16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हत्तु हैरान

हास्यव्यङ्ग्य संप्रस पौडेल 'दिवस' December 26, 2021, 5:40 pm
संप्रस पौडेल 'दिवस'
संप्रस पौडेल 'दिवस'

स्कूल पढ्दा ३ रुपेवाला हिमाल कापी र १ रुपेवाला सिसाकलम पुरस्कार पाउँदा दङ्गै पर्थ्यौं । आजकाल त पुरस्कार पनि साटफेर हुन्छ अरे । "अरे होइन हो कान्छा साटिसके । केश, भेष, फेस साटिसके अब उस्तै परे देश नै साट्न बेर छैन ।" उताबाट आफ्नै मन चिच्याउँछ । म चुप लाग्न अनुरोध गर्छु । जबर्जस्ती गरे पार्टी फेरिदिने धम्की दिन्छ । मन पनि हाम्रो बसमा कहाँ रहेछ र । आफ्नो बसमा भए चुनावैपिच्छे, सरकारैपिच्छे पार्टी फेर्न किन भन्थ्यो होला र ।
मनलाई सम्झाउँछु- हेर् मन भाइ, आजकाल त पुरस्कार पनि किनबेच हुन्छ अरे । एउटाले बडो सल्लाह गरेर २० हजारको पुरस्कार किनेको । अर्कोले १५ हजारमा टारेर उल्टै घाटा लाग्यो भन्नेहरुका हुलका हुल निस्कनेछन् । यस्तो समाचारले आइपिओ शेयर नपरेर वा सेकेण्डरी मार्केटमा लगानी गरेर हत्तु हैरान भएकाहरुलाई राहत मिल्दो हो । डुब्ने त हामी मात्र कहाँ हौं र भन्दै चित्त बुझाउँदा हुन् ।
पुरस्कार तानातान हुन्छ भन्छन् । नपाउनेले हानाहान गर्छ भन्छन् । पाउँनेले गीत गानागान हुन्छ भन्छन् । आफ्नो-आफ्नो छानाछान हुन्छ भन्छन् । खै कसैले पुरस्कार लिन पनि बोलाउँदैन । नत्र मै पनि तिर्थेँ नि जस्तो पनि लाग्न थालेको छ आजकाल ।
पुरस्कारको खहरे आउँछ । धमिलो पानीमा बल्छी थापेर बस्छन् । पुरस्कार दिने र पाउने दुवै बेखुसी छन् । खुसी मनाउँ फिर्ता दिनु छ । दुख मानौं पैंचो न हो, एकदिन फिर्ता आइहाल्छ ।
भोट पनि औंलाले छाप हान्ने कि मुड्कीले बजार्ने थाहा नहुनेहरुलाई वल्लो पल्लो पार्टीमा सर्दा सर्दा हत्तु हैरान छ । ३ करोड नेपाली एमालेका छन् । ३ करोड राजा चाहन्छन् । ३ करोड कांग्रेसका छँदैछन् । ३ करोड तटस्थ पनि छन् । यस्तो हिसाबले तथ्यांक विभाग र निर्वाचन आयोगलाई पनि हत्तु हैरान पर्दो हो । यतिखेर मन हिसाब गर्नमैं व्यस्त छ । जदौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।