19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पृथ्वी नारायणको सन्देश

कविता शर्वराज आचार्य. January 22, 2022, 9:41 am

कुचक्रीको भोग्यौँ पल पल ठुलो हाँक कटक

थियो आफ्नै साना मुलुकसँग सन्त्रास झपट

हटाई बिस्तारै कटक भय सारा जन जन

मिली आर्ज्याको हो घर घर पहाडी उपवन

सबैको साझा हो सकल फुलबारी रनवन

जहाँ मौरी गर्छन् फुल फुल निहारी भुन भुन

यहाँ मौरीका छन् मधु मधुरिमा मञ्जुल गला

जता हे¥यो उस्तै अमरपुरको नर्तन कला

बसेका हामी छौँ अमृत महको सेवन गरी

सुधाले नै बन्छिन् सकल धरती देव नगरी

सुधा बग्ने झर्ने उपवन छ यो रम्य सहर

लगाएको अग्लो शिखर अलका देश गजुर

कुचक्री आएछन् रङ बिरङगका भेष बदली

यहाँ नाचेका छन् उपवन बनाएर डबली

कतै होला जस्तो धुमिल नव शोभा र सुषमा

चनाखा आँखाले यस मुलुकको राख गरिमा

गरुन् सारा योद्धा युग युग सुरक्षा उपवन

कुचक्रीको कैल्यै पयर नपरोस् कुत्सित मन

कुचक्रीले पार्लान् घर घर फटाएर झपट

जुटून् मौरी आफ्नै श्रमसित नराखी खटपट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।