15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानुभक्तीय रामायणमा वेदान्त दर्शनको प्रभाव

कृति/समीक्षा पवन प्रधान January 9, 2022, 9:16 pm
पवन प्रधान
पवन प्रधान

प्रवेश-
वेदान्त दर्शन प्रथमतः प्राचिन बैदिक आर्य साहित्यको अभिष्ट देन हो। वेदान्तको शाब्दिक अर्थ वेदको अन्त्य हो, तर वेदको अन्त्य भन्नाले वेदको विरोधमा प्रस्तुत दर्शनको जन्म भएको भने होइन। वेदान्त दर्शनको जन्म प्राचिन आर्य साहित्य वेदबाट नै भएको हो। सरल भाषामा भन्नुपर्दा वोदान्त वेदको मुलतत्व दर्शन वा निचोड हो। दर्शनको यो हाँगो पनि प्रचिन आर्य ऋषिहरुबाटै प्रवर्तित भएको हो। प्राचिन आर्य ऋषिहरुद्वारा निर्मित वेद नै वेदान्त दर्शनको पनि मूलस्रोत हो।वैदिक तत्व दर्शनमा आधारित उपनिषद ग्रन्थहरुलाई नै वेदान्त दर्सनको आद्यश्रोत मानिन्छ।
वेदान्तवादी वा वेदान्तका अनुयायीहरु द्वैतवादी र एकतत्ववादीहरु भन्दा भिन्न हुन्छन्। यिनीहरु सत् लाई एकतत्ववादी सरह न एक भन्छन् न त द्वैतवादीहरु सरह अनेक नै भन्छन्। यिनीहरु सत् लाई अगम, अगोचर, अनिवार्चनीय आत्मा स्वरुप मान्छन्। सत् लाई वेदान्तवादीहरु अजर अमर अविनासी हुनका साथै अकल्पनीय र अवर्णनीय तत्व मान्छन्। यसरी वेदान्त दर्शन एकतत्ववादी र अनेकतत्ववादीहरु भन्दा वैचारिक रुपमा भिन्न भएको हुनाले नै यसलाई द्वैत अद्वैत रहितम् भनिएको हो। वेदान्त अनुसार ब्रह्म नै जगतको मूलस्रोत, आधार तथा लक्ष्य हो। सारा जगतको स्वरुप र माया उही पूर्ण ब्रह्मबाट नै उत्पन्न भएको हो र उसैमा कल्पित छ-
“ऊँ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पर्णमेवावशिष्यतो।।”
अर्थात परब्रह्म पूर्ण छन् र यो कार्यब्रह्म(जगत) पनि पूर्ण नै छन्। कारण पूर्णबाट नै पूर्णको जन्म हुनसक्छ। फेरी प्रलयकालमा पूर्ण ब्रह्मको पूर्णत्व लिएर आफैमा लिन भएर उनै पूर्ण ब्रह्म नै बाँचि रहन्छन्। अतः ब्रह्म सृष्टीको आदि, मद्य र अन्त्य तीनै अवस्थामा अक्ष्य र पूर्ण स्वरुपमै रहन्छन्। यही सत्यलाई वेदान्तमा आदि अनादिको रहस्य भनिन्छ।
वेदान्त दर्शनलाई संकराचार्यले विशोष लोकप्रियता प्रदान गरेका हुनाले यसलाई संसारका अधिकांश क्षेत्रहरुमा शंकराचार्यकै दर्शन मानिन्छ। यद्धपि वेदान्त दर्शन वैदिक कालदेखि नै प्रचलनमा रहिआएको लोकप्रिय दर्शन हो।

• नेपाली काव्यमा वेदान्त दर्शनको प्रवेशः
अन्य भारतीय भाषाहरुमा झै नेपाली काव्य साहित्यमा पनि वेदान्त दर्शनको प्रवेश भक्तिकाव्यका कविहरुबाट नै भएको देखिन्छ। सगुण र निर्गुण दुवैकालका कविहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नै भए पनि प्रस्तुत दर्शनलाई आफ्ना रचनाहरुमा भित्र्याएको पाइन्छ।यहि सन्दर्भमा नेपाली साहित्यको सगुण भक्तिधारा अन्तर्गत पर्ने राम भक्तिधाराका प्रतिनिधि कवि भानुभक्त आचार्यको प्रमुख कृति रामायणको वेदान्तवादी पठन यस कार्यपत्रमा गरिएको छ।
• वेदान्तवाद र भानुभक्तः
आदिकवि भानुभक्त आचार्यको वेदान्तप्रतिको आस्था वा वेदान्तसित कविको सम्बन्धलाई अध्ययन गर्न अघि उनको ‘प्रस्नोत्तर’-मा प्रयुक्त वेदान्तप्रतिको धारणालाई उनकै शब्दमा यसरी प्रस्तुत गर्न सकिन्छ-
“कुन सुन्न वेस हुन्छ भनेर मान्नु वेदान्तका वात् गुरुदेखि सुन्नु कुन ब्रह्म जान्न हेतु मान्न सतसंग वेदान्त विचार जान्नु।”
अतः सत् अर्थात ब्रह्म वा ईश्वर प्राप्तिका निम्ति कवि भानुभक्त वेदान्त विचारलाई नै उपयुक्त एवम् योग्य मान्दछन्। बाजे श्री कृष्ण आचार्य काशीवास जाँदा आफू पनि सँगै गएर शिक्षादीक्षा प्राप्त गर्ने भानुभक्तका कृतिहरुमा भारतीय संस्कृति र दर्शनको प्रभाव पर्नु स्वाभाविक कुरा नै मान्नुपर्छ। अतः काशीवासका समयमा नै भानुभक्तले वेदान्त दर्शनको अध्ययन गरेका हुन् भन्ने कुरा स्पष्ट हुँदछ। प्रस्तुत कुरालाई अझ प्रष्ट पार्नका निम्ति नरनाथजीले लेखेका यी श्लोकहरुलाई अघि सार्न सकिन्छ-

पाठशालामा गइ पढद्थ्या दिउँसमा साँझ ब्यान जिबाबूसँगै हुन्थ्यो काशिमहाँ बखत बखतमा विद्वत् सभा ताँहि गै।
सुनि छलफल शास्त्रहरु सबका सिद्धान्त पक्री लिया आत्मा ज्ञान विसे यसै तरहले पूरा भयाका थिया।
माथि उल्लेख गरिएकै कुरालाई सङ्केत गर्दै पारसमणि प्रधान यस्तो मन्तव्य प्रकट गर्दछन्- “चौध वर्षको उमेरमा जी बासँग काशी गएपछि तिनले तर्कशास्त्र र वेदान्तका पुस्तक अधययन गरेको बुझिन्छ। यसो हुँदा ती आत्मज्ञानका जटिल प्रश्नोत्तरमा लहसिए र तिनले भक्तमाला लेखे।”
यसरी कवि भानुभक्त आचार्यले वेदान्त दर्शनको ज्ञान प्राप्त गर्नमा बजे श्रीकृष्ण आचार्य र पून्यभूमि काँशीको भूमिका महत्वपूर्ण रहेको छ।

• भानुभक्तीय रामायणमा प्रतिपादित वेदान्त दर्शनः
आध्यात्म रामायणलाई आधार मानी तुरजुमा गरिएको भानुभक्तीय रामायण नेपाली साहित्यको एउटा कालजयी कृति हो। कवि भानुभक्तलाई शंकराचार्यको दर्शन र प्राचिन उपनिषैदिक दर्शनको समेत सामन्य ज्ञान भएकै हुनाले नै रामायणमा पस्तुत दर्शनको कुशल प्रतिपादन भएको मान्न सकिन्छ। यसरी भानुभक्तलाई अघिबाट नै वेदान्त दर्शन सामन्य ज्ञान प्राप्त हुनु त्यसमाथि पनि शंकराचार्यको दर्शनका आधारमा राम भक्तिको प्रतिपादन गर्दै बालमीकिको रामकथालाई केही भिन्न रुपमा प्रस्तुत गर्ने आध्यत्म रामायणलाई आधार मानी तुरजुमा गरिनु आदि सबै भानुभक्तीय रामायणमा वेदान्त दर्शनको सफल रुपमा प्रयोग हुनका कारक तत्वहरु हुन्।
सगुण भक्तिधाराका अन्य कविहरु झैं हाम्रा आदिकविले पनि साकार वा सगुण इश्वरको नै उपसाना गरेका छन् तर त्यसो भए तापनि दर्शनको क्षेत्रमा भने उनले वेदान्त दर्शनलाई नै मूल रुपमा स्विकार गरेको देखिन्छ। वोदान्त दर्शनमा पनि उनले शंकराचार्यको दर्शनलाई अधिक रुपमा रुचाएका छन्। वेदान्त सिद्धान्तका चारवटा प्रमुख वाक्यहरु छन् जसलाई वेद मन्थन गरी झिकिएको चार पदार्थ वा महावाक्य भनिन्छ। वोदान्त दर्शनका प्रमुख अभिमतहरु यीनै चारवटा सिद्धान्तको धरातलमा उभिएको मानिन्छ। ती चारवटा महावाक्यहरु हुन्-
1) तत्वमसि
2) अहंब्रह्मस्मि
3) खंम् ब्रह्म
4) प्रज्ञानम् ब्रह्म।
यी चारवटा महावाक्यहरु बाहेक ‘ब्रह्म सत्य जगन्मिथ्या ’, ‘सोह्मस्मि ’, ‘यत पिण्ड तत् ब्रह्माण्ड ’ आदि वाक्यहरु पनि उनिषद औ वेदान्त शास्त्रमा प्रयुक्त भएको पाइन्छ। वेदान्तका यीनै प्रमुख सिद्धान्त वा तत्वहरु भानुभक्तीय रामायणमा पनि प्रतिपादित भएको पाइन्छ।
भानुभक्तीय रामायणको प्रारम्भमा नै यस काव्यकृतिमा प्रयोग हुन गइरहेको दर्शनबारे कविले यसरी संकेत दिएका छन्-
“रामले वेद मन्थन गरीकन झिक्या गीता र अमृत सरी।”
यहाँ वेद मन्थन गरीकन भन्नाले नै यस काव्यकृतिमा वेदलाई मन्थन गरीकन निर्माण भएको दर्शन अर्थात वेदान्त दर्शनको प्रयोग हुने कुरालाई स्पष्ट रुपमा संकेत गरीएको छ।
वेदान्तवादीहरु ब्रह्मलाई सधै निर्गुण निराकार निरविकार निरञ्जन अच्युत एवम् अकर्ता स्वरुप मान्दछन्। उनिहरु ब्रह्मलाई कर्ता नठानेर केवल साक्षी स्वरुप तथा सांसारिक विषयहरुदेखि निर्लिप्त अच्युत कैवल्ययुक्त मान्दछन्। वोदान्तवादीहरु सम्पूर्ण कार्य प्रपञ्चको कारक ब्रह्मद्वरा निर्मित मायालाई नै ठान्दछन्। प्रस्तुत कुरालाई भानुभक्त यसरी व्यक्त गर्छन्-
“यस्तो जे काम भया त सब काम गर्न्या म हुँ तापनि भन्छन् लोक त रामलाई सबका कर्ता यिनै हुन् भनि अन्तर्यामि अनादि साक्षी ती त हुन् कर्ता कहाँ ती थिया मेरो गुण लिँदा त लोकहरुले कर्ता भनि पो दिया। ” (बालकाण्डः३७)
यसरी यहाँ उद्धृत श्लोकमा रामलाई कर्ता औ माया स्वरुपिनी सीतालाई नै सम्पूर्ण कार्यहरुको कारण मानिएको छ। कवि भानुभक्तले आफ्नो काव्य नायक रामलाई केवल मानवीय गणले युक्त महामानव वा विष्णुका अवतारका रुपमा मात्रै चिनाएका छैनन् अपितु चैतन्य आत्मा सत्ताको रुपमा चित्रित गरेका छन्। प्रस्तुत कुरालाई अझ प्रष्ट पार्नका निम्ति काव्यबाट निम्न अंशहरुलाई दृष्टान्तस्वरुप उद्धृत गर्न सकिन्छ-
१) “राम हुन् परात्म ति कहाँ विकारी यस लोकमा छन् नररुप धारी।।” (बालकाण्ड-६६)

२) “ई त अनादि अनन्त अधिनाथ परमेश्वरै हुन् ब्रह्माजिले पनि भजिन्छ सदा पुरुष जुन्।।” (आरण्यकाण्ड-६०)


३) “जसले एक कटाक्षले सहज यी ब्रह्माण्ड सब हर्दछन् जो ऐश्वर्य छ इन्द्रको उ पनि एक क्षणमा तयार गर्दछन्।।” (युद्धकाण्ड-३४५)

४) “यस्ता शुद्ध अनन्त पूर्ण सुखरुप ब्रह्म स्वरुपले पनि क्या राज गर्नुथियो तथापि लिनुभो खुसि हुन् ई भनि।।” (युद्धकाण्ड-३४६)

५) “विश्वात्म हुनुहुन्छ नाथ पुरषरुप माया त शक्ति लिया खुसी भैकन देवताकन सदा अमृत पियाइदिया।।”” (उत्तराकाण्ड-६३)

यहाँ प्रस्तुत गरिएका श्लोकहरुमा रामलाई भग्वान वा ईश्वर भन्नाको साट्टो ब्रह्म, विश्वात्मा, आत्मारुप, ब्रह्म स्वरुप, परात्मा, अधिनाथ आदि शब्दहरुले सम्बोदन गरिएको छ। अतः यहाँ विष्णु अवतार भगवान राम होइन तर आत्मा स्वरुप वा ब्रह्म स्वरुप रामको नै चित्रण भएको छ। यसरी कवि भानुभक्तले आफ्नो काव्य नायकलाई ब्रह्म औ काव्य नायिकालाई माया वा प्रकृतिको रुपमा चित्रण गर्दै आख्यानात्मक रुपमा वेदान्तका गुढ रहस्यहरुको उदघाटन गरेका छन्।
वेदान्त दर्शनमा संसारको मूल सत्ता वा आत्मा सत्तालाई संसारदेखि निर्लिप्त प्रज्ञा स्वरुप स्थित रहेको मानिन्छ। आत्मा संसारको मूल सत्ता भए तापनि आत्मा सधैं नै संसारिक तत्वदेखि पृथक एवम् निर्लिप्त भै बसेको कुरा वेदान्तवादीहरु बताउँछन्। वेदान्तको यही प्रमुख मान्यतालाई भानुभक्तीय रामायणमा यसरी प्रतिपादन गरिएको छ- “आत्मा हो सुख रुप दुःख रुपको संसार छ उसमा कहाँ अज्ञानले गरि मात्र सत्य रुपले झल्कन्छ आत्मामहाँ। ज्ञानलो लीन पनि हुन्छ डोरीकन साँप बुझ्नु छ जस्तो फगत तेस्तै इश्वरमा अनेक तरहका देखिन्छ नाना जगत।।” (उत्तरकाण्ड-१३८)
“आत्मा साक्षी छ यो पृथक् इ सबमा सबमा घुस्याको पनि जस्तै घुस्दछ अग्नि लोहाहरुमा तस्तै प्रकारको बनि।।” (उत्तरकाण्ड-१३६)
कवि भानुभक्तले पनि वेदान्तवादीहरुले झै आत्मा सत्तालाई सुख दुःख रुपी संसारदेखि भिन्न एवम् अलग रहेको कुरालाई स्विकार गरेका छन्। अन्य वेदान्तवादीहरुले झै उनले पनि अज्ञानलाई नै सुख दुःख रुपी संसारिक बन्धनको कारण मानेका छन्। कविकै शब्दमा-
“अज्ञानै छ घुमाउन्या सकलको शत्रु सरीको यहाँ ज्ञानैले गरि नष्ट पनि हुन्छ सो लीनू यही मन् महाँ।।” (उत्तरकाण्ड-१२७)
यसरी कवि भानुभक्त जत्तिको सरल सहज शब्दहरुमा कर्म बन्धनको कारणलाई देखाउँछन् उत्तिकै सहज शब्दहरुमा उनी यसको निवारण पनि बताउँछन्-
“यै आत्माकन चिह्नुपर्छ गुरुका वेदका वचनले गरी आत्मालाई चिह्न्योभन्या बुझिलिनु त्यो मुक्त भो त्यस घरि। तस्मात् आत्माविचार गर्नु जनले यस रुपको हुँ भनी अज्ञान नष्ट गराउनकन अरु छैनन् उपायै पनि।।” (उत्तरकाण्ड-१४०)
यसरी कवि भानुभक्तले आफ्नो महान्तम् ग्रन्थ रामायणमा संसारलाई अज्ञान, अँन्धकार, माया, बन्धन आदिका रुपमा चिनाएका छन् भने आत्मा तत्वलाई प्रकाश, ब्रह्म, सत्य, परमानन्द आदिका रुपमा चिनाएका छन्। वेदान्त दर्शनका महावाक्य ठानिएका अहंब्रह्मस्मि र अयं आत्म ब्रह्मको भावलाई पनि कवि भानुभक्तले आफ्नो काव्यकृतिमा अत्यन्तै सरल सहज एवम् सबल रुपमा चित्रण गरेका छन्। दृष्टान्तका रुपमा केहि श्लोकहरुलाई यहाँ प्रस्तुत गर्न सकिन्छ-
१) “म नित्यै आत्मा हुँ शरिरहरु हुन् चार घरिका विचारमा टिक्दैनन् विषय पनि छन् स्वप्न सरिका।।” (किष्किन्दाकाण्ड-७२)
२) “आत्मा सत्य म हुँ भनेर बुझिलेउ यस देहलाई पनि झूटो जान् पृथिवी र जलहरु मिली झुटै बन्याको भनि।।” (सुन्दरकाण्ड-११४)
३) “आत्मा छन् जबसम्म यो शरिरमा हो आफ्नो जानिलिनु आत्मा भिन्न भयो जहाँ शरिर यो मट्टी हो ठानिलिनु।।” (युद्धकाण्ड-७५)
४) “तस्मात् अहंकारकन तुच्छ मानी आत्मा म हुँ पूर्ण भनेर जानी।।” (उत्तरकाण्ड-१७२)
यसरी भानुभक्ती रामायणमा कहिले रामले शोकविह्वल बालिकी पत्नी तारालाई, कहिले हनुमानले रावणलाई, कहिले रावणले आफ्नै दूतलाई त कहिले महऋषि बालमिकीले कुशलाई वेदान्त सम्मत उप्देष दिन्छन्।
‘अहंब्रह्मस्मि ’ झै ‘तत्वमसि ’-लाई पनि वेदान्तको प्रमुख सिद्धान्त मानिन्छ। यस महावाक्यले तत् र त्वम अर्थात परमात्म र जिवात्मको सम्बन्धलाई बुझाउँछ। कवि भानुभक्त तत्वमसि महावाक्यको व्याख्या यसरी गर्दछन्- “जो यो तत्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनु यसमा तीन पद छन् ती पदका तात्पर्यमा मनदिनु त्‌तका अर्थ परात्मा हुन् ति पदमा त्वं भन्नु जीवात्मा हो इनको ऐक्य बुझाउने असि छ पद रात दिन् विचार गर्नु यो।।” (उत्तरकाण्ड-१३२)
अर्थात जो यो तत्वमसि वाक्य छ यसमा तीनवटा पदहरु छन् (तत् + तत्वं+ असि), यी तीनैवटा पदहरुका तात्पर्यमा मन दिनु आवश्यक छ।यहाँ- तत् भन्नु --------------------------- परमात्मा, त्वम् भन्नु ------------------------ जीवात्मा, र असि भन्नु----------------------- परमात्मा र जीवात्माको एकतालाई बुझउने पद हो।
यसरी कविले माथिको पदमा जीवात्मा र परमात्मा दुवैको सम्बन्धलाई स्पष्ट रुपमा दर्शेएका छन्। कारण बेदान्तवादीहरु ब्रह्मलाई जीवदेखी भिन्न मान्दैनन्। उनिहरुको कथनै छ- ‘जीवो ब्रह्मेव नापर।’ उनीहरु ब्रह्म वा जीव माझमा कुनै भिन्नता देख्दैनन् केवल मायाद्वरा जीव र ब्रह्ममाझ पृथकता भासमान भएको मान्दछन्। यसर्थ जीवमा विद्यमान यहि अनिवार्चनीय माया वा भ्रमको निवारण गर्नु नै वेदान्त दर्शनको मूल धेय हो। यही वेदान्तवादी आस्था हामी कवि भानुभक्तको रामायणमा पनि पाउँछौं। “आत्मा र परात्माको छ कति फेर त्यो एक जानी लिनु जुन जुन चीज अनात्म हुन् उ त झुटा झानेर छाड़ी दिनु आत्माको र परात्माको गरि विचार एक तत्व जान्यो जसै अज्ञान् सब् छुटि जान्छ ती पुरुष मै तुल्य हुन्छन् तसै।।” (बालकाण्ड-३७)
कविको भनाईको तातपर्य--- आत्मा र परात्मा अथवा जीव र ब्रह्ममाझ रहेको फेर अर्थात मायालाई भ्रम स्वरुप मानेर छाड़िदिएपछि मात्र आत्मा र परमात्ममाझ रहेको एक तत्व जानिन्छ। यसरी मायाको त्याग गरेर वैराग्य वरण गरेपछि मात्र मुमुक्षेलाई मुक्ति पदार्थको सिद्धि हुने वेदान्तवादी दर्शनलाई कवि भानुभक्त माथिका श्लोकहरुमा बताउँछन्।
माया जगतको क्षणिक्तालाई र निसारतालाई राम्ररी व्याख्या गर्दै—‘ब्रह्म सत्यं जगन्मिथ्या ’को भावलाई कवि भानुभक्तले यसरी व्यक्त गरेका छन्- “जो यो लोकविषे प्रपंच छ सबै जान् स्वप्न जस्तै भनी सुतुन्ज्याल् सपना छ सत्य उठि ता लाग्दैन साँचो पनि तस्तै ज्ञान त भयो भन्या त्रिभूवनै एक देख्छ आत्मा फगत् अज्ञानरुप निदमा पर्‍यो पनि भन्या दैखिन्छ नाना जगत् ।।” (सुन्दरकाण्ड-११३)
“आत्मै मात्र छ सत्य़ यो सब जगत झुटै छ झूटो पनि डोरी सर्प बुझ्य सरी बिबुझमा दैखिन्छ साँचो भनि।।” (उत्तरकाण्ड-१४६)
वेदान्तवादीहरु तत्व गुण र प्रकृतिको प्रपंचद्वारा नै परमात्मा वा आत्मा सत्तामाथि आवरण सृजना भएको मान्दछन्। वाँदलले सर्वकालमा प्रकाशमान रहने प्रकाश पुञ्जरुप सूर्य माथि आवरण सृजना गरे सरी नै तत्व, गुण र प्राकृतिले स्वयमभू वा चैतन्य स्वरुप आत्मा सत्तामा आवरण सृजना गरेको मानिन्छ। वाँदलको टुक्राले सुर्यको सर्वकालिक प्रकाशमाथि आवरण मात्रै सिर्जैको हो, आवरण भित्र पनि सूर्य त सधै प्रकाशमान नै हुन्छ। यसै गरी सूर्य सधै प्रकाशित नै रहैझै तत्व र गुणको प्रपंच मायाले आत्मासत्तालाई ढाके पनि आत्मा त सधै नै गुणातित, तात्विक मायाद्वरा अस्पर्सिय र प्रकाशरुप नै हुन्छ। यसर्थ वेदान्तवादीहरु सत्, रज्, तम् यी तीनै गुणलाई त्याज्य र आत्मा तत्वलाई मात्रै धारण गर्न योग्य बताउँछन्। वेदान्तवादी दर्शनको यहि मान्यतालाई भानुभक्त यसरी प्रस्तुत गर्छन्- “जो छन सत्व- रजस् – तमसत्रिगुण यी रुप हुन् अहंकारका यी तीनै मनले विचार गरिलिँदा छैनन् कुनै सारका।।” (उत्तरकाण्ड-१७०) ----------------------------------------------------------- “जो यो तीन् गुणलाई तुच्छ बुझि खुप आत्मै विचार गर्दछन् सब बन्धनहरुलाई तोड़ि सहजै संसार तिनै तर्दछन्।।” (उत्तरकाण्ड-१७१) अर्थात् त्रिगुणदेखि अलग गुणातित वा तुर्या अवस्थामा पुगेपछि मात्र आत्मातत्व प्राप्त हुने कुरा माथिको श्लोकमा वर्णित भएको छ। अतः आत्मा तत्वमा लिन भएपछि साधक गुणरहित आत्मामय वा ब्रह्ममय हुन्छ। यसै कुरालाई अझ स्पष्ट पार्दै भानुभक्त लेख्छन्- “ओंकार वाचक हो जगतको अज्ञान अवस्थामहाँ ज्ञानोत्तर हुन सक्छ वाचक कहाँ लीन हुन्छ आत्मैमहाँ।। आतमामा जब लीन्‌भया ‘अउम ‘ तीन विश्वादि साक्षि सहित आत्मैमात्र रहन्छ तेस बखतमा निर्मल उपाधी रहित।।” (उत्तराकाण्ड- १४२) समाधि हुनुभन्दा अघि सम्पूर्ण चराचर केवल ओंकार मात्र हो भन्ने चिन्तन गर्नुपर्छ। यो संसार वाच्य र ओंकार त्यसको वाचक। समाधि पूर्व भएको यो प्रतिति ज्ञानोत्तर अवस्था अर्थात समाधिमा वा ज्ञान प्राप्त भएपछि रहँदैन, त्यसबेला केवल आत्मानुभव मात्र रहन्छ। यहाँ ओंकार शब्दका तीन वर्णहरुमा, अ = जाग्रत अवस्था वा सत्व गुणको ध्योतक हो, उ = स्वप्न अवस्था वा रज गुणको ध्योतक हो, म् = सुसुप्त अवस्था वा तम गुणको ध्योतक हो। यी तीनैवटा अवस्थहरु समाधि पूर्वका हुन् जो ज्ञानोत्तर अवस्थमा रहँदैनन्।ज्ञानोत्तरमा निर्लिप्त, निरविकल्प, एवम् सर्विकल्प सत्ताहिन ब्रह्मतत्व मात्रै भासमान रहन्छ। यसैले कवि भानुभक्त लेख्छन्- “जाग्रत स्वप्न सुषुप्तिवृत्ति तिन छन् यस बृद्धिका यी पनि झुटै दैखिलिन्छ नित्य सुखरुप यस ब्रह्म रुपमा भनि।। जानी वृत्ति नतरोध गरेर जनले यो आत्मा जानीलिनु आत्मा भित्र उपाधिलाई त झुटा जानेर छाड़ीदिनू।।” (उत्तरकाण्ड- १३७) अतः आत्मातत्व प्राप्त भएपछि मनका र बुद्धीका वृत्तिहरु रहित साक्षि भाव मात्र तुर्या अवस्थामा स्थित रहन्छ। यहि विकाररहित साक्षि भावको दृड़ अभ्यासले नै साधकलाई गन्तव्य अर्थात तुर्यि अवस्थाबाट पनि तुर्यातीत(मोक्ष) अवस्थामा पुर्‍यउँछ। वेदान्तको मूल तत्व दर्शन प्राप्त भएपछि यसरी कार्य प्रपंच परिचालित हुने जाग्रत स्वप्न सुसुप्ति तिनै अवस्था भ्रममय सिद्ध हुन्छ। यसरी सम्पूर्ण कार्य प्रपंच भ्रममय सिद्ध भएको स्थितिमा कर्मको प्रधान्ताको बोध गराउन प्राबद्धको ज्ञान अतिअवश्यक र उपयोगी सिद्ध हुन्छ। प्रारब्धको यहि महत्वलाई हाम्रा आदि कविले पनि राम्री बुझेका छन्। यसैले उनि भन्छन्- “यहि पूर्ण अनन्त आत्मारुपको ध्यान नित्य गर्दै रहोस जो प्राब्ध छ सो बलियो बुझेर ई दुःख सुख सब सहोस।।” (उत्तरकाण्ड-१४७) ----------------------- “प्रारब्धै बलुवान बुझेर सब यो राज्यादि गर्दै रहु। (युद्धाकाण्ड-२७३) ------------------- “प्रारब्धै बलवान छ जान सबको छुटदैन सो त कहीँ।। जाहाँसम्म रहन्छ भूमि ताहितक् राज गर्नु याही बसी।।” (उत्तरकाण्ड-२४०)
यसरी प्राब्धलाई प्रधान मानेर कर्मनिष्ट भै कर्ममा लाग्नु पर्ने भए पनि कर्ममा लिप्त नभई निरलिप्त, निषभाव एवम् अकर्ता भै रहनु पर्ने कुरा पनि वेदान्त दर्शनमा उल्लेख भएको पाइन्छ। यहि कुरालाई भानुभक्त यसरी लेख्छन्- “कर्ता हुँ पनि भन्नु छैन अभिमान जनले नगर्नु कहीँ कर्मैको फल भोग मिल्छ तिमीले यो बुझ्नु जाही ताहीँ।।” (अयोध्याकाण्ड-५७) अद्वैतवेदान्तमा ब्रह्म वा आत्मालाई नै सम्पूर्ण जगतको अधिष्ठन, श्रोत, स्थिति वा प्रलयको कारण मानिएको छ। यहि परमसत्तारुप ब्रह्मको इच्छाले नै माया जगतको उत्पत्ति भएको मानिन्छ। यस्तै किसिमको धारणा भानुभक्तीय रामायाणमा पनि अभिव्यक्त भएको पाइन्छ। जस्तै-
“सृष्टिदेखि अगाड़ि पूर्ण रुपले आत्मा स्वरुप एक थियौ नारायण जलशयि रुप त पछि यै सृष्टि खातिर लियौ।।” (उत्तरकाण्ड-२१८)
“विश्वात्मा हुनुहुन्छ नाथ पुरुषरुप माया त शक्तिलिन्या खूसी भैकन देवताकण सदा अमृत पियाईदिन्या ख्वामित्कै छ त सृष्टि सब जति त यो संसार चराचर भरी बाँच्याको पनि देखिन्छ भगवन् आधर हजुरकै गरी।।” (उत्तरकाण्ड- ६३)
यसरी सृष्टि, स्थिति र प्रलयको कारणरुप आफैभित्र सधै चेतन स्वरुप भै स्थित रहने आत्मातत्वलाई नै वेदान्तमा सर्वव्यापक वा सर्व चराचरमा व्याप्त शक्ति भनेर पनि बुझिन्छ। यसैले कवि भानुभक्त लैख्छन्- “जस्तै दुधविषे रहन्छ भरिपूर घीऊ उही रीत् गरी सब् चीजमा हजुरै पसिरहनु भो सर्वान्तरात्मा हरी हुन्छन् सुर्यहरु प्रकाश हजुरकै तेजले हजुर सबका धनी ख्वामित्‌लाई त नाथ प्रकाश गरिदिन्या छैनन् अरु कवै पनि।।” (उत्तरकाण्ड-६४)
यसरी भानुभक्तीय रामायणका विभिन्न श्लोकहरुमा सफल रुपमा वेदान्त दर्शनको प्रतिपादन हुनका साथै व्यापक रुपमा व्याख्या विश्लेषण पनि भएको पाइन्छ। बालकाण्ड, सुन्दरकाण्ड, अयोध्याकाण्ड, किषकिन्धाकाण्ड र उत्तरकाण्डका विभिन्न श्लोकहरुमा वेदान्त दर्शनले प्राश्राय पाएको देखिन्छ।

• निष्कर्ष—
भानुभक्तकृत रामायणमा विभिन्न घटना र प्रसङ्गहरुका मार्फत अद्वैत वैदान्त दर्शनको प्रतिपादन भएको देखिन्छ। प्रस्तुत काव्यकृतिमा राम, सिता, हनुमान, ब्रह्म, लक्ष्मण, बालमिखी आदि सत् पात्रहरुका साथै रावण, कुम्भकर्ण, मारिच आदि खल पात्रहरुद्वरा पनि वेदान्त दर्शनको व्याख्या विश्लेषण गरिएको छ। भानुभक्तका नायक रामलाई मात्र होइन तर खलनायक रावणलाई पनि वेदान्त दर्शन सम्बन्धी व्यापक ज्ञान भएको देखिन्छ। अद्वैत आत्मापद प्राप्त गर्नमा बाधक बन्ने काम, क्रोध, मोह, द्वेष आदि विकारहरुलाई छुट्याउने र त्याग्ने सामर्थ्य प्रस्तुत काव्यमा रावणलाई पनि प्राप्त भएको छ। भानुभक्तका रावण कामरुपी जाललाई तोड़ी संसार सागरलाई तोर्ने उपाय यसरी बताउँछ- “राग द्वेष भेल चलछन् भँवरी सरि यी युग घुम्दछन् वीचमहाँ पुत्रादि मत्स्य झै छन्, रिस पनि वडानल् सरीको छ तहाँ कामैको जाल छ ठूलो तरपनि बलियो तेहि जाललाई फोरी संसार सागर सहजमा तरिकन हरिथ्यैं बस्न जान्याछु पारी।”। (युद्धकाण्ड- २४२)
भानुभक्तका रावणमा संसारलाई त्याग्ने सामर्थ्य मात्र होइन तर अद्वैत आत्मा सत्तालाई चिन्ने विवेक र विचार पनि छ। यसैले रावण भन्छ-
“संसारमा कसलाई भन्नु सुत फेर् कसलाई भन्नु पिता शरीरको भर छैन जीव सबको छिन्भर्को नाता ती ता।। आत्मा छन् जबसम्म यो शरीर हो आफ्नो जानीलिनू आत्मा भिन्न भयो जहाँ शरिर यो मट्टी हो ठानिलिनु ।।” (युद्धकाण्ड-७५)
अर्थात संसारको क्षणभङ्गुरताको ज्ञान हाम्रा आदि कविलाई मात्र होइन तर उनका काव्यका पात्र पात्राहरुलाई पनि छ। यसरी सत् असत् दुवै थरिका पात्रहरुद्वारा अद्वै सत्यको प्रतिपादन गर्न कवि भानुभक्त निक्कै सफल भएको देखिन्छ।
समग्रमा भन्नुपर्दा भानुभक्ती रामायणमा विभिन्न प्रसङ्ग र परिवाशको सृजना गरी विभिन्न पात्र पात्रहरु मार्फत वेदान्त दर्शनको व्याख्या र विश्लेषण गर्ने काम भएको छ। कवि भानुभक्तले विविध प्रसङ्गहरु मार्फात आफ्ना काव्यकृतिमा वेदान्त दर्शनकै महिमालाई प्रतिपादित गरेका छन्।

Vivekananda – Vedanta Voice of freedom, 2012, Advaita Ashram, Pg
कमला सांस्कृत्यायन, वि सं २०१६, ‘कवि भानुभक्तको रामायणमा अद्वैतवाद ’, जगत छेत्री (सम्प), भानुभक्त स्मारक ग्रन्थ, दार्जिलिङ नेपाली साहित्य सम्मेलन, पृ
पारसमणि प्रधान, सन् २०१०, ‘आदि कवि भानुभक्त आचार्य ’, पुण्यप्रसाद शर्मा (सम्पा), केही समालोचना आदिकवि भानुभक्त आचार्य, गान्तोक, जनपक्ष प्रकाशन, पृ
प्रधान – पूर्ववत्,
स्वामी प्रबुद्धानन्द, सन् २०१३, ‘वैदिक प्रथना’, गुप्त प्रधान (सम्प), स्वामी प्रबुद्धानन्द स्मृति ग्रन्थ, दार्जिलिङ, शारदेश्वरी सरकारी कन्या उच्च विद्यालय, पृ
कुमार प्रधान, सन् २००५, अधीति केही, सिलगुडी, पूर्णिमा प्रकाशन, पृ ६
प्रधान कुमार – पूर्ववत्, पृ ३६

सन्दर्भ सुची

१) Swami Vivekananda – Vedanta Voice of Freedom, 2012, Advita ashram.
२) प० हरिदत्तजी शर्मा शास्त्री – योगवाशिष्ठ भाषा, सम्वत् २०५३, प्रकाशकः खेमराज श्रीकृष्ण, श्रीवैंकटेश्वर प्रेस, सन २००० मुंबई।
३) गुप्त प्रधान(सम्पादक) – स्वामी प्रबुद्धानन्ध स्मृति ग्रन्थ, दोस्रो संसकरण २०१३, प्रकासकः शारदेश्वरी सरकारी कन्या उच्च विद्यालय।
४) पुण्यप्रसाद शर्मा (सम्पादक) – केही समालोचना आदिकवि भानुभक्त आचार्य, सन् २०१०, जनपक्ष प्रकाशन, गान्तोक, सिक्किम।
५) भवानी घिमिरे (सम्पादक) – आदिकवि भानुभक्त आचार्य, सम्वत् २०१०, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी काठमाण्डौ।
६) जगत छेत्री (सम्पादक) – भानुभक्त स्मारक ग्रन्थ, दोस्रो संस्करण, सम्वत् २०२३, नेपाली साहित्य सम्मेलन।
७) कुमार प्रधान – अधीति केही, सन् २००५, पूर्णिमा प्रकाशन प्रधान नगर सिलगुडी।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।