15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

काले दाजु

कथा राजु “हिमांशु” January 9, 2022, 9:03 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

यस गाउँमा आएर ऊ बस्न थालेको वर्ष दिन पनि भएको छैन। ऊसित स्वास्नी,छोरी र साढे तीन वर्षको नाति बस्छन्। गरिबीसित राम्ररी परिचय साटिसकेका उनीहरूले एउटा ठूलो घरको सानो कोठा र भान्साघरमा बसेर जिन्दगी धान्दै छन् । उसले अनि उसकी छोरीले गाउँघरकाहरूले अह्राएका घाँस फाँड्ने,मैला सफा गर्ने,बिहेबटुलमा ,किरियामा भाँडा माझ्ने कामहरू गर्छन्। स्वास्नी बिरामी छिन्। गण्यमान्य छिमेकीकै घरलाई देखरेख गर्न भनी छिमेकीले उनीहरूलाई एउटा कोठा र भान्साघर दिएर राखेका हुन् सित्तैँमा ।
बिहान नै हल्लिँदै वल्लो छेउ र पल्लो छेउ हुँदै उकालो आउँदै गरको देख्छु उसलाई । मर्निङ वकमा कुकुरलाई लिएर म जाने गर्छु सधैँ । अर्धशतक पार गरिसकेको शरीरलाई सक्रिय राख्ने मेरो कोसिस जारी छ। बिहान बिहान जङ्गलछेउको नवनिर्मित अलकत्रे सडकमा कुकुरलाई डोर्याउँदै दगुर्दै जानुमा मात्र मेरो शरीरबाट पसिना निस्कने गर्छ। फर्किएर आएपछि मैदानमा अरूहरूले जस्तै म पनि शारीरिक व्यायाम गर्छु र पसिनै पसिना भएपछि घर फर्किन्छु। यस क्रममा उसलाई घरी माथिबाट त घरी तलबाट लड्खडिँदै आएको देख्छु । त्यस्तै अवस्थामा पनि उसले मलाई चिनेर भन्छ-“नमस्ते
सर !”
माया लागेर एक दिन मैले उसलाई मेरा पुराना लुगाहरू,जुत्ताहरू र सय रुपियाँ दिएको थिएँ। उसको सही नाम के हो ? थाहा छैन। तर सबैले उसलाई काले दाजु भनेर बोलाएका सुन्छु।
एक दिन मलाई भेट्न मेरा साइँला दाजु आएका थिए । उनी तल बजारमा बस्छन् । त्यहाँ घर बनाएका छन्। सेवानिवृत्त भएपछि कहिले सप्ताहमा त कहिले महिनामा एकपल्ट मलाई भेट्न आउँछन् उनी । यसपल्ट भाउजू आइनन्। भतिज-बुहारीहरू पनि आएनन्। उनी एक्लै आए । एउटा कम्पनीको पोलिसी लिएर आएका रहेछन्। जमा गरिएको भन्दा डबल रुपियाँ पाउने कम्पनीको योजना सुनाए उनले। एकपल्ट मात्र रकम जमा गर्नुपर्ने। त्यसपछि कम्पनीले एउटा प्रमाण-पत्र दिने र पाँच वर्षपछि त्यही प्रमाणपत्रको आधारमा दोबर रुपियाँ कम्पनीले भुक्तान गर्ने वाचायुक्त कम्पनीका नियमहरू सुनाए उनले र त्यसपछि मलाई एउटा गरिदिने अनुरोध पस्किए। नाइँ भन्नु नजान्ने मैले उनलाई गर्दिनँ भन्न सकिनँ। नाइँ,गर्दिनँ,मनपरेन,होस् सोझै भन्न नसक्ने मैले धेरै भाइबहिनीहरूबाट यस्ता प्रमाणपत्रहरू किनिदिएको छु आफ्नो ल्याकतअनुसार। तर कम्पनीको योजनाअनुरूप पैसा भने आजसम्म पाएको छुइनँ । पाउँछु एकदिन भनेर बसेको छु। वाञ्छित रकम निकालेर दाजुलाई दिएँ । कम्पनीको फर्ममा सही पनि गरिदिएँ। दाजुको अनुहार उज्यालो भयो ।
“यसपाली दसैँ त मान्नु हुन्छ र राम्ररी मान्नुपर्छ। तल काकाकोमा पनि जानुपर्छ। ” दाजुले सल्लाह पस्किए ।
यत्तिमा मेरी श्रीमतीले गाजर,मटर,फुलकोपी,अण्डा आदि मिसाएका ‘कोका’ हामी दुई दाजुभाइ बसेका सोफाअघि भएको टेबलमाथि राखिदिई चिनियाँ माटोले बनेको भनी किनेका दुईवटा ठूलो बटुकामा । दुवैले तातो तातो ‘कोका’ खायौँ । त्यसपछि केही माथिसम्म पुगी घुमेर हामी फर्कियौँ । बेलुकी पख दाजुले “अब म जान्छु” भन्दै बिदा मागे । अर्को हप्ता तल घरमा आउने निम्तो पनि दिए। सानो नातिको जन्मदिन परेछ अर्को हप्ता । दाजुको निम्ति गाडी पर्खिरहेको थिएँ तल बाटोमा । दाजु पुरानो साथीसित सडकमै उभिएर बात गर्दै थिए। साथी गएपछि म भएतिर आए। तल सडकबाट काले दाजु लड्खडिँदै आउँदैथ्यो । मलाई देखेर उसले भन्यो-“नमस्ते सर!” त्यसपछि वल्लो छेउ र पल्लो छेउ हुँदै उकालो लाग्यो ।
“अरे ! यो मोरो त यहाँ पो रहेछ !” दाजुले काले दाजु गएको तर्फ हेर्दै भने।
“चिन्छौ उसलाई?”मैले सोधेँ ।
“चिन्छु नि। म तीनधारेमा हुँदा मेरो क्वार्टरकै छेउमा त बस्थ्यो।” दाजुले भन्दै थिए –“मोरो एक नम्बरको चोर हो। जेल पनि बस्यो कति महिना।”
म झस्किएँ दाजुको कुरा सुनेर ।
“अर्काको घर फोरेर चोरेछ मोरोले । कस्तो धुलाइ खाको ! धेरैको घरबाट सामान हराएको
थियो । एक दिन तल श्याम भाइको घरभित्र दिउँसै पसेर चोर्दै गर्दा रेड ह्याण्ड पक्रा परेको हो ऊ । ठीक छैन मान्छे।” दाजुले भन्यो । म छक्क परेँ । अस्तिको हप्तामात्र मेरो घरको वरिपरि उम्रिएका घाँसहरू फाँड्नु लगाएको थिएँ उसलाई।
“यहाँ बस्छ कि क्या हो ?” दाजुले सोधे ।
“हाम्रै गाउँमा ,पर लक्ष्मी दिदीको घरमा बस्छ ऊ।” मैले जबाफ दिएँ ।
“अलिक होसियार बस्नू।” दाजुले सतर्क गराए।
माथिबाट गोटे गाडी आयो। दाजुलाई त्यसमा चढाएँ । दाजु गए त्यही गाडीमा । म घरतर्फ फर्किएँ काले दाजुबारे साइँला दाजुले भनेका कुरा मनमा खेलाउँदै। राति श्रीमतीलाई पनि दाजुले भनेका कुरा सुनाएँ ।
“हो र ? सीधा छ त हेर्दा त ! होइन होला !” श्रीमतीलाई विश्वास लागेन।
साइँला दाजुका सानो नातिको जन्मदिनको बेला पनि दाजुले भनेका थिए-“त्यो मोरो त मेरो साथी धीरेनको दाजु पो हो त । तर अहिले धीरेन र उसको सम्बन्ध नभएको जस्तो छ। धीरेनले त हेर्नु सक्दैन। दाजुलाई सुधार्नु धेरै कोसिस गर्यो धीरेनले । तर मोरो सुध्रिएन। चोर भयो। जेलमा थुनियो। त्यसपछि हराएको थियो। तिमारको गाउँमा पो बस्दोरहेछ अहिले। ”
“हाम्रो गाउँमा बसेको एक वर्ष जति भयो होला।” मैले भनेँ।
“हो र । उसलाई त बुढीले पनि उहिल्यै छोडेको हो ।” दाजुले सूचना दिए । म विस्मित बनेँ । कारण अहिले ऊसित स्वास्नी पनि छे। उसको बारेमा जान्ने उत्सुकता उम्रियो मभित्र। घर आएपछि लक्ष्मी दिदीको श्रीमान् सुरेन भेनालाई फोन लगाएँ । फोनमा काले दाजुबारे आफ्नो जिज्ञासा व्यक्त
गरेँ ।
“कथा लेख्छौ कि क्या हो ?” फोनमा सुरेन भेना बोले ।
“लेखूँ भनेको।” मैले भनेँ ।
“घरमा नै आऊ न । फोनमा काँ लामो कुरा गर्नु !” सुरेन भेनाले भने। केही क्षणपछि लक्ष्मी दिदी र सुरेन भेनाको घरमा पुगेँ। सुरेन भेनाले कालेदाजुको बारेमा धेरै कुरा सुनाए । उनले जे भने त्यो सुनेर म केही विस्मित पनि भएँ ।
काले दाजुको नाम बिरेन रहेछ। परिवारमा जेठो छोरो ऊ । कान्छा छोरोको नाम धीरेन। पढ्दापढ्दै स्कूल छोडेर कुल्ली काम गर्न थालेछ । तर कुल्ली काम गर्दागर्दै सँगै काम गर्ने शेर्पेनी केटीलाई भगाएछ । सानैमा आमा हराएको गरिब परिवारमा हुर्केको बिरेन रक्सी पिउने लतले ग्रसित भएछ । वन विभागबाट रिटायर्ड भएका वाचर बाउले उसलाई घरबाट निकालिदिएको ‘रे। भाइ धीरेनले वन विभागमा नै काम पाएको थियो । बिरेन धीरेनकोमा बेलबेलामा पैसा माग्न जान्थ्यो । तर एक दिन साह्रै मातेर आएर झगडा गरेपछि भने धीरेनसित पनि सम्बन्ध विच्छेद भएको थियो । बिहे गरे पनि स्वास्नीले उसलाई छोडिसकेकी थिई । ऊ जेलबाट छुटेपछि कुन्नि कसरी नगरकट्टा पुगेको थियो र त्यहाँ सुरेन भेनाकी फुपुको घरमा बसेर खेतबारीमा काम गर्थ्यो। नगरकट्टा जाँदा सुरेन भेनाले उसलाई धेरै पल्ट देखेको थियो । फुपुलाई सोध्दा सुरेन भेनालाई उसको बारेमा धेरै कुरा थाहा लागेको थियो । त्यसैको आधारमा सुरेन भेनाले मलाई भन्दै गए। म सुन्दै थिएँ ।
नगरकट्टाबाट ऊ नेपालतिर लागेछ । त्यहाँ फेरि बिहे गरेछ। अर्काकी स्वास्नीसित भागेर यता आएछ । कुल्ली काम गर्दै, अर्काको घरमा काम गर्दै ,मात्दै जीवन धान्ने क्रममा उसकी छोरी भएछ । तर स्वास्नी भने रोगी भएर ओछ्यान छोड्न नसक्ने अवस्थामा परिछ ।
एक दिन सुरेन भेना सार्वजनिक भवनमा आफन्तको किरियामा चोखिन जाँदा उनले बिरेनलाई भाँडा माझ्दै गरेको देखेछन् । सुरेन भेनालाई देखेर ग्वाँग्वाँ रोएछ बिरेन। उसको कुरा सुनेपछि उसलाई यता आएर बस्ने र घरको देखरेख गरिदिने भनेपछि ऊ परिवारसित यहाँ आएर बस्न थालेको
रहेछ ।
बिरेन उर्फ काले दाजुको जीवनमा आइपरेका तलमाथिबारे सोचेर ल्याउँदा मलाई कस्तो कस्तो लाग्यो ।मान्छेको जीवनमा दु:ख,पीडा र तनाउका पैह्रो गएर जीवन कसरी धस्किँदोरहेछ भन्ने कुरा ज्ञात भयो । असहाय र गरिब मान्छेको दिमागले काम गरेन भने पाउनुसम्म दु:ख पाउँदो रहेछ।
काले दाजुकी छोरीको बारेमा सुनेर त म तीन छक्क परेँ। कुल्ली काम गर्ने क्रममा मिस्त्री युवकसित पन्ध्र वर्षको उमेरमै उसको शारीरिक सम्बन्ध भएछ। उसलाई दोजिया पारेर त्यो युवक लापत्ता भएपछि कालान्तरमा उसले एउटा छोरो जन्माइछ । काले दाजुको निधारमा अर्को पीडा खोपिएछ ।
आज साढे तीन वर्ष पुगेको नाति ,छोरी र बिरामी स्वास्नीसित ऊ बाँचिरहेको छ। जिन्दगी धान्दै छ जसरी भए पनि । मात्नु छोडेको छैन। कामदाम नभए पनि ऊ ठिकै छ। बाहिरबाट हेर्दा खुसी छ। सुखी नै देखिन्छ। गाउँलेहरूले उसलाई र उसका परिवारलाई लुगाफाटा,खाद्य सामग्रीहरू दिने गर्छन्। अह्राएका काम सबै गर्छ उसले । एक समय चोरी गरेर जेल बसेको काले दाजुले हिजोआज नराम्रो काम गरेको थाहा लागेको छैन ।
अचेल नातिलाई कसरी,कुन स्कूलमा पढाउनु भनेर सुर्ताले खाइरहेको छ उसलाई । छोरीले भने होटलमा काम गर्न थालेकी छ । छोरी काममा गएपछि दिनभरि नाति र स्वास्नीलाई हेर्ने दायित्व उसको काँधमा थपिएको छ।
आज बिहान पनि माथिबाट ओह्रालो झर्दै थियो काले दाजु लड्खडिँदै। मेरो छेउमा आएर भन्यो-“नमस्ते सर!” यति भनी चुपचाप गयो ऊ । मैले पछि फर्केर हेरिबसेँ उसलाई चुपचाप। चुपचाप हेर्नबाहेक मसित अरू उपाय थिएन ।

डाउहिल,खरसाङ

--

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।