15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्यारा युवक - ३

कविता काशीनाथ मिश्रित December 12, 2021, 4:09 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

मेरा प्यारा युवक रिसले चिम्लनू हुन्न आँखा ।
हेदौ खूशी भइकन युवा ! बन्नु पर्ला चनाखा ।
देखेँ मैले युवक हँसिलो नित्य तिम्रो मुहार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

आयो क्यारे समय तिमिले हाँकने देशलाई ।
थाके बूढाहरु गलिसके दुख्ख भो थाम्नलाई ।।
झट्टै आईकन अब त हेण्डील तिम्ले बटार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

थोत्रो गाडी सरह हुन गो देशमा छैन ऊर्जा ।
बाटो पक्की हुन नसकदा थोत्रिए पाटपूर्जा ।।
बाटोघाटो मरमत गरी झट्ट आऊ सपार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हामा्र अग्ला हिमशिखरले भन्दछन् स्थीर होऊ ।
हामी जस्तै युवकहरु हो ! नित्य गम्भीर होऊ ।।
आपत्तीमा पनि नडग है माथमै थाप भार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हाम्रा लामा नद–नदिहरू भन्दछन् बग्न जान ।
बग्दा बग्दै मयल मनको सिन्धुमा लग्न जान ।।
ढुङ्गा मूढाहरु बगरमा जोडले लौ पछार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

तिम्रो शक्ती अधिक छ युवा तौलनै सक्छ को र ?
तिम्रासामू कुन मुलुकको शक्तिको चल्छ जोर !!
गुम्लान् तिम्रा अवयव बरु शत्रुसामू नहार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

जानै लाग्यो यस मुलुकको प्राणवायू बचाऊ ।
खानै पर्ला जहर सहजै अन्न सम्झी पचाऊ ।।
तातो गोली युवक तिमिले निल्न होऊ तयार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हाम्रो नीलो गगन दिनहुँ भन्छ होऊ विशाल ।
एकै चोटी जगतभरको खोज है हालचाल ।।
गर्दै होलान् कति नरहरू विश्वमा काटमार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

तारा टल्कीकन गगनमा भन्दछन् बल्नुपर्छ ।
हामी जस्तै हरदम तिमी दिप्त भै चल्नुपर्छ ।।
कालो रात्री पनि टलकिई हामिले भैmँ सिँगार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

भत्के हाम्रा महल सहजै कल्पनामा अडेका ।
चोरीए ती कनक गहना रत्न मोती जडेका ।।
फेरी उस्तै गर , छ तिमिले माग यो जोडदार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

लागे भाईहरु समरमा देशलाई डुबाए ।
खैलाबैला अधिकतम भो खूब धोखा खुवाए ।।
भद्रा हेर्ने नगर तिमिले रोज राम्रो विचार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

गोर्खालीको यश जगतमा छैन कत्ती चलेको ।
मेट्दै जानू कति उचित हो ! छैन शक्ती गलेको ।
पुर्खाको यो किरण तिमिले सूर्यले भैmँ फिँजार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।