15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तपाईंलाई वधाई ! नेगेटिभ छ !

कथा पुण्य खरेल January 9, 2022, 6:43 am
पुण्य खरेल
पुण्य खरेल

“प्यारी आमा ! म अश्रुपुरित आँखा लिएर बोलिरहेको छु । मलाई पटक्कै विश्वास छैन तपाईंको मानो घोप्टिएको हो । यो ‘मानो घोप्टिने’ तर्क बकबास हो भन्ने विश्वास छ मेरो । बेलैमा अक्सिजन पाएको भए अहिले तपाई मसँगै हुनुहुन्थ्यो, तपाईं यहीं मेरो छेउमा हुनुहुन्थ्यो, तपाईंको हातले मलाई माला लाएझैं बेरेकै हुन्थ्यो आमा ! यो मेरो देश मानवीयता भएको देश भएको भए ! या त विधिको शासन भएको देश भइदिएको भए ! अथवा यस्तै भए पनि म यस देशको ठुलो पदमा भएको भए ...! या ठुलो पदमा मैले भनेको सुनिदिने मान्छे भएको भए अहिले तपाईं मसँगै हुनुहुन्थ्यो ! नातावादी, पद–पैसोवादी देशले लुट्यो आमा तपाईंलाई ! मान्छेको माया होइन नाफाको माया हुने अस्पतालले मारे आमा तपाईंलाई ! तपाईं मर्नुभएको छैन, तपाईंको मानो घोप्टिएको कदापि होइन आमा !”
चितामा चढाइएको आमाको लासलाई आगो दिइसकेपछि छेउमा उभिएर हेर्दा मेरो मन एकोहोरिइरहेको थियो । आमालाई आगो दिएपछि मलाई कहिल्यै ननिभ्ने आगो मनमा सल्किएको जस्तो भइरहेको थियो । आफैंप्रति रिस हो कि, घृणा हो कि के हो भइरहेको पनि थियो । आफू पावरदार भएको भए वा साँच्चै धेरै धनी भएको भए आमालाई बचाउन सकिन्थ्यो जस्तो लागेर आफैंप्रति त्यसैत्यसै हिनता वोध उब्जिरहेको थियो ।
मेरा मनमा गच्छिया घरबाट आमालाई सिटिरिक्सामा लिएर हिंडेदेखिका दृश्य वाइस्कोपका रिलझैं फिर्लिक्क–फिर्लिक्क पल्टिरहेका थिए । एम्बुलेन्स त नभेटेकै हो मैले । पोहोरहुँदो फोनको नम्वर थिचिसक्ता आइपुग्ने एम्बुलेन्स यसपाली त कुनैको फोन नै उठ्तैन, कुनैको ‘ड्राइभर नै छैन’, कुनैको ‘बनाउन ग्यारेजमा छ’ भन्ने जवाफ आउँछ भने कुनै ‘विराटनगर विरामी लिएर गएको छ, ढिलो हुन्छ’ भन्ने जवाफ आउँछ । अभर परेको बेलामा खोइ ? यो बहानाबाजी गरेका हुन् भन्ने मलाई प्रस्टै थाहा छ, तर म के नै गर्न सक्छु र ! क्यै नलागेर आमालाई सिटिरिक्सामा लगेको मैले । कस्तो थतर्काउँदै, कस्तो जर्किङ सहँदै ! तैपनि त मैले आमालाई नोवेल अस्पताल पु¥याएकै त हुँ नि ! अस्पताल पनि कस्तो ! न डाक्टरले हेर्न भ्याउँदो ? न विमारी सुताउने शैया नै ? गेटैबाट पो, बाटैबाट पो “फर्काउनू !” भन्छ त ! आमाको अवस्था त्यस्तो अप्ठेरो थियो ।
कसैसँग हात जोड्न अररो मान्छे थिएँ म, तर त्यसबेला त कति लुलिएँछु ! आफूपछिकी बहिनी काखमा बसेर दूध चुसिरहेका बेला आमाले पलेंटी मारेको घुँडाका छेउमा बसेर उनका मुखमा हेर्दा आमाले– “लबस्तरो ! बिहे गर्नेजत्रो भइसको ! अझै आमाको दूधको आस गर्छ !” भन्दै अर्कापटिको चोलो माथि पल्टाएर लाम्टो मुखमा लगाइदिएको सम्झिएँछु । त्यो गुलियो–गुलिायो दुधले लतक्कै गलायो मलाई र फुली र लठीले सजिएको पालेलाई पो हात जोड्न पुगेंछु– “लु न दाइ ! आमाले सास फेर्नै नसक्ने पो हुन आँट्नुभयो ! लु–लु, भन्सुन् गर्दिनू डाक्टरलाई !”
केको भन्सुन् ? आमा त मेरी पो त ! उसका कोहो–कोहो ? त्यस्सै जर्खरिएर हप्कायो पो– “केको भन्सुन्–सन्सुन् ! मेरा भन्सुन्ले हुने भए कसैले फर्किनुपथ्र्यो ? कहाँ मन्त्री र सभापतिका फोनले टनाटन छ ! यहाँभित्र खुट्टो टेक्ने ठाउँ छैन । फर्काउनू फर्काउनू ! यहाँ राख्तै नराख्नू ! एकै छिन पनि यहाँ राख्तै नराख्नू ! लगिहाल्नू ! अहँ ऽ!” केजातिको जुम्रो टाउकामा पुगेको जस्तो पो ग¥यो ए त्यसले त ! कस्तो च्याँठ्ठियो पो त्यो पाले त !
उता आमा हप्याक्–हप्याक् गरिरहनु भएको थियो । विमारीलाई त्यहीं निकालेर त्यही सिटिरिक्सा पनि फिर्ता दौडिन खोज्दै थियो त्यसको ड्राइभर । गोजीमा भएको त्यति नाथे रुपियाँले के पो गरिहालूँला मैले ! अब कता लैजानू ? के गर्नु ? सगरले किचेथ्यो मलाई । मनमा बिनाबित्थाको कुरो खेलेथ्यो फेरि– ‘आ ऽ आमाले किन ठुलो होउञ्जेल दूध चुसाउनु परेको होला ? जन्मिदै बरु फालिदिएको भए पनि हुने नि मजस्तो नामर्द छोरालाई ! यस्तो हप्याक्–हप्याक् गरिरहेको बेलामा पनि क्यै उपाय गर्न नसक्ने मजस्तो हुतिहारालाई !’
यी बज्याहरू आमालाई कोरोना भएको भनेर परपरै दुत्कार्छन् । आमालाई कोरोना भएकै होइन । अब आमालाई कोरोना भएकै होइन भन्दा “तँ जान्ने हुन्छस् ?” भन्छन् । कस्तो अप्ठेरो ! करै नपर्ने !!
मनमा त्यस्सै के विचार आयो र भनेथें– “भाइ ! ड्राइभर भाइ ! बरगाछीछेउमा अर्को गतिलो अस्पताल छ अरे नि ? तिमीले देखेका छौ ?”
“देखेको छु, तर पानसय थप लाग्छ नि !” उसले भनेथ्यो ।
उसले त्यति पाँचसय रुपियाँ थप लाग्छ भन्नु स्वभाविक लाग्यो त्यसबेला । मैले उसलाई भनेथें– “इमर्जेन्सी ढोकामा लैजाऊ ल !”
एकप्रकारको आसैआसमा म आमाको मुख हेर्दै छेउमा बसें । गन्द्राङ् र गुन्द्रुङ पार्दै, ढक्ढक्याउँदै अर्को अस्पतालको इमर्जेन्सी गेटमा पु¥याइएथ्यो । बार बजेको मौरीको घारजस्तो थियो मान्छेको भिड त्यहाँ । सिटिरिक्सामा आमाको अवस्था पलपल मुस्किल हुँदै थियो । बोली लगभग बन्द हुन आँटेको थियो । सास फेर्न नै कठिन । उँभो सास आउने होइन, उँधो मात्र हप्याक्–हप्याक् ! आँखाले मात्र बोलेको कस्तो दर्दनाक ! गाडी छोडेर भित्र पसेथें पालेलाई लतार्दै र सेतो कोट लगाउने त्यो स्टेथेस्कोप काँधमा भिरेका मान्छेलाई च्याप्प समातेथें । आँसु भरिएका आँखाले भनेथें– “मेरी आमाको गति एक पल्ट यस्सो हेरिदिनुहोस् न !”
“खोइ आमा ?”
“बाहिर सिटिरिक्सामा ।”
“बाहिर जान मिल्दैन । मलाई नछुनुहोस् ! अलग्गै बस्नुहोस् ! परपरै रहनुहोस् ! खोइ मास्क ?”
“भित्र ल्याउनै दिँदैन पालेले ! यस्सो हेरि त दिनुहोस् !”
“ए ! कहाँको राजा राम ! कहाँको गने भँडारी ! ऊ उहाँ मन्त्रीको मान्छे, उहाँ सभापतिको सालो ! उहाँ यहींका मान्निये ! ऊ उहाँ त्यो के... मिलको मालिक ! ऊ उहाँ यहींको उपमेयर ! यहाँ वरिपरि हेर्नू त ! सबै हेर्नै पर्ने छ ! म एकलो जिउले कति हेर्न भ्याउनू ?”
हुन पनि कोही हप्याक्–हप्याक् गर्दै गरेका, कोही टुलुटुलु हेरिरहेका, कोही अघि नै सिद्धिएका जस्ता चलमल नै नभएका, बगुन्द्रो विमारीहरू थिए त्यहाँ । ती सेता कोट लाउने केटीहरूलाई पनि भ्याई–न–भ्याई त थियो नै । तैपनि मेरी आमालाई यस्सो नारी छामेर, त्यो स्टेथेस्कोपले जाँचेर दुई कुरा बोलिदिए, केही ओखती दिए आमालाई बिसको उन्नाईस भैहाल्थ्यो, मलाई त्यही लागिरहेको थियो ।
मैले फेरि एक झमट कोसिस गर्ने सोचेथें– त्यही डाक्टरलाई फेरि उनका कोटको फेर समातेथें र याचना गरेथें– “आमालाई कोरोना होइन डाक्टरसाप ! एकपल्ट हेरिदिनुहोस् न ! सास फेर्न मुस्किल मात्रै भएको ! धम्कीको विमार थियो । मैले आमासँगै बसेर लिएर आएको !”
“सँगै बसेर ? बर्बाद गर्न खोज्दै हुनुहुन्छ ? ए गार्डभाइ ! हेर त ! वहाँलाई बाहिर गर... !” डाक्टरले त मेरा कुरा सुन्ने त होइन, उल्टो मलाई नै बाहिर निकाल्न लगाए । मैले अझै कोसिस गरीहेरें । अहँ ऽऽ पालेले मलाई नै बाहिर निकालेथ्यो ।
यही बेला गोजीको मोवाइल बजेथ्यो । मोवाइलको आवाज पनि मलाई टाउकै फुटाउने जस्तो लाग्यो । यस्सो हेरें, बहिनीले गरेकी रहिछे दमकबाट । मैले उत्तरा गरेथें– “अँ कान्छी !” तर म त झन्नै भक्कानिएछु । बहिनीसँग राम्ररी बोल्न कोसिस गरेथें ।
“तपाईंको बोली त अलिक बेग्लै छ नि त ! अनि आमालाई कुन अस्पताल लगेको अरे ? कुनमा राखेको अरे ?” बोल्दाबोल्दै उसको आवाजमा पनि थर्कन आउन थालेथ्यो ।
“कुनमा राख्नु ? दुईटा अस्पताल घुमाइसकें । विमारीको भिड मौरीको गोलो जस्तो छ । न अस्पतालमा राख्न पाउनु ? न डाक्टरले हेर्नु ? आमालाई कस्तो सारो भैसक्यो ? म त के गर्नु न के गर्नु ? अब कता लानु ? धरान पु¥याउन पनि भ्याइन्छ जस्तो छैन ! जो पनि हेरेर परपरै तर्किन्छन् । एम्बुलेन्स न कुनै गाडी नपाएर सिटिरिक्सामा आमालाई थतक्र्याउँदै यहाँसम्म त ल्याएँ । हेर् न कान्छी !”
“गाडी खोजेर धरान लाँदा हुन्थ्यो कि ? पु¥याउन भ्याइन्थ्यो कि दाजु ! म पनि आउँछु धरान ।” बहिनी बोल्दै थिई ।
सिटिरिक्साभित्रै हुनुहुन्थ्यो आमा । एउटा गाडी पाइन्छ कि ? तै एम्बुलेन्स नै पाइन्छ कि ? अस्पतालको छेउमा भएको एउटा एम्बुलेन्सले पन्ध्र सयमा पु¥याइदिन्छु धरान भन्यो । आमालाई बल्लबल्ल एम्बुलेन्समा सारेर त्यस सिटिरिक्सालाई हजारको नोट दिएर विदा गरेथें ।
आमाले स्याउस्याउ गर्दै के र के भन्नुहुँदै थियो । “घरै लैजा मलाई ! पर्दैन धेरैतिर कुदाउनु ! घरमै आनन्दले मर्न दे !” यस्तै के–के भन्दै हुनुहुन्थ्यो आमा । आमालाई अलिक उपचार गराउन पाए निको हुन्छ भन्ने लाग्दै थियो मलाई । चौसठी वर्षको उमेर के हो र ? यही खड्को पार गर्न पाए अझ पन्ध्र–बिस वर्ष सहजै पार गर्नुहुन्छ भन्ने लाग्दै थियो । आमाभन्दा दस वर्ष जेठाहरू दोहो¥याई–तेह¥याई प्रधानमन्त्री भएर जनताका ढाडमा दाईं गर्न हारालुछ गर्दैछन् । यता यही उमेरमा आमालाई भने यस्तो छ । तर डाक्टरलाई देखाउनै नपाइने पो हो कि ? डराउँदै थिएँ म ।
ओहो ! विराटनगरबाट धरानतिर हिडेको एम्बुलेन्स कञ्चनबाढी आइपुग्नै कम्ति बेर लागेको होइन, टङ्किसिनवारी, बाँसबारी हुँदै दुहबी, इटहरी आइपुग्न नै एक घण्टाभन्दा बढी लाग्यो । आजै चाहिँ बाटामा यस्तो भीड, यस्तो जाम ! बल्लबल्ल कोलोनी, हलगडाहुँदै तरहरा, चारकोसे झाडी, सेउती, तिनकुने भएर विपि कोइराला शिक्षण अस्पताल पुग्न झन्डै दुई घण्टा नै लाग्यो ।
“के हुन्छ ? के विरामी ?” सोधनी भएथ्यो ।
“सास फेर्न अप्ठेरो भयो । हप्याक्–हप्याक् हुँदैछ आमालाई !”
“ए ! कोरोनाले सकेछ है !”
“कोरोना होइन ! कोरोना होइन आमालाई ! दमको विरामी ..., सास फेर्न कठिन ... !” म भन्दै थिएँ । मेरो भनाइको कुनै अर्थ भएन । सेता प्लास्टिकका लुगा लगाएका मान्छेले स्टे«चरमा हालेर लगिहाले । मसँगसँगै जाँदै थिएँ । मलाई ढोकाबाट पस्नै दिएनन् । पैसा मात्रै गोजीको जतिभन्दा बढी बिल काट्न भने । गोजीको बिस हजारको बिल काटेर बिल दिएर म पर्खिएँ ।
एक घण्टा जति पछि त आमा सक्किएको खवर पो सुनाए । मैले तिन–त्रिलोक देखें । अब म के गर्नु होला नि ? अब कसलाई के भन्नु के गर्नु भएँ ? किंकर्तव्यविमूढ भएँ ।
बहिनी आइपुगी छे धरानमै । दमकबाट उसले ज्वाइँलाई भनेर एउटा सानो गाडी भाडामा लिएर आइछे । ऊ एकातिर रुन लागी । अर्कातिर आफ्ना पनि आँखाबाट आँसु अडिने होइन । गछिया घरमा खवर गरें । आफैंले आफ्नै आमा बितेको कुरा सुनाउन कस्तो कष्ट पो हुँदो रहेछ ! लास लिएर फर्कन्छौं त भनेथें, तर त्यहाँ बुझ्दा लास हामीलाई नदिने जस्तो पो छ त । अब कोरोनाको रिपोर्ट आएपछि अनि सेनाले पो लिएर आउँछ अरे भन्ने घाइँघुइँ सुनियो । रात प¥यो । अब बहिनी र म छौं । न खानु छ, न त बस्नु नै छ । ओहो ! कसलाई सोध्ने, के सोध्ने ? आमाको लास कतिबेला दिन्छ ? अस्पतालमा बाहिर र भित्र, तल र माथि गरेका गरेकै छौं । हातगोडा पनि गलेर पानी भए । भोकले पनि होला, लखतरान पनि भइयो । बहिनीले पानी किनेर ल्याइछे । पानी भने घटघटी पिएर एक बोतल सिध्याएँ ।
आँखामा आँसु बगिरहेका थिए, मनमा कुरा खेलिरहेका थिए– ‘भित्र हुलिसकेपछि के भयो होला आमालाई ? कति अप्ठेरो भयो होला ? कसरी प्राण गयो ? केही भन्नुहुन्थ्यो कि ? अक्सिजन दिनुपथ्र्यो अरे ! अक्सिजन दिएको भए, तातो, न्यानोमा राखेको भए ...! केही तातो झोलसोल पिउन पाएको भए ! पक्कै यस्तो हुने थिएन । मार्न पो ल्याएँछु आमालाई मैले । अस्पताल त अस्पताल होइन रहेछ, कसाईघर जस्तै भयो अस्पताल मेरा लागि ! डाक्टरले थपक्कन हेरेका भए आमा बाँच्नुहुन्थ्यो ! बाँच्नुहुन्थ्यो पक्का पनि आमा ! हेलचेव्रmाइँ गरेकै हुन् डाक्टरले ! पक्का पनि कोरोना भनेर परपरै गरे ! अर्काको ज्यान, अर्काकी आमा ! माया न दया ! एक त विरामी, त्यसमाथि त्यस्तो हेलचेव्रmाइँ ! अनि के बाँच्छ मान्छे ! हत्तेरीका ! मेरै गल्ती भयो । आमा सासले भए पनि “घरमै लैजा ! मलाई घरमै लैजा !” भन्दै हुनुहुन्थ्यो, मलाई ।
रिपोर्ट कति बेला आउँछ ? कसलाई सोध्ने ? कहाँ सोध्ने ? कस्तो बेठेगानको भइयो ? मैले नै जान्नुपर्ने यताउति के–कसो हो ? बहिनी त झन् के जानोस् विचरा ! आमा बित्नुभयो । न आमाको छेउमा बसेर रुन पाइएको छ, न त आफन्त इष्टमित्रहरूको सहयोग पाइएको छ !
पैसा तिर्ने ठाउँमा गएर सोधें– “त्यो रिपोर्ट कहाँ आउँछ ? कहाँ सोध्नुपर्छ ?”
“७ नंम्वरमा गएर सोध्नू न ! यता दाहिनेतिर अलिक पर !”
दाहिनेतिर ‘७ नं.’ लेखेको कोठा खोज्दै गएँ । अलिक पर गएपछि ‘७ नं.’ लेखिएको त देखें तर कोठा बन्द थियो । कोही त छैनन् । अलिक पर्तिर ८ नंं.मा भएका मान्छेलाई सोधें– “७ नं.मा सोध्नु भन्छन् पिसिआरको रिपोर्ट ! कोही छैनन्, बन्द छ !”
“कति बजे दिएको स्वाव ?” उनले सोधे ।
“३ घण्टा जस्तो भयो होला । बजे त यादै गरिएन !” मैले भनेथें ।
“७ नं.का मान्छे गए घर । अब एक घण्टाजति पछि आउनू न ! यहीं आउला रिपोर्ट !” त्यहाँ भने ।
बहिनी र मलाई थप एक घण्टा बिताउन के गारो हुनु र ! दुबै जना भक्कानिँदै, रुँदै गर्दागर्दै बित्यो । यस्ता एक घण्टा त हामी रोएर कति बिताउँथ्यौं कति बिताउँथ्यौं जस्तै भयो । कहिल्यै रुन नपाएका जतिकै ग¥यौं बहिनी र मैले । कसैले देख्ला र के भन्ला भन्ने पनि भएन । त्यहाँ विमारीका रुँगालुहरू हामी रोएको देखेर हाम्रा छेउमा आउँथे र जिज्ञासा राख्थे कोही, कोही भने आफ्नै धुनमा यताउता गर्थे । यसरी रोएकोमा कुनै प्रतिव्रिmया व्यक्त नगर्ने पनि धेरै थिए ।
एक घण्टा बित्यो पनि । बहिनीलाई त्यहीं बस्न लगाएर म गएँ ‘८ नं.’मा । अघिकै मान्छेले सोधे– “के नाम हो ?”
“अमरमाया चौसठी वर्ष” मैले भनें ।
“गच्छिया हो ?” उनले सोधे ।
“हो !” मैले भनें ।
“ल, तपाईंलाई वधाई ! नेगेटिभ छ !” उनले भने ।
“वधाई !! आमा बित्नुभएको दुई–तिन घण्टा भइसक्यो । बधाई !” भन्दै दुःखित हुँदै म बहिनी भएको ठाउँमा आएँ ।
“हेर् कान्छी ! आमालाई कोरोना भनेर पापीहरूले मारे ! आमालाई कोरोना भएकै होइन भन्ने मलाई ढुक्कै थियो । तर के गर्नु र !” बहिनी त झन् डाको छोडेर अस्पताल नै थर्किने गरी रुन पो थाली ।
“थत् कान्छी ! अब नरो तँ पनि, म पनि रुन्न !” मेरो बोली अड्कियो । अरु कुरा भन्नै सकिनँ । एक्कासि मेरा पनि आँखाबाट भल बगे ।
एक छिन् ऊ बगिरही, मेरा पनि आँखामा कसै गर्दा नरोकिने गरी पानी बगिरहे । केही वेरपछि आँसु रोकिए । अनि म फेरि काउण्टरमा गएर सोधपुछ गरें ।
“आमाको लास कतिबेला पाइन्छ ? कोरोना त नेगेटिभ रहेछ !”
उनले आमाको नाम र अघिका बिल–भर्पाइहरू मागे । मैले दिएँ । अनि उनले सबै हिसाब हेरेर भने । ठिकै छ । तपाईंहरूलाई थप रकम नलाग्ने रहेछ । अब रातको एक त बजिसकेछ, अब रातिहुँदो के गर्नुहुन्छ र ! बिहान आठ बजेसम्ममा हुन्छ ।
गच्छियाबाट श्रीमतीको फोन आउँछ घरी, दमकबाट ज्वाइँको फोन आउँछ घरी । के र के जवाफ फर्काउँदै समय बिताउँदै ग¥यौं कान्छी र मैले ।
बिहान बहिनी र म भएर शववाहनमा गच्छिया ल्याइयो र पच्चीस जनाभन्दा बढी मलामी जान पाइँदैन भन्दै आयो पुलिस । पच्चीसै जनाजस्तो भएर ल्याइयो आमालाई बुढीगङ्गा घाटमा । आमा जलिरहनु भएको छ र आमाको जलन सँगै मेरो हृदय जलिरहेको छ ।
हेर ! मलामी कति हुन् भन्ने ठान्नुहुन्थ्यो आमा ! आफ्नो लासमा के–के हुनुपर्छ ठान्नुहुन्थ्यो ? उहाँका अन्तिमका चाहना के थिए ? काजव्रिmया कस्तो होस् भन्नुहुन्थ्यो ? केही भन्न पाउनुभएन । पापी कोरोनाको महामारीले सब मान्छेका चाहनाहरू पनि मा¥यो । कामनाहरू पनि मा¥यो । ए, कस्तो अप्ठेरो पा¥यो हौ यस महामारीले !
सायद आमाको इच्छा थियो होला लासमाथि त्यो अचेल धर्मभिरुहरूले संस्कार जस्तै बनाउन लागेको ‘हरे राम हरे कृष्ण’ लेखिएको ‘पीताम्बर’ ओढाउनू भन्ने, त्यो परेन । मलाई उचितै लाग्यो । मैले थाहा पाउँदा यो कतै थिएन, सेता नैनसुतका लुगामा लास बेरेर नै लगिन्थ्यो लासलाई । उखानै बनेको थियो ‘सेता डोली’को । होइन भने वडो संवेदनशील बेलामा एउटा न एउटा अन्धविश्वासी अगाडि आउँथ्यो र ‘पीताम्बर’ चाहियो भनेर अड्को लाउन थाल्थ्यो । त्यस्तो केही परेन । मलाई लासमाथि कुनै दलको झण्डा मन पर्दैनथ्यो । आमाले भोट हाल्ने पार्टीको आउँथ्यो कि, मैले भोट हाल्ने पार्टीको आउँथ्यो र पार्टीको झण्डा ओढाउने र गोहीका आँसु झार्ने गथ्र्यो, कथीकथीकन भए–न–भएका विशेषण बोल्थ्यो । त्यो सुन्नु र देख्नु पनि परेन । यस महामारीले धेरै कुरामा नमिठो लागेको भए पनि यस कुरामा भने ठिकठिकै लाग्यो ।
उता अस्पतालको कुरा त के गर्नु र ! ‘अस्पतालमा डाक्टरलाई हात छाडे अरे ! हुलदङ्गा भयो अरे ! तोडफोड भयो अरे !’ यस्तो सुन्थें । सधैं त मलाई त्यसो नहुनुपथ्र्यो जस्तो पनि लाग्थ्यो । आफूलाई परेपछि भने क्याहो–क्याहो जस्तो पो लाग्यो ! आमालाई बेलैमा डाक्टरले हेरिदिएको भए ! राम्ररी जाँच गरेर ओखतीमुलो गरेको भए आमालाई छिट्टै जाति हुन्थ्यो भन्ने लागिरहेको छ अहिले पनि । दुई–दुई वटा अस्पताल दौडाएँ । अन्तिममा त्यहाँ पु¥याएँ । त्यहाँ पनि निको पार्न होइन मार्न फिस तिरेको जस्तो लागिरहेको छ । मैले आमालाई मार्नका लागि त्यहाँ पु¥याएँ भनेर पछुताउ भइ नै रहेको छ । आमाको मर्ने बेला भएको थिएन । आमाको मर्ने बेला भएकै थिएन भन्ने मलाई विश्वास छँदैछ ।
“ए डाक्टर हो किन मायालु पाराले विमारीलाई हेरिदियौन ? त्यसरी पु¥याएको विमारीलाई होशियारीसाथ प्रेमपूर्वक विमारीलाई ढाडस दिँदै, विश्वास जगाउँदै जाँच्नुपथ्र्यो नि ! किन त्यसो गरेनौ ? किन ती सेता प्लास्टिकेहरूलाई स्ट्रेचर कुदाउन लगाएर मलाई सँगसँगै जानै दिएनौ ? विहोस हुन आँटेकी मेरी आमालाई त्यतिकै मा¥यौ नि !” मलाई बौलाउन मन परिरहेको छ ।
मलाई कुर्सीमा बसेको सरकारप्रति त जङ चलिरहेकै छ । “संविधानमा समाजवाद उन्मुख भनेर लेख्ने, अनि अस्पताललाई जनताको ढाड सेक्ने बनाउने ?” तर के गर्नु र !
म यस्तै के–के सोचिरहेको थिएँ । बहिनी, श्रीमतीहरु एकातिर रोइरहेका थिए । आमाको लास जलिरहेको थियो । जलिरहेको लासले मलाई गिज्याइरहेको थियो । घरिघरि अस्पतालमा पाएको जवाफ “ल, तपाईंलाई वधाई ! नेगेटिभ छ !” पनि मनमा आइरहेको थियो ।

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।