15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विलुप्त छायाँ

लघुकथा मनिश कुमार शर्मा समित January 9, 2022, 6:54 am
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

“अब उपरान्त म तिम्रो साथ हुने छैन ।” उसको छायाँको कुराले उ एक पटक झसङ्ग भयो ।
“हैन के भनेको ? म बामे सरेदेखीको साथ तिम्रो । अब सास रहुन्जेलसम्म साथ दिनु पर्छ ।”
“त्यो त हो । भावीले मलाई तिम्रो साथ हिड्न अह्रायो । सम्झौता अनुसार अन्तिम समय सम्म तिम्रो साथ दिनु थियो । तर तिम्रो कर्मले गर्दा म तिम्रो साथ छाड्न बाध्य भएँ ।”
“कस्तो कर्म ? मैले त तिमीलाई त्यस्तो केही बिगार गरे जस्तो लग्दैन ।” ऊ अक्‍मकिदै सोध्छ ।
“एक पटक तिम्रो आत्मामा चियाएर हेर । कुनै पनि दिन त्यस्तो रहेन मैले तिम्रो साथ छाडें । तिम्रो पापको घडा यति भरिसक्यो कि अब त्यसको बोझ म बोक्न नसक्ने भइसकें । साच्चै भन्ने हो भने अब त तिम्रो साथ पनि मलाई लाज घृणा लागिसक्यो । तिम्रा दायाँ-बायाँ हेर त को को छन् तिम्रा साथ । तिम्रा ईष्टमित्र परिवारजन सबै पराई भइसके । छन् त केवल लोभ लालच, भ्रष्टता, व्यभिचारिता । ल अब तिमी नै भन कहिले सम्म तिम्रो साथ दिनु मैले ? अब अति भयो । सम्झ यो नै तिम्रो र मेरो आखिरी भेट हो । ल म बिदा भएँ ।” छायाँ अघि बढ्यो ।
“पर्ख पर्ख तिमीले मलाई एक्लो पारेर जान सक्दैनौ” उ पनि छायाँको पछि लाग्यो ।
छायाँ अघिअघि उ पछिपछि । उसलाई छायाँलाई भेटन हम्मे पर्यो । एक स्थानमा पुगेर छायाँ विलुप्त भयो । उ एकाएक चिच्याउन पुग्यो - “मलाई छाडेर नजाउ....”
“हैन ए बुढा... । कति बरबराएको भन्या ... । यो अकुत सम्पत्ति कमाएपछि त जहिले पनि निद्रामा बरबराएको बरबराएकै छ ।” बुढीको घच्‍घचाइले उ झल्यस् भयो । घडी हेर्यो रातको २ बजेको रहेछ ।

मध्यपुर ठिमी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।