यो ठिहीमा हेरिरहेछु म
युगौंदेखि अटल उभिरहेको
देशको गौरव- कञ्चनजङ्घा
अनि हेरिरहेछु यतिबेला म
कञ्चनजङ्घाकै काखमा लछेप्रै
प्लटहरू/विषयहरू कविताका।
बाह्रैमास सेताम्मे देखिने कञ्चनजङ्गा
यो शिशिरको समय अझै चम्किलो देखिन्छ
निरन्तर, अविराम बगिरहने
कञ्चनजङ्घादेखि नै आएको ग्लेशियर
यतिबेला ठप्प लागेपनि
तल...तल... हुँदै अझै बगिरहेछ।
बिहान-बेलुकीको सिरिरि... बतासले
युगौंदेखि ठिङ्ग रहेको हिमालको उँचाइ थपिरहन्छ
त्यसैले, यतिबेला मौसम निक्कै चिसो छ।
यतिबेला
अस्वाभाविक लागेपनि
परिरहेको पानीसँगै
थपिँदैछ कञ्चनजङ्घाको उँचाइ
चिसो सिरेटो अनि
चिसो बतास अझै चिसिँदैछ
मौसम अझै ठिहीलाग्दो छ।
यो ठिहीमा कविताहरू
डबलग्लेजभित्र
न्यानो भइरहेछन् शहरमा
ओबाना छन् महलहरूमा
कोही विस्तराको न्यानोपनमा
कोही हिटरको तापमा।
ऊर्जा खपतको कुरा
यतिबेला बुझ्दैन शहर।
तर,
गाउँमा....!
कविताहरू चिसो मान्दैनन्
काव्यहरू ठिही मान्दैनन्
कथाहरू जाड़ो मान्दैनन्
रचना-सिर्जनाहरू
सिरिरि बतास मान्दैन्
सिरेटो पनि थाहै पाउँदैनन्
अझ तन्दुरुस्त बन्छन्।
हो त गाउँमा
कविता, काव्य, कथा, रचना र सिर्जनाहरू
घाँस काटिरहेछन्
थला सोहोरिरहेछन्
दाउरा बोकिरहेछन्
मकै, अदुवा र आलु रोपिरहेछन्।
यो ठिहीमा
हिमालको अनुहारमा चमक थपिन्छ
यो सिरेटोमा
हिमालको अझ उँचाइ थपिन्छ।
तर गाउँमा
न कसैको अनुहारमा चमक थपिन्छ
न पोतिन्छ लागि पाउडर
न त कसैको उँचाइ थपिन्छ
तर पनि गाउँमा
कविताहरू रमाइरहन्छन्।
हो, ठिहीमा पनि कविताहरू रमाइरहन्छन्।
राङ्का, पूर्व सिक्किम