15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हरिभक्त कटुवालको दुखान्त जीवन र नेपाली साहित्यमा उनको अवदान

विचार गोपालसिंह विश्व January 9, 2022, 9:18 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

हरिभक्त कटुवाल नेपाली साहित्य जगतका ख्याती प्राप्त कवि तथा सफल गीतकारका रुपमा परिचित व्यक्तित्व हुन्। सहस्रौं गीत र कविताहरू लगायत उनले निबन्ध, कथा, एकाङ्की नाटक र अनुवाद विधामा पनि कलम चलाएका छन्। उनको जन्म असमको ब्रह्मपुत्र नदीको किनार डिब्रुगढ़ जिल्लाको बोगिबिलको निकट बर्डबिलको ख्वाङ्ग भन्ने ठाउँमा पिता वीरबहादुर छेत्री (कटुवाल) र माता विष्णुमाया छेत्रीको एउटा साधारण मध्यवर्ती परिवारमा 2 जुलाई 1935 (तदानुसार 18 गते असार वि.स.1992)-मा ज्येष्ठ पुत्रको रुपमा भएको थियो। उनको जन्मस्थानबारे कतिले अम्बिकापुरको पेङ्ग्री भन्ने ठाउँको उल्लेख पनि गरेका छन्। तर कतिपय विश्वसनीय स्रोतअनुसार बोगीबिलको निकट बर्डबिलको ख्वाङ्ग भन्ने ठाउँ नै हरिभक्त कटुवालको जन्मस्थान हो। ब्रह्मपुत्र नदीमा आएको बाढीले गर्दा बसाई सर्दै उनका परिवार पहिले बोगिबिल र पछि डीगबोईको छेउ पर्ने अम्बिकापुर पुगेका थिए। परिवारमा उनका पाँच भाई-बहिनीहरू थिए। उनको बाल्यकालको नाम ओमबहादुर राखिएको थियो। उनी डेढ़ वर्षको छँदा नै ब्रह्मपुत्र नदीमा आएको बाढ़ीले घरबार भत्काएर परिवार बेघर भएका थिए। त्यसपछि उनको परिवारमा सदैव आर्थिक अभाव र समस्याहरूले घेरिरह्यो। पिता वीरबहादुर कटुवाल आफ्नो परिवार लिएर कहिले यता कहिले उता बसाईं सरिरहे। तर जहाँ जहाँ गए पनि समस्याहरूले उनको पिछा छाडेन। तर पनि जीवन नै सङ्घर्ष हो भन्ने कुरा उनले राम्ररी बुझेका थिए। असमका अधिकतर नेपाली भाषी गोर्खाहरू सरह साना-तिना खेतीपाती र पशुपालनबाट उनीहरूको गुजारा जसोतसो चलिरहेको थियो। यसर्थ परिवारमा साह्रै कष्ट वा गरिबी थियो भन्न चाहिँ मिल्दैन।
यस्तै परिस्थितिमा हरिभक्त कटुवालको प्रारम्भिक शिक्षा आफ्नो गाउँ बोगिबिल स्थित प्राथमिक पाठशालामा असमिया भाषा माध्यममा भयो। त्यसपछि उनी डिब्रुगढ़ हाई स्कूल समर विद्यापीठमा भर्ना भएका थिए। उनले विद्यालयमा असमिया भाषा माध्यममा शिक्षा ग्रहण गरेता पनि त्यसका समानन्तर आफ्नै चेष्टाले मातृभाषा नेपाली पनि पढ्न लेख्न सिके अनि नेपाली भाषामा आफ्नो मनको भाव प्रकाश गर्न सक्ने र साहित्यको सिर्जना गर्न सक्ने क्षमताको विकास गरे। विद्यार्थी जीवनदेखि नै उनी केही अस्थिर स्वभावका थिए। आठौँ श्रेणीको विद्यार्थी छँदा एकपल्ट उनी स्कुलबाट भागेर सर्कसमा काम गर्न पुगेका थिए भन्ने जानकारी पनि पाइन्छ। उनका पिता छोराको यस्तो अस्थिर व्यवहारबाट साह्रै दु:खी र चिन्तित भएका थिए। सम्भवत: घरको आर्थिक सङ्कट देखेर परिवारलाई सहयोग पुर्याउने उनको ध्येय थियो। उनका माइला भाई पनि त्यही स्कूल पढ्न थालेका थिए। जसोतसो उनका पिताले पत्तो लगाई घर फर्काएर ल्याए। पछि सन् 1955 मा त्यस स्कुलबाट उनले म्याट्रिकुलेशन उतिर्ण गरे।
त्यसपछि नोकरी गरेर परिवारलाई आर्थिक सहयोग पुर्याउने काम गर्नु नै उचित सम्झी उनी नोकरी गर्न थाले। प्रथमत: उनले सन् 1956 तिर असम सरकार अधीन जन स्वास्थ्य निरिक्षकको कार्य गरे। तर उनलाई त्यो काम त्यति मनपरेन। साहित्य लेखन र चित्रकलामा उनको अधिक रुची रहेको थियो। यसैले उनले शिक्षण पेशालाई अपनाउने निर्णय गरे। सन् 1957 मा उनी डिगबोईको एउटा नेपाली मिडल स्कुलमा सहायक शिक्षकका रुपमा अध्यापन गर्न थाले। उनी त्यहाँ चित्रकला र खेलकुद विषयका शिक्षक रहेका थिए। यहीँबाट उनको सामाजिक, सांस्कृतिक र साहित्यिक क्षेत्रमा अक्षुण्ण रुपले सेवाकार्यको यात्रा शुरु भएको मानिन्छ। यसै त उनले विद्यार्थीकालदेखि नै साहित्यमा कलम चलाउन थालेका थिए र यसका सँगसँगै उनी मूर्त-अमूर्त चित्रकलामा पनि निकै पारङ्गत भइसकेका थिए। उनी आफ्ना मनमा उब्जेका विचार र भावहरू कविता, गीत र चित्रहरूमा पोख्थे। शिक्षण पेशामा लागे पश्चात् उनले चित्रकारिता सिक्न चाहने युवाहरूलाई प्रोत्साहन दिनका निम्ति आफ्नै खर्चले सहयोग पनि गर्ने गर्थे। त्यहीबेला उनले चित्रकारिताको निम्ति अलग्गै कोचिङ क्लास खोलेर धेरै युवाहरूलाई चित्रकारिता सिकाएका थिए। उनी खेलकुदमा पनि त्यतिकै चाख लिने गर्थे। उनी स्वयं फुटबल, भलिबल, क्रिकेट, बिलियर्ड, केरम आदि खेल्ने गर्थे। यसबाहेक उनले स्कुलका विद्यार्थीहरूलाई आफ्नो सांस्कृतिक परम्परालाई जोगाउने र त्यसलाई अघि बढाउने उदेश्यले सोरठी नृत्य सिकाएर असम भेकमा नेपाली लोकनृत्यको एउटा नयाँ परिपाटी पनि बसाले। उनले त्यहाँ नाटक तथा विभिन्न नृत्यहरुको मञ्चन पनि गराएका थिए। त्यही अवधीमा उनले आफ्नो शैक्षिक क्षमतालाई पनि अघि बढाउने चेष्टा गरे। उनले स्व-अध्ययनद्वारा नै डिब्रुगढ़ विश्वविद्यालयबाट आई. ए. को परिक्षा उतिर्ण गरे। त्यसरी नै उनले बी.ए. को निम्ति पनि प्रयास गरेका थिए तर सफल हुन सकेनन् ।
सन् 1958 मा 23 वर्षको उमेरमा बोगिबिलदेखि केही दुरीमा रहेको मेदेला गाउँका निवासी सनकसिंह ठकुरी र माया ठकुरीकी छोरी जय कुमारी ठकुरीसित उनको प्रेमविवाह भएको थियो। उनीहरूबाट तीनजना छोरीहरू अनि एक छोराको जयजन्म भयो। उनको छोराले पनि बाबुले जस्तै कविता कोर्ने र मद्पान गर्ने बानी बसालेका थिए रे, तर 27 वर्षको युवा उमेरमै उनको मृत्यु भएछ अनि छोरीहरू विवाह भएर आ-आफ्ना घर-परिवार सम्हाल्ने भएछन्।
हरिभक्त कटुवाल स्वभावले केही चञ्चल प्रकृतिका एवं खुबै संवेदनशील व्यक्ति थिए। सम्भवत: यही कारणले उनले स्थायी रुपमा कहीँ पनि नोकरी गर्न सकेनन्। उनले डिगबोईको मिडल स्कुलमा लगभग 9 वर्ष अध्यापन कार्य गरेपश्चात् कुनै कारण बिना नै छोडिदिएका थिए भन्ने थाह पाइन्छ। त्यसपछि परिवार धान्न परदेशी होटेल खोलेर होटेल चलाउने भए तर स्वदेशीहरूले नै बाँकी खाएर मुख नदेखाएपछि होटेल व्यवसाय बन्द गर्न विवश भएका थिए। त्यसपछि उनी सब्जी बिक्री गर्ने व्यवसायमा पनि लागिपरे तर त्यो पनि धेरै दिन चल्न सकेन।
सन् 1968 मा नेपाली भाषीहरूको बाक्लो जनसङ्ख्या भएको स्थान टिराप भन्ने गाउँ पुगेर उनले लङटङ हाई स्कुलको स्थापना गरे अनि नरसिंह थापा नाम गरेका एक शिक्षित भद्र सज्जनलाई त्यस स्कुलका प्रधान अध्यापकको रुपमा व्यवस्था मिलाएर आफु सहायक शिक्षक बनेर केही अवधिका निम्ति पुन: साहित्य र समाजको सेवामा लागे।
उनी पहिले असमिया र नेपाली दुवै भाषामा समान रुपले लेख्ने गर्थे। असमिया भाषाका पत्र-पत्रिकाहरूमा पनि उनका धेरथोर रचनाहरू प्रकाशित छन्। नेपाली भाषामा लेखिएका उनका रचनाहरू लगभग 20 वर्षको उमेरदेखि नै भारत र नेपालका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुन थालेका थिए। उनका कविता र कथाहरू दिपक, उदय, सैनिक समाचार, प्रगति, दियालो, धरती, उषा, सुमन, सगरमाथा, सोभियत भूमि, गोरखापत्र, रुपरेखा, मधुपर्क, आदि पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। त्यसअघि उनी डिगबोई छँदा सन् 1957 मा ‘मुक्ति’ नामको नेपाली साहित्यिक मासिक पत्रिकाको सम्पादक मण्डलीमा रहेर सम्पादन कार्यहरू हेर्दै साहित्य सेवाको कामलाई अघि बढाउँन लागिपरेका थिए। यस पत्रिकाको तीन अङ्कसम्म प्रकाशित भएको थियो। उनी सन् 1960 मा ‘कोपिला’ र सन् 1963 मा ‘हिमालय’ पत्रिकाको सहयोगी सम्पादक पनि रहेका थिए। सन् 1958 मा उनको एउटा गीत सङ्ग्रह ‘सम्झना’ प्रकाशित भएको थियो। त्यसपछि सन् 1961 मा उनका 20 वटा कविताहरूको सङ्गालो ‘भित्री मान्छे बोल्न खोज्छ’ नवयुग नेपाली पुस्तक मंदिर, गोरूबथानबाट प्रकाशित भयो। त्यही वर्ष हरिभक्त कटुवाल, काशिराम रिजाल र दुर्गाको संयुक्त लेखनमा एउटा ऐतिहासिक कथा सङ्ग्रह पनि प्रकाशित भएको थियो। त्यसपछि सन् 1964 मा उनको ‘सुधा’ खण्डकाव्य प्रकाशित भएको पाइन्छ। सन् 1964 मै ‘पूर्वकिरण’ शीर्षकमा आसामका 12 नेपाली कविहरुका कविता सङ्ग्रह संयुक्त रुपमा उनकै पहल र सम्पादनमा नेपालको श्री पाँचको सरकार, प्रचार तथा प्रसार मन्त्रालयको प्रचार विभागबाट प्रकाशित गराएका थिए। त्यसबेलासम्म नेपाली साहित्य जगतमा उनले निकै प्रसिद्धि पाउन थालेका थिए। भारतमा जन्मिएका भएता पनि उनी साहित्यमा आफ्नो नामको पछि ‘प्रवासी’ लेख्ने गर्थे र पछि नेपाल प्रवेश गरेपश्चात् ‘प्रवासी’ उपनाम लेख्न छाड़ेका थिए। तर वस्तुत: त्यो उनको गलत धारणा वा भ्रम थियो। त्यसबेला भारत र नेपालका धेरै नेपाली भाषीहरुमा यो भ्रम रहेकै थियो। वास्तवमा उनी जन्मले भारतीय नागरिक नै थिए। सन् 1964 मा उनले नेपालबाट ‘रायल एकाडेमी मेडल’ प्राप्त गरे। सन् 1967 मा कविताका लागि उनलाई ‘स्वर्ण पदक’ पनि दिइयो। सन् 1967 मा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएको थियो। त्यस सम्मेलनमा असमबाट हरिभक्त कटुवालको सहभागिता रहेको थियो। त्यसैबेला केदारमान व्यथितसित उनको सम्पर्क हुनगएछ र उनले काठमाडौं आउने भए केही व्यवस्था मिलाउन सक्ने कुरा गरेका रहेछन्। उनी प्राय: साहित्य सृजनामै तल्लीन रहन्थे र त्यसका निम्ति अनुकुल परिवेशको खोजीमा थिए। सन् 1968 मा गढ़वालमा भएको गोर्खा सम्मेलन अधिवेशनमा कटुवालको पनि सहभागिता रहेको थियो। त्यसपछि उनले नेपाल जाने अठोट गरे अनि एउटा ठुलो आशा र भरोसा लिएर उनी सन् 1969 मा असमबाट काठमाण्डौँ पुगे।
काठमाण्डौँ पुगे पश्चात् केदारमान व्यथितको पहलमा हरिभक्त कटुवालले काम पनि पाए। त्यहाँ उनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मुखपत्र ‘प्रज्ञा’-को प्रबन्ध सम्पादकको उत्तरदायित्व दिइएको थियो। त्यही अवधीमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वर वल्लभ, भूपी शेरचन, उत्तम कुवँर, दौलत विक्रम विष्ट जस्ता दिग्गज साहित्यिक हस्तीहरूसित उनको सम्पर्क हुनगयो। काठमाड़ौँबाट प्रकाशित हुने पत्रिकाहरू ‘बान्की’ (गोजिका - 1970), ‘हिमानी’(1970) र ‘अभिव्यक्ति’ (1976)-का सम्पादक मण्डलीमा रहेर केही कालसम्म उनले सम्पादन कार्यमा सहयोग पनि पुर्याएका थिए। केदारमान व्यथितले स्थापना गरेको नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो। सन् 1972 मा उनको बहुचर्चित कविता सङ्ग्रह ‘यो जिन्दगी खै के जिन्दगी” रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाण्ड़ौँको सौजन्यमा प्रकाशित भयो। यसमा सङ्कलित जम्मा 61 वटा कविताहरूलाई ‘स्वदेश फर्केपछि’ र ‘प्रवासबाट’ गरी दुई भागमा विभाजित गरिएकों छ। यस कविता सङ्ग्रहले उनलाई चर्चाको शिखरतिर उक्लिन निकै सफल तुल्यायो। सन् 1973 मा उनको एक मात्र कथा सङ्ग्रह ‘स्पष्टीकरण’ पनि रत्न पुस्तक भण्डारकै प्रकाशनमा प्रकाशित भयो। यसमा उनका आठ वटा कथाहरू सङ्कलित छन्। सन् 1973 मै उनको एकाङ्की सङ्ग्रह ‘म मरेको छैन’ प्रकाशित भएको थियो। उनको एउटा एकांकी ‘युगको हाँक’ साहित्य अकादेमी, दिल्लीबाट प्रकाशित लक्ष्मण श्रीमलद्वारा सम्पादित ‘भारतीय नेपाली एकांकी’ मा सङ्कलित छ। यसरी नेपाल प्रवेशको केही वर्षभित्र नै उनको सिर्जनाले राम्ररी फस्टाउने मौका पाएको थियो। उनी राम्रा गीतकार पनि भएको कारणले त्यसबेलाका सङ्गीत क्षेत्रका प्रख्यात नारायण गोपाल अनि अम्बर गुरुङ जस्ता व्यक्तित्वहरूसित पनि उनको सम्बन्ध गाँसियो। उनीहरूको स्वर र सङ्गीतद्वारा उनका गीतहरूले अझ नयाँ उँचाई प्राप्त गर्न सफल भए। उनका गीतहरू अम्बर गुरुङ, नारायण गोपाल, अरुणा लामा, बिनोद स्याङ्देन, भारती गजमेर, साधना सरगम, कुमार सानु जस्ता प्रख्यात गायक-गायिकाहरूले गाएका छन्। यहाँ भारत र नेपालमा गाइएका उनका केही लोकप्रिय एवं चर्चित गीताशंहरूको अवलोकन गरौँ जो यस प्रकार रहेका छन् ;-
“यो देशको माटोले भन्छ, यो देशको ढुङ्गाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ।“
(स्वर – सुरेखा छेत्री, अञ्जु देवी, नरबहादुर दर्जी, हेमन्तकुमार चम्लागाईं, सङ्गीत – रुपम तालुकदार)

“हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र वैंश फुलेछ”
(स्वर – अरुणा लामा, सङ्गीत – मणिकमल छेत्री)

“मेरो यो गीतमा जुन मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ?”
(स्वर – नारायण गोपाल, सङ्गीत – अम्बर गुरुङ)

“मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु विथोल्न नआऊ”
(स्वर तथा सङ्गीत – नारायण गोपाल)

“पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है”
(स्वर – नारायण गोपाल, सङ्गीत – अम्बर गुरुङ)

“कतै फेरि धावा चल्यो भन्ने सुन्छु
धेरै भयो सम्चार नआएको उनको
कतै त्यही धावामा पो परे कि?
अचेल सपना पनि डरलाग्दो देख्छु
संघारमा स्याल आएर रुन्छ
अर्कैको धावामा पर्नको लागि
यहाँ छोरो कसैले नपाए हुन्छ ”
(स्वर तथा सङ्गीत – बिनोद स्याङ्देन)

“त्यो दिन ढलेर के भो
यो रात पनि त ढल्छ
अनि पूर्व जगमगाई एक दीप्ति बत्ती बल्छ”
(स्वर – अञ्जु देवी, सङ्गीत – अम्बर गुरुङ)

चलचित्र “दुई थोपा आँशु” को निम्ति हरिभक्त कटुवालद्वारा रचित दुई गीतहरू :-
“यो दुई थोपा आँशु मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँशु होला कि नहोला”
(स्वर – साधना सरगम/कुमार सानु, सङ्गीत – रणजीत गजमेर)

“जून त लाग्यो ताराले मन त लाग्यो मायाले
यो पहाड़ त्यो पहाड़ हेर्दा हेर्दै साराले”
(स्वर – भारती घिमिरे, सङ्गीत – रणजीत गजमेर)

यसबाहेक पनि उनका गीतहरू दीपक जंगम, चन्द्रकला नेवार र पवित्राले पनि गाएका छन्। उनका अधिकतर गीतहरूमा देश-प्रेम र जातियता बोधसँगै आन्तरिक पीड़ाको अभिव्यक्ति झल्किएको पाइन्छ। उनका गीतहरू सबैको मनलाई छुन सक्ने श्रुतिमधुर र मार्मिक छन्।

नेपाल पुगेर प्रारम्भमा उनले जुन अवसरहरू पाए त्यसले उनलाई लेखन क्षेत्रमा निकै अघि बढायो। फलस्वरूप उनी प्रसिद्धिका साथै आर्थिक रुपमा पनि सबल हुँदै गइरहेका थिए। प्रारम्भमा उनले आफ्ना परिवार पनि काठमाडौं लगेर साथैमा राखेका थिए। उनले आफ्नो बहिनी-ज्वाँईलाई पनि नेपाल बोलाएर कामको व्यवस्था मिलाइदिएका थिए। तर परिस्थितिको विडम्बना भनौं त्यसबेलासम्म उनलाई अधिक मद्पान गर्ने एउटा नराम्रो लत लागिसकेको थियो अनि मातेपछि सबैसित निहुँ खोज्ने, झगड़ा गर्ने उनको बानी थियो। यसरी रक्सी खाएर मातेका बेला एकपटक कटुवालले भूपी शेरचनको लुगानै च्यातिदिएका थिए रे। तिनको यस्तो अशोभनीय व्यवहारले गर्दा असल मित्रहरू पनि उनीदेखि टाढा रहन थाले। असममा आफु अविवाहित रहुञ्जेल उनले कहिले मद्पान गरेका थिएनन्। तर पछि कतिपय पारिवारिक कारणले पनि उनले पिउन थालेका थिए भन्ने जानकारी पाइन्छ। आफ्ना कुरामा अडिग र नझुक्ने स्वभाव भएको कारण काठमाण्ड़ौमा पाएका काम र अवसरहरू पनि गुमाए। बिस्तारै उनले जीवनको वास्तविकता बुझ्दै गए। परिवारलाई पनि आसाम नै पुर्याए। उनी एक्लो भए। उनले काठमाडौंको गल्ली गल्लीमा ठोकर खाँदै हिँड्नु परयो, अन्तत: नराम्रोसित दु:ख पाए। त्यसबेलासम्म उनको जीवन नै अव्यवस्थित भइसकेको थियो। परिवार एकातिर आफु अर्कोतिर। धेरै दिनसम्म अव्यवस्थित बेटुङ्गो जिन्दगी बिताउनु पर्दा उनलाई क्षय रोगले भेट्यो। त्यस्ता दु:खका दिनहरूमा पनि उनले दिनहुँ आफुले भोगेका तीता-मीठा अनुभवका कुराहरू डायरीमा लेख्ने गर्थे र त्यो डायरी यत्नसित आफूसित राख्थे। तर उनको त्यस्तो महत्वपूर्ण डायरी काठमाण्डौँमा आफु सुत्ने ठाउँबाटै हराएछ। त्यो डायरी हराउँदा उनी धेरै दु:खी भएका थिए रे।
असममा पिता सिकिस्त विरामी रहेको सूचना पाएर उनी आफै पनि विरामी अवस्थामा रहेको भए तापनि नेपालबाट जून 1980 को मध्यतिर असम फर्के। पिताको पनि देहान्त भयो। त्यसपश्चात् उनको शारीरिक अवस्था झन् बिग्रिँदै गयो। अन्तमा, क्षय रोगले क्षीण भइसकेको शरीरमा अझै ग्यास्ट्रिक अल्सरको बिमारी थपिएर थला परे। आर्थिक अभावले गर्दा राम्रो उपचार हुन सकेन। उनलाई डिब्रुगढ़ मेडिकल कलेजमा भर्ना गरियो। अन्तत; पिताको देहान्त भएको अढाई महिना पनि नपुगी, 10 सितम्बर 1980 मा 45 वर्षको उमेरमा यस संसारबाट उनको चोला उठ्यो।
त्यसबेला वास्तवमा उनी आफ्नो जीवनदेखि नै निराश भइसकेका थिए। उनका केही कविताहरूमा पनि त्यो निराशा झल्किन थालिसकेको थियो। उनी आफ्नो जीवनलाई नै निस्सार अर्थहीन सम्झन थालेका थिए। उनका यस्तै केही कवितांश हेरौं -
“कतै जुवाड़ेले कौड़ी खेलाउँदै हेरेको एउटा बुक जस्तो
कतै, वशन्तले भर्खर छोडेर गएको उदास रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई यो जीवन
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठुटे चेक बुक जस्तो”
- कविता ‘यो जीवन’ बाट
पसलमा सोकेश भित्र सजाइराखेको
काँचको चुरो जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दा चढ्दै –
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरका सस्ता चप्पल जस्तै यो जिन्दगी
बाटामा हिँड्दा हिँड्दै –
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!
कविता ‘यो जिन्दगी खै के जिन्दगी’ बाट
घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको –
बाइस्कलको ट्युब जस्तो यो जीवन
कति टिठलाग्दो छ !
टाल्यो – उप्किन्छ
उप्किन्छ – टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
र पनि नटाली धर छैन
नगुड़ी चक्कालाई सुख छैन !
गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन्
टाल्नै नसकिने – ट्युबमा
अनि फेकिन्छ निर्दयतापूर्वक
डष्टबिनमा वा कुनै नालीमा ।
कविता ‘जीवन : एक दृष्टी’ बाट


हरिभक्त कटुवाल सम्बन्धी आफ्नो एउटा लेखमा डा. नवराज लम्साल लेख्नु हुन्छ- “ गीतकार हरिभक्त कटुवाल र कवि हरिभक्त कटुवाल, यी दुवै नाम स्थापित छन् नेपाली जनमनमा। सिर्जना सामर्थ्य र शिल्पको कसीमा निफनेको चामल जस्तो सर्लक्क सफा दुई धार देखिन्छ उनको व्यक्तित्वको तर यी दुई व्यक्तित्वका बीचमा धेरै समता छन्, अन्तर्सम्बन्ध छन्। दुवै मिसिएको तर नमिसिएको जस्तो पनि र नमिसिएर पनि उस्तै उस्तै जस्तो पनि। गीतको चर्चा गर्दा कविता र कविताको चर्चा गर्दा गीतको हेक्का नगरी हरिभक्तलाई सम्पूर्णतामा छाम्न सकिन्न। उनका गीतमा काव्यिक विम्ब सुटुक्क प्रवेश गर्नु र गद्य कवितामा समेत अनुप्रासयुक्त लयचेतना मिसिएर आउनुको दोभानबाट उठेको छ उनको व्यक्तित्व। सघन संवेदना र संप्रेषणको उच्चता कवितामा ज्यादा छ। कोमलता र व्यावहारिक यथार्थताको ज्यादा वकालत गीतमा देखिन्छ। त्यो कोमलता शैली सापेक्ष छ र व्यवहारिक यथार्थ पक्ष विषय विम्बमाथिको दृष्टी चेतनासँग मिसिएर आउँछ। हरिभक्तको क्षमता नै हरिभक्तको सामर्थ्य र सीमा हो। उनमा कनीकुथी लेखन र ठसठस कनाइको सङ्क्रमण छैन। विषयले उनलाई हिँड़ाएको छ र शिल्प सामर्थ्यले बलियो पारेको छ।“

उनको मृत्युपछि सन् 1981 मा सम्पादकत्रय भविलाल लामिछाने, नव सापकोटा, अविनाश श्रेष्ठको सम्पादनमा ‘कवि कटुवाल स्मृतिग्रन्थ’ वाराणसीको प्रकाश प्रिन्टिङ प्रेसबाट छापिएर प्रकाशमा आएको थियो। सन् 1988 मा भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा उनका गीत र कविता सङ्ग्रह ‘बदनाम मेरा यी आँखाहरू’ प्रकाशनमा आयो। सन् 1990 मा डा. जीवन नाम्दुङले साहित्य अकादेमीको अनुबन्धमा हरिभक्त कटुवाल (मोनोग्राफ) लेखेर प्रकाशित गराए भने सन् 2014 मा अङ्ग्रेजीमा The Contribution of Haribhakta Katuval जीवनी प्रकाशित छ। सन् 1994 मा शिलाङका साहित्यकार विक्रमवीर थापाको अन्वेशणात्मक संस्मरण ‘हत्या : रातो डायरीको’ प्रकाशित भयो। यस पुस्तकले सन् 1995 मा नेपाली साहित्य कला निकेतन, गुवाहाटीबाट प्रथम हरिभक्त कटुवाल स्मृति पुरस्कार प्राप्त गरेको थियो। सन् 2011-12 तिर नेपालबाट भवानी घिमिरेको सम्पादनमा ‘भानु’ पत्रिका ‘हरिभक्त कटुवाल विशेषाङ्क’को रुपमा प्रकाशित भएको थियो। सन् 2018-19 मा लामडिङ, असमबाट के.बी.नेपालीको सम्पादनमा ‘विन्दु’ पत्रिका ‘हरिभक्त कटुवाल विशेषाङ्क’ को रुपमा प्रकाशित भएको थियो। सन् 2021 को 26 सेप्टेम्बरको दिन डुवर्सको दलसिंहपाडाको निकट स्थित तोर्षा चियाकमान प्राथमिक पाठशाला प्रांगणमा हरिभक्त कटुवालको पूर्णाङ्ग शालिग स्थापना गरी युवा साहित्यकार श्री दुर्गा चामलिङ राईको सम्पादनमा एउटा स्मारिका हरिभक्त कटुवाल स्मृति विशेषांक पनि प्रकाशित गरिएको छ। धन्य छन् ती महान आत्मा जसले अनेकौं कष्ट सहेर पनि साहित्य र समाजको निरन्तर सेवा गरिरहे। आफ्ना कृतिहरूमा उनी सदैव स्मरणीय अनि अमर रहुन्।


सन्दर्भ :-
1. यो जिन्दगी खै के जिन्दगी – हरिभक्त कटुवाल
2. स्मारिका हरिभक्त कटुवाल विशेषाङ्क – सम्पादक : दुर्गा राई चामलिङ
3. विहान भानु - कटुवाल विशेषाङ्क – सम्पादक : रुपेन कोरम्जने
4. हत्या : रातो डायरीको – विक्रमवीर थापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।