15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उपन्यासकार नात्चुमेको बिरालो

नियात्रा कृष्ण बजगाईं December 26, 2021, 4:06 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

प्रसिद्ध जापानी उपन्यासकार नात्चुमे सोसेकीलाई निकै अघिदेखि भेट्न खोजिरहेको थिएँ । बल्ल गर्मीको विदामा एकदिन अवसर जुर्यो । एक साता अघिदेखि बेलायतमा गर्मीको एक छत्र शासन चलिरहेको थियो । प्रचण्ड गर्मीको प्रवाह नगरी नात्चुमेसँग साक्षात्कार गर्न लन्डनमा अवस्थित उनको म्युजियमतिर उत्साहित पाइला चालेँ । मेरा पाइला भन्दा छिट्टिटो उत्सुकताहरु लम्किरहे ।
म्युजियम अगाडि पुग्दा असिन पसिन भइसकेको थिएँ । अचानक मेरो उत्साहमा कालो बादल मडारियो । पैतिस वर्षसम्म संचालित म्युजियमको ढोका सदाका लागि बन्द भएको सूचना मेरा आँखामा टाँसिए । मेरो उत्साह बाफ बनेर उड्यो ।
मनमा गह्रुँगो प्रश्न उठ्यो–‘सात समुद्र पारी जापानी साहित्यलाई चिनाई रहेका उपन्यासकारको म्युजियम किन बन्द गरिएको होला ?’ म निरुत्तर थिएँ । त्यसको जवाफ दिने निकाय ढोकामा ताला मारेर कहाँ पुगे पत्तो थिएन । खिस्रिक्क परेर एकछिन् त्यहीँ उभिरहेँ ।
मनले हार खान मानेन । उत्साहित पाइला पछाडि फर्कन चाहेनन् । नात्चुमेका बारेमा नयाँ जानकारी नलिइकन कहाँ फर्किन्छु र ? मनमा अठोट लिएँ । अन्ततः लन्डनको क्लापहाम्मा अवस्थित उपन्यासकार नात्चुमे भाडामा बसेको घरमा केही जानकारी पाइएला कि भनेर त्यता लागेँ ।
त्यहाँ पुगेपछि थाहा पाएँ, नात्चुमे पहिले भाडामा बसेको कोठामा अहिले अरु नै कोही बस्दा रहेछन् । नयाँ डेरावालले उनको इतिहास किन सुरक्षित राख्थे होलान् र ? पैसा कमाउने घर धनिलाई साहित्य लेख्ने नात्चुमेको बारेमा के मतलब ? मेरो जिज्ञाशु मन बेचैन भयो ।
चारैतिर दौडिरहेका मेरा चंचल आँखा अचानक त्यस घरको भित्तामा ठोकिए । नात्चुमेको सम्मानमा नाम र जन्ममिति सहित उनी यहाँ बस्दथे भन्ने बेहोरा उल्लेख भएको निलो प्लेट टाँसेको देखेर हर्षित भएँ । अरु जानकारी नपाए पनि उनको नाम पढेर चित्त बुझाएँ ।
बेलायतमा नाम चलेका स्वदेशी तथा विदेशी साहित्यकारको निवास वा भाडामा बसेको घरमा स्थायीरुपमा तिनका बारे संक्षिप्त जानकारी लेखिएको निलो प्लेट टाँस्ने चलन छ । बेलायतमा यस्तो प्रभावकारी कार्य प्रचलन आएको एक सय पचास वर्ष भन्दा बढि भइसक्यो । त्यसले निरन्तरता पाइरहँदा साहित्यकार र तिनका प्रशंसकलाई गर्वबोध हुने गर्दछ । त्यो देखेर म आफै खुसी हुने गरेको छु ।
साहित्यकारको नाम अंकित त्यस्ता निलो प्लेटले साहित्यिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरेको पाएको छु । पुस्तकमा सिमित साहित्यकारको संक्षिप्त चिनारी सार्वजनिकरुपमा तिनको निवासका भित्ता टाँसिनुले तिनलाई जीवन्त बनाउन मद्दत गर्दछ । निलो प्लेटलाई मैले लेखकलाई सम्मान गर्ने र तिनलाई नयाँ पुस्ता माझ चिनाउने महत्वपूर्ण कार्यको रुपमा लिएको छु । लेखकलाई दिइने त्यो भन्दा ठूलो सम्मान र पुरस्कार अरु के पो होला र ? मेरो विचारमा साहित्यकारलाई सम्मानस्वरुप दिइने ताम्रपत्र भन्दा साहित्यकारको निवासको भित्तामा टाँसिने फलामका त्यस्ता प्लेटको बढी महत्व हुन्छ । आफ्नो कोठामा थन्काउने ताम्रपत्र भन्दा सार्वजनिकरुपमा टाँसिने त्यस्ता सूचना प्लेटले साहित्यकारको सम्मान गर्दछ । नयाँ पुस्ताबीच साहित्यकारलाई पुर्याई रहन्छ । तिनलाई विस्मृत हुन दिदैन ।
नेपाल सरकारले साहित्यकारका लागि खासै केही काम नगरेको गुनासो छ । जो हामीले देखिरहेका छौं । भोगेका छौं । थोरै खर्चमा गर्न सकिने साहित्यकारको चिनारी भएको त्यस्तो प्लेट टाँस्ने कार्य प्रभावकारी हुन सक्थ्यो । त्यस्तो कामको सुरुवात गरे हुन्थ्यो नि ! विदेशी भूमिबाट अचानक नेपाल प्रज्ञा प्रतिष्ठान र संस्कृति मन्त्रालयलाई सम्झेँ ।
केही महिनादेखि नात्चुमेको वरिपरि घुमिरहेको निराश मनमा जापानबाट आएको इमेलले खुसी थपिदियो । उक्त इमेलमा सन् २०१९, सेप्टेम्बर महिनाको दोस्रो साता टोकियोमा हुने ‘वल्र्ड हाइकु कन्फरेन्स’मा सहभागिताका लागि निम्तो आएको थियो । बेलायतमा नभेटिएका नात्चुमेलाई जापानमा भेट्न अवसर मिल्ने भो भनेर दंग परेँ । तुरुन्तै टोकियोमा अवस्थित नात्चुमेको म्युजियमलाई प्रमुख गन्तब्यको सूचिमा राखिहालेँ । सूर्योदयको देश जापानमा एक वर्षभित्रै दोस्रो पटक हुन लागेको भ्रमणले मनमा खुसीको सूर्य उदायो । जिज्ञाशाको साथ लागेर उत्साहले उडान भर्न थाल्यो ।
यात्रा भनेपछि कहिले यायावर त कहिले पर्यटक बनेर दौडिहाल्छु । यात्रामा विशेष गरी साहित्यिक पर्यटनमा मेरो मुख्य रुची छ । त्यसरी विदेशका प्रसिद्ध साहित्यकारहरुको निवास र म्युजियमको कोठाकोठा चाहार्न थालेको पच्चिस वर्ष भन्दा बढि भइसक्यो । तिनको जीवनका आरोह अवरोहलाई नजिकबाट नियाल्ने उत्कट इच्छाले त्यहाँसम्म पुग्ने गर्दछु । त्यहीँ पुगेर ज्ञानको प्यास मेट्छु । लेखनमा थप उर्जा प्राप्त गर्दछु । उहिले दिवंगत भईसकेका साहित्यकारलाई त्यहीँ भेटे जस्तो अनुभूति लिएर फर्कन्छु । त्यस्ता यात्राको तिर्सना सायद कहिलै मेटिदैन होला । त्यसैले फेरि अर्को यात्राको तारतम्य मिलाउन थालिहाल्छु ।
नात्चुमेको बारेमा धेरै पहिले पढेका कुरा सम्झन्छु । टोकियोमा जन्मिएका नात्चुमे सोसेकी (सन् १८६७–१९१६) मेइजी कालका प्रमुख जापानी उपन्यासकार हुन् । अवांछित सन्तानको रुपमा नात्चुमेको आगमन भएका थियो । भर्खर जन्मेको बालकले घरमा खुसी थप्न सकेन । परिवारका छैठौं सन्तान नात्चुमेलाई बोझको रुपमा लिइयो । उनलाई वर्ष दिनको नहुँदै बाबुआमाले एक निसन्तान दम्पत्तिलाई जिम्मा लगाए । ती बाबुआमाले काखे बालकलाई कसरी अर्काको जिम्मा लगाउन सके होलान् ? कलिलो छोरो अरुलाई जिम्मा लगाउनु बाबुआमाको स्वार्थ थियो कि बाध्यता ? प्रश्नको भारले म थिचिएँ ।
धर्मपुत्रको रुपमा पाल्न लगिएका उनी नौं वर्षको हुँदा आफ्नै जन्मदाताको घरमा फर्के । ती निसन्तान दम्पत्तिले सम्बन्ध विच्छेद गर्नाले उनी आफ्नै आमाबुबाको काखमा लुटपुटिन पाए । चलचित्रको कथा जस्तै छिटछिटो आमाबाबु नै परिवर्तन भएको देख्दा नात्चुमेको बाल मस्तिष्कमा कस्तो प्रभाव पर्यो होला ? कसैलाई धर्म पुत्रको रुपमा पाल्न दिइएको छोरालाई फेरी आफैले लालनपालन गर्नु पर्दा आमाबाबुको मन कस्तो भयो होला ? आफ्नै परिवारमा उनी कसरी घुलमिल भए होलान् ? मेरा मनमा अनेक खालका प्रश्नले हुँडलिरहे ।
थुप्रै उत्कृष्ट उपन्यास लेखक नात्चुमेलाई पहिलो उपन्यास ‘आइ एम अ क्याट’ले जापानमा लोकप्रिय बनाएको थियो । त्यस बेला जापानमा उनलाई आधुनिक उपन्यासकार भनिन्थ्यो । ‘बोच्यान’ उनको सबैभन्दा लोकप्रिय उपन्यास हो । किशोरावस्था नपुग्दै हरेक जापानीले सो उपन्यास पढेका हुन्छन् । आम मानिसका आर्थिक कठिनाईंसँगको मुकावला, कर्तव्य, संघर्ष, निष्ठा, स्वतन्त्रता, वैयक्तिकता, जापानमा औद्योगिकरण र त्यसले निम्त्याएका सामाजिक समस्या आदि यीनको उपन्यासका विषयवस्तु हुन् । मैले पढेका उनका केही कृतिका पानाहरु स्मृतिमा क्रमशः पल्टिन थाले ।
बेलायतमा नात्चुमेको नाममा म्युजियम संचालन गर्नुको मुख्य कारण उनको बसाई र पढाई हो । नात्चुमे सन् १९०० मा जापान सरकारको तीन वर्षे छात्रवृत्तिमा अग्रेजी साहित्यको पढाईका लागि बेलायत पुगका थिए । त्यहाँबाट फर्केर टोकियो इम्पेरियल युनिभर्सिटीमा अंग्रेजी विभागमा केही वर्ष अध्यापन गरे । बेलायतको बसाईले उनको लेखनमा ठूलो प्रभाव पारेको छ । सोही कारणले उनको उपन्यासमा जापानी र पश्चिमी सस्कृतिको अन्तरद्धन्द्ध पाइन्छ । मैले थोरै बुझेको नात्चुमेको रामकहानी जापानमै पुगेर मात्र थाहा पाइन्थ्यो । तबसम्मका लागि मेरो जिज्ञासु मनलाई शान्त राखेँ ।
टोकियो पुगेको पाँचौं दिनमा सहृदयी मित्र पुष्करजंग थापाले नात्चुमे म्युजियम घुम्न जाने व्यवस्था मिलाए । टोकियोमा अवस्थित उनको सोलमारी रेष्टुरेण्ट अगाडिबाट प्रा. रामकुमार पाँडे र मलाई ट्याक्सीमा चढाए । ट्रेन वा बसबाट म्युजियम सजिलै पुग्न सकिन्थ्यो । आफ्नै कारमा चढाएर लगेको भए पनि हुन्थ्यो । सजिलो र छिटोको लागि उनले आरामदायी ट्याक्सिमा चढाए । ट्याक्सी दौडियो शिन्जुकु सिटीमा अवस्थित म्युजियम तर्फ ।
सडकका दायाँबायाँ मात्र होइन निकै परसम्म देखिए गगनचुम्बी भवनहरु । आधुनिकता र चरम भौतिक विकाशको उज्यालोमा रमाइरहेको थियो टोकियो सहर । टोकियोको सडकमा आँखा दौडिरहे पनि मनभरि आइरहे नेपालका गाउँबस्ती झलझली ।
म्युजियमको मुख्य गेट अगाडि रोकियो ट्याक्सी । सन् २०१७ मा नात्चुमेको १५० आंै जन्मजयन्तीका अवसरमा बनाईएको भवन बाहिरबाट निकै आकर्षक लाग्यो । म्युजियमको बनौटलाई राम्ररी हेरेँ । टोकियो सहरलाई सम्झिल्यायेँ । आधुनिक सहरसँग मेलखाने म्युजियम उपन्यासकारको नाम बोकेर गर्वसाथ उभिएको थियो ।
युरोपमा जस्तो अति प्राचिन भवन जापानमा उतिसारो देख्न पाईदैन । ज्वालामुखी माथि बसेको भूकम्पको देश जापान हो भनिन्छ । त्यस्ता भवन कहिले भत्केर मटियामेट हुन्छन् थाहा हुन्न । भवन भत्किरहन्छन् । नयाँनयाँ बनिरहन्छन् । जापानमा इतिहासका दस्तावेज र अवशेषहरु सायद भुकम्प प्रतिरोधात्मक आधुनिक भवन भित्र सुरक्षित हुन्छन् होला । त्यसैले जापानमा त्यस्ता भवनहरु यत्रतत्र देख्न पाइन्छ ।
हामी म्युजियमभित्र पुग्दा त्यहाँ अवलोकनकर्ताहरुको चहलपहल थियो । पहिलो तलाबाट म्युजियम अवलोकन सुरु हुँदोरहेछ । एउटा ठुलो हल हुँदै म्युजियमको टिकट काउण्टर अगाडि पुग्यौं । त्यहाँ नात्चुमेको नाम र फोटा अंकित टोपी, टिसर्ट, झोला लगायतका सामग्री र उनका पुस्तक समेत बिक्रिका लागि राखिएका थिए । आफ्नो प्रिय लेखकलाई स्मरण गर्न चाहाने प्रशंसकहरु ती सामग्रीहरु किनिरहेको थिए । सर्वकाल बाँचिरहने लेखकको लोकप्रियता र सम्मान देखेर आनन्द लाग्यो ।
त्यस तलामा नात्चुमेको बारेमा जानकारी दिने डिजिटल सूचना पाटी र अन्य सामग्रीहरु बिजुली बत्तिको उज्यालोमा चम्किरहेका थिए । टोक्योको सिन्जुकु क्षेत्रमा उनको बाल्यकाल कसरी बित्यो ? उनको ब्यक्तित्व कसरी निर्माण भयो ? त्यहाँ राखिएका सूचनाहरुले उनको जीवनको सानो किस्सा भनिरहेका थिए । त्यस कक्षमा नात्चुमेलाई मेरा आँखाले राम्ररी पढे । त्यहाँका दृश्यहरु क्यामेरामा कैद भए । नात्चुमेलाई मन भित्रै सजाएँ ।
पहिलो तलामै रहेको म्युजियमको अर्को ठुलो कक्षमा मेरा नजर दौडिए । त्यहाँ नात्चुमेको जीवनकालमा लेखिएका उत्कृष्ट कृतिहरु संगृहित थिए । बुक र्याकमा भरिभराउ किताबहरु थिए । भुईमा समेत कलात्मक तरिकाले पुस्तकहरु चाङ लगाएर राखिएको थियो । त्यस कक्षको पुस्तक सजावटमा मैले अनौंठा कला पाएँ । पुस्तक मिलाएर राख्ने शिप र कलाले मलाई लोभ्यायो ।
चारैतिर दौडिरहेका मेरा आँखा छेउको भित्तामा पुगेर रोकिए । त्यहाँ म्युजियम बनाउन आर्थिक सहायोग गर्ने दाताहरुको नाम ससम्मान टाँगिएको देखेर खुशी मानेँ । नात्चुमेका प्रशंसकहरुको सहयोगमा बनाइएको म्युजियम घुम्दै गर्दा नेपालमा त्यस्तो दिन कहिले आउला भनेर सोंच्न थिएँ । पहिलो तला घुमेर बाहिरिदै गर्दा मेरो मन भने नेपालतिरै दौडिरहेको थियो ।
दोस्रो तलामा पनि नात्चुमेका केही पुस्तक र अन्य व्यक्तिले उनका बारेमा लेखेका पुस्तकहरु थिए । तिनका कालजयी कृतिमा मेरा आँखाले सर्सर्ती नजर लगाए । नात्चुमेहाइकुकार पनि रहेछन् भन्ने कुरा त्यहीँ पुगेर थाहा पाएँ । जापानी अक्षरमा लेखिएका उनका केही हाइकु सोकेशमा सजाइएका देख्न पाउनु यो नेपाली हाइकुकार लागि सुखद क्षण थियो ।
छेउको शोकेशमा राखिएको नात्चुमेको हस्तलिखित पाण्डुलिपिले मेरो ध्यान आकृष्ट गर्यो । यसो हेर्दा त्यो पाण्डुलिपि पहिलो ड्राफ्ट जस्तो जस्तो देखिन्थ्यो । पाण्डुलिपिको केही पानामा ठाउँठाउँमा मसी लत्पतिएको थियो । लेख्दालेख्दै ठाउँ ठाउँमा केही चित्र बनाएर त्यहीँ केरमेट गरे जस्तो देखिन्थ्यो । कुनै कुनै वाक्य गोलाकार चिन्हले घेरिएको थियो । सायद लेख्दै गर्दा कुनै विचार नआएर अलमलिएको बेला त्यसो गरेका हुनसक्छन् । अथवा अल्छि मनलाई व्यस्त राख्न खोजेका हुन् कि ? उक्त पाण्डुलिपि हेर्दा लेख्नेक्रममा त्यसरी केरमेट गर्ने आफ्नै बानीको स्मरण भयो ।
भित्ताको शोकेसमा सुरक्षितसाथ राखिएको उनको किमोनोले मेरो लागि अर्को आकर्षणको सामग्री थियो । किमोनो हेर्दै गर्दा उनी त्यहीँ वरिपरि भए जस्तो आभाष भयो मलाई ।
भित्ता र शोकेसमा सजाइएका नात्चुमेको विभिन्न उमेरका दुर्लभ फोटा नछुटाइ हेरेँ । ‘स्लाइड सो’मा जस्तै ती फोटाहरुले उनको जीवन कथा भनिरहेका थिए । हस्तलिखित डायरी, कलम आदिले उनको लेखनकर्मको सानो झलक दिलायो । सोही तलामा पहिलो संस्करण भनेर विशेष महत्वसाथ राखिएका दुर्लभ पुस्तक देखेर म एकछिन् त्यहीँ अल्मलिएँ ।
अहो, नात्चुमेको फोटो छापिएको एक हजार येनको बैंक नोट ! त्यो देखेर विस्मित भएँ । जापान सरकारको त्यो स्तुतिय कार्यको तारिफ गर्न मन लाग्यो ।
साहित्यकारको फोटो छापिएको बैंक नोटले मलाई उत्साहित बनाउँछ । गर्वानुभूति हुने गर्दछ । विदेशमा हरेकपटक साहित्यकारको सम्मानमा तिनको चित्र अंकित बैंक नोट देख्दा नेपालमा यस्तो चलन कहिले आउला भनेर सोच्ने गर्दछु । त्यस्तो राम्रो काम कहिले सिक्ने सरकार ? विदेशी भूमिबाटै नेपाल सरकारलाई प्रश्न सोध्न मन लाग्यो ।
सबै भन्दा तल्लो तलामा रहेको पैतिस सय भन्दा बढी संख्यामा रहेको नात्चुमेर उनीसँग सम्बन्धित पुस्तकका चाङ अगाडि पुगेँ । विभिन्न भाषामा अनुदित पुस्तक राखिएको बुक र्याकमा नेपाली भाषामा पनि केही छ कि भनेर खोजे । अहँ, कुनै पुस्तक फेला परेन । बरु तमिल भाषामा अनुवाद भएको पुस्तक भेट्टाएँ । कमसे कम तमिल भाषाले सार्क राष्ट्रको प्रतिनिधित्व गरेछ हगि ! मनको सन्तोष त हो नि । सार्क राष्ट्रको नागरिक हुनुको गर्वमा एकछिन् रमाएँ ।
अहो, कति धेरै कालो बिरालो ! जताततै बिरालोको चित्र देखेर फ्यास्स बोलेँ । ‘आइ एम अ क्याट’ नामक पुस्तकका लेखकको लोकप्रियताले हो वा बिरालो प्रेमी जापानीको मनोविज्ञान बुझेर हो माथिल्लो तलामा जस्तै त्यहाँ पनि ठाउँ ठाउँमा कालो बिरालोको चित्र राखिएको थियो । मलाई मन नपरे पनि सामुन्ने देखिने कालो बिरालोको चित्रलाई नजरअन्दाज गर्न सकिन । जापानमा कालो बिरालोलाई शुभ मानिन्छ । त्यसले भाग्य लिएर आउने कुरामा जापानीहरु विश्वास गर्दछन् । तर हामी नेपालीहरु चाहीँ कालो बिरालोलाई अशुभ मान्दछौं । जापानीहरुको भाग्यदाता कालो बिरालोको चित्रलाई सुम्सुम्याएँ ।
उसो त म्युजियम पछाडि एउटा बिरालोको चिहानघारी पनि थियो । चिहानमा एकमाथि अर्को गर्दै राखिएका ढुंगाको चाङ कलात्मक थियो । त्यो बिरालो नात्चुमेपरिवारमा भाग्य ल्याउने बिरालो रहेछ । ख्यातिप्राप्त साहित्यकारको बिरालो हुनाले चिहानमा गर्वसाथ रहन पाएको होला । नत्र कसले बिरालाको चिहान बनाई रहलान् र ? मेरो विचारमा चिहानमा नाम लेखाएर बस्न पाउने त्यो बिरालो भाग्यदाता भन्दा पनि भाग्यमानी चाहीँ हो । नेपालमा कतिपय दिवंगत सात्यिकारलाई हामीले बिर्सिसक्यौं । तर जापानमा भने साहित्यकार मात्र होइन उनको बिरालाको चिहान समेत चर्चामा रहेको थाहा पाउँदा आह्रिस पो लागेर आयो ।
साँझ पर्न लागेको थियो । म्युजियमको सबै तला अवलोकन गरेर नात्चुमेलाई नजिकबाट बुझ्न पाउँदा मनले खुसी मान्यो । म्युजियम भित्र हेर्न केही बाँकी थिएन । निकै अघिदेखि कफिको तलतल लागिरहेको थियो । हामी तिनै जना म्युजियम भित्र रहेको क्याफेतिर लाग्यौं ।
म्युजियम भित्र प्रवेश गर्दा खुला रहेको ‘क्याफे सोसेकी’ फर्किने बेलामा बन्द भइसके छ । चारैतिर दृष्टि दौडाएँ । फराकिलो हलमा आरामदायी कुर्सीहरु थकाई मारेर बसिरहेका थिए । त्यस क्याफेमा पुस्तक पढ्दै कफिको चुस्कि लगाउन साहित्यकार र साहित्यप्रेमीहरु आउँछन् । कफी पिउँदै नात्चुमेर साहित्यका बारेमा कुरा गर्ने हाम्रो ईच्छा अलिक ढिला पुगेकाले पुरा हुन सकेन । रित्ता टेवल, कुर्सी र क्याफेको काउण्टरलाई हेरेर चित्त बुझाएँ । प्रसिद्ध उपन्यासकारको म्युजियम भित्र रहेको उनकै नाममा संचालित क्याफेमा कफी पिउन नपाउँदाका खिन्नता र कफीको तलतल बोकेर बाहिरिएँ ।
पाइला चल्दै थिए । मनमा अनेकन कुरा खेलिरहे । विदेशमा दिवंगत साहित्यकारको नाममा म्युजियम बनाएर ठूलो सम्मान गरिन्छ । तर नेपालमा भने साहित्यकारको म्युजियम बनाउनु पर्दछ भन्ने सोँच आएको छैन जस्तो लाग्दछ । ठूलो जनदवाबका कारण महाकवि देवकोटाको घर म्युजियममा परिणत हुने खबरले केही आशा त पलाएको छ । तर अहिलेसम्मको चाला हेर्दा नेपाल सरकारले अरु साहित्यकारका लागि त्यसरी काम गर्ला जस्तो लागेको छैन । मैले गरेको सर्वेक्षणमा नेपालका गौरव साहित्यकारहरुको म्युजियम बनाउन विदेशमा बस्ने साहित्यप्रेमी नेपालीहरु आर्थिक सहयोग गर्न तयार छन् । सबै भन्दा पहिले म तयार छु । त्यस्तो पुनित कार्य सुरु गरिहाल्नु पर्ने छ । तर ‘बिरालो घाँटीमा घण्टी कसले बाँध्ने’ भने जस्तै त्यसको सुरुवात कहिले र कोबाट होला ? आफैले उठाएको प्रश्नले निरुत्तर बनेँ ।
हिँड्दै गर्दा म्युजियमको गेट छेउमा रहेको नात्चुमेको अर्धकदको सालिक देखेर हामी रोकियौ । अत्यन्त कलात्मक र जिवन्त सालिकलाई नजिकबाट नियालेर हेरेँ । मेरा प्रिय उपन्यासकारलाई श्रद्धासुमन अर्पण गरेँ । कम्पाउण्डबाट बाहिरिनु अघि फेरि एकपटक म्युजियममा दृष्टि दौडाएँ । करौंडौं पाठकको मनमा बस्न सफल नात्चुमेसोसेकी म्युजियमले उनको जीवनकथा भनिरहेको थियो । मैले उनलाई राम्ररी पढेँ, सुनेँ र देखेँ । बेलायतमा नभेटेको नात्चुमेलाई उनकै देशमा भेट्न पाउँदा मेरो मनमा साकुरा फुल्यो ।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।