15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनको डिजिटाइजेशन

निबन्ध योगेन्द्र उपाध्याय January 9, 2022, 8:56 pm
योगेन्द्र उपाध्याय
योगेन्द्र उपाध्याय

इन्फरमेशन टेक्नोलोजीको क्षेत्रमा एक बहुचर्चित टर्म छ त्यो हो डिजिटल डिभाइड अर्थात सूचना तथा संचारका माध्यम प्रयोग गर्ने र नगर्नेहरु बीचको सीमारेखा वा प्रयोगकर्ता र प्रयोग नगर्नेहरु बीचको भिन्नता । धेरै हदसम्म हामी सबैले कुनै न कुनै समयमा कुनै न कुनै हदसम्म सूचना तथा सञ्चारका माध्यम प्रयोग गरेकै छौं या भनौं सेन्ट्रल रिपब्लिक अफ अफ्रिका र टुभालु जस्तो अन्यन्तै अविकसित देशका प्रत्येक बासिन्दा या कर्णालीका खोंचहरुमा आफ्नो जीवनलाई सार्थक बनाउँदै गरेका नागरिक । उनीहरुले पनि कहिले न कहिले डिजिटल संचार माध्यमहरुको प्रयोग गरेकै हुनुपर्छ चाहे त्यो रेडियोको रुपमा होस् या अन्य कुनै ।
समयसँगै डिजिटल डिभाइडेशनले नयाँ परिभाषा प्राप्त गर्यो र आज साधारणतया इन्टरनेटको प्रयोगकर्ता र इन्टरनेट प्रयोग नगर्ने बीचको सीमारेखालाई डिजिटल डिभाइडेशनले परिभाषित गरिन्छ जुन मलाई मन पर्दैन, युक्तिसँगत लाग्दैन किनकि मानिसमा डिभाइडेशन यदि डिजिटलले गर्ने हो भने हाम्रो भविष्य हाम्रो हातमा छ कि विद्यूतीय प्रवाह 10101 को हातमा तर यो गलत पनि होइन किनकि समय अनुसार सत्य, मान्यता, धारणा, परिस्थिति परिवर्तनशील हुन्छन् नै । हामीलाई लाग्ला सत्य समय अनुसार परिवर्तनशील हुँदैन । वास्तवमा सत्य हाम्रो चेतनाभन्दा इतर बस्तु होइन हाम्रा धारणाहरुले नै सत्यको निर्माण गरिरहेका हुन्छन् । आजभन्दा २-३०० वर्ष पहिला पृथ्वी चेप्टो छ र म्याटरले बनेको छ भन्ने सत्य थियो, आज पृथ्वी गोलो रहेको र म्याटरले बनेको सत्य छ, बिस्तारै विज्ञान त्यस दिशातर्फ उन्मुख छ जो मान्दछ कि- “पृथ्वी न गोलो छ न चेप्टो, यहाँ पदार्थ मात्र छैन प्रतिपदार्थ पनि छ, पृथ्वीमा पृथ्वीमात्र छैन पृथ्वीका अनेक लेयरहरु छन् र एउटा लेयरसँग मात्र हामी परिचित छौं, एउटा मात्र पृथ्वी छैन सेम टाइम, सेम डाइमेन्सन र सेम सिचुएसनमा लाखौं पृथ्वीहरु छन्, सेम म्याटर सेम टाइममा लाखौं ग्यालेक्सीहरु छन् मल्टिभर्स छ, मैले लेखेको यो लेख अक्षरश: हजारौंले लेखेका छन् र तपाईंले जस्तै १००% समान परिस्थितिमा हजारौंले पढिरहेका छन् ।“ यो भोलिको पृथ्वीको सत्य हो प्रुफ होला नहोला तर आजभन्दा छुट्टै परिभाषा भने अवश्य पाउनेछ पृथ्वीले । सत्य फेरी हामी नदीको कुन किनारामा छौं भन्ने कुराले पनि छुट्याउँछ जस्तै: कर्णको लागि दुर्योधन सत्य हो भने कृष्णको लागि अर्जुन । यस अर्थमा मैले देखेको डिजिटाइजेशनको विकृत रुप मेरो किनाराको पनि हुन सक्छ ।
२-४ दिन देखि म Yuval Noah Harari को Sapiens पुस्तक पढिरहेको छु । केही कल्पना, केही तथ्य र केही अनुसन्धानकै क्रममा रहेको विषयवस्तुहरुलाई उदृत गर्दै लेखिएको यो पुस्तक मानव इतिहासलाई बडो रोचक ढंगबाट प्रस्तुत गर्दछ । एउटा प्रसँग मलाई साह्रै मन पर्यो मानौं फिजिक्स या इतिहासमा पोख्त दुई वैज्ञानिक या इतिहासकार एक आपसमा भेट भए भने उनीहरु बीच के कुरा हुन्छ होला ? Harari आफ्नै अनुभव सुनाउँदै भन्छन् ५% इतिहास वा विज्ञानका कुरामा खर्चिने गरिन्छ भने ९५% गसिप । अरुको कुरा काट्न । चाहे त्यो सकारात्मक होस् या नकारात्मक सम्भवत: ८०% नकारात्मक १५% सकारात्मक । उनी भन्छन् सकारात्मक होस् या नकारात्मक कुरा कटाई यसले मानवको संज्ञानात्मक र भावनात्मक विकासमा ठूलो मद्दत पुर्यायो । कुरा काट्नाले नै मानिस एक अर्कामा जोडिन पुग्यो । समान प्रकारले समान व्यक्तिको कुरा काट्नेहरुको झुण्ड बन्यो र पछि त्यो कबिलाको रुपमा विकशित भयो र विस्तारै समाज, पन्थ, राष्ट्र निर्माण भयो । कुरा काट्नालेनै शक्तिशाली भन्दा शक्तिशाली शासकहरुको शासन सत्ता परिवर्तन भयो । कुरा काट्नुको नै देन हो शासकहरुको शक्ति भन्दा जनताको शक्ति अधिक हुन पुग्यो वास्तवमा दुई वा दुई भन्दा बढी व्यक्तिहरुबीच कुरा काट्नु गलत होइन तर डिजिटाइजेशनले कुरा काट्नुलाई एकै व्यक्तिको दुई फरक विचारहरुको बिचमा मात्र सिमीत बनाइदियो । कुरा कटाइमा सिर्जनात्मकता भएन कुरा कटाइमा दम भएन कुरा कटाइको विषयवस्तु नै केही थान फोटा र केही शब्द स्टेटस भइदियो । अनि यसै कारण प्रविधिको विकास भयो तर मानवको विकास भएन आज प्रविधिले प्रविधि बनाइदिन्छ मानव नै पो किन चाहियो संकटमा छौं हामी । ७०००० वर्षमा हामीले सिकेका अनुभव कति सस्तो झैं लाग्दछ मलाई ।
गुगललाई उछिन्दै हालै टिकटक नं. १ प्लेटफर्म बनेको प्रसंग हामी सबैले सुनेकै हुनुपर्छ र बुझेको पनि हुनुपर्छ डिजिटल प्याटफर्महरु कुन कार्यको लागि प्रयुक्त हुँदैछन् । बुझ्नुपर्ने कुरा के पनि छ भने विकिपिडिया जस्ता पोर्टलहरु च्यारिटिबाट चलिरहँदा टिकटकमा पाइएकै गिफ्टका कारणले लखपति बन्नेहरु पनि छन् । यो ती व्यक्तिहरुलाई गतिलो झापड हो जो मान्दछन् डिजिटाइजेशनबाट ज्ञानको वृद्धि हुन्छ । फेरी हामीलाई यो पनि लाग्न सक्छ यो त प्रयोगकर्ताको च्वाइस हो । उसको विवेक प्रयोग गर्नुपर्ने हो । धेरै हदसम्म यो सत्य पनि हो विवेक । तर सराउण्डिङ्ग या भीडको बिचमा एउटाको विवेकले कुनै अर्थ राख्दैन । अविवेकीहरुको बिचमा विवेकी झनै ठूलो अविवेकी सावित हुन्छ । अविवेकीले पनि अविवेकी भन्ने व्यक्ति कुन हदसम्मको अविवेकी हुन पुग्छ होला । अनि उ फ्रस्टेड नभएर को हुने । फेरी एक्सपोज सधैं रंगीन हुन्छ । रंगीन देखिन र रंगीन देख्न कसलाई पो मन पर्दैन र ? अनि कुन यस्तो रंग छ जुन समयसँगै रंगहीन हुँदैन र ? रंगीन र रंगहीन बीचको यात्रामा प्राप्त उजाडताले कसलाई पो फ्रस्टेड बनाउँदैन र ? हलिउड र बलिउडमा हुने आत्महत्या यसका ज्वलन्त उदाहरण हुन् ।
एकदमै अचम्मलाग्दो परिवेशमा हामी छौं । कोही मर्यो इभन आफ्नै सबैभन्दा प्रिय मान्छे मर्यो । उसको मृत शरीरको तस्वीर फेसबुकमा राखेर दु:ख मनाउ नगरेसम्म र दु:ख मनाउको पोष्टमा ४-५०० वटा RIP नपाएसम्म हामीलाई वास्तविक दु:ख भएको महशुस समेत हुँदैन । या दु:खि भएको सावित गर्न मन लाग्ने र सावित गर्नुपर्ने अचम्मको परिस्थिति छ हाम्रो अगाडी । एउटा कथाको प्रसँग याद आयो । एउटा बाबुको छोरा मर्छ । जसले जीवनभर त्यो छोरालाई गलत भने उनीहरुले समेत केटो गतिलो थियो असमयमै मर्यो भनेर बाबुलाई सहानुभूति दिन्छन् । दिनभर सयौँको संख्यामा सहानुभूति दिनेहरु आउँछन् बाबुचाहिँ भीडबाट उम्कन खोज्छ तर उम्कन पाउँदैन । साँझ परेपछि भीड कम हुन्छ अनि शौचालयमा गएर मज्जाले रुन्छ अनि बल्ल उसको मन भक्कानिन बन्द हुन्छ । थोरै भएपनि शान्ति मिल्छ । कुन लेखकको कथा हो प्रस्ट याद भएन तर मार्मिक छ। बर्तमान परिस्थिति भिन्न छ । सराउण्डिङ्गको भीड त छँदैछ अरु नपुगेर कमेण्टका भीडहरुबीच आफूलाई दु:खी सावित गर्नाले शान्ति कहाँ मिल्छ र ? वास्तवमै दुखी छौं भने चाहे जुनसुकै कारणले होस् रुनुपर्छ भित्तालाई हेरेर, रुखलाई हेरेर, आकाश तारा चन्द्रमा उनीहरुको विशालता हेरेर अनि बल्ल लाग्छ हाम्रो दु:ख कति सानो छ ।
२००८ मा फेसबुकको अकाउण्ट खोलेको मैले समयक्रमसँगै २०१७ देखि दिनको एट लिष्ट १ पटक ‍ओपन गरेकै हुन्छु । १-२ दिन कतै हिँड्दा फेसबुक, म्यासेन्जर ओपन गरिएन भने सकसक लाग्ने र औंलाहरुमा छटपटाहट हुने अनौठो सिचुएसनकै बिचमा मोबाइलको स्क्रिन फुट्यो । ३-४ दिन मर्मत गरिएन अनि मर्मत गर्ने क्रममा थप ५-७ दिन लाग्ने भएकाले १ हप्ता भयो म डिजिटल डिभाइडमा छु । जब म डिजिटलमा हुन्थें त्यस बेलाका केही तनावहरु निम्नानुसार लिष्ट आउट गरेको छु ।
1. कतै गयो प्रथमत: फोटो खिच्ने तनाव, खिच्ने क्रममा रिलवाला क्यामेरा झैं पोज नमिलाइदो रहेछ । डिफ्रेन्ट डिफ्रेन्ट पोजको प्रति पोज ५-७ वटाका दरले फोटो खिच्नुपर्ने । समग्रमा ३०-४० वटा फोटाबाट अत्यन्तै उत्कृष्ट फोटा छान्न पनि अत्यन्तै सकस । खिचाइमा त्यति समय खर्च हुँदैन जति चुज गर्नमा । एउटा फोटोमा हात मिल्दैन, एउटामा मुस्कान भने कुनैमा पाइन्ट खुम्चिएको हुन्छ । फेरी फोटो चुज गर्दा उहि दिनकै फोटो भएपनि फरक फरक कपडा लगाएको समेत खोजिँदो रहेछ । आधा घण्टा लगाएर फोटो चुज त भयो तर क्याप्सन के लेख्ने ? नेपालीमा लेख्ने की अंग्रेजीमा । क्याप्सन कस्तो लेख्ने कस्तो शब्द चयन गर्ने जसले हामीलाई खुशी छ है भनेर प्रमाणित गर्न सकोस् ।
2. फोटो हालियो ठिक छ काण्ड सकिनुपर्ने सकिँदैन । नोटिफिकेशनको टण्टो उत्तिकै । सकेसम्म सबैको फुर्सद हुने समय साँझ ८ बजे फोटो हालिन्छ अनि सुरु हुन्छ पर्खाइ । कसले कमेण्ट गर्यो कसले गरेन । कमेण्ट पनि कस्तो गर्यो । स्टीकर वाला थर्ड क्लास, अटोमेटिक सेन्टेन्सवाला सेकेण्ड क्लास या आफैले टाइप गरेको फस्ट क्लास । सेन्टेन्स वालाको पछि एक वटा वर्ड थप गरेको क्लास चाहिँ उल्लेख गरेको छैन । त्यत्रा चुज गरेका फोटामा अपेक्षाकृत कमेण्ट आएन भने हुने निराशा एकातिर छ भने लाइक सेक्सनमा रहेका पानका पात, पानका पातलाई अंगालो हालेको, हाहाजस्ता रियाक्टहरुको लेखाजोखाको सकस पनि उत्तिकै । भोलिका दिनहरुमा ती कमेण्टका बदलामा उसैको कमेण्टको जस्तो कमेण्ट गर्नुपर्ने दायित्वजन्य कुरा पनि छँदैछन् अर्कोतिर । मानौं छोरीको बिहेमा रहेको नगदको हिसाब राख्ने कापी हो जिन्दगी उसले २५०० दिएको छ भने प्रतिवर्ष १०% थप गरेर उसको छोरीको बिहेमा नगद दिनुपर्ने ।
3. फेसबुक पनि बाठो छ । मान्छेले कमेन्टको मात्रा घटाउँदै गएपछि आयो स्टोरी २४ घण्टा वाला । यो फिचरले वालको पोष्ट जस्तो कम कमेण्ट आएर बेइज्जत पनि गर्दैन । सार्वजनिक रुपमा कसले हेर्यो या हेरेन अथवा हेरेर पनि रियाक्ट दियो या दिएन भन्ने कुरा म्यासेन्जरमा मात्र आउने भएकोले पनि कमेन्ट कम आउनेहरुका लागि वरदान ‍हो यो तर रियाक्ट र भ्यू कम आउँदा हुने नैराश्यता चाँहि उत्तिकै हुँदो रहेछ ।
4. माथि त भयो आफ्नो पोष्टका कुरा । अरुका पोष्टहरु त बाँकी नै छन् । प्रथमत: जसको पोष्ट म मेरो सामुन्ने देख्दै छु उ मेरो रेगुलर कमेण्टेटर/रियाक्टर हो कि होइन । हो भने कस्तो ? उसका फोटाहरु मैले ओपन गरुँ या नगरुँ ? ओपन गरेर भित्रवाला फोटोमा समेत कमेण्ट दिउँ या बाहिरको पोष्टमा मात्र । टाइप गरेर कमेण्ट दिउँ या स्टीकर । ह्याप्पी बर्थ डे भनुँ कि नभनुँ । कमेण्ट गरेपछि लाइक या यस्तै रियाक्ट दिउँ कि नदिउँ । कस्तोसम्म हुन्छ भने वालमा राखिएको फोटोको रियाक्ट दिँदा पहिलो रियाक्ट लाइक हुन्छ र दोश्रो पानको पात अनि स्टोरीमा पहिलो पानको पात र दोश्रो लाइक यस हिसाबले वालमा लाइक दिए झैं स्टोरीमा पानको पात दिनु हुन्छ तर स्टोरीमा पानको पात दिए बढी महत्व दिएझैं हुन्छ भनेर दोश्रो नं. मा रहेको लाइक दिइन्छ । अनि सरर स्टोरी अघि बढेर अरुको समेत हेर्न पुगिने हुनाले त्यसबाट जोगिन स्टप अनि ब्याक गर्नुको पनि उस्तै समस्या । मन नपरेको र कम महत्वका मानिसहरुको स्टोरी किन हेर्नु ? मन परेकाको छुट्ला र रिसाउला भन्ने पीर समेत कम्ताको हुँदो रहेनछ ।
5. म फील गर्न सक्तछु आजभोली हामीहरु म्यासेन्जरमा टाइप गरेर बस्न खासै रुचाउँदैनौं तर पनि रुचाइएको व्यक्तिसँग टाइप समेत गरिँदो रहेछ । फेरि लेखेर व्यक्त गर्नु बोलेर व्यक्त गर्नु भन्दा सजिलो भएर पनि होला । म्यासेज गर्यो उसलाई डेलिभर नभएको अफलाइनको एउटा चिन्ह, उ अनलाइन आएपछि डेलिभर भयो अर्को चिन्ह, डेलिभरी भयो अनि उसले हेर्यो अर्को चिन्ह, हेर्यो तर रिप्लाइ गरेन अर्को तनाव, रिप्लाइ भयो अनि बल्ल ओम् शान्ती ।
6. स्क्रलिङ्ग पनि बडो मजाको हुँदो रहेछ । दिनमा अनेकन पटक त्यो स्क्रीन तलमाथि गर्नु अनि होम थिचेर नयाँ स्टोरी हेर्नु । एकछिन मोबाइल भुईंमा राख्नु अनि फेरी उठाउनु । ट्याप ट्याप गर्नु । फेसबुक एपको दाहिनेपट्टि म्यासेजको बटममा क्लिक गरेर म्यासेन्जरमा जानु । त्यहाँबाट फेरी इक्जिट हुनु । टिकटकमा जानु स्वाँट् स्वाँट् स्वाँट् पारेर प्रत्येक भिडियो हेर्नु । डबल ट्याप दिनु पानको पात पठाउनु । टिकटकको डबल ट्याप पनि अद्भुतै हुँदोरहेछ । नचिनेको मान्छेको भिडियोमा सहजै डबल ट्याप जान्छ तर चिनेको जानेको मान्छेको भिडियोमा डबल ट्याप गर्न चोर औंला लास्टै भारी भएर आउँछ । धन्न टिकटकमा कस कसले भिडियो हेर्यो भनेर आउँदैन नत्र कति सकस हुन्थ्यो होला । आदि
मलाई लाग्छ अनेष्टलि भन्ने हो भने यो मेरो मात्र होइन धेरैको समस्या हो कसैले स्वीकार गर्ला कसैले नगर्ला स्वीकार गरे पनि नगरे पनि चेतन अचेतन र अवचेतन मनमा अनलाइनले पारेका प्रभावहरुको पुञ्ज हौं हामी । माथिका कुरा मेरा सोंचका उपज हुन् र म पनि त्यहि परिवेश जनित कुराहरु सोंच्दछु जुन परिवेशमा हजुर हुनुहुन्छ । मैले जस्तो शत प्रतिशत सबैले नसोंच्न सक्नुहुन्छ । तर म जान्दछु पूर्ण या आंशिक हामी सबैको तनावको विषयवस्तु हो यो जीवनको डिजिटाइजेशन । डिजिटलको नाउँमा बढ्दै गएको यो क्रेजीनेश, डिजिटाइजेशनसँगै बढ्दै गएको अरुको जीवनभित्र नियाल्ने चासो । आफ्नो जीवनलाई अरुसामू एक्सपोज गर्न मन लाग्ने हुटहुटी साँच्चै हामी मनोरोगी त हुँदै छैनौं । अवस्था यस्तो सम्म छ मनोपरामर्शदाता समेत यस केशमा मनोपरामर्श लिन बाध्य छन् हाम्रो उद्दार कसले गर्ने ? मोबाइलको स्क्रिनको प्रत्येक पिक्सेलहरुमा मेरा आँखाका तारहरु जोडिएझैं लाग्छ । लाग्छ यो औंलाहरु त्यो स्क्रीनलाई छुन बनेका हुन् । चराचर जगतको छुन योग्य बस्तु मोबाइलको स्क्रिन हो । डिजिटल डिजिटल डिजिटल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।