15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

“संवैधानिक पत्नी’ भित्र राजनीति

कृति/समीक्षा दीपक लोहनी December 19, 2021, 4:13 am
दीपक लोहनी
दीपक लोहनी

नेपाली साहित्यमा कृष्ण बजगाईं परिचय गराइरहनु पर्ने नाम पटक्कै होइन । विविध विधामा पुस्तक प्रकाशन गरेर कृष्ण बजगाईं पाठक, समालोचक, सम्पादक र समीक्षकको आँखामा परेका छन् । केही विधामा त उनले एउटा छुट्टै धारको पनि बिकास गरेका छन् ।
पछिल्लो समय कृष्ण बजगाईंले विवेक सिर्जनशील प्रकाशन प्रा.ली.को मार्फत “संवैधानिक पत्नी’ (२०७७) लघुकथासंग्रह प्रकाशीत गरेका छन् । संग्रहमा ५४ वटा लघुकथाहरु संग्रहित छन् । लघुकथाहरु साँच्चै नै लघु छन् । शब्दको आधारमा लामा मानिएका लघुकथाहरु पनि २५० शब्दहरुमै सिमित गरी लेखिएका छन् ।
भनिरहनु पर्दैन, लघुकथा आफैमा एक पूर्ण विधा हो । अहिले हतारको समय चलिरहेको कारणले पनि धेरै पाठकहरु लघुकथा पढ्न उत्साहित देखिन्छन् । राम्रा लघुकथामा समय, परिवेष, पात्र र संवाद चुस्त हुन्छ । पटकथा दुरुस्त हुन्छ र कथाको अन्त्यमा रहेको वीजवाक्यले पाठकले आनन्द मान्दै पढेका कुराहरुलाई सिधै उल्टाइदिन्छ । अनि पाठकलाई कथाको समापनले पुरै रन्थनाइदिन्छ । तसर्थ पाठकहरु सधै राम्रा लघुकथाहरु पढ्न लालाइत हुन्छन् । राम्रा लघुकथाहरुले काव्य, आख्यान र नाटकको स्वाद एकैपटक दिन सक्छ ।
लघुकथाककार कृष्ण बजगाईं “संवैधानिक पत्नी’ लघुकथासंग्रहमा सफल लघुकथाकार बनेका छन् । उनीले संग्रहको सुरुवात “कमरेडको अन्तर्वातार्’ लघुकथाबाट गरेर “कमरेडको पेट’ लघुकथामा लगेर अन्त्य गरेका छन् । यसर्थ पनि सहजै अनुमान लगाउन सकिन्छ उनी लघुकथा लेखनमाा विशेषतः राजनीतिक बिषय बढी रुचाउछन् । यस संग्रहमा लगभग पैतालीस प्रतिशत लघुकथाहरु राजनीति बिषयमा केन्द्रीत छ ।
“संवैधानिक पत्नी’ लघुकथामा कृष्ण बजगाईंका कथाहरु राजनीति, महिला, एन.जी.ओ./आई.एन.जी.ओ र स्वैरकल्पनामा बाँधिएका छन् । राजनीतिक कथाहरुले नेतालाई सुध्रिन भरमज्दुर प्रयास गर्दै नागरिकलाई सचेत गराएको पाइन्छ । महिलाको बिषयमा लेखिएका कथाहरुले महिलाको पौराणीक र वर्तमान रुप अनि चरित्र चित्रण गर्न सफल भएको छ । आई.एन.जी.ओ.का बिचार, काम र लक्ष्यलाई पनि बजगाईंका लघुकथाहरुले ठाउँ ठाउँमा चढ्कन चिउरा दिन भ्याएका छन् । केही लघुकथाहरुले स्वैरकल्पनालाई कथाको मुख्य गोरेटो बनाएका छन् । स्वैरकल्पनामा उनिएका कथाहरुले पाठकहरुलाई अलौकिक आनन्द प्रदान गर्ने सम्भावना प्रष्ट छ ।
कृष्णका कथाहरुमा हाम्रै भोगाईहरु छन् । पात्रहरु पनि हामी नै छौ अनि परिवेष हाम्रै छ । तर स्थान हाम्रो वरिपरीको हँुदाहँुदै पनि हाम्रो होइन । कता सुने सुने जस्ता वा कतै पुगे पुगे जस्ता । भाषणपुर, सहिदपुर, बिचित्रपुर र बेबकुफनगर । साँच्चै बजगाईले स्थान छनोटमा चलाखी गरेका छन् ।
सामान्यतया लघुकथाले बिचारलाई तीब्र गतिमा अगाडि बढाउँदै पाठकमा कौतुहलता पैदा गरेर पाठकलाई अन्त्यमा झ्याम्म दनक वा झड्का दिनुपर्छ । लघुकथाले व्यङ्ख बोकेको हुन्छ तर लघुकथा आफै चुट्किला बनेर पाठक हसाउनु हुदैन ।
“संवैधानिक पत्नी’ मार्फत कृष्ण बजगाईंले लघुकथाहरुमा तीव्र बिचार भरेका छन् । वाक्यहरु छोटा र फुर्तिला छन् । संवादहरु चोटिला छन् । थोरै पात्र र आवश्यक मात्र परिवेष छ । व्यङ्खले शिखर चुमेको छ । यसभित्रका लघुकथाहरु “कुकुर क’, “संवैधानिक पत्नी’ वा “चप्पल’ त सामान्य उदाहरण मात्र हुन् । संग्रहका अधिकाम्स लघुकथाहरु लघुकथाको मानक सिध्दान्तमा नै लेखिएको छ ।
लघुकथाकार कृष्ण बजगाईंका केही लघुकथाहरु प्रेम र यौनमा पनि बगेका छन् । तर उनी प्रेम र यौनका कथाकार पटक्कै नभएको कारण उनी यी बिषयमा जम्न सकेका छैनन् ।
लघुकथा लेखनमा कृष्ण बजगाईं राजनीति, महिला र स्वैरकल्पनामा नै उत्कृष्ट छन् भन्ने प्रमाण हो “संवैधानिक पत्नी’ । नयाँ पाठकहरुलाई यो लघुकथासंग्रह लघुकथा कसरी लेख्ने ? भन्ने बुझ्नको लागि उपयुक्त हुन सक्छ भने खारिएका पाठकहरुलाई नेपाली लघुकथाको मानक र वर्तमान धार अध्ययन गर्न सहयोग गर्ने छ ।

कृतिः संवैधानिक पत्नी
विधाः लघुकथा
प्रकाशकः विवेक सिर्जनशिल प्रकाशन प्रालि
प्रकाशनः २०७७
पृष्ठः ११२
मूल्यः रु.२७०/-

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।