15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सिक्काका दुई पाटा

लघुकथा मनिश कुमार शर्मा समित December 26, 2021, 3:36 am
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

दुई अपरिचित तर गन्तव्य एकै - भट्टी पसल । नियमित आवतजावतले केही दिनदेखि त्यही भट्टी पसलमा परिचित भए । एक अर्कालाई आत्मियता दर्साउन ‘सोम’ भनि सम्बोधन गर्ने थाले ।

एकदिन प्रसङ्गवश एक अर्कालाई वेदना पोखे ।

“जिन्दगीमा सबै चिजले छोड्दो रहेछ, तर उसको यादले नछोड्दो रहेछ । जीवन उत्साहमा पाईला अघि सरेन यही रक्सीको मातमा आफ्नो तिक्तता छोप्न खोज्छु ।“ फेरि मादक स्वरमा गुनगुनायो -
“निर्मोहीले छाडेर गई हाली !
हेर्दाहेर्दै अर्कैको भै हाली “

“थाहा छ सोम प्रेममा धोका खानेहरुको गन्तव्य भट्टी पसल हो ।” पहिलोले आफ्नो कथा बतायो

“तर मेरो कथा फरक छ सोम । न त आफ्नो वेदना पोख्ने सहरा नै पाए न साथी भेटेर दुःख सुःख मेटाउन । आफ्नो आवश्यकताले भन्दा पनि बूढी आमाको मन बुझाइदिन इष्टमित्रकै बन्दोबस्तमा विवाह गरियो धनी बाउकी छोरी। तर अहिले सोच र व्यवहार दुवै ध्रुविकरण भएको छ। स्ट्याटस (हैसियत) मिलेन रे । त्यसलाई स्ट्यटस् चाहिएको.... । विवाह गर्नु अघि आँखो फुटेको थियो र मेरो स्ट्याटस देखिन त्यसले....“ – दोस्रोले आफ्नो मनको रोष निकाल्यो ।

आ-आफ्नो मनभित्र गुम्सिएको अन्तर्ज्वाला सुनाएर आज दुवैको मन केही हल्का भएको थियो । भोलि फेरि साथै पिउने वाचा सहित छुट्टिन लागे ।

“ओहो ! सोम मैले त भन्न बिर्सेको भोलि मेरी बुढीको बर्थ डे रे । म त आउन पाउँदिन। म त्यहाँ भइन भने प्रलय नै आउँछ । बरु सोम भोलि मेरो घरमै जम्नु पर्छ है “ – दोस्रो

“आउने र ?“ - पहिलो अलि अन्कनायो

“ह्या.. सोम पनि मलाई साथी हुन्छ क्या नत्र बोर हुन्छ ।” – दोस्रो

“ठिकै छ सोम भोलि त्यतै भेटौंला ।“ भन्दै पहिलो विदा भयो ।

भोलि पल्ट उ आफ्नो सोमकहाँ गयो । निकै रमझम थियो । उसको सोमको श्रीमतीसँग परिचित हुन उसले नमस्कार गर्न हात के उचालेको थियो । उचालिएको उचालिएकै भयो । कुटिल हाँसोमा दोस्रोको कानमा फुस्फुसायो - “सोम हामी त एउटै सिक्का दुई पाटा रहेछौं ।”

ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।