. सर्वाङ्गीण सामाजिक परम्पराको उद्वोधन, ४. सचेत अलङ्करणबाट मुक्त प्राकृतता, ५. कोरा औपदेशिकताको अभाव, ६. ऐतिहासिकता र लोकसंस्कृतिको बाहक हुनु ।

पूर्वी नेपालमा बसोबास गर्ने किरात लिम्बू मुन्धुमलाई शाश्वत सत्य र पवित्र शक्तिशाली धर्मग्रन्थको रुपमा विश्वास गर्छन् । इतिहासकार इमान सिङ चेमजोङअनुसार मुन्धुमको शाव्दिक अर्थ 'ठूलो बलको शक्ति' हो । चेमजोङअनुसार मुन्धुम यस्तो महाकाव्य हो जसलाई विद्वान फेदाङ्बा/मा साम्बाहरू कुनै कार्यमा कवि, कलाकारझैं गीत मुखाग्र गाउँछन् । गीतमा दखल भएका 'साम' (गीत) 'बा' (गाउने) लाई 'साम्बा' अर्थात् किरात पुरोहित भनिन्छ ।

युगौंयुग मौखिक परम्परामा आएको मुन्धुमलाई 'थुङ्साप मुन्धुम' भनिन्छ । लेख्य रूपमा आएपछि यसलाई यसलाई 'पेसाप मुन्धुम' भनिन्छ । लिम्बू भाषामा 'पे' भनेका जानु र 'साप' भनेको लेख्नु हो । लेखेर छरिएको ज्ञान वा मुन्धुमलाई पेसाप भनिन्छ । यो चार भागमा बाँडिएको छ । १. सकसक मुन्धुम, २. येहाङ मुन्धुम, ३. सापजी (साम्जिक) मुन्धुम र ४. साप मुन्धुम । सकसक मुन्धुमले विश्व ब्रम्हाण्ड निर्माणका कथाहरू, मानव उत्पत्ति, पाप, धर्म तथा मानवीय रिस, राग, ईर्ष्या, घृणा आदिको चर्चा गर्दछ । येहाङ मुन्धुमले आध्यात्मिक शिक्षा, शिक्षित र सभ्य मानव जीवनको बाटो देखाउँछ । अन्य मुन्धुमहरू पूजाआजा, जन्म, मृत्यु आदि कर्मकाण्डका विधि र सामग्री हुन् ।

मुन्धुमलाई प्रथम किरात राजा यलम्बरहाङले नेपालमा प्रचलनमा ल्याएको र सोही क्रममा बाग्मति किनारस्थित गौरीघाट श्लेष्मान्तक बनको छेउमा आफ्नो इष्टदेवता किरातेश्वर महादेवको देवालय बनाई शिवलिङ्ग स्थापित गरेको किरात इतिहास बताउँछ । इतिहासअनुसार उनले त्यहाँ नित्यपूजाको लागि साम्बा, फेदाङ्बा/माको व्यवस्था गरेका थिए । उनी हिमहाङ साम अर्थात् इन्द्रदेवको स्थान आफ्नो महलको माथिल्लो तलामा राखि अन्न, अनाज पाक्दा चसुपा अर्थात् न्वाँगी चढाउने गर्दथे । किरातेश्वर महादेव, इन्द्रदेवको नित्य धुपबत्ती गर्नलाई पूजारीको व्यवस्था गरिएको थियो । किरातकालमा अत्यन्त भक्तिभावले थेबा साम्माङ शिव र इन्द्रको आराधना गरिन्थ्यो भनी इतिहासकार राजबहादुर पन्धाक लिम्बू किरातले ‘विश्वको इतिहास तथा धार्मिक अभिलेख’ पुस्तकमा जनाएका छन् ।

पन्धाक किरातका अनुसार मुनातेम्बेदेखि लिम्बूवानसम्म आइपुग्दा थेबासाम्माङ किरात धर्मको जयन्ति १०,१०६ वर्ष भएको छ । यिनका शाखाहरूमा– यहाङ धर्म, सत्यहाङमा धर्म, पारूहाङ सुम्निमा धर्म, हिन्दू सनातन धर्म, वैष्णव धर्म, प्रणामी धर्म, साइबाबा धर्म, रोमन क्याथोलिक धर्म, येशुक्रिष्ट धर्म, सिया मुसलमान धर्म, सुन्नी मुसलमान धर्म भएको इहिहासकार राजबहादुर पन्धाक लिम्बू किरातको दावी छ ।

जेहोस्, मुन्धुम र वेदलाई लोकसाहित्य समेत मानेर वैज्ञानिक दृष्टिले विश्लेषण गर्नुपर्दछ । यस कार्यमा लोकसहित्यका सिद्धान्तहरू उपयोगी हुन सक्छन् । मुन्धुममा विश्वास गर्नु यसभित्र आध्यात्मिकता भेट्नु एउटा पाटो हो । जनआस्थालाई सम्मान गर्दै एक्काइशौं शताब्दीमा हामीले कुनै पनि ज्ञानको वैज्ञानिक प्रकाशमा नियाल्न खोज्नु पर्दछ । यस कार्यमा चुक्यौं भने हामी पछि पर्नेछौं । हरेक परम्परागत ज्ञानलाई विश्वास गर्न सकिन्छ तर यसैमा विवेकको बिर्को बन्द नगरौं, अन्धविश्वासी नबनौं । कुनै संस्कृतिभित्र हुर्कनु आफ्नो वसको कुरो होइन । यद्यपि आफू बाँचेको क्षितिजबाहिरका प्रकाश र ज्ञान नियाल्न चुक्नु भने हुँदैन ।

सन्दर्भ सामग्री
- कोइराला, शम्भु प्रसाद, लोक साहित्यः सिद्धान्त र विश्लेषण, धरणीधर पुरस्कार प्रतिष्ठान, २०५६
- घले, भद्राकुमारी, घलेको इतिहास, भद्राकुमारी घले प्रतिष्ठान, २०६७
- पन्धाक लिम्बू, राजकुमार, विश्वको इतिहास तथा धार्मिक अभिलेख, ईन्दिरा लिम्बू, २०६४
- पोखरेल, बालकृष्ण, खस जातिको इतिहास, विराटनगर, उदात्त अनुसन्धान अड्डी, २०५५
- Hamilton, F. B. An account of the kingdom of Nepal. Delhi: Asian Educational Services, 1819 Reprinted 1986.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।