19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खण्ड/अखण्ड

कविता सतीश छेत्री January 22, 2022, 9:45 am
सतीश छेत्री
सतीश छेत्री

टुक्रा टुक्रा हेर्दा
जीवन कति दु:खदायी छ !

दिन - एक टुक्रा
जहाँ श्रम छ,
सङ्घर्ष छ
थकान छ
रात - अर्को टुक्रा
जहाँ अँध्यारो छ
अनिश्चितता छ
असुरक्षा छ

दिन र रात एकैचोटिमा
भने
समयचक्र छ
सप्ताह, महिना र
वर्ष भएर चड्ने
उमेर छ
उमेरसित बढ्न
अनुभव छ
अनुभव बढनलाई
ज्ञान, भक्ति र वैराग्य छ

हेर्दा
संसारमा
पैह्रो झर्दा पनि
नयाँ ढङ्गले
भइरहेको छ - भूसंरचना।
*
जीवनमा भएको
मनोरञ्जन, खुशी र आनन्द -
दु:ख, पीडा र सुस्केराहरूले
साधनामा उमारेका फूलहरू हुन् कि !

सुख आवोस्, दु:ख नआवोस्
आनन्द आवोस्, पीडा नआवोस्
उज्यालो आवोस्, अँध्यारो नआवोस्
समतल आवोस्, चडाइ नआवोस्
... ... ...
यी कामनाहरू नै
पुरूष - प्रकृतिको जीवनलाई
चुनौती दिने
माग र प्रार्थनाहरू पो हुन् कि !

पानीमा डुबे, मुसा मर्ने
पानी नै नभए माछो मर्ने
कछुवालाई वंशविस्तारमा बालुवा चाहिने
बालुवा मात्र भएको ठाउँमा
पानी नपाइने...
यो तारमा हिँडिरहने जीवनले
टुक्राहरूमा सन्तुलन बनाउँदो हो
र नै
सम्पूर्णता पो स्थीर बस्दो हो कि!

टुक्रा टुक्रा जोडेर
पर्खाल बनिन्छन्
पर्खालहरू जोडेर घर बनिन्छन्
घर बनिएपछि
सुरक्षा बनिन्छन्
सुरक्षा बनिएपछि
आनन्द बनिन्छन्।
**
एक एक क्षणको
टुक्राहरू नै त होला समय
इतिहास वा युग
जो एक साँधमा हेर्दा
देखिन्छ सिङ्गो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।