15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाई गोविन्दे

कथा आसना पौडेल December 26, 2021, 5:46 pm
आसना पौडेल
आसना पौडेल

नेपालको पूर्वी पहाडी एउटा गाँउमा सामान्य किसान परिवार बस्दथ्यो । उसबेला ग्रामिण भेगका निम्नमध्यमवर्गीय ब्राह्मणहरु पूजापाठ र जजमान गरेर घर चलाउँथे । तिलकमानको परिवार भने खेतिपाती, मेलापात र गाइवस्तुको हेरचाहमा रमाएको थियो । भिराला कान्ला र पहरामा खेती गर्न कठीन भएपनि उनीहरु त्यसैमा खुशी देखिन्थे । घाम उदाउनुअघिनै रमाले पँधेरापात, लिपपोत गरेर पूजापाठ भ्याइसक्थिन् । गाइवस्तुलाई गोठवाहिर सार्ने, घाँसस्याउला ल्याउने, चुलोचौको गर्ने अनि मेलापात भर्ने उनको दैनिकी थियो । रातीको ढिकीजाँतो पनि रमाकै भागमा पर्दथ्यो भने हलोकोदालो आदी पाखुरी बजाउने काम तिलकमानले गर्दथे । यसरी बढीजसो काम र जिम्मेवारी रमाको भागमा परेपनि एकले अर्कालाइ माया गर्ने र सघाउने गर्दा दुबै प्रसन्न देखिन्थे ।

गाँउमा तिलकमानको परिवार सारै असल अनी सहयोगी भनी कहलिएको थियो । कसैलाइ केही पर्दा, सरसापट चाहिदा तिलकमानलाइ भन्न आइपुग्थे । मानासामल पैचो माग्न आएकालाइ तीलकमानले ‘भैगो फिर्तागर्न पर्दैन है’ भन्दै सित्तै दिइ पठाउँथे । सधैजसो कोदोको ढिडो, सिस्नाको साग र मकैको च्याँख्ला आदी खाएर छाक टार्ने गाँउलेहरु चामलको भात पेटभरी खान पाइने आशामा तिलकमानलाइ मेलापातमा सघाउन आउँदथे । रमाले पनि गक्षअनुसार आफैलाइ भनि जोगाएर राखेको मिठोमसिनो समेत बनाएर आगन्तुकलाइ खुवाउने गर्दथिन् । आतिथ्य पाइने भएकाले गाँउवाहिर वा शहरतिरबाट घुम्न वा कामविशेषले आउनेहरु पनि तिलकमानकै घरमा बास बस्दथे ।

यसरी गाँउकै उदाहरण बनेको तिलकमानको परिवारमा नयाँ सदस्य थपियो । सो बालक जतिखेरै हँसिलो र बोकेर खेलाइहालु लाग्ने देखिन्थ्यो । भोक प्यास त के लडेर चोटै लाग्दा पनि च्याँ समेत गर्दैनथ्यो । धार्मिक स्वभावका तीलकप्रसादले न्वारनमा जुरेबमोजिम छोराको नाम भगवान विष्णुको नामबाट ‘गोविन्द’ राखे । घर अनी गाँउमा सबैले माया गरेर उसलाइ ‘गोविन्दे’ भनि बोलाउँथे । निकै सोझो, कम वोल्ने तर पढाइमा अब्बल उसलाइ कसै कसैले ‘गाई गोविन्दे’ भनि जिस्क्याउँथे । निकै तिक्ष्ण र मेधावी भएकाले गाँउको स्कूलमा उँ सधै पहिला आउँथ्यो । असल र तेजस्वी लाग्ने सन्तान पाएपछि तिलकमानको दम्पत्तिले दोस्रो सन्तानको चाह पनि खासै राखेनन् । उनीहरुको अर्को सन्तान हुँदा पनि भएन ।

पढाइमा धेरैनै रुची लिएको देखेर तिलकप्रसादले राम्रो फसल हुने गरेको गैरिखेत वेचेरै भएपनि गोविन्देलाइ उच्च शिक्षाका लागि राजधानी शहर काठमाडौं पठाए । भाडाको कोठामा साथीहरुसँग बसेर गोविन्देले मेहनतका साथ पढ्दै गयो र नेपालीमा प्रथम श्रेणीमा एम ए पास गर्यो । लगत्तै लोकसेवा लडेर गोविन्देले सरकारी जागिर पनि खायो । अध्ययनशील, जागिरे, इमान्दार अनि असल स्वभावको गोविन्देलाइ उसले काम गर्ने कार्यालयका प्रमुखले छोरीसँग विवाहको प्रस्ताव गरे । सजातीय र काठमाडौंकै केटी विहे गर्ने कुराले छोराको जीवन सुखी र व्यवस्थित हुने ठानी तिलकमानले पनि मञ्जुरी दिए । केटी पक्षकै व्यवस्थापनमा गोविद्नेको विहे धुमधामसँग काठमाडौंमै भयो ।

नयाँ भाडामा लिएको फ्लाटमा सहयात्री जेनीसँग बस्नथालेपछि गोविन्देको जीवनले नयाँ चरणमा प्रवेश गर्यो । ठूला चाडबाड, घरमा कोही विरामी पर्दा वा बा–आमाले बोलाउदैंमा पनि मिलाएर घर पुग्ने गरेको गोविन्दे केही वर्षदेखि बा–आमा थला परेको खबर आँउदा पनि गाँउ जान छाड्यो । तर एकदिन कुनै खबरै नगरी गोविन्दे टुप्लुक्क घरमा देखापर्यो । छोरालाइ अकस्मात पाँउदा बा–आमा खुशीले गदगद् भए । तर त्यो खुशी लामो समय टिकेन । किनभने गोविन्देले आप्रवाशीको रुपमा बेलायतको प्रवेशाज्ञा पाएकाले श्रीमती लिएर उतै जान लागेको खबर सुनाउन आएको बतायो । तिलकमानको जोडीले एकअर्काको मुख हेराहेर गरे अनि निन्याउरो अनुहार लाएर ‘जहाँ गएपनि तेरो भलो होस्’ भनी आशिर्वाद दिए । भालेको डाँकसँगै भोलिपल्ट गोविन्देले गाँउ छाड्यो र त्यसको केही महिनामा नेपाल छाडेको खबर सुनियो ।

दिन, महिना अनि वर्ष हुदैं गोविन्देले देश छाडेको १५ वर्ष बितिसकेछ । कडा मेहनत गरेर कम्प्यूटर इन्जिनियरका रुपमा गोविन्देले आज आफ्नो परिचय बदलेको छ । लण्डनमा आलिशान घर, विलाशी गाडी सँगै दुइजना छोरी हुर्केर किशोरी भइसकेका छन् । निकै व्यस्त, व्यवसायिक र आधुनिक गोविन्दे र उसका परिवारले दशैंका साटो क्रिसमश अझ भव्यसँग मनाउने गरेका छन् । शुरुशुरुमा कुशलमंगल सोध्न फोन गर्ने गरेको छोरो रमा थला परेर वित्दासमेत घर नआएपछि तिलकमान छोरासँग बोल्न छाडेका छन् । दुःखकष्टका साथ हुर्काएको एकमात्र छोरा निष्ठुर अनि स्वार्थी भएको तिलकमानलाइ लागेको छ ।

गोविन्देको वानीवेहोरा, तिक्ष्णता र सफलताको प्रशंशा गरेर नथाक्ने गाँउलेहरुले क्रमश उसलाइ भुलिसकेका छन् । कुनै समय सबैको सहयोगी र उदाहरणीय बनेको तिलकमानको घरमा आज उनी थला परेका छन् । तातोपानी तताएर दिनसमेत घरमा कोही छैनन् । वेलावखत गाँउका बुढापाका पुगेर संचोविसंचो सोध्दै तिलकमानलाई सान्त्वना दिने गर्दछन् । छरछिमेकले पुगेर “माहिला बाहुन, भन्नु है के चाहिन्छ?’ भन्दा तिलकमान जवाफ फर्काउछन्– “तिमीहरु छदैंछौ, मलाइ अरु के–नै को–नै चाहियो र!”

एडमण्टन, अलवर्टा, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।