15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

हिङ

कविता सतीश छेत्री December 19, 2021, 4:01 am
सतीश छेत्री
सतीश छेत्री

'हिङ त छैन नानी
हिङ बाँधेको टालो छ'
त्यही सुघाउँदै
बाजे भन्नुहुन्छ
हिङ भनेको चाइने
'यस्तो' हुन्छ
अनि बाजे थप्नुहुन्छ
'मैले यो मेरो बाजेबाट सिकेको हुँ।'

अनि म हुन्छु
मसित हुन्छ त्यही
हिङ बाँधेको टालो ।
अब हिङ कस्तो हुन्छ -
सुनजस्तो हुन्छ ?
कि
खूनजस्तो हुन्छ ?
बाजेले त्यो निर्णयक्षमता
मेरो देब्रे छातीमा
फूललाई झैं
सिउरिदिनुहुन्छ।
*

हिङ मेरो कविता
जो भाव भर्नसक्छु
हिङ मेरो क्यानभास
जो रङ शृङ्गार्न सक्छु
हिङ मेरो धर्म
जो विचार गर्नसक्छु
हिङ मेरो समाज
जो नियम राख्नसक्छु
हिङ मेरो देश
जो व्यवस्था अप्नाउन सक्छु

तर हिङ नसमाइने
माछी झैं हुँदैजान्छ
किनभने
हिङ भनेको स्कोप
हिङ भनेको संस्कार
हिङ भनेको कर्म
हिङ भनेको नेतृत्व
हिङ भनेको एकान्त
हिङ भनेको पर्यावरण
हिङ भनेको ब्रम्हाण्ड
हिङ भनेको एलियन
हिङ भनेको उदारता
हिङ भनेको प्रेम
हिङ भनेको स्वास्थ्य
हिङ भनेको भगवान
हिङ भनेको देशतन्त्र
हिङ भनेको प्रजातन्त्र
हिङ भनेको जीवन
हिङ भनेको आनन्द
...
*

अझै एउटा हिङ भनेको - मृत्यु
जसलाई देखिँदै - देखिँदैन
तर आएर गएको
वा भइरहेको प्रमाण
छोडेको हुन्छ
एउटा टालो ।।
*
आज
यो 'जेरोक्स'को
'जेरोक्स'को
'जेरोक्स'को
'जेरोक्स'को
'जेरोक्स'को
'जेरोक्स'को
'जेरोक्स'को
...
'जेरोक्स' जस्तो
हिङ बाँधेको टालो
मसित छ
अनि म
सम्भावित नातिलाई
परिकल्पेर
बसिरहेछु
आफ्नो बाजे उमेरलाई पर्खेर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।