15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्यारा युवक -४

कविता काशीनाथ मिश्रित December 31, 2021, 9:31 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

खैरा ब्वाँसाहरु दिनदिनै गाउँमा पस्न थाले ।
काला भालूहरु लुरुलुरू पाइला टेक्न थाले ।।
घोँचो थापी युवक तिमिले भालु ब्वाँसा लघार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

रातो जिभ्रो लपलप गरी सर्प आईरहेछन् ।
सेता दाह्रा कटट गरदै हात्ति आईरहेछन् ।।
हाम्रो निम्ती कति छ खतरा गर्न सक्छौ विचार ?
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

भाखा फेरे पनि युवक हो ! फ्याउरो स्याल नै हो ।
बस्ने आई जति पर पुगोस् सर्प ता प्वालमै हो ।
पुर्नै पर्ने अब हुन गयो प्वाल ढुङ्गा घुसार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

टाढदेखिन् युवक किन हो गिद्धले दृष्टि लायो ?
मासू लुछ्ने अति रहरले कागलाई पठायो ।।
का का गर्दै किन उडिरह्यो गर्न सक्छौ विचार ?
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

बछ्यूँ आई भनभन गरी हेर भन्कीरहेछन् ।
माहूरीका वरिपरि अरिङ्गाल भन्कीरहेछन् ।।
रित्तै पार्लान् ठिक समयमै लौ न जोगाउ घार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

खाना खोज्दै घर तमसमा जङ्गली शेर आयो ।
भेँडा बाख्रा थरथर भए होश तिन्को हरायो ।।
राख्नै पर्ने अब हुन गयो गाउँमा बाघखोर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

स्वाहा पारे सब सलहले सप्रिएका अनाज ।
मास्नन् भन्ने अति भय भयो अन्नको वीज आज ?
राँको बाली सब सलह ती ध्वस्त सम्पूर्ण पार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

म्याउँ म्याउँ गरि विरहको गीत गाई बिरालो ।
दुःखी जस्तै भइ बुइगलै टेक्न थाल्यो कि क्या हो ।
खाईदेला घिउ, दुध, दही होउ है होशियार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हात्ती निस्क्यो वनपरिधिको तारको बार तोडी ।
भागे सारा कृषक भयले गाउँको बास छोडी ।।
पक्री ल्याऊ नवयुवक हो खालि भो हात्तिसार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हाम्रो नीलो नभ वरिपरि बाज पङ्खा फिँजारी
रिङ्दै घुम्दै पटक पटकै गर्छ त्यो वारिपरि ।।
चल्ला टिप्ने नियत छ बुझ्यौ छैन सोझो विचार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

बिस्तारामा उडुस उपियाँ खुर्खुराईरहेछन् ।
लाम्खुट्टेले हरबखत नै टोक्न आईरहेछन् ।।
औलो लाग्ला सब परजिवी वीष छर्केर मार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

हिँड्दाहिँड्दै किन अडिन गो देश रूपी जहाज ?
ड्याम्मै छेक्यो अघितिर बसी ह्वेलले सिन्धुमाझ ।।
भालो रोपीकन गर न लौ मर्ममा नै प्रहार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।