15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कर्णधार

कथा सन्तु गुरूङ January 22, 2022, 5:38 pm

तिर्खाले पुरै घाँटी सुकाएपछि त्यो कमेरो माटोको चुल्हातिर लम्कियो। मोसोले छोपेको, कुच्चिएको कित्लीलाई दुवै हातले उठाएर त्यसले चिसो पानी ठाड़ो घाँटी लगायो। अँध्यारोमा यताउता छाम्दै त्यो फेरि पलङतिर बड़यो। हिज पलङको सिह्रानमुनि राखेको बोतल खाली पाउँदा त्यो निराश बन्यो; तर दुई थोपाले भए पनि तृष्णा मेट्ने आशामा त्यसले बोतल समातेर उचाल्यो। बोतलको साँघुरो मुखमा जिब्रो खाँदेर त्यसले सर्पले जस्तै हल्लायो। बिछोड़िएकी मुनालाई भेट्ने व्याकुलताले तड़पिरहेको मदन झैं काले रातभरि तड़पिरहयो।
बल्ल चन्दुको कौड़े भाले बास्यो। भनिन्छ ‘प्रतीक्षाको फल मीठो हुन्छ’ ; तर कालेको निम्ति फलको स्वादचाहिँ तितो-टर्रो छ। नयाँ दिनको पहिलो किरणले धरतीमा पाईला टेक्नसाथ काले भट्टीपसलतिर हानियो। सधैं झैं मनमाया फुपूको हातबाट झाड़ु खोस्यो। मनमाया फुपूलाई फकाउने हतकण्डा कालेले हरेक दिन खोज्न पर्थ्यो। आँगनको चारै कुना चिल्लो बनाएर काले लुरूलुरू भट्टीपसलको दैलोतिर बड़यो। उमेरसँगै पिस्सिएर चाउरी परेको अनुहारलाई बुट्टेदार चाइनिज झाड़नले पुस्दै मनमाया फुपूले चारैतिर आँखा घुमाएर जाँच गरिन्। एक गिलास रक्सी कालेको हातमा थमाउँदै मनमाया फुपूले कालेलाई पारि ठूलो दोकानबाट एक टिन गुड् लिएर आउने हुकुम दिइन्।
गहुँगोरो रङ्को मान्छेलाई काले भनी किन सम्बोधन गरिएको होला भनेर न कसैले थाह पाएको छ न कसैलाई जान्ने खाँचै छ। कालेका बाबुलाई सबैले ज्वाईं भन्दथे। शरीरले भ्याएभरको उसले सबै काम गर्थ्यो। मशीनजस्तो चल्ने शरीरलाई घरिघरि रक्सीको ईन्धन हाल्न पर्ने कालेको बाबुको बाध्यता थियो कि कुलत ? यस प्रष्नको उत्तर उसले आफैंसित परलोक लिएर गयो। 16 वषZको कलिलो उमेरमा आमा पनि मरेपछि कालेलाई छिप्पिन कर लाग्यो। गरीबको आफन्त र बेसाहाराको साथी कहिले हुँदैन। आमाको मृत्युपश्यात् ‘एक छाके काम’ खोज्दै हिँड़्नबाहेक टुहुरो कालेको अरू कुनै विकल्प थिएन। भोक मेटाउन उपाय खोज्दाखोज्दै घाँटी रसाउने कला आविष्कार भइसकेको कालेलाई थाहै भएन।
ठूलो दोकानबाट गुड़को टिन बोकर काले हत्तारिँदै गाउँतिर आइरहेको थियो। मनमाया फुपूको भट्टीपसलमा टिन पुरयाएपछि त्यसले लालसिङको गाईको लागि घाँस काट्न जङ्गल पनि जानपर्ने थियो। दैवसंयोगले अचानक कालेको आँखा महेशको खेल्दै गरेकी पाँच वर्षे छोरीमाथि परयो। पोहोर सालको आन्दोलनमा सीआरपी-को गोलीले महेश शहीद बनेको थियो। सम्पूर्ण जातिको निम्ति आफ्नो ज्यानको बलिदान दिने महेशको दुईजना सन्तानले वर्षदिन नबित्दै आफूहरूलाई एक्लो अनुभव गर्न थालिसकेका थिए। ढुङ्गा-मूढ़ाको काम गर्न विशेष हिँड़ेको श्रमीक पनि शहीद बनेर घर फर्किन पर्ने ठाउँ हो दार्जीलिङ। ‘बरू रक्सी खाएर मर्छु तर शहीद चाहिँ हुँदिन।’ भन्दै कालेले मानौं कसम खायो। यस मत्लबी दुनियाँमा कालेको साँचो साथी भनेको रक्सी नै थियो। ‘विकास’, ‘जाति’, ‘माटो’को अर्थ त्यसको निम्ति रक्सी नै थियो कारण गोर्खाल्याण्डमा पनि त्यसको एकमात्र लक्ष्य रक्सी पिउनु नै हुनेछ।
फेरि चुनाउको पर्व आयो। भोटको हावाले पहाड़मा पनि नोट उड़ाएर ल्यायो। प्रतिभा, परिश्रम र सङ्घर्षको लागि तपस्या गर्नुभन्दा चाप्लुसी र चक्करी गरेर प्राप्त हुने वरदान छिटोछिटो हुने धारणा बोकेका भूईंफुट्टा नेताहरू झरीच्याउँ झैं पलाए। कसैलाई नयाँ नियुक्तिको पर्खाई, कसैलाई स्थायीकरणको आशा, कसैलाई ठेकेदारीको लोभ त कसैलाई कमीशनको लालच।
आज भोट हाल्ने दिन तर भोटरलिस्टमा कालेको नाम छैन। सहुलियत पाइने जुन कल्याणका योजनाहरूको सूचीमा प्रथम पङ्क्तिमा नाम हुनपर्ने निमुखा व्यक्तिहरूको सरकारी खातामा कुनै रेकर्ड नभएको नौलो कुरा होइन। सत्ताका खेलाड़ीहरूले सायद काले जस्तै लाखौँ गरीब बेसाहाराहरूलाई अर्कै संसारको मान्छे ठान्छन्।
कालेलाई खोज्दै टेके भट्टीपसलमा पस्यो। अघिबाटै ‘चार्ज’ भएर आएको भए तापनि, कहिले नतुरिने त्यो, ‘लास्ट गिलास’ टेकेले मनमाया फुपूलाई माग्यो। सधैँ झैं काले भट्टीपसलमै थियो। कम्युनिटि हलमा झट्टै हाजिर हुनुपर्ने ‘बी.के.’को फरमान टेकेले कालेलाई सुनायो। बी.के., ‘दाज्यूको’ नजीकको मान्छे, गाउँका ठूला नेता। लालकोठीमा बस्ने नेताको गाउँमा परेको कालो छाया थियो बी.के.। बिनाकारण पाखुरा सुर्काउने बी.के.-को कुरा नमान्नु भनेको पगला गोरूलाई आफ्नो खप्पर फुटाई माग्नु थियो भन्ने कुरा कालेलाई राम्ररी थाह थियो।
काले लुरूलुरू कम्युनिटी हलतिर हिँड़यो।
कम्युनिटी हलमा थुप्रै मान्छेहरू धेरै व्यस्त थिए। सयदिने कामका ठेकेदारहरू, पेटी कन्ट्रयाक्टरहरू, छेपारे बुद्धिजीवी, टिचर बन्ने सपना बोकेका धुपाउरेहरू, सरकारी जागिरको अर्जी चढ़ाउनेहरू र भोज मात्र खान थुप्रेका जुठेहरूको भीड़लाई पन्साउँदै काले, ‘बी.के.’को अघाड़ि उभियो।
‘जा गएर भोट हाल्’ भन्ने बी.के.को फरमान सुनेर काले तीन छक्क पÚयो। केही क्षणको निम्ति त्यो, बी.के.लाई हेरेको हेरेकै भयो।
‘ढुक्क भएर जा तल हाम्रै मान्छे छ।’ भनेर ढाँड़स बढ़ाउँदै दुई सय रूपियाँको नयाँ पत्ता बी.के.ले कालेको हल्का फाटेको गोजीमा हालिदियो।
सित्तै पाएको रम पिएर काले खुब रमायो। बुधुदिदी रिसाउन्जेल खसीको मासु र भात डम्साएर त्यो हलबाट बाहिर निस्क्यो।
जीवनमा पहिलोपल्ट काले पूलिङ बूथभित्र पस्यो। भाङ्ग्रे झाँक्री चिन्ता बस्दा कामेझैँ कालेको शरीर काम्न थाल्यो। काले भाङ खाएको मान्छेजस्तो लट्टियो। एक्कासी लक्की मिसले कालेको पाखुरा समातेर कुनाको टेबलसम्म तान्यो र त्यहाँ रहेका कर्मचारीहरूलाई ‘पूरण’ भनी परिचय गरायो। पूरण ६ महीना अघि मात्रै लिभरसिरोसिसले मरेको थियो। एकै भोट पनि बिग्रिन नदिने पुलिङ एजेण्टहरूलाई ‘हाइकमान’बाट ‘शख्त आदेश’ थियो। पार्टीले जिते लक्की मिस, क्याजुअलबाट पर्मनेण्ट हुने प्रबल सम्भावना छ।
बूढ़ी औँलाले कागजमा ठप्पा लगाएपछि एकजना सज्जनले कालेको अर्को औँलाको नङमा नीलो स्याही दलिदियो र भोट हाल्न जाने निर्देष दियो। गद्दाले बेह्रेको टेबलभित्र एउटा प्लास्टिकको डब्बा जस्तै मशीन राखिएको थियो। जसमा विभिन्नप्रकारका चिन्हहरू अङ्कित थिए। बी.की.ले अघिबाटै कालेको कान फुकिसकेको थियो। कालेको हात बटन थिच्नलाई अघि बढ़यो। कालेले त्यो बटन दबाउन मात्र आँटेको थियो अचानक कालेको आँखालाई ‘शहीद महेश’को काखे नानीको अनुहारले झ्याप्प छोप्यो। डब्बाबाट बी....प् को आवाज निस्क्यो।
कछुवाको चालमा काले बाहिर निस्कियो। माथिबाट बी.के - ले खुबै नियालिरहेको थियो। कालेलाई देख्नेबित्तिक्कै ‘बी.के.ले हात उठायो। कालेले पनि बी.के.तर्फ फर्केर ङिच्च हाँस्दै सहमतिमा टाउको हल्लायो।
आज कालेलाई एक किसिमको नयाँपन अनुभव भइरहेको थियो। त्यसको मन गद्गद् थियो। यतिका वर्ष कुनै पनि रक्सीले दिन नसकेको आनन्द आज कालेको हृदयले सहसा अनुभव गरिरहेको थियो। शहीद महेशको अनाथ नानीहरूलाई थाहै नपाई कालेको अन्तरात्माले जातीको कर्णधार ठानी सकेको थिएछ।

अप्पर सिरूबारी, , खरसाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।